रसिया–युक्रेन बिच चलिरहेको युद्धले विश्व उर्जा बजारलाई गम्भीर धक्का लागिसकेको छ।त्यसले गर्दा विश्वभर तेल र ग्यासको मूल्यमा भारी मात्रामा बृद्धि भएको छ।यो युद्धका कारण विश्व अर्थतन्त्र नै ठूलो संकटमा फस्न पुगेको अवस्थामा अबका दिनमा विश्वले चर्को खाद्य संकटको सामना गर्नुपर्ने विभिन्न अध्ययनहरूले बताएको छ।
रसिया–युक्रेन युद्धका कारण विश्वभरको गहुँ, मकै र जौको एउटा ठूलो भाग रूस र युक्रेनमा फसेको बताइएको छ।त्यो भन्दा पनि महत्वपूर्ण विश्वभर आपूर्ति गरिर्नुपर्ने मलको ठूलो हिस्सा रूस र बेलारूसमा अड्किएको छ।फलस्वरूप विश्वमा खाद्यान्न र मलको मूल्य बढिरहेको छ।गत महिना युक्रेन आक्रमणपछि गहुँको मूल्य २१ प्रतिशत, जौ ३३ प्रतिशत र केहीथरि मलको मूल्य ४० प्रतिशतसम्म बढेको छ ।
कोरोनाको महामारीले शिथिल विश्व अर्थतन्त्रले गति लिन नपाउँदै शुरू भएको अहिलेको युद्धले विश्व बजारमा उथलपुथल ल्याइदिएको छ।संसारभर खपत हुने तेल र ग्याँसको ३० प्रतिशत हिस्सा केबल रसियाले उत्पादन गर्दै आइरहेको छ।युद्धका कारण आपूर्तिमा समस्या र लगातार बढिरहेको इन्धनको मूल्यका कारण अर्थतन्त्रका हरेक क्षेत्र नराम्ररी प्रभावित भएका छन्।
त्यतिमात्र होइन, रसिया र युक्रेन संसारभर विभिन्न थरिका खाद्यान्नहरूको आपूर्ति गर्ने राष्ट्रमध्ये पनि अग्रणीमा पर्दछन्।संसारभर आपूर्ति हुने गहुँ र जौको ३० प्रतिशत हिस्सा, मकैको १५ प्रतिशत हिस्सा र सनफ्लावर (सूर्यमुखी) को तेलको ७० प्रतिशत हिस्सा यी दुई देशबाट मात्र निर्यात हुने गर्छ।रसियामाथिको प्रतिवन्ध र युद्धका कारण खाद्यान्न र तेल ढुवानी गरिने दी ब्ल्याक सीको बाटो डेढ महिनादेखि बन्द रहेको छ ।
रोयटर्सका पावेल पोलिट्यूकका अनुसार युद्धका कारण १० लाख भन्दा बढी युक्रेनी नागरिक देशबाट पलायन भइसकेका छन्।त्यसैले यो वर्ष युक्रेनको धेरै भागमा बाली नै लगाउन ढिला भइसकेको उनले बताएका छन्।त्यहाँ २०२२ मा खाद्यान्नको उत्पादनमा ५५ प्रतिशतसम्मले कमी आउने उल्लेख गर्दै त्यसले आगामी दिनमा गम्भीर विश्वभर नै खाद्यान्न संकट ल्याउने उनले बताएका छन्।
कृषिका लागि अति आवश्यक पोटास, युरिया, फस्फोरस, नाइट्रोजन लगायत विभिन्न थरिका रासायनिक मलको उत्पादनमा पनि रसिया एक नम्बरमै आउँछ।विश्वभर आपूर्ति हुने पोटासको १४ प्रतिशत, युरियाको २१ प्रतिशत र नाइट्रोजन मलको ठूलो हिस्सा रसियामै उत्पादन हुने अनलाइन म्यागजिन फच्र्युनले लेखेको छ।
