यस पटक महानगर काठमाडौको मेयर पदका लागि पार्टीको उमेदवार चयन गर्ने सन्दर्भमा नेकपा (एमाले) नराम्रोसँग फसेको छ। महानगर काठमाडौको महापौरका रूपमा काम गर्दा योग्यता र क्षमताको हिसाबले निम्छरो साबित भएको आफ्नो एक कार्यकर्ताको विकल्प खोज्दै जाँदा भेटिएको व्यक्तिसँग यति धेरै नकारात्मकता जोडिएको हुनसक्छ भन्ने कुराको कल्पनासम्म पनि एमालेको शीर्ष नेतृत्व पंक्तिमा रहेको कसैले सायदै गरेको थियो होला? तर जुन व्यक्तिलाई एमालेले काठमाडौ मेयरको टिकट दिएको छ ऊ अनेक प्रकारका अनर्गल विवादहरूले घेरिएको, बोलीवचन, आचरण र संस्कारका दृष्टिले लगभग असामाजिक जस्तो निस्किएको छ। यसले एमाले नेतृत्वलाई छाँगाबाट खसेको स्थितिमा पुर्याएको हुनु पर्दछ।
विद्यासुन्दर शाक्यले काठमाडौ महानगर प्रमुखका रूपमा बिताएको गत ५ वर्षको अवधि उनको अयोग्यता र अक्षमताका कारण सर्वथा बिर्सिनयोग्य बन्न पुगेको कुरामा सायदै विमति होला। विद्यासुन्दरको त्यस प्रकारको असुन्दर छविबाट मुक्ति पाउँन छट्पटाइरहेको एमाले नेतृत्वले यस पटक उनलाई नदोहोर्याउने निर्णय गर्नु अपरिहार्य जस्तै मानिएको थियो। अन्ततोगत्वा भयो पनि त्यही नै। टिकट पाउँने आशामा मनोनयनपत्र दाखिल गर्ने दिनभन्दा दुई दिन अगाडि नै महानगरलाई आफूले तिर्नुपर्ने १ करोडभन्दा बढी रकम तिरी आफ्नो नाममा रहेको बेरूजु फरफारक बनाएर पार्टीको निर्णयलाई पर्खिबसेका शाक्यलाई यस पटक पार्टी नेताहरूले निराश बनाएर छोडिदिए। उनले टिकट पाएनन्। अब महानगरवासीहरूको स्मृति- भण्डारमा उनको नाम सधैँका लागि एक कमजोर र असफल नगरप्रमुखका रूपमा अभिलिखित भई जुगानुजुगसम्म रहने भयो।
तर उनको विकल्पमा जुन व्यक्तिलाई पार्टीले टिकट दियो उनले पनि एमालेलाई राहत दिने कुनै लक्षण नदेखिनु चाहिँ त्यस वामपन्थी दलका नेताहरूका लागि गहिरो चिन्ताको विषय बनेको हुनु पर्दछ। स्थानीय तहको सन्दर्भमा सर्वाधिक प्रतिष्ठित र हिजोसम्म आफ्नै हातमा रहेको राजधानी महानगरको ताल्चा-साँचो आफ्नो हातबाट फुत्किन नदिन देशको प्रमुख प्रतिपक्षी दलले सम्पूर्ण शक्ति लगाउन खोज्नु बिलकुलै स्वाभाविक हो। त्यो वामपन्थी दलको दुर्भाग्य, यस पटक राजधानी महानगरको प्रमुखको पद जित्न उसले दाऊमा लगाएको घोडा बाहिरबाट मात्र साबुत देखिएको, अन्तर्यमा घाइते भइसकेको जस्तो छ। आफ्नो तागतको अधिमूल्याङ्कन गरी बेपत्ता दौडिने त्यो घोडा कहिल्यै उठ्न नसक्ने स्थितिमा पुगेको छ भने आश्चर्य मान्नू पर्दैन।
एमालेले यस पटक विद्यासुन्दर शाक्यलाई पन्छाएर महानगरको मेयर पदमा उठाइएका व्यक्ति हुन् महानगरकै पुराना मेयर एवं ३ नम्बर प्रदेश सभाका सदस्य केशव स्थापित। राष्ट्रिय राजनीतिको परिदृश्यमा लगभग ३ दशकदेखि सही/गलत दुवै कारणले आफ्नो दर्हो उपस्थिति जनाउँदै आएका केशव स्थापितलाई विवादहरूको पोको भन्दा पनि फरक पर्दैन। शब्द-चयनमा असावधान भएर पनि बढी बोल्नुपर्ने, हरदम आत्मप्रशंसाको हलुका मातमा चूर रहने, अर्को व्यक्तिको निजी प्रतिष्ठाको सम्मान गर्न नजान्ने, मातहतका कर्मचारीहरूसँग मानवोचित व्यवहार नगर्ने, स्त्रीजातिको आत्मसम्मानप्रति असम्वेदनशील र पूर्णत: अराजक स्वभावका यी स्थापितले सधैँझै यस पटक पनि आफ्नो उमेदवारी सँगसँगै विवाद, आलोचना र नकारात्मकताको लामो सूचीले लिएर आएका छन्। मतदानको दिनसम्म एमालेका यी उमेदवारले विगतका आफ्ना गल्ती, कमी-कमजोरीहरू र अपकर्महरूलाई लगातार स्पष्टीकरण दिइरहनु पर्ने स्थिति पैदा हुनु एमालेका लागि अत्यन्तै चिन्ताजनक विषय हो।
केशव स्थापित सार्वजनिक मञ्चहरूमा सधैँझैँ आक्रामक मुद्रामा प्रस्तुत भएका छन्। जथाभावी बोलेर र भद्दा देहमुद्राको प्रदर्शन गरेर यिनले स्वस्थ सम्वादको डबली सार्वजनिक मञ्चलाई प्रदूषित बनाएका छन्। यिनीसँग मुखातिब हुने पत्रकार-सञ्चारकर्मीहरू यिनले कुनबेला के भन्ने वा गर्ने हुन् भनेर थर्कमान हुनुपर्ने स्थिति पैदा गरिदिएका छन् आफ्ना हर्कतहरूबाट। एउटा प्रश्नोत्तर कार्यक्रममा एक महिला सञ्चारकर्मीले सोधेको आफूलाई उत्तर दिन असजिलो पर्ने एउटा प्रश्नबाट पलायन गर्न यिनले भनिदिए: “ए लेडी तपाइँ त नाइस हो तर तपाइँको थुतुनो ठीक छैन।” त्यसै अवसरमा उनले “म त कराँते खेलाडी हुँ, मेरो रिस कडा छ” पनि भने। काठमाडौ महानगरको मेयर पदको उमेदवारले सञ्चारकर्मीहरूलाई आफ्नो खुकुलो हुँदै गएको पाखुरीको ध्वाँस किन दिएको होला, सायद कसैले पनि बुझ्न सक्दैन।
स्थापितका यस्ता बोली र हर्कतले एमाले नेतृत्वलाई त गम्भीर मानसिक धक्का दिएको होला नै, साथै महानगरका प्रबुद्ध नागरिकहरूका मनमा पनि एमालेले यस्ता व्यक्तिलाई मेयरको उमेदवार बनाएर जनताको विवेकको यस तहमा परीक्षण गर्न किन खोजेको होला? भन्ने कुराको निक्कै ठूलो खुल्दुली मच्चिएको हुनु पर्दछ। पार्टीका निम्ति दिगो पूँजी बन्नसक्ने ठानी काठमाडौको मेयर पदमा खडा गरिएको व्यक्तिका यी अनेक दुर्गुण सतहमा आई ऊ अचानक ऋणात्मक बनेको देखेर एमालेका शक्तिशाली अध्यक्ष केपी शर्मा ओली स्वयं पनि चकित परेका हुन सक्छन्। हुन त ओलीले आफ्नो हातबाट बाहिर जानै आँटेको महानगर काठमाडौको सत्ता जोगाउँने अन्तिम उपायका रूपमा केशव स्थापितमाथि दाऊ लगाएको कुरा बुझ्न गार्हो छैन तर स्थापित यस हदसम्म आलोचित होलान् र यस्तो प्रत्युत्पादक ढङ्गले प्रस्तुत होलान् भन्ने कुरा चाहिँ उनले पनि कल्पना नै नगरेको विषय हुनसक्छ।
एमाले नेतृत्वले जुन सकारात्मक परिणतिको अपेक्षा गरेर यस पटक केशव स्थापितलाई काठमाडौको मेयर पदको प्रत्याशी बनाएको हो त्यो अपेक्षा पूरा हुने सम्भावना क्षण प्रतिक्षण कमजोर हुँदैछ। कुनैबेला केशव स्थापितको उद्दण्ड स्वभाव, चर्को भाषणबाजी, भङ्ज्याहा साहस र विपक्षीप्रतिको अमानवीयताको हदसम्मको क्रूर व्यवहार एमाले पार्टीको हकमा लाभकारी साबित भएका हुँदा हुन् तर आजको घडीमा स्थापितका ती हर्कत दुष्टताका पर्याय र नकारात्मकताका परिसूचक बन्न पुगेका छन्। जायज नाजायज सबै प्रकारका हथकण्डा अपनाएर पार्टी फण्डमा ठूलो धनराशी जम्मा गर्न सक्ने स्थापितको क्षमताबाट एमाले लाभान्वित भएको भए तापनि उनले मैले वामदेव गौतमसँग मिलेर सुन तस्करीको सेटिङ मिलाएको हुँ भनी सगर्व घोषणा गरेको अथवा आफैँले विद्या भण्डारीको सेतो साडीमा गोबर र अबिर छर्केर त्यसको दोष कांग्रेसीहरूलाई लगाइदिई कृष्णप्रसाद भट्टराईलाई हराएको हुँ भनी डिङ हाँकेको प्रसङ्गको स्वामित्व लिन एमालेलाई पक्कै पनि सजिलो छैन। महानगरको व्यवस्थापन गर्न ढङ्गमरु भए पनि व्यक्तिका रूपमा विद्यासुन्दर शाक्य शालीन, मीतभाषी र सामाजिक मर्यादाप्रति सचेत थिए जुन गुणहरू सार्वजनिक जीवन बाँच्ने हरेक नेता कार्यकर्ताहरूका लागि अनिवार्य नै हुन्। सबै नेताहरू केशव स्थापित जस्ता हुने हो भने यो समाज एक मिनेटका लागि पनि बस्नयोग्य रहने छैन।
एमालेले काठमाडौ महानगरको मेयरको पदमा उमेदवार बनाइएका केशव स्थापितलाई सबैभन्दा बढी रन्थन्याउँने प्रकरण भएको छ, उनी यसअघि कामपाको मेयर हुँदा उनले यौन हिंसा गरेको भनी पत्रकार उज्ज्वला महर्जन र महानगरकै तत्कालीन कर्मचारी रश्मिला प्रजापतिले लगाएको आरोप। ती दुवै युवतीले स्थापितमाथि यौन दुराचारको आरोप अहिले आएर लगाएको भने होइन। घटना पुरानो भए पनि ती युवती द्वयले संसारभरिका कार्यस्थलमा यौनहिंसाको पीडामा परेका नारीहरूले आवाज उठाउँन चलाएको ‘मी टू’ आन्दोलनका बेलामा नै स्थापितले गरेको यौन हिंसाको डिटेल वर्णन सहित खुलासा गरेका थिए। नेकपा एमालेले काठमाडौको मेयर पदमा चुनाव लडाउँन आफूसँग कुनै योग्य र बेदाग नेता नै नभएजस्तो गरि विवादास्पद र यौन हिंसाको आरोप लागेका स्थापितलाई उमेदवार बनाएपछि यो मामिला फेरि एकपल्ट तातो चर्चाको विषय बनेको हो।
केशव स्थापितको प्रतिरक्षामा उत्रिएका एमालेहरूले चुनावकै बेलामा यो मामिला किन उठाएको भन्ने प्रश्न गरेका छन्। अर्काथरीले ती युवतीहरू अदालत जानुपर्ने किन मिडियामा आएका भनेका छन्। निम्न बुँदाका आधारमा भन्न सकिन्छ एमालेजनका यी दुवै प्रश्न निरर्थक छन्।
१. कुनै पनि सार्वजनिक व्यक्तित्वमाथि यौन हिंसाको आरोप लाग्छ भने त्यो आरोपबाट सफाइ आरोपित स्वयंले लिनु पर्दछ। यौन हिंसाको मामिला अदालतबाट छिनोफानो हुने बलात्कारको केस होइन। यो त एक प्रकारको नैतिक मामिला हो। उज्ज्वला र रश्मिलाले आफूमाथि लगाएको आरोप झुटो हो भने केशव स्थापितले उनीहरूविरुद्ध मानहानीको मुद्दा दायर गरि दण्डित गराई सफाइ लिनु पर्ने थियो। उतिबेला स्थापितले अदालत जान्छु त भने तर गएनन्। उनीमाथि लागेको आरोप आलै रहेको मुख्य कारण नै त्यही हो।
२. आफूमाथि यौन हिंसा गर्ने ब्यक्ति विरुद्ध मिडियामा आउँनु ती युवतीद्वयको अधिकार हो। यो मानिस दुराचारी हो है, यस्तालाई सार्वजनिक जिम्मेवारी दिँदा अरू महिलाहरूमाथि पनि हिंसा हुने जोखिम बढ्न सक्छ भन्नू उनीहरूको कर्तव्य नै हो।
यति कुरा लेखिएसकेपछि यी पंक्तिको लेखकले महानगरका मतदाताहरूसँग केशव स्थापितलाई भोट दिनुहुन्छ कि हुँदैन हँ? भनेर सोधिरहनु पर्ला र!
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरि अधिकारी का अन्य पोस्टहरु:
- बर्मेली जुन्ताको क्रूरताः चार लोकतन्त्रवादी नेतालाई फाँसी
- नेपाल श्रीलंका बन्दैछ/ नेपाल श्रीलंका बन्ने छैन
- ‘नष्ट’ सीसीटीभी फुटेजसँगै उजागर ‘क्रान्तिकारी पाखण्ड’
- लुटतन्त्रमा परिणत भएको निरीह गणतन्त्र
- प्रणाली नै असफल बनाएको स्थिति
- घूसखोरीप्रति कति सहिष्णु हामी?
- खराब समाचारहरू र वर्तमान राज्यप्रणाली
- युवालाई राजनीतिमा आउन पालिका चुनावले दिएको सन्देश
- एमालेको हार र बालेनको उदय
- केपी ओलीको गालीपुराण