म बाट हामी बन्ने सपना: लोकतान्त्रिक चेतना जागरण

राष्ट्रनिर्माणको महान् यात्रामा सबैभन्दा कठिन कार्य सत्ता कब्जा गर्नु होइन, चेतनाको रूपान्तरण गर्नु हो। नेपालको इतिहासले देखाएको छ – शासन परिवर्तन बारम्बार भयो, तर सोच परिवर्तन हुन सकेन। हामीले संविधान निर्माण गर्‍यौँ, तर चेतनाको संविधान निर्माण गर्न सकेनौँ। जनताले स्वतन्त्रता पाए, तर स्वतन्त्र सोच सिकेनन्। आज नेपाल एउटा अदृश्य सङ्घर्षको बिचमा छ – संविधानले दिएको लोकतन्त्र र चेतनाले बुझेको लोकतन्त्रबिचको द्वन्द्व। यो द्वन्द्वको समाधान केवल राजनीतिक सुधारले होइन, नैतिक जागरणले सम्भव हुन्छ।

लोकतन्त्रको आत्मा अधिकार होइन, उत्तरदायित्व हो। Robert A. Dahl ले आफ्नो प्रसिद्ध ग्रन्थ “On Democracy” मा लेखेका छन् कि “Democracy is a system where people govern themselves through equality, participation, and public reasoning.” यस परिभाषामा तीन वटा शब्द अत्यन्त गहिरा छन्। समानता, सहभागिता र विवेक। तर यी तीन वटै तब मात्र जीवित रहन्छन् जब नागरिक चेतना “म” बाट “हामी” बन्न सक्छ। जब व्यक्ति आफ्नो स्वार्थभन्दा माथि उठेर साझा हितमा सोच्न सुरु गर्छ, त्यहीँबाट लोकतन्त्रको वास्तविक यात्रा सुरु हुन्छ।

John Dewey ले “Democracy and Education” मा लोकतन्त्रलाई जीवनको शैली भनेका छन्। उनी भन्छन्- लोकतन्त्र सरकारको रूप होइन, साझा जीवन बिताउने कला हो। यो संवाद, सहकार्य र सम्मानको संस्कार हो। नेपालमा लोकतन्त्र कानुनी शब्दमा बाँधिएको छ; तर चेतनामा त्यसको आत्मा प्रवेश गर्न सकेको छैन। जबसम्म लोकतन्त्र आचरण र संस्कारमा रूपान्तरण हुँदैन, त्यो केवल शासन प्रणालीको नाम मात्र रहन्छ।

लोकतन्त्रको स्थायित्वको जरा नै नैतिकतामा गाडिएको हुन्छ। Mahatma Gandhi ले लोकतन्त्रलाई “सेवाको विज्ञान” भनेका छन्। उनले भनेका छन् – “Democracy must in essence mean the art and science of mobilizing all people in the service of the common good.” लोकतन्त्र तब सफल हुन्छ जब नेतृत्वले सत्ता होइन, सेवा रोज्छ; जब नागरिकले अधिकार मात्र होइन, कर्तव्य पनि बोध गर्छ। Immanuel Kant ले भनेका थिए “The moral law within me gives me freedom.” स्वतन्त्रता भनेको अरूको सीमा उल्लङ्घन गर्ने अधिकार होइन, आफैँलाई नियन्त्रण गर्न सक्ने विवेक हो। यही नैतिक स्वतन्त्रताले लोकतन्त्रलाई दिगो बनाउँछ।

तर नेपालको समस्या सत्ता होइन, संवादको अभाव हो। Hannah Arendt ले लेखेकी छिन् “The essence of politics is speech and action among equals.” तर नेपालमा समानताको आवाज हराएको छ। राजनीति भाषणको मञ्च बनेको छ, संवादको स्थल होइन। नेताहरू बोल्छन् तर सुन्दैनन्, जनताले गुनासो गर्छन् तर बुझ्दैनन्। लोकतन्त्रको मर्म भनेको सुन्न सक्ने, बुझ्न सक्ने र साझा निष्कर्षमा पुग्न सक्ने क्षमता हो।