पश्चिमा राष्ट्रहरूले लगाएको प्रतिवन्धको जवाफमा रसियाले रसायनिक मलको निर्यात बन्द गरिदिएको छ।त्यसका कारण मलको मूल्यमा भारी बृद्धि भएको छ।अहिले संसारभर मलको हाहाकार हुने अवस्था आएको छ।ब्राजिलदेखि अमेरिकासम्मका किसानहरूले मलको अभावका कारण आगामी वर्ष नियमितभन्दा कम जमिनमा खेती गर्ने निर्णय गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा बढिरहेको जोखिमलाई ध्यानमा राखेर संसारभरका धेरै देशहरूले कदम चाल्न थालिसकेका छन्।दशकपछिको ठूलो खडेरीका कारण गहुँ उत्पादनमा ठूलो ह्रास आएपछि चीनले यो वर्ष धेरैभन्दा धेरै गहुँ किनेर जम्मा पार्ने योजना बनाएको न्युयोर्क टाइम्सले लेखेको छ।त्यसको विपरितले यो वर्ष भारतले गत वर्षभन्दा तीन गुना बढी गहुँ निर्यात गर्नसक्ने आँकलन गरेको छ।
पश्चिमा राष्ट्र विशेषगरी युरोपियन युनियनको तेल र ग्याँसको ४० प्रतिशत हिस्सा रूसले ओगटेका कारण युरोपमा त्यसको असर देखिन शुरू भइसकेको छ।रसियन ग्यास, तेल र कोइलामा निर्भर जर्मनीले यसको विकल्प खोज्नतिर लाग्ने बताइसकेको छ।तर त्यहाँको बजारमा पनि सहज रूपमा सनफ्लावर (सूर्यमुखी) तेल र गहँ लगायतका खाद्यान्न पाउन गाह्रो भइसकेको छ।सम्भावित अभावको डरले उपभोक्ताले धेरै परिमाणमा किनिदिँदा त्यस्तो अवस्था आएको हो।
स्पेनमा पनि लगभग त्यस्तै स्थिति आउन लागेपछि सरकारले केही खाद्यान्नहरूको खरिदमा सीमा तोकिदिएको छ।स्पेनका नागरिकले अब केही अत्यावश्यक खाद्यान्नहरू सीमित संख्यामा मात्र खरिद गर्न सक्ने बताइएको छ।
रूस–युक्रेन युद्ध बाहेक पनि अन्य धेरै कारणहरू छन् जसका कारण आगामी वर्षहरूमा विश्वले गम्भीर संकटको सामना गर्नुपर्ने न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। ‘मिडइस्ट’ अर्थात उत्तर अमेरिकी महाद्विपमा यस वर्ष विभिन्न कारणले खाद्यान्न उत्पादनमा कमी आउने बताइएको छ।
त्यस्तै ब्राजिल र अर्जेन्टिनाको खेतीयोग्य धेरै भागमा पर्याप्त वर्षा नभएपछि यो वर्ष भटमासको उत्पादनमा भारी कटौति हुने उल्लेख छ।उत्तरी अफ्रिका र मध्यपूर्वमा पनि समयमा र पर्याप्त मात्रामा पानी नपरेपछि यस वर्ष खाद्यान्नको आयात पछिल्ला वर्षहरूमा भन्दा धेरै गर्नुपर्ने प्रक्षेपण भइसकेको छ।
विश्व बैंकको एक तथ्यांक अनुसार आगामी वर्ष अफगानिस्तान, सुडान, सोमालिया, इथियोमिया, मोरक्को, ट्युनिसिया जस्ता संसारका अति गरिब मुलुकले मात्र होइन इजिप्ट, जोर्डन, भियतनाम, बंगलादेश फिलिपिन्स, इराक, केन्या, तान्जानिया, टोगो, मादागास्कर, अल्जेरिया लगायतका देशहरूले समेत भोकमरीको सामना गर्नसक्ने बताएको छ ।
विश्व खाद्य कार्यक्रमले समेत कोरोना महामारी, उत्पादनमा बढिरहेको लागत, इन्धनको अभावका कारण उत्पादनमा आएको कमी र रसायनिक मलको अभावका कारण आगामी दिनमा विश्वभर खाद्यान्नको चरम अभाव हुनसक्ने चेतावनी दिँदै संयुक्त राष्ट्र संघ, युरोपियन युनियन र संसारका सबै संघ–संस्था मिलेर आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित