प्रजातन्त्र सेनानी मुकुन्द शर्माको जीवनी प्रकाशित

मुकुन्द शर्मा राजोपाध्याय (वि.सं. १९९९–२०५१), नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासका एक यस्ता गुमनाम पात्रको नाम हो जसले यो देश र प्रजातन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन खुसी–खुसी समर्पण गरेका थिए, त्याग गरेका थिए ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक बलको सहयोगमा देशमा एकतन्त्रीय पञ्चायती शासन व्यवस्था शुरू गरेपछि नेपाली कांग्रेस पार्टीले त्यसविरुद्ध आह्वान गरेको सशस्त्र क्रान्तिमा कलिलो उमेरका मुकुन्द शर्मा स्वस्फूर्त रूपमा सहभागी भएका थिए ।

कांग्रेसले सञ्चालन गरेको त्यस सशस्त्र क्रान्तिमा सहभागी हुँदै मुकुन्द शर्मा, श्यामलाल श्रेष्ठ, ओमकार श्रेष्ठ र रुपचन्द्र नहाटाको समूहले भारतबाट ठूलो मात्रामा विष्फोटक पदार्थ काठमाडौंभित्रै पुर्याउन सफल भएका थिए । २०१९ सालको यस घटनामा काठमाडौंको सिंहदरवार, नारयणहिटी, दूरसञ्चार र रेडियोका अफिस लगायत दर्जनौँ महत्वपूर्ण स्थानहरूमा एकैपटक बम विष्फोट गराएर राजा महेन्द्रको शाही सत्तालाई जगैबाट हल्लाइदिने सो योजना सफल हुन नपाउँदै मुकुन्द शर्मा र उनका सबै साथीहरु पक्राउ परेका थिए ।

शाही सत्ताको गिरफ्तारीमा परेर २०१९–२०२९ सालसम्म १० वर्षको कठोर कारावासको सजाय भोगेका मुकुन्द शर्माले त्यसपछि थप १२ वर्ष भारतमा कठीन निर्वासित जीवन बिताउनु परेको थियो । निर्वासनमा रहँदा पनि शर्मा नेपाली कांग्रेसमै आवद्ध भएर पार्टीले दिएको भूमिका निर्वाह गरिरहे । २०२९ देखि २०३९ सम्म भारतका विभिन्न शहरमा संघर्षपूर्ण प्रवासी जीवन व्यतीत गरेका मुकुन्द शर्मा २०३९ सालमा नेपाल फर्किएपछि पनि पार्टीमै सक्रिय रहेका थिए ।

कष्टकर जेलजीवन अनि निरन्तरको दुःख र संघर्षका कारण विभिन्न रोगले ग्रस्त बन्न पुगेका शर्माले २०५१ सालमा ५२ वर्षको अल्पआयुमै यस संसारबाट बिदा लिएका थिए । यसरी मुकुन्द शर्माले निःस्वार्थ भावले आफ्नो पूरा जीवन नेपाली कांग्रेस पार्टी र प्रजातन्त्रका लागि समर्पण गरे पनि त्यसवापत कहिल्यै कसैसँग केही कुराको पनि आस राखेनन्, त्यसवापत ग्राहयता मागेनन् ।

मुकुन्द शर्मा राजोपाध्यायको निधन भएको तीन दशकभन्दा बढी समयको अन्तरालपछि उनको परिवारले शर्माको जीवनकथालाई पुस्तकाकारमा प्रकाशनमा ल्याएको छ । ‘प्रजातन्त्र सेनानी मुकुन्द शर्मा राजोपाध्याय’ शीर्षकको शर्माको जीवनीको पुस्तक शुक्रवार एक समारोहका बीच नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जित, कांग्रेस नेतृ सिर्जना सिंह, काठमाडौं क्षेत्र नं. ७ सांसद गणेश पराजुली लगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभयो । मुकुन्द शर्माकी छोरी रेखा राजोपाध्यायको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

हाल अष्ट्रेलियामा बसोवास गरिरहेका शर्माको परिवारले यस पुस्तकलाई प्रकाशनमा ल्याएको शर्माका नाति दीमन राजोपाध्यायले बताए । आफ्नो सम्पूर्ण जीवन नेपाली कांग्रेस पार्टी र प्रजातन्त्रका लागि समर्पण गरे पनि आफ्ना हजूरबुवाको त्यो त्यागको कतै यथोचित कदर हुन नसकेको र वहाँको योगदानको मूल्यांकन पनि हुन नसकेको कारण वहाँको किर्तीलाई त्यसै बिर्सिएर जान नदिन यो जीवनकथाको पुस्तक प्रकाशित गरेको प्रकाशक दीमनले आइएन्एस् समाचारलाई बताए ।

यस पुस्तकले मुकुन्द शर्माको जीवनका सुनिएका र नसुनिएका थुप्रै कथा र किस्साहरूलाई त उजागर गर्ने छ नै, त्यसका साथसाथै २००७ सालदेखि २०४६ सालसम्मको राजनीतिक घटनाक्रमहरूको संक्षिप्त जानकारी समेत यस पुस्तकबाट प्राप्त हुनेछ । पुस्तकको लेखन र सम्पादन पत्रकार/लेखक हरि अधिकारीले गरेका हुन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link