Amartya Sen ले “The Idea of Justice” मा भनेका छन् – “Democracy is government by discussion.” तर हामीसँग चर्चा छैन, आरोप छ; विवेक छैन, आक्रोश छ। जब संवाद मर्छ, लोकतन्त्र पनि बिस्तारै मर्छ। संवाद लोकतन्त्रको प्राण हो, र विवेक त्यसको आत्मा। नेपालले अब विवेकपूर्ण बहसको संस्कृति पुनर्जीवित गर्नै पर्छ।

तर सबैभन्दा ठुलो विभाजन भनेको “हामी” र “उनी” को भेद हो – दलगत, जातीय, भाषिक, क्षेत्रीय, र विचारगत। यो विभाजनले नेपालको सामाजिक संरचनालाई नै कमजोर बनाएको छ। Nelson Mandela ले भनेका थिए – “Freedom is not merely to cast off one’s chains, but to live in a way that respects and enhances the freedom of others.” लोकतन्त्र तब सशक्त हुन्छ जब हामी अरूको स्वतन्त्रतालाई पनि सम्मान गर्छौँ। नेपालमा नागरिकले अझै पनि आफ्नो स्वतन्त्रता अरूको स्वतन्त्रतासँग बाझिन सक्छ भनेर बुझ्दैनन्। लोकतन्त्र भनेको सहअस्तित्वको नैतिक साधना हो, प्रतिस्पर्धाको युद्ध होइन।

लोकतन्त्रको पहिलो पाठ विद्यालयमा होइन, घरमा सिकिन्छ। बच्चाले लोकतन्त्र अभिभावकको व्यवहारबाट सिक्छ जब बुबा आमाले सुन्छन्, माफ गर्छन्, साझा निर्णय गर्छन्। त्यो नै लोकतन्त्रको पहिलो कक्षा हो। यदि हाम्रा घरहरूमा सहानुभूति र समानताको मूल्य छ भने, राष्ट्रमा पनि त्यो चेतना पलाउँछ। अहिलेको Gen Z पुस्ताले डिजिटल स्वतन्त्रता त पाएको छ, तर सामाजिक उत्तरदायित्व सिक्न बाँकी छ। उनीहरूले “स्मार्टफोन” मात्र होइन, “स्मार्ट चेतना” पनि पाउन आवश्यक छ जसमा विवेक, जिम्मेवारी र सेवा मिसिएको होस।

नेपालका वरिष्ठ नेताहरू अब मार्गदर्शक बन्नुपर्छ, प्रतिस्पर्धी होइन। उनीहरूको अनुभव नयाँ पुस्ताको ज्ञानको रूपमा हस्तान्तरण हुनुपर्छ। Dahl ले भनेका छन् “No democracy can survive without a new generation learning to renew it.”। नेतृत्वको उत्तराधिकार शक्ति हस्तान्तरण होइन, मूल्य हस्तान्तरण हो। नयाँ पुस्ताले अब लोकतन्त्रलाई पुनः जीवन दिनु पर्ने बेला आएको छ।

अन्ततः, “म बाट हामी बन्ने सपना” कुनै नारा होइन बरु यो आत्म परिवर्तनको तपस्या हो। लोकतन्त्र शासनको ढाँचा होइन, चेतनाको अभ्यास हो। जब प्रत्येक नागरिकले आफ्नो विचार, बोली र व्यवहारमा नैतिकता, सहकार्य र विवेक बसाल्छ, तब मात्र लोकतन्त्र जीवित रहन्छ। नेपालले अब दोषारोपण होइन, उत्तरदायित्वको संस्कृति निर्माण गर्नुपर्छ। विदेशी हस्तक्षेपको डर होइन, आफ्नै असक्षमताको उपचार चाहिन्छ।

लोकतन्त्र तब स्थायी हुन्छ जब राष्ट्रको आत्मा “म होइन, हामी” मा रूपान्तरित हुन्छ। नेपालको भविष्य यही चेतनामा टिकेको हुन्छ। हामी नै लोकतन्त्र हौँ, र लोकतन्त्र नै हामी हौँ।

लोकतन्त्रका न्यूनतम नियम : संस्कारको शासन

लोकतन्त्रको सबैभन्दा ठुलो सौन्दर्य यसको स्वतन्त्रता हो, तर सबैभन्दा ठुलो चुनौती पनि यही हो। स्वतन्त्रता केवल अधिकार होइन, उत्तरदायित्व पनि हो। जब स्वतन्त्रता नियन्त्रणविहीन हुन्छ, त्यो अराजकता बन्छ; जब स्वतन्त्रता नैतिकताको साथ हुन्छ, त्यो लोकतन्त्र बन्छ। नेपालको लोकतन्त्रको वर्तमान अवस्था यही चेतनाको नाजुक सन्तुलनमा उभिएको छ। संविधानले अधिकार दियो, तर नागरिकले आचरणको अनुशासन सिक्न सकेन। आज आवश्यक छ – लोकतन्त्रका न्यूनतम नियमहरू पहिचान गर्ने र त्यसलाई जीवनशैलीमा रूपान्तरण गर्ने। लोकतन्त्रको पहिलो नियम हो – पङ्क्तिबद्ध चेतना (Queue Culture)।

जहाँ लाइन लाग्ने संस्कार छ, त्यहाँ समानता छ। जहाँ सबैको पालो बराबर हुन्छ, त्यहाँ न्याय स्वतः जन्मिन्छ। तर हामीले लाइनलाई कमजोरीको प्रतीक ठान्यौँ, छिटो पुग्नुलाई सफलता मान्यौँ।

तर लोकतन्त्रमा छिटो पुग्ने होइन, सबैसँग पुग्ने कुरा हुन्छ। सडकमा सवारीको नियम पालन,कार्यालयमा सेवा लिन पालो पर्खनु, वा बजारमा विनम्रतापूर्वक व्यवहार गर्नु – यी सबै लोकतान्त्रिक आचरणका सूचक हुन्। Dahl को शब्दमा “Democracy begins in the habits of daily life.”लोकतन्त्र संसदमा होइन, सडक र घरको व्यवहारमा सुरु हुन्छ।

दोस्रो नियम हो , Civic Sense अर्थात् नागरिक संवेदना। नागरिक चेतना भनेको केवल मत हाल्ने अभ्यास होइन; यो आफ्नो वरपरको समाजप्रतिको जिम्मेवारीको बोध हो। सडक सफा राख्नु, सार्वजनिक सम्पत्तिको माया गर्नु, नियम पालना गर्नु – यी सबै लोकतन्त्रका आन्तरिक अनुशासन हुन्। नेपालमा हामीले अधिकारको चर्को माग गर्छौँ, तर कर्तव्यको अभ्यास दुर्लभ छ। लोकतन्त्र तब मात्र सुदृढ हुन्छ जब नागरिकले “मेरो अधिकार” भन्दा अघि “मेरो जिम्मेवारी” भन्छ।

तेस्रो नियम हो – No Harm but Respect . अहिंसा र आदरको चेतना। लोकतन्त्र विरोध र विविधताको सहअस्तित्वमा टिकेको हुन्छ। मतभेद हुनु स्वाभाविक हो, तर असहिष्णुता लोकतन्त्रको विष हो। गान्धीले भनेका थिए “Freedom without respect is violence.” अरूको विचारलाई अवज्ञा गर्न खोज्नु स्वतन्त्रताको अपमान हो। नेपालमा विचार भिन्नता प्रायः वैमनस्यतामा परिणत हुन्छ। तर साँचो लोकतन्त्र भनेको असहमतिमा पनि सम्मान व्यक्त गर्ने कला हो।

चौथो नियम- सभ्य टिप्पणी र शालीन संवादको संस्कृति (Civilized Media and Discourse)। लोकतन्त्रको जीवनरक्त सूचना र सञ्चार हो। तर सूचना विवेकपूर्ण नभए, सञ्चार विषाक्त बन्छ। आजको युगमा सामाजिक सञ्जालले आवाज त दिएको छ, तर जिम्मेवारी घटाएको छ। Character assassination , misinformation र Disinformation लोकतान्त्रिक चरित्र हत्या हुन्। लोकतन्त्रमा “साँचो सूचना” नागरिकको अक्सिजन हो,तर “झूट” समाजको विष हो। Hannah Arendt ले चेतावनी दिएकी छन् “The moment we lose truth in public life, freedom begins to die.”त्यसैले अभिव्यक्ति स्वतन्त्रता जति पवित्र छ, त्यति नै पवित्र हो सूचनाको सत्यता।

पाँचौँ नियम हो – Public Sense – साझा हितको बोध। लोकतन्त्रले व्यक्ति होइन, समुदायमा सोच्ने क्षमता विकास गर्छ। “मेरो मात्रै फाइदा होइन, हाम्रो फाइदा के हो?” भन्ने प्रश्न लोकतन्त्रको नैतिक मेरुदण्ड हो। Immanuel Kant ले भनेका छन् “Act only according to that maxim whereby you can at the same time will that it should become a universal law.” अर्थात्, त्यो मात्र नैतिक हो, जुन सबैका लागि हितकारी हुन सक्छ। नेपालमा राजनीतिक निर्णयहरू प्रायः व्यक्तिगत लाभमा सीमित छन्; तर राष्ट्र निर्माणका लागि “हामी” सोच आवश्यक छ। साझा नीति, साझा लाभ र साझा उद्देश्य लोकतन्त्रको प्राण बायु हो।

छैटौँ नियम हो – Ethics of Digital Democracy। डिजिटल युगमा लोकतन्त्र केवल सडकमा होइन, स्क्रिनमा पनि हुन्छ। सामाजिक सञ्जालले जनतालाई बोल्ने अधिकार दिएको छ, तर “बोल्नु जिम्मेवारी पनि हो” भन्ने चेतना आवश्यक छ। डिजिटल नागरिकता भनेको सत्य, सम्मान र संयमको प्रयोग हो। नेपालमा अहिले अभिव्यक्ति स्वतन्त्रता छ, तर विवेकको अभाव छ। त्यसैले डिजिटल लोकतन्त्रको पहिलो पाठ हो – साँचो सूचना, शालीन भाषा र सहिष्णु सोच।

लोकतन्त्रको सातौँ र अन्तिम नियम हो – साझा जिम्मेवारी र आत्म अनुशासन। लोकतन्त्रलाई शासनले होइन, नागरिकले बचाउँछ। Dahl भन्छन् “Democracy survives not by law alone, but by civic virtue.” कानुनले केवल संरचना दिन्छ, संस्कारले जीवन दिन्छ। नेपालमा नागरिक, नेतृत्व र संस्थाले आत्म अनुशासनको अभ्यास सुरु गरे भने मात्रै लोकतन्त्र दीर्घकालीन र स्थायी हुनेछ।

नेपालको लोकतन्त्र अहिले संवेदनशील मोडमा छ। राजनीतिक अस्थिरता, सामाजिक असहिष्णुता र सूचनात्मक अराजकता – यी सबै चेतनाका दोष हुन्, संविधानका होइनन्। लोकतन्त्र कानुनी पुस्तकमा होइन, व्यवहार र मनोवृत्तिमा बस्छ। जब हरेक नागरिकले “लाइनमा उभिनु, सहर सफा राख्नु, सम्मान गर्न जान्नु, सत्य बोल्नु, संयम देखाउनु” जस्ता साधारण अभ्यासहरूलाई राष्ट्र प्रेमको रूपमा बुझ्छ,त्यसै दिन लोकतन्त्रले जीवन पाउँछ। नेपाललाई अब ठुलो घोषणाको होइन, सानो अनुशासनको आवश्यकता छ।

न्यूनतम नियमहरू नै उच्चतम संस्कृति बनाउने बीउ हुन्। लोकतन्त्र सशक्त हुन्छ जब हामी सरकारको आलोचना भन्दा पहिले आफ्नो व्यवहार सुधार्छौँ।

त्यसैले आजको नेपालका लागि सबैभन्दा आवश्यक मन्त्र हो-“साँचो लोकतान्त्रिक शासन होइन, संस्कार हो। ” जसले सीमा बुझ्छ , समाज सभ्य बनाउँछ र नागरिकलाई “म होइन, हामी” बन्ने चेतना दिन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link