नेपालको जैविक विविधतापुर्ण क्षेत्र जोगाउन अभिनेता तथा संरक्षणकर्मी लियोनार्डोको अपिल

विश्वविख्यात अभिनेता तथा संरक्षणकर्मी लियोनार्डो विल्हेम डिक्याप्रियोले नेपालको सबै भन्दा पुरानो र ऐतिहासिक महत्वको जैविक विविधता सांस्कृतिक सम्पदाको संरक्षण गर्न आव्हान गरेका छन् ।

 आफ्नो सामाजिक सञ्जाल ६२ मिलियन फलोअर भएको इन्स्टाग्राम र १९ मिलियन फलोअर भएको फेसबुक पेजबाट विश्वकै दुर्लभ मानिएको क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिँदै त्यस्तो क्षेत्रहरूमा धमाधम निर्माण भइरहेको अवैध हाइड्रोपावर सडक निर्माणको काम बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

सङ्खुवासभा जिल्लाको लुम्बा सुम्बा क्षेत्रमा हिम चितुवा, लोपोन्मुख रेड पान्डा र विविध जडीबुटीहरू पाइन्छ । छुजुड, छुन्जाम र बखाम नदीहरू नेपालका अति सीमान्तकृत आदिवासी जनजातिहरूमध्ये ल्होमी सिंमा र भोटे जातीहरूको धार्मिक रूपमा पनि पवित्र नदीहरू हुन भन्दै त्यस्तो स्थानमा निर्माण हुँदै गरेको र हुन लागेको बाँध निर्माण रोक्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय मानिसहरूले औषधीजन्य जडीबुटी उत्पादन गर्ने र आफ्नो धार्मिक महत्वको स्थानको संरक्षणमा लाग्नुपर्ने भन्दै नेपाल सरकारसँग त्यस्तो स्थानमा कुनै पनि खालको निर्माण कार्य रोक्न माग गरेको जनाइएको छ ।

  लुम्बा सम्बा जैविक सांस्कृतिक सम्पदा विशेष संरक्षण क्षेत्र ऐन सन् २०२० मा स्थानीय सरकारले लागु गरेको नियममा त्यस्तो क्षेत्रमा जलविद्युत, सडक, र खानी बनाउन रोक लगाउँछ । त्यसैले यस्तो पृथ्वीकै यस्तो स्थान लुम्बासुम्बा जुन संरक्षणका लागि महत्त्वपूर्ण रहेको छ भन्दै लियोनार्डोले नेपाल सरकार र सम्बन्धित पक्षलाई निर्माण प्रक्रिया रोकेर संरक्षण गर्न आग्रह गरेका छन् ।

वातावरणीय हिसाबले नेपाल स्वर्गको टुक्रा हो । त्यसैले संसारमा वातावरण प्रेमीहरु नेपालको वातावरण संरक्षण गर्नुपर्नेमा निकै जोड दिन्छन् । विश्वका ठुला ठुला वातावरणविद् होस वा सङ्घ संस्थाहरू नेपालको वातावरणीय विविधता साथै जैविक विविधता देखेर मोहित हुन्छन् । यही बेला विश्व प्रसिद्ध अमेरिकी अभिनेता तथा फिल्म निर्माता लियोनार्डो विल्हेम डिक्याप्रियोले आफ्नो सामाजिक सञ्जालमा नेपालको संरक्षणको मुद्दा किन उठाएका हुन । उनले एक पटक नेपाल भ्रमण गरी सकेका कारण पनि उनलाई नेपालको वातावरणीय विविधताले मनमोहक बनाएको थियो ।

नेपालको वातावरण र जैविक विविधतामा उनको कति ठुलो चासो रहेछ भन्ने कुरा उनको यो भनाइबाट प्रस्ट हुन्छ । यदि असाध्यै दुर्लभ क्षेत्र मासेर विश्वकै महत्त्वपूर्ण जैविक विविधता मासेर कञ्चनजङ्घा संरक्षण क्षेत्रभरि हाइड्रो माफियाहरूले कसरी ध्वस्त बनाएका होलान् भन्ने सामान्य अनुमान लगाउन सकिन्छ ।

कञ्चनजङ्घाको संरक्षण क्षेत्रभित्र तमोर, घुन्सा, याङ्मा, सिम्बुवा र काबेली नदीमा १३ वटा भन्दा बढी हाइड्रो निर्माण प्रक्रियामा छन् । जुन नेपालको यस्तो संरक्षण क्षेत्र हो, जहाँ विश्वबाट हराउँदै गएका वन्यजन्तु र दुर्लभ वनस्पतिहरू पाइन्छ । त्यही मात्रै होइन कि जातीय हिसाबले लिम्बुहरूको उद्गम बसोबास क्षेत्रमा बन्न लागेका त्यस्ता निर्माणाधीन संरचनाले त्यहाँ पाइने कालो भालु, हाब्रे, कस्तुरी मृग, हिउँ चितुवालगायत वन्यजन्तु पलायन हुने सम्भावना हुन्छ ।

संसारको आँखा परेको यस्तो संरक्षित क्षेत्रलाई सरकारले संरक्षण गर्नुको साटो हाइड्रोपावर बनाउन अनुमति दिनु गम्भीर विषय हो । स्थानीयको व्यापक विरोधका बाबजुद पनि राजनीतिक र सरकारी कर्मचारीको संलग्नतामा भइरहेको हाइड्रोपावर र संरचना निर्माणलाई बेलैमा रोक्न सकेन भने अन्तर्राष्ट्रिय जगतमा नै नेपालको बदनामी हुने देखिन्छ ।

यस्ता दुर्लभ स्थानहरूको संरक्षण गर्दै विश्व बजारमा पर्यटन प्रवर्द्धन गर्ने हो भने त्यसबाट एकातिर नेपालको वातावरण संरक्षण हुने अर्कोतर्फ स्थानीय भाषा संस्कृतिको संरक्षण र मनग्गे आमदानी हुने निश्चित छ । लियोनार्डो एक अमेरिकी अभिनेता र चलचित्र निर्माता हुन् । थुप्रै विश्व प्रशिद्ध अवार्ड जित्न सफल लियोनार्डो विश्वविख्यात फिल्म टाइटनिकका हिरो हुन । लियोनार्डो वातावरणको क्षेत्रमा काम गर्ने वातावरण प्रेमी पनि हुन ।

लियोनार्डो बाघ संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिलाई लिएर उनले देशको प्रशंसा गरेका छन् । एक पटक नेपाल भ्रमण गरेर बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्दै त्यहाँ बाघको तस्बिरसमेत खिचेका थिए । लियोनार्डोले जैविक विविधता संरक्षण, सागर र वन संरक्षण र जलवायु परिवर्तनको निकै सक्रिय छन् ।

आफ्नै लियोनार्डो डिक्याप्रियो फाउन्डेसनले कमजोर पारिस्थितिक प्रणाली र प्रमुख प्रजातिहरूको संरक्षण गर्ने विश्वभरका ३५ भन्दा बढी नवीन संरक्षण परियोजनाहरूलाई सहयोग र समर्थन गर्दै आएका छन् ।  पृथ्वीमा वातावरण जोगाएर मात्रै मानिसहरू जोगाउन सकिने भएकाले पहिले वातावरण जोगाउनुपर्नेमा उनको जोड छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link