युवालाई राजनीतिमा आउन पालिका चुनावले दिएको सन्देश

हरि अधिकारी

हालै सम्पन्न स्थानीय तह ( पालिका ) हरूको चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नराम्रोसँग पराजित भएको छ। देशभरका ७५३ पालिकाहरूका लागि गराइएको मतदानमा यसभन्दा अघि पहिलो नम्बरमा रहेको त्यो दल साबिकमा आफूभन्दा कमजोर हैसियत भएको नेपाली कांग्रेसबाट पछि परेर दोस्रो नम्बरमा धकेलिएको छ। त्यतिमात्र होइन, नेपाली कांग्रेसको नेतृत्वमा बनेको सत्तासीन गठबन्धनका सबै सदस्य दलहरूले जितेका स्थानहरूलाई जोडेर हेर्ने हो भने एमालेले कुल ७५३ स्थानको करिब एक तिहाइ सङ्ख्यामा मात्र जित हासिल गर्न सकेको देखिन्छ।

अहिलेसम्म प्रकाशित र प्रत्याशीहरूले लिएको अग्रतालाई हेर्दा देशका ६ महानगरपालिका र ११ उपमहानगरपालिकाहरूको चुनाव परिणाम एमाले नेतृत्वका लागि चरम हतासाको विषय बन्ने लगभग तय छ भन्दा फरक पर्दैन। राजधानी समेत रहेको काठमाडौँसहित देशका ६ वटै महानगरपालिकाको मेयर पद एमालेको हातबाट फुत्किने प्रष्ट भएको छ। यस अघिको चुनावमा काठमाडौँ र पोखरा गरि २ महानगरपालिका जितेको त्यस वामपन्थी दलले यस पटक ती दुवै पालिका गुमाउँने निश्चित देखिन्छ भने अन्य ४ वटा महानगरपालिका: ललितपुर, भरतपुर, विराटनगर र वीरगञ्जमा पनि त्यो पार्टी लगभग पराजित भइसकेको छ। देशका ६ वटै महानगरपालिकाको मेयर पदमा एमालेका उमेदवारहरूलाई हराइ दिएर ठूला शहरहरूका प्रबुद्ध मतदाताहरूले त्यस दलले अवलम्बन गर्दै आएका नीति र कार्यक्रमहरूप्रति आफ्नो अरुचि र अविश्वासको खुलासा गरेका छन् भन्न सकिन्छ।

देशका ११ उपमहानगरको चुनावी परिणामबाट पनि एमाले नेतृत्व त्यति सार्‍है खुशी हुन सक्दैन। अहिलेसम्म प्रकाशित परिणाम र सम्भावनालाई हेर्दा त्यस दलले ११ मध्ये जम्माजम्मी ३ उपमहानगरपालिका: घोराही, तुलसीपुर र कलैयामा विजयपताका फहराउने देखिन्छ भने ७४ सालको चुनावमा आफूले जितेका इटहरी, धरान, जितपुर -सिमरा, हेटौंडा र बुटवल उपमहानगरपालिका गुमाइसकेको छ। यस पटक एमालेले विपक्षीहरूको हातमा सुम्पिएका उपमहानगरपालिकामध्ये इटहरी, धरान, हेटौँडा र बुटवललाई त्यस दलले बनाएका अजेय किल्लाहरूका रूपमा लिइन्थ्यो। यो चुनाव परिणामले एमालेले वर्षौँ लगाएर बनाएका किल्लाहरू धमाधम ध्वस्त हुँदैछन् भन्ने तथ्यलाई उजागर गरेको छ।

अर्कोतिर एमालेको चिरप्रतिद्वन्द्वी रहेको नेपाली कांग्रेसले नगरपालिकाहरूको निर्वाचनमा अन्य कुनै पनि दलको तुलनामा राम्रो नतिजा ल्याएको छ। कांग्रेसले ७४ सालमा आफूले जितेका ललितपुर र विराटनगर महानगरपालिकामा आफ्नो वर्चश्व कायम नै राखेको छ भने पोखरा, भरतपुर र वीरगञ्जमा गठबन्धनका अन्य सदस्य दलका उमेदवारहरूका लागि जितको बाटो खोलिदिएको छ। जहाँसम्म काठमाडौँ महानगरपालिकाको प्रश्न छ, त्यहाँ स्वतन्त्र उम्मेदवार बालेन्द्र साहका पक्षमा अभूतपूर्व जनसमर्थन देखापरेपछि कांग्रेसले परिणाम आफ्नो हकमा पार्नसक्ने सम्भावना नरहेकोले उसले दोस्रो नम्बरमै चित्त बुझाउँनु पर्ने स्थिति बनेको छ।

