पर्साको ठोरी गाउँपालिका-५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) मा चालु आर्थिक वर्षमा तीन हजार पाहुनाको आवागमनसँगै होमस्टे सञ्चालन गरेका स्थानीयमा उत्साह बढेको छ। विगतका वर्षमा मधेस प्रदेशकै पहिलो सामुदायिक घरबास पर्याप्त प्रचारप्रसार र ‘ब्रान्डिङ’को अभावले अपेक्षाकृतरुपमा पर्यटकको आवागमन बढ्न नसके पनि यो चालु आवमा भने पर्यटकको आवागमनमा उल्लेखनीय वृद्धि भएको छ।
सुनाखरी मध्यवर्ती सामुदायिक घर बासका अध्यक्ष शम्भुराम पौडेलले चालु आर्थिक वर्षको मङ्सिरदेखि फागुनसम्मको तीन महिनाको अवधिमा ६० जनाभन्दा धेरै चलचित्र छायांकनका कलाकार तथा प्राविधिक बसेकाले पनि अघिल्ला वर्षको तुलनामा पर्यटकको आवागमन बढेको जानकारी दिए।
‘‘गत आर्थिक वर्षमा करिब एक हजार आठ सय पाहुना आउनुभएको थियो,’’ उनले भने, ‘‘यो वर्षको वैशाख तेस्रो सातासम्मको अवधिमा करिब तीन हजारको हाराहारीमा पर्यटक भित्रिनुभएको छ। पर्यटकको आवागमन बढेसँगै यहाँका स्थानीय होमस्टे सञ्चालकहरूमा उत्साह बढिरहेको छ।’’
निर्माता अनुप पौडेलले नेपाली र भोजपुरी भाषामा आधारित ‘इलेफेन्ट इन द फग’ नामक चलचित्र ठोरी गाउँपालिकाको शिकारीबास र आसपासको क्षेत्रमा छायांकन गरेका थिए। गत आवमा भने यहाँ करिब एक हजार आठ सयको हाराहारीमा पाहुना भित्रिएका थिए।
यो घरबास २०७३ सालदेखि १५ घरमा सञ्चालन हुँदै आइरहेको छ। वीरगञ्ज महानगर क्षेत्रबाट ३४ किलोमिटरको दूरीमा पर्ने घर बासबाट ठोरीको मनोरम दृश्यका साथै विभिन्न खालका जंगली जनावरको अवलोकन गर्नसमेत पाइन्छ। यहाँ बाघ मोर्चा माई, गुम्बा, प्रणामी मन्दिर, सहिद स्मारक, सुनाखरी वनलगायतका आकर्षण रहेका छन्।
यहाँ १५ घरमा अहिले घरबास सञ्चालन भइरहेको छ। एउटा घर बासमा दुई वटा कोठामा पाहुना बस्ने व्यवस्था छ। सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले प्रदेश सरकारले पर्यटकको लागि घुमाउनको अनुदानमा उपलब्ध गराएको सेतो नम्बर प्लेटको सफारी गाडीको कारणले सार्वजनिक बिदाको दिनमा पर्यटकलाई घुमाउनको लागि समस्या परेको गुनासो गरे।
‘‘पटक–पटक मधेस मन्त्रालयमा धाइसक्यौँ। तर, अहिलेसम्म पनि सो समस्या समाधान हुन सकेको छैन।’’ पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो समस्या समाधानका लागि आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन्। यहाँका घर बासमा स्थानीय स्तरमा उत्पादन हुने मकैको विशेष परिकार, लोकल कुखुरा र मकैको ढिँडो पनि पाहुनाले रुचाउने गर्छन्। समूहमा पाहुना आउँदा तामाङ समुदायले सांस्कृतिक कार्यक्रम पनि देखाउँदै आइरहेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
