नरेन्द्र मोदी नयाँ इन्दिरा गान्धी

वीर सांघवी

नेपालको राजनीतिमा यतिबेला केपी ओलीको विरोधमा सबै उत्रिएका छन्। सत्तारुढ गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका समग्र नेताको विरोधको तारो स्वाभाविक रूपमा केपी ओली नै हुनुहुन्छ। ओलीको यति चर्को विरोधले केपी ओलीलाई बेफाइदा भएको छ त? पक्कै छैन्, यो विरोधबाट त ओलीलाई नाफै छ।भारतका छापा तथा टिभी पत्रकार, लेखक तथा टक शो होस्ट वीर सांघवीले यो आलेखमा कुनै व्यक्तिको चर्को विरोधले त्यही व्यक्तिलाई कसरी फाइदा पुग्छ भनेर इन्दिरा गान्धी र नरेन्द्र मोदीको उदाहरण दिनुभएको छ।

तपाईंको उमेर इन्दिरा गान्धीलाई सम्झने खालको छ भने, तपाईंलाई इन्दिराको एउटा प्रसिद्ध घोषणा याद होला- ‘म भन्छु गरीबी हटाऔ, उनीहरू भन्छन् इन्दिरा हटाऔ ‘।

यो वाक्यले त्यतिबेलाको प्रतिपक्षको अवस्थाको यथार्थ विवरण दिन्छ। सन् १९६९ मा, इन्दिराले कांग्रेस फोडेर स्थापित गरेको आफ्नो प्रभुत्वमा १९८४  मा उनको हत्यासम्म चल्यो। त्यो अवधिभर भारतीय राजनीति उनको वरिपरि घुमेको थियो। यसैबीच, उनले १९७७ मा आपतकाल वा संकटकालको समाप्ति पछिको आम चुनावमा मात्र हारिन। तर पनि उनको दक्षिणी किल्ला उनकै कब्जामा रह्यो। कांग्रेस र उसका सहयोगीहरूले दक्षिण (र महाराष्ट्र) मा १२७  सिट जितेका थिए। र, सन् १९८४ को आम निर्वाचनमा कांग्रेसले जितेको ठूलो जित एक हिसाबले इन्दिराकै जित थियो पनि भन्न सकिन्छ।

त्यो अवधिमा विपक्षीहरूले कुनै बलियो कथा बनाउन सकेनन्, तर इन्दिरा गान्धी कति ठूली तानाशाह हुन्, उनले देशलाई रसातलमा पुर्‍याइरहेकी छिन्, उनलाई हराउन कति आवश्यक छ भनेर इन्दिरालाई निशाना बनाइरहे। अर्कोतर्फ, कांग्रेसले भने एकजना व्यक्ति हराउन कति महत्त्वपूर्ण छ भन्ने कुरामा ध्यान दिएन, त्यस खालको नीति पनि बनाएन। सन् २००४ मा सोनिया गान्धीको नेतृत्वमा रहेको यूपीए गठबन्धनले भाजपालाई पराजित गर्दा पनि अटल बिहारी वाजपेयीमाथि व्यक्तिगत आक्रमण गरेनन्। सन् २००९ मा यूपीए विजयी हुँदा पनि कांग्रेसले वाजपेयीबाट भाजपाको सत्ता हातमा लिएका लालकृष्ण आडवाणीमाथि कहिल्यै व्यक्तिगत हमला गरिएन।

तर पछिल्ला केही वर्षहरूमा यति धेरै परिवर्तन भएको छ, मोदीलाई इन्दिरा गान्धीको भूमिकामा र कांग्रेसलाई इन्दिरा युगका प्रतिपक्षको भूमिकामा देख्न थालिएको छ। उदाहरणका लागि, गत आम चुनावमा राहुल गान्धीको मुख्य नारा थियो- ‘चौकीदार चोर है’। प्रधानमन्त्री मोदीको इमानदारीमाथि लगातार प्रहार भइरहेको छ। आज पनि कांग्रेसको मूल आवाज ‘नरेन्द्र मोदी नराम्रो छ, उबाट मुक्ति पाउन अति जरुरी छ’ भन्ने छ।