उपमहानगरपालिका र नगरपालिकाहरूको चुनावी नतिजाको विश्लेषण गरेर हेर्दा यस पटक नेपाली कांग्रेसले उत्साहजनक परिणाम ल्याएको देखिन्छ। कांग्रेसले नेतृत्व गरेको गठबन्धनले एमालेको हातबाट इटहरी, जीतपुर -सिमरा, हेटौँडा र बुटवल उपमहानगरपालिका खोसिसकेको छ भने धरानमा आफूले नजिते पनि कांग्रेस उमेदवारले एमालेलाई तेस्रोमा धकेलिदिएका छन्। जनकपुर उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह सुडी सुरुदेखि नै अग्रता लिँदै जितको नजिक पुगेका छन्। त्यहाँको हकमा नेपाली कांग्रेसले उम्मेदवार चयनमा गल्ती गरेको थियो भनियो भने अन्यथा हुने छैन।  उपमहानगरपालिकाको चुनावी नतिजाको प्रसङ्गमा नेपाली कांग्रेसको खराब प्रदर्शन कलैया र धनगढीमा मात्रै हो भन्न सकिन्छ। ती दुवै पालिका कांग्रेसले गुमाएको छ, कलैयामा एमालेको जित भएको छ भने धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको।

नगरपालिकाहरूको सन्दर्भमा कुरा गर्दा यस पटकको चुनावमा एमाले नेपाली कांग्रेसभन्दा केही पछाडि नै परेको देखिन्छ। काठमाडौँ जिल्लाका नगरपालिकाहरूको कुरा गर्दा कांग्रेस ७४ सालमा आफूले जितेका पालिकाहरूलाई यस साल पनि आफैँसँग राख्न सफल मात्रै भएन उसले कीर्तिपुर, तारकेश्वर र कागेश्वरी-मनहरा गरी ३ वटा पालिका एमालेको हातबाट खोस्न पनि सफल भयो। वामपन्थीहरूको अभेद्य किल्लाको रूपमा लिइने कीर्तिपुर माथि नेपाली कांग्रेसको कायम भएको वर्चश्व लाई धेरै अर्थपूर्ण मानिएको छ। त्यसै गरि, ललितपुरमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीच भएको चुनावी तालमेलका वलमा गठबन्धनले शानदार विजय हासिल गरेको छ। यस पटक उपत्यकाको सानो जिल्ला भक्तपुरमा पनि एमाले नेपाली कांग्रेसभन्दा थोरै पछाडि परेको छ। भक्तपुरका ४ नगरपालिकामध्ये नेपाली कांग्रेसले मध्यपुर-थिमी र चाँगुनारायण गरि २ वटा, नेपाल मजदुर किसान पार्टीले भक्तपुर र नेकपा एमालेले सूर्यविनायक गरि १/१ वटा नगरपालिकामा विजय प्राप्त गरेका छन्।

उपत्यकाका छिमेकी जिल्लाहरूमध्ये काभ्रेपलान्चोकमा एमालेको प्रदर्शन अत्यन्तै खराब रहेको छ। जिल्लाका १३ पालिकामध्ये फगत एउटा धुलिखेल नगरपालिकाको प्रमुख पद एमालेले जितेको छ भने अरू १२ पालिकाका प्रमुख नेपाली कांग्रेस र नेकपा माओवादीका उमेदवारहरूले जितेका छन्। यस सालको पालिका चुनावमा नेपाली कांग्रेस र माओवादी केन्द्रमध्ये पनि कांग्रेसको हात थोरै माथि परेको देखिन्छ। यस पटक कांग्रेसले एमालेका हातबाट बनेपा, पनौती र नमोबुद्ध नगरपालिका खोसेको छ भने यस अघि जितेका पाँचखाल लगायत अरू नपा/गापालाई जोगाउन पनि ऊ सफल भएको छ। काभ्रेपलान्चोक जिल्लाका पालिकाहरूको चुनावी नतिजा एमाले अध्यक्ष केपी ओलीका पोष्यपुत्र समान प्रियपात्र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाका हकमा सार्‍है नै सन्तापजनक रह्यो। बाँस्कोटाको जन्मथलो मण्डन-देउपुर र कर्मथलो बनेपा दुवै नगरपालिकामा एमाले नराम्रोसँग पछारिएको छ भने उनको निर्वाचन क्षेत्रका कुनै पनि पालिकाको प्रमुख पदमा एमाले उमेदवारले जित्न सकेका छैनन्।

