पेरिस ओलम्पिकमा अमेरिका पहिलो

पेरिस ओलम्पिक २०२४ मा अमेरिकाले पहिलो स्थान हात पारेको छ । ओलम्पिकका सबै खेल सकिएसँगै अमेरिकाले १ सय २६ पदकसहित पहिलो स्थानमा रहन सफल भएको हो ।

स्वर्ण पदकमा अमेरिकाले चीनसँग बराबरी गरेको छ । कुल १२६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो।

यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ । प्रतियोगिताको अन्तिम दिन आज १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको हो । एसियाली देश चीनले आज एक स्वर्ण थप गरेर ४० पुर्‍यायो ।

अन्तिम दिन दुई पदक जितेर जापान तेस्रो भएको छ । उसले अहिलेसम्म २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो । अन्तिम दिन स्वर्णमा चुक्दा अस्ट्रेलियाले तेस्रो स्थान बचाउन सकेन । उसले १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेको छ। आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ । कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ ।

त्यसैगरी १५ स्वर्ण, ७ रजत र १२ कांस्यसहित ३४ पदक जितेको नेदरल्यान्डस छैटौं स्थानमा छ । १४ स्वर्ण २२ रजत र २९ कांस्य जितेको ग्रेट ब्रिटेन सातौँ स्थानमा यथावत् छ । ओलम्पिकमा दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः आठौँ, नवौँ र दसौँ  स्थानमा छन् ।

पेरिस ओलम्पिक २०२४ मा सहभागी २ सय ६ मध्ये ६२ देशले कम्तीमा एक स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् । ३४ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुनेछ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link