आफ्नो सम्पूर्ण इतिहासमा एक व्यक्तिलाई पनि निशाना नबनाएको कांग्रेस आफ्नो मूल बाटो छोडेर कति टाढा गइसकेको छ भनेर समीक्षा गर्न हामी बिर्सन्छौं। यदि तपाईको सम्पूर्ण शक्ति एक व्यक्तिलाई हटाउनमा केन्द्रित छ भने तपाईले त्यो व्यक्तिको विकल्प प्रस्ताव दिनुपर्छ भन्ने राजनीतिका चतुर खेलाडीहरूलाई थाहा छ।त्यतिबेला विपक्षीसँग इन्दिरा गान्धीको कदको नेता थिएन, त्यसैले जति इन्दिरामाथि हमला गर्थे, उनको कद त्यति नै उच्च हुँदै जान्थ्यो।

कांग्रेस र प्रधानमन्त्री मोदीको सन्दर्भमा पनि यस्तै भएको छ। जब जब मोदीमाथि व्यक्तिगत आक्रमण हुन्छ, मतदाताको प्रश्न हुन्छ– ठिक छ, हामी मोदीलाई हटाउनु पर्छ भन्ने मान्छौँ तर उनको ठाउँमा को आउँछ त? यस प्रश्नको जवाफमा कांग्रेसले राहुल गान्धीको नाम लिन्छ अनि हरेक पटक मतदाताले टाउको हल्लाएर नाईँ भन्दै मोदीलाई भोट दिन्छन्।

कांग्रेसको आफ्नो यो ‘हामी मोदीलाई घृणा गर्छौ’  को रणनीतिमा कतै पनि कमजोरी देखेको छैन र त्यो आफ्ना लागि प्रतिउत्पादक भएको देख्न सकिरहेको छैन किनभने राहुल गान्धी र पार्टीका उनका सल्लाहकारहरू आँखा चिम्लेर मोदीले देशको लागि खराब गर्दै छन् भन्ने कुरामा विश्वास गर्छन्। र तिनीहरूको नीतिहरू पनि यही विश्वासद्वारा निर्देशित छ। तर यस्ता भावुकताका आधारमा चुनाव जितिँदैन। मतदाताहरूका बीचमा आफ्ना भावनाहरू उत्तिकै गहिरो रूपमा जगाउन र तिनीहरूलाई विकल्पहरू प्रस्ताव गर्न सक्नु पर्छ अनि मात्र चुनाव जितिन्छ। राहुलको कांग्रेसले न मोदीविरुद्ध कुनै बलियो कथा प्रस्तुत गर्न सकेको छ न त उनको विकल्प नै प्रस्तुत गर्न सकेको छ। त्यसैले कांग्रेस एउटा पछि अर्को चुनावमा लज्जास्पद पराजय भोगिरहेको छ। र, मोदी झनै बलियो हुँदै गएका छन्।

एक पटक फेरि कथा इन्दिरा गान्धी र उनका विरोधीहरूको बारेमा हो, जसमा भूमिकाहरू अर्कोतिर फर्केको छ। विगतमा प्रतिपक्षले गरेको गल्ती कांग्रेसले पनि गरिरहेको छ। तर पछिल्लो एक महिनादेखि र गत निर्वाचनमा पराजय भोगेपछि कांग्रेसले धेरै हार बेहोरेपछि अब केही फरक गर्नुपर्ने संकेत देखिएको छ।

सोनिया गान्धी केन्द्रीय मञ्चमा फर्किनु नै नयाँ संकल्पको पहिलो संकेत हो। संसदमा बोल्ने, वक्तव्य जारी गर्ने, लेख लेख्ने, आफ्नै पार्टी र अन्य दलका नेताहरूसँग भेटघाट गर्ने काममा उनी विगत केही वर्षभन्दा अहिले बढी सक्रिय देखिन्छिन्।