देशभरिको निर्वाचन परिणाम अन्तिम रूपमा प्रकाशमा आएपछि प्रतिस्पर्धी दलहरू, राजनीतिक विश्लेषकहरू, अनुसन्धानकर्ताहरू र सञ्चारकर्मीहरू आदिले त्यसमाथि गहन व्याख्या विश्लेषण गर्ने छन् र सबैले आफ्नो विमर्श वा निष्कर्ष पनि प्रस्तुत गर्ने छन्। नेपाली राजनीतिमाथि गहिरो चासो र चिन्ता लिँदै आएको एक पत्रकारका रूपमा यो पङ्क्तिकारले पनि यस सालको पालिका पदाधिकारीहरूको चुनावलाई नजिकबाट हेर्ने र यसको परिणामलाई पर्गेल्ने प्रयत्न गरेको छ। आफूले गरेको रन्थन-मन्थनका आधारमा यो चुनाव परिणामले दिन खोजेको सन्देशलाई यसरी राख्न सकिन्छ:

  • नेपाली जनताले एमाले अध्यक्ष केपी ओलीको विपक्षीप्रतिको अनावश्यक आक्रामकतालाई मन पराएका रहेनछन्। जनता त उहाँले संसद् भङ्ग गरेर राजनीतिक संकट निम्त्याउँन खोजेको विषयबाट पनि रुष्ट रहेछन्।
  • केपी ओलीको तानाशाही मनसुबामाथि अंकुश लगाउँन नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनलाई नेपाली मतदाताहरूले बहुमतबाट अनुमोदन गरेका छन्। गठबन्धनलाई संसदीय चुनावसम्म नै कायम गर्दा नै सबैको भलो हुन्छ भन्ने सन्देश पनि लुकेको छ आजको जनादेशमा।
  •  गत चुनावमा जितेर पदासीन भएका अधिकांश प्रतिनिधिहरूले राम्रो काम गर्न सकेका रहेनछन्, त्यसैले मतदाताहरू तिनीहरूलाई दण्ड दिन चुनावलाई पर्खिबसेका रहेछन्। दोहोरिएका उम्मेदवारहरूमध्येको ८० प्रतिशतले हार्नुको मुख्य कारण यही हो।
  • अघिल्लो कार्यकालमा राम्रो काम गर्नेहरू दोहोरिएका पनि छन्। जनता विवेकशील हुन्छ भन्ने कुराको यो राम्रो दृष्टान्त हो।
  • नेपाली मतदाताहरूले बूढा -पुराना अनुहारहरू भन्दा युवा चेहरालाई बढी मन पराउन थालेका छन्।
  • नेपाली मतदाताहरूले पार्टी, जातपात, क्षेत्रीयता र नातासम्बन्धलाई भन्दा उमेदवारको योग्यता र क्षमतालाई महत्व दिनु पर्दछ भन्ने कुरा मनन गर्न थालिसकेका रहेछन्। गतिलो उम्मेदवार छ भने ऊ एक्लै भए पनि उसले जनताको साथ पाउने रहेछ।
  • काठमाडौँमा बालेन्द्र साह र धरानमा हर्क साम्पाङलाई छानेर नेपाली जनताले योग्य, स्वच्छ र कल्पनाशील युवाहरूलाई राम्रोसँग बनाइएको कार्ययोजना र देशसेवाको पवित्र भावनासहित राजनीतिको मैदानमा आउँन खुला आह्वान गरेका छन्। जनताले गरेको त्यो आह्वानलाई आत्मसात गर्दै देशभरिका बालेन्द्र र हर्कहरू संगठित भई आगामी मंसिरमा हुने प्रादेशिक र संघीय संसद्को निर्वाचनरूपी महायज्ञमा होमिने हो भने देशमा यसै साल आमूल परिवर्तनको लहर उठ्न सम्भव छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरि अधिकारी का अन्य पोस्टहरु:
युवालाई राजनीतिमा आउन पालिका चुनावले दिएको सन्देश
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link