इजरायलको बिबास परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि शुक्रबार हमासको सन् २०२३ को आक्रमण अवधिमा आफ्ना प्रियजनहरूको रक्षा गर्न र उनीहरूलाई घर फिर्ता ल्याउन असफल भएको आरोप लगाएको छ ।
प्यालेस्टिनी लडाकू समूहले दावी गरेअनुसार बिहीबार हमासबाट प्राप्त शव सिरी बिबासको नभएको इजरायलले घोषणा गरेपछि परिवारको यो पहिलो टिप्पणी हो ।
हस्तान्तरण गरिएका अन्य तीनवटा शव अनुभवी शान्ति कार्यकर्ता ओडेड लिफसिट्ज र सिरीका दुई साना छोराहरू कफिर र एरियलका थिए भन्ने पुष्टि भएको छ ।
सिरीकी भाउजू ओफ्री बिबासले इजरायली अधिकारीहरू विशेष गरी प्रधानमन्त्रीले बन्धकहरूको रक्षा गर्न असफल भएको र उनीहरूलाई त्यागेको आरोप लगाउनुभयो ।
“उनीहरूलाई जीवितै फिर्ता ल्याउनु इजरायलको जिम्मेवारी र दायित्व थियो”, उहाँले इजरायली अभियान समूह, बन्धक र बेपत्ता परिवार मञ्चमार्फत परिवारका तर्फबाट जारी विज्ञप्तिमा भन्नुभयो, “अक्टोबर ७ मा उनीहरूलाई त्यागेकोमा कुनै माफी छैन र कैदमा उनीहरूलाई त्यागेकोमा कुनै माफी छैन । प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, हामीले यस पीडादायी क्षणमा तपाईंबाट माफी मागेका छैनौँ ।”
हमासले बिहीबार फिर्ता गरिएका अवशेषहरूमा सिरी बिबास र उनका दुई साना छोराहरू समावेश रहेको बताएको थियो, जसका बुबा यार्डेन प्यालेस्टिनी समूहले यस महिनाको सुरुमा बन्धक–कैदीको आदानप्रदानमा रिहा गरेका थियो ।
इजरायलले दुई केटाको पहिचान पुष्टि गरे पनि सिरी बिबासको दाबी गरिएको शव उनको नभएको बताएको छ ।
“मेरा प्यारा भतिजाहरूलाई जीवितै घरबाट लगियो र कैदमा भएका बेला क्रूर आतङ्कवादी सङ्गठनद्वारा हत्या गरियो । उनीहरू यस्तो भाग्यका लागि योग्य थिएनन्”, ओफ्री बिबासले भन्नुभयो, “पहिले नै १६ महिना चलिसकेको हाम्रो पीडादायी यात्रा समाप्त भएको छैन । अक्टोबर ७ जारी छ । हामी अझै सिरीको प्रतीक्षा गरिरहेका छौँ र उनको भाग्यका लागि डराइरहेका छौँ ।”
“एरियल र कफिरको खातिर तथा र यार्डेनको खातिर हामी अहिले बदला लिन खोजिरहेका छैनौँ । हामी सिरी मागिरहेका छौँ”, उहाँले भन्नुभयो, “तिनीहरूको क्रूरताले सिरीलाई हामीसम्म फिर्ता ल्याउने, जीवित बन्धकहरूको जीवन बचाउने र सबै मृतकहरूलाई गाड्नका लागि फिर्ता गर्नुपर्ने तत्काल आवश्यकतालाई मात्र जोड दिन्छ ।”
ओफ्री बिबासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘इजरायल र हाम्रो परिवारलाई यो महत्त्वपूर्ण मिसन पूरा गर्न सहयोग गर्न’ अपिल गर्नुभयो ।
नेतन्याहुले हमासलाई सिरी बिबासलाई फिर्ता नगरेर र बदलामा ‘एक गाजावासी महिलाको शव कफिनमा राखेर’ गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउनुभयो ।
हमासले लामो समयदेखि युद्धको शुरुमै इजरायली हवाई आक्रमणले केटाहरू र उनीहरूकी आमालाई मारेको दाबी गर्दै आएको छ तर शुक्रबार इजरायली अधिकारीहरूले केटाहरूलाई ‘कैदमा हत्या गरिएको’ आरोप लगाएका छन् ।
सन् २०२३ अक्टोबर ७ मा अपहरण भएदेखि सिरी बिबास र उनका दुई छोराहरू, एरियल जो त्यतिबेला चार वर्षका थिए र कफिर, जो त्यतिबेला नौ महिनाका मात्र थिए, इजरायलको बन्धक पीडाको प्रतीक बनेका थिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