यो भाजपाका लागि राम्रो खबर होइन। अहिलेसम्म भाजपाको सामाजिक सञ्जाल टोलीले राहुललाई ‘पप्पु’ साबित गर्न व्यस्त थियो। भाजपाले सामाजिक सञ्जालमा गान्धी परिवारको आधिकारिक तर असक्षम वंशज जो धेरै समय विदेशमा बिदा मनाउँछ र फुर्सदमा देशमा फर्केर राजनीतिको खेल खेल्छ भन्ने राहुलको छवि बनाइदिएको छ। यो साच्चै नै अनुचित हो। तर राजनीति भनेको अनुमान लगाउने खेल हो! मोदी र अमित शाह राहुलले कांग्रेसको नेतृत्व लियोस् भन्ने चाहन्छन्, किनभने उनीहरूले नै राहुलको ‘पप्पु’ वाला छवि बनादिएका छन् र त्यसबाट उनीहरूलाई फाइदा नै फाइदा छ।

अर्कोतर्फ, सोनियाको मजाक उडाउन धेरै गाह्रो छ। उनले दुई पटक चुनावमा पार्टीलाई सत्तामा पुर्‍याएकी थिइन र मोदी लहरलाई जवाफ दिइरहेकी छिन्। रायबरेली लोकसभा सीटमा उनले त्यतिबेला जितेकी थिइन जब लगभग सबै जना हारेका थिए। सोनियालाई विदेशी, नौसिखिया, परिवारवादी, आदि सबै प्रकारका नकारात्मक लेबलहरू लगाइएका छन्, तर ती कुनै पनि लेबलले काम गरेन। यदि सोनिया कांग्रेसको अनुहार बनिन् र धेरै अनुभवी नेताहरूलाई अगाडि ल्याउन सक्षम हुनेछिन र त्यसले ‘पप्पु’ तथा उनका सहयोगीहरू उडाउन प्रयोग गरिएका कुराहरू फिक्का हुनेछ।

तर के यो हुन सक्छ? सोनियासँग मात्र यो प्रश्नको जवाफ छ। उनीबाहेक अरु कसैसँग उत्तर छैन जस्तो देखिन्छ। तर उनको प्रारम्भिक चालले उनको रणनीतिलाई संकेत गर्दछ। उनले साम्प्रदायिक घृणाको वातावरणका विरोधका आधारमा प्रतिपक्षमा आमसहमति निर्माण गर्ने प्रयास गर्दैछिन्। यो त्यस्तो मुद्दा हो जसले सबै गैर-भाजपा पार्टीहरूलाई एकताबद्ध गर्दछ (आप बाहेक यसले सामेल हुन अस्वीकार गरेको छ)। सोनियाले गठबन्धनको कुरा गरिरहेकी छिन्, उनले प्रशान्त किशोरसँग सम्पर्क गरेकी छिन्।

प्रशान्त किशोरको कुरा गर्दा कांग्रेससँग किशोरको सम्बन्ध रोचक छ। उनले यसअघि पार्टीसँग काम गरेका छन् र पाँच वर्षअघि उत्तर प्रदेशसभामा पार्टीको अभियानका रणनीतिज्ञ थिए। तर कांग्रेसभित्र भने उनी निरन्तर कमजोर हुँदै आएका थिए। पार्टीसँग मिलेर काम गर्न उनी गएको १५ महिनादेखि वार्तामा थिए। तर, ठोस परिणाम भने आएको छैन।

पहिला कांग्रेसभित्र सोनिया नै उनलाई साथमा लैजान त्यति इच्छुक थिइनन् भन्ने विश्वास गरिन्थ्यो तर अब अब सोनिया नै उनीकहाँ पुगेकोले यो महत्वपूर्ण देखिन्छ। जतिसुकै सक्षम भए बाहिरबाट आएकाले होइन पार्टीमा आफ्नो जीवन त्याग गर्ने व्यक्तिहरू कांग्रेस चलाउनुपर्ने धारणा सोनियाले राख्दै आएकी थिइन।

विरोधीहरू किशोरलाई भाजपा भित्री व्यक्ति वा जासुस ठान्छन् र मोदीसँगको उनको पुरानो सम्बन्धका बारेमा कुरा उठाउँछन्। यो तर्कमा कुनै दम छैन। भाजपाको जासुसले भाजपालाई पश्चिम बङ्गालको चुनावमा किन हराउन चाहन्छ ? यसअघि पनि किशोरले कांग्रेससँग काम गरेको कुराका बारेमा मतलब नै नराखेर मोदीले २०१४ सालको चुनावमा उनको सेवा सुविधा लिएका थिए भने कांग्रेसले मोदीसँग किशोरले गरेको कामको किन वास्ता गर्ने?

कांग्रेसमा किशोर विरोधको वास्तविक कारणचाहिँ आफ्नो अस्तित्वको भय नै हो। पार्टीमा सत्तामा रहेका धेरैलाई पार्टीको संरचना परिवर्तन हुने र आफ्नो हैसियत कमजोर हुने डर छ। तर सोनियाको हरियो संकेत प्राप्त हुने बित्तिकै यो आपत्ति दबिने छ।

के किशोरको सुझावले फरक पार्छ?  किशोरले आफ्ना अन्तर्वार्तामा भनेका कुराले त उनको दृष्टिकोण ठोस र व्यावहारिक देखिन्छ। कुनै – कुनै त सामान्य बुद्धिका कुराहरू पनि हुन्। हो, कांग्रेसले आफ्नै कथा लेख्नुपर्छ। समस्या के हो भने, अहिलेको अवतारमा त कांग्रेसमा त्यस्ता सामान्य बुद्धिका कुराहरू लागू गर्न इच्छुक व्यक्ति समेत भेटिदैनन्। किशोरको पार्टी प्रवेश पछि यो परिस्थिति परिवर्तन हुन सक्छ।

तर अन्ततः कांग्रेसले नै आफुलाई अस्तित्वको प्रश्न सोध्नुपर्ने हुन्छ, जुन भीरमा पार्टी गुल्टिरहेको छ त्यही परिस्थिति कायम राख्नु उचित होला ? पागलपनको एउटा लक्षण के हो भने, तपाईंले बारम्बार एउटै काम गरिरहनुहुन्छ र हरेक पटक फरक-फरक परिणामको आशा गर्नुहुन्छ।

त्यसैले, यदि कांग्रेसले आफ्नो अस्तित्व जोगाउनु परेको छ भने यसलाई परिवर्तन गर्न तयार हुनुपर्छ। परिस्थिति यति खराब भएको छ कि आफूले पाएको जुनसुकै मौकाको सदुपयोग गर्न सक्नुहुन्छ। सायद ती किशोरसित केही समाधान होलान्। अथवा नहुन पनि सक्छ। तर पार्टीले आफ्नो इतिहासलाई फर्केर हेर्नुपर्छ। त्यो हो इन्दिरा युगको अनुभव। राजनीति कुनै एक व्यक्तिलाई निसाना बनाउनु मात्रमा सिमित भयो भने त्यो व्यक्ति झन बलियो हुन्छ। अनि उसका विरोधीहरूलाई झन कमजोर बन्दै जान्छन्।

कांग्रेस किशोरको कुरा सुन्न इच्छुक छैन भने पार्टीले राहुलकी हजुरआमाबाट सिकेका पाठहरू सम्झन सक्छ किनकी तपाईं मन पराउनुहोस् वा घृणा गर्नुहोस्, इन्दिरा गान्धीलाई राजनीतिका बारेमा राम्रै ज्ञान थियो।

द प्रिन्टमा छापिएको छापा तथा टिभी पत्रकार, लेखक तथा टक शो होस्ट वीर सांघवीको आलेखको भावानुवाद।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap