पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन् । आज केबलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार केबलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी, एक जना आन्दोलनकर्मी र एक जना सर्वसाधारण घाइते भएका छन् । प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छन् ।
‘नो केबलकार समूह’ले पूर्वघोषित कार्यक्रमअनुसार आज पाथीभरा क्षेत्रमा पदयात्रासँगै केबलकारविरूद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष केबलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । आन्दोलनरत पक्षको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । नो केबुलकार समूहको प्रदर्शन असामान्य हुने स्थिति बनेपछि अश्रुग्यास प्रहार गर्नुपरेको शर्माको भनाइ छ ।
यस्तै, पदयात्रा सुरू गर्नुपूर्व पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा आयोजित कोणसभालाई पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सम्बोधन गर्नुभएको थियो । कोणसभालाई सम्बोधन गर्दै उहाँहरूले केबलकार निर्माण गर्न नहुने भनाइ राख्नुभयो ।
यता पदयात्रामा सहभागी हुन जसपा नेपालका नेता तथा पूर्वमन्त्री रकम चेम्जोङ, पूर्वमन्त्री गोपाल किरातीलगायत सहभागी बन्नुभएको छ । केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार पक्ष’ले मङ्गलबारदेखि आजसम्म घोषित कार्यक्रमअनुसार पाथीभरा क्षेत्रमा केबलकारविरूद्ध पदयात्रा गरेका छन् । पाथीभरामा आइएमई ग्रुपले रू तीन करोड लागतमा केबलकार निर्माणकार्य सुरू गरेको छ । विगतदेखि नै ताप्लेजुङमा केबलकारको पक्ष र विपक्षमा विभाजित भएर विभिन्न विवाद हुँदै आएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
- बजेट अभावले खानेपानी आयोजना अलपत्र
- मुस्ताङ: चलचित्र छायाङ्कनको ‘हब’ बन्दै
