गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौराका नागरिकले परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरेका छन् । घोरादौरको लामीधारा गाउँमा १४ परिवारको बसोबास छ । सोही गाउँका राधा गिरी चिउरीका बिजुला पकाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाउबाजेको पालादेखि घोरदौरामा चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको गिरीले बताउनुभयो । तिहारमा रोटी पकाउन पनि चिउरीको घ्यू प्रयोग गर्ने उहाँले बताउनुभयो । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने गरेको बताउनुभयो । गाउँका सबै मिलेर चिउरी कुट्ने, पेल्ने गरेका छौँ, एक्लै काम गर्न गाह्रो हुन्छ गाउँघरका सबै मिलेर पालैपालो काम गर्ने गरेको गिरीले बताउनुभयो ।
सोही ठाउँका खडकबहादुर महरा पनि चिउरी पेल्न आएकाले पालो कुरेर बसेको बताउनुभयो । पैसा तिर्नु नपर्ने जङ्गलमा त्यसै खेर गइरहेको चिउरीको दानाबाट अग्र्यानिक खाना खान पाएको उहाँले बताउनुभयो । “बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ”, उहाँले भन्नुभयो । आफूलाई पुगेर बचेको घ्यू बिक्री गरेर आम्दानी गर्ने गरेको महराले बताउनुभयो । चिउरीको घ्यू स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । चिउरीको घ्यूमा कुनै मिसावट हुँदै आफैँले टिप्ने र पेल्ने गरेकाले शुद्ध हुने उहाँको भनाइ छ ।
चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । महराले भन्नुभयो, “चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।” एक वर्षमा झण्डै तीन मुरी चिउरी टिप्ने गरेको वर्षभरिलाई पुग्ने गरेको उहाँले बताउनुभयो । “यसलाई बजारमा बिक्री गर्न नलैजाने गाउँघरमै बित्रली हुने गरेको छ । घ्यू किन्न आउनेलाई रु आठ सय धार्नीमा बिक्री गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । त्यहाँका सबैजसोले चिउरी टिप्ने गरेको महराले बताउभयो । एक महिना दुःख गर्यो भने वर्षभरि खान पुग्ने चिउरी घ्यू हुन्छ, त्यसैले गाउँले सबै मिलेर बिजुला टिप्ने गरेको बताउनुभयो ।
घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरत अर्यालले चिउरीको घ्यू पेल्ने कोल र ढिकीलाई संरक्षण गरेको बताउनुभयो । खुला आकाशमुनि रहेको परम्परगत कोलको संरक्षण गर्न वडा कार्यालयले रु एक लाख उपलब्ध गराएको उहाँले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित