विधिशास्त्रको इतिहास मानव सभ्यताको आत्मखोजको इतिहास पनि हो। मानिसले समाज निर्माण गरेपछि आचरणलाई व्यवस्थित गर्न नियम बनाए। नियमलाई संस्थागत गरेपछि कानुनको विकास भयो। कानुनसँगै न्यायको प्रश्न उठ्यो। न्यायको प्रश्नसँगै कानुन किन मान्ने, कानुन कसका लागि बनाउने, न्यायको आधार के हुने र राज्यको अधिकारको सीमा कहाँसम्म हुने भन्ने प्रश्नहरू जन्मिए। यही प्रश्नको उत्तर खोज्ने क्रममा प्राकृतिक विधिशास्त्र, कानुनी प्रत्यक्षवाद, ऐतिहासिक विधिशास्त्र, समाजशास्त्रीय विधिशास्त्र, कानुनी यथार्थवाद, आलोचनात्मक विधिशास्त्र, नारीवादी विधिशास्त्र, आर्थिक विश्लेषण, पुनर्स्थापकीय न्याय र उपचारात्मक विधिशास्त्रजस्ता अनेक धाराको विकास भयो।
यी सबै धाराले कानुनको कुनै न कुनै महत्त्वपूर्ण पक्षलाई उजागर गरेका छन्। प्राकृतिक विधिशास्त्रले कानुन र नैतिकताको सम्बन्ध खोज्यो। कानुनी प्रत्यक्षवादले कानुनी वैधताको संस्थागत आधार स्पष्ट गर्यो। ऐतिहासिक विधिशास्त्रले कानुनलाई समाजको ऐतिहासिक चेतनासँग जोड्यो। समाजशास्त्रीय विधिशास्त्रले कानुनलाई सामाजिक जीवनसँग जोडेर हेर्यो। कानुनी यथार्थवादले किताबमा लेखिएको कानुनभन्दा व्यवहारमा प्रयोग हुने कानुनलाई महत्त्व दियो। आलोचनात्मक विधिशास्त्रले कानुनभित्र लुकेको शक्ति सम्बन्ध पहिचान गर्यो। नारीवादी र अन्य आलोचनात्मक धाराले कानुनले दबाइएका वा अदृश्य बनाइएका अनुभवलाई केन्द्रमा ल्याए। आर्थिक विश्लेषणले कानुनी निर्णयको परिणाम र प्रोत्साहनको संरचनालाई महत्त्व दियो। पुनर्स्थापकीय र उपचारात्मक विधिशास्त्रले अपराध, पीडा र विवादलाई सम्बन्ध र मानव रूपान्तरणसँग जोड्न थाले।
तर एक्काइसौँ शताब्दीमा मानव समाजले सामना गरिरहेका प्रश्नहरू यी परम्परागत सीमाभन्दा व्यापक भएका छन्। कृत्रिम बुद्धिमत्ता, जैव प्रविधि, आनुवंशिक सम्पादन, रोबोटिक्स, अन्तरिक्ष अनुसन्धान, जलवायु परिवर्तन, जैविक विविधताको विनाश, डिजिटल समाज, विश्वव्यापी महामारी, सीमापार अपराध, डाटा शासन र नयाँ प्रकारका असमानताले कानुनलाई नयाँ प्रश्न सोधिरहेका छन्। अब कानुनको विषय मानिस र मानिसबिचको सम्बन्धमा मात्र सीमित रहन सक्दैन। मानिसको सम्बन्ध प्रकृति, पशुपन्छी, जैविक प्रणाली, कृत्रिम बुद्धिमत्ता, भावी पुस्ता र सम्पूर्ण पृथ्वी प्रणालीसँग जोडिएको छ।
यस परिवेशमा एक्काइसौँ शताब्दीका लागि नयाँ विधिशास्त्रको आवश्यकता देखिन्छ। यसको आधार मानिसलाई हटाउनु होइन। मानिसलाई अझ गहिरो रूपमा बुझ्नु हो। मानिसलाई प्रकृतिबाट अलग गरिएको स्वायत्त प्राणीका रूपमा होइन, व्यापक जीवन र ब्रह्माण्डीय व्यवस्थासँग सम्बन्धित चेतनशील अस्तित्वका रूपमा बुझ्नु हो। यस दृष्टिकोणलाई चेतनाकेन्द्रित ब्रह्माण्डीय विधिशास्त्र भन्न सकिन्छ।
यस विधिशास्त्रको मूल मान्यता हो, कानुन बाह्य आचरणलाई नियन्त्रण गर्ने नियमको सङ्ग्रह मात्र होइन। कानुन मानव चेतना, सामाजिक सम्बन्ध, अन्य जीवित अस्तित्व, प्रकृति र व्यापक ब्रह्माण्डीय व्यवस्थाबिचको सम्बन्धलाई व्यवस्थित गर्ने मानवीय प्रयास हो। मानिस यसको केन्द्रमा रहन्छ। मानिस कानुन निर्माण गर्ने, व्याख्या गर्ने र कार्यान्वयन गर्ने चेतनशील प्राणी भएकाले मानव गरिमा यसको तत्कालीन केन्द्र हो। तर मानव केन्द्र हुनु भनेको मानव सर्वोच्चता निरपेक्ष हुनु होइन। मानव जीवनको स्थायित्व स्वयं प्रकृति, अन्य जीव र पृथ्वीको स्वास्थ्यसँग जोडिएको छ। त्यसैले यो विधिशास्त्र मानव केन्द्रित तर ब्रह्माण्डसँग समायोजित विधिशास्त्र हो।
विधिशास्त्रको नयाँ आधार
परम्परागत विधिशास्त्रले मुख्यतः तीन प्रश्नमा ध्यान दिएको देखिन्छ। कानुन के हो, कानुन कहाँबाट आउँछ र कानुन कसरी लागू हुन्छ। एक्काइसौँ शताब्दीको विधिशास्त्रले यी प्रश्नसँगै अर्को प्रश्न थप्नुपर्छ। कानुन निर्माण र प्रयोग गर्ने मानिसको चेतना कस्तो छ।
एउटै कानुन दुई फरक न्यायाधीशले फरक ढङ्गले बुझ्न सक्छन्। एउटै तथ्य दुई अधिवक्ताले फरक रूपमा प्रस्तुत गर्न सक्छन्। एउटै कानुनी अधिकारको प्रयोगले कसैलाई गरिमा दिन सक्छ र कसैलाई अपमानित गर्न सक्छ। एउटै प्रशासनिक निर्णय कानुनी रूपमा सही देखिए पनि मानवीय दृष्टिले अन्यायपूर्ण हुन सक्छ। त्यसैले कानुनको प्रभाव बुझ्न कानुनी पाठ पर्याप्त हुँदैन। कानुन लागू गर्ने व्यक्तिको चेतना, पूर्वाग्रह, संवेदना, विवेक, जिम्मेवारी र आत्मबोध पनि बुझ्नुपर्छ।
यहीँबाट चेतना विधिशास्त्रको केन्द्रमा आउँछ।
चेतना भन्नाले धार्मिक वा रहस्यमय अनुभवलाई मात्र बुझ्नु हुँदैन। यहाँ चेतना भन्नाले आफू, अरू, समाज, प्रकृति र आफ्नो कर्मको परिणामबारे बोध गर्ने मानवीय क्षमता बुझिन्छ। न्यायाधीशले आफूलाई निष्पक्ष ठान्नु र वास्तवमै आफ्ना पूर्वाग्रह चिन्न सक्नु एउटै कुरा होइन। प्रशासकले अधिकार पाएको अनुभव गर्नु र अधिकारको नैतिक सीमा बुझ्नु एउटै कुरा होइन। नागरिकले आफ्नो अधिकार बुझ्नु र अरूको अधिकारप्रति जिम्मेवार हुनु एउटै कुरा होइन।
त्यसैले नयाँ विधिशास्त्रले कानुनी चेतनालाई कानुनी संस्थाको बाहिरको विषय मानेर छोड्दैन। चेतना कानुनको निर्माण, व्याख्या, प्रयोग र मूल्याङ्कनको आन्तरिक तत्त्व बन्छ।
कानुनको पुनर्परिभाषा
यस दृष्टिकोणबाट कानुनलाई राज्यले निर्माण गरेको बाध्यकारी नियमको रूपमा मात्र परिभाषित गर्नु पर्याप्त हुँदैन। कानुन राज्यसँग सम्बन्धित हुन्छ। तर नियमबद्धता राज्यभन्दा पुरानो हो। परिवारमा नियम हुन्छ। समुदायमा नियम हुन्छ। प्रकृतिमा नियमितता हुन्छ। जीवित प्रणालीमा पारस्परिक निर्भरता हुन्छ। ब्रह्माण्डमा पनि नियमितता र सम्बन्धका संरचना देखिन्छन्।
यसको अर्थ प्राकृतिक नियम र मानव कानुन एउटै हुन् भन्ने होइन। गुरुत्वाकर्षणलाई संसदले पारित गर्दैन। ग्रहको गति अदालतले निर्धारण गर्दैन। जैविक विकासलाई प्रशासनिक आदेशले रोक्न सक्दैन। त्यसैले ब्रह्माण्डीय नियम र मानव निर्मित कानुनलाई एउटै श्रेणीमा राख्नु वैचारिक त्रुटि हुन्छ।
तर मानव कानुन ब्रह्माण्डीय र प्राकृतिक वास्तविकताबाट पूर्णतः स्वतन्त्र पनि रहन सक्दैन। मानिसको कानुनले प्रकृतिको सीमालाई अस्वीकार गर्न खोजे त्यसको परिणाम अन्ततः मानव समाजमै आउँछ। वातावरणीय विनाश, जलस्रोतको क्षय, जैविक विविधताको नाश र जलवायु परिवर्तन यसका उदाहरण हुन्।
त्यसैले यस विधिशास्त्रमा कानुनको नयाँ अर्थ यस्तो हुन्छ : कानुन भनेको मानव तथा अन्य जीवित अस्तित्वबिचको आचरण, सम्बन्ध, अधिकार, दायित्व, जिम्मेवारी र सहअस्तित्वलाई व्यवस्थित गर्ने तथा मानव जीवनलाई प्राकृतिक र ब्रह्माण्डीय वास्तविकतासँग समायोजन गर्ने चेतनायुक्त मानवीय नियम व्यवस्था हो।
यस परिभाषाले कानुनलाई राज्यबाट बाहिर लैजाँदैन। यसले राज्यलाई व्यापक जीवन व्यवस्थाभित्र राख्छ।
मानव केन्द्रितता र ब्रह्माण्डीय समायोजन
नयाँ विधिशास्त्रको एउटा महत्त्वपूर्ण प्रश्न मानव केन्द्रितता हो। मानव अधिकार आधुनिक कानुनी सभ्यताको ठुलो उपलब्धि हो। मानव गरिमा, स्वतन्त्रता, समानता र न्यायलाई कमजोर बनाएर प्रकृतिको नाममा नयाँ व्यवस्था निर्माण गर्न सकिँदैन। मानिसको गरिमा नयाँ विधिशास्त्रको केन्द्रमै रहन्छ।
तर मानव केन्द्रिततालाई मानव सर्वोच्चतामा परिवर्तन गर्नु हुँदैन। पृथ्वी मानिसको निजी सम्पत्ति होइन। नदी केवल आर्थिक स्रोत होइन। वन केवल काठको भण्डार होइन। पशु केवल उपयोगको वस्तु होइन। भावी पुस्ता आजको पुस्ताको निर्णयमा उपस्थित नभए पनि ती निर्णयबाट प्रभावित हुने वास्तविक अस्तित्व हुन्।
यसैले नयाँ विधिशास्त्रले मानव अधिकारसँगै मानव जिम्मेवारीलाई पनि केन्द्रमा राख्छ। अधिकारले मानिसलाई स्वतन्त्रता दिन्छ। जिम्मेवारीले त्यस स्वतन्त्रताको सीमा निर्धारण गर्छ। गरिमाले मानिसको मूल्य देखाउँछ। सहअस्तित्वले उसको सीमा देखाउँछ।
यसरी यसको संरचना व्यक्ति, परिवार, समाज, राष्ट्र, मानवता, अन्य जीव, प्रकृति, पृथ्वी र ब्रह्माण्डसम्म विस्तार हुन्छ। केन्द्रमा मानिस रहन्छ। परिधि विस्तार हुँदै जान्छ।
चेतना र प्राकृतिक विधिशास्त्र
प्राकृतिक विधिशास्त्रले कानुनको वैधतालाई उच्चतर नैतिक मूल्यसँग जोड्दै आएको छ। न्याय, नैतिकता, विवेक र मानव प्रकृतिबाट कानुनको मूल्य खोज्ने परम्परा प्राचीन छ। आधुनिक अधिकारको अवधारणामा पनि यसको गहिरो प्रभाव छ।
चेतनाकेन्द्रित विधिशास्त्र प्राकृतिक विधिशास्त्रलाई अस्वीकार गर्दैन। यसले त्यसमा एउटा आन्तरिक आयाम थप्छ। मानिसले न्यायलाई बाहिरबाट मात्र प्राप्त गर्दैन। न्यायको अनुभूति उसको चेतनाभित्र पनि निर्माण हुन्छ। कानुनले अन्यायपूर्ण आदेश दिन सक्छ। त्यस अवस्थामा कानुनी वैधता र नैतिक वैधताको प्रश्न छुट्टाछुट्टै उठ्न सक्छ।
यस दृष्टिकोणमा प्राकृतिक न्याय कुनै अमूर्त आकाशीय आदेश मात्र होइन। त्यो मानव चेतना, गरिमा, विवेक र जीवनसँग सम्बन्धित अनुभव पनि हो। त्यसैले प्राकृतिक विधिशास्त्रको आधुनिक रूप चेतनायुक्त प्राकृतिक न्यायतर्फ विकसित हुन सक्छ।
चेतना र कानुनी प्रत्यक्षवाद
कानुनी प्रत्यक्षवादले कानुनको अस्तित्वलाई सामाजिक तथ्य र संस्थागत मान्यतासँग जोडेर कानुन र नैतिकताको वैचारिक भिन्नता स्पष्ट गर्यो। यो आधुनिक कानुनी प्रणाली बुझ्न अत्यन्त महत्त्वपूर्ण योगदान हो।
चेतनाकेन्द्रित विधिशास्त्रले कानुनी प्रत्यक्षवादलाई विस्थापित गर्न खोज्दैन। कानुनको वैधता र कानुनको नैतिक मूल्य फरक प्रश्न हुन सक्छन्। संसदले पारित गरेको कानुन कानुनी रूपमा वैध हुन सक्छ। त्यसको सामाजिक परिणाम र नैतिक प्रभावको मूल्याङ्कन अर्को तहमा हुन्छ।
तर प्रत्यक्षवादको संस्थागत संरचनाभित्र काम गर्ने मानिसको चेतनालाई पनि अध्ययनको विषय बनाउनुपर्छ। नियम पहिचान गर्ने अधिकारीको चेतना, नियम व्याख्या गर्ने न्यायाधीशको चेतना र नियम पालन गर्ने नागरिकको चेतना कानुनी व्यवस्थाको वास्तविक जीवनसँग जोडिन्छ।
यसरी कानुनी प्रत्यक्षवादमा बाह्य वैधताको साथमा आन्तरिक कानुनी चेतनाको अध्ययन थपिन्छ।
चेतना र ऐतिहासिक विधिशास्त्र
कानुन समाजको इतिहासबाट अलग हुँदैन। कुनै समाजको कानुनी संस्कृति त्यस समाजका स्मृति, सङ्घर्ष, परम्परा, मूल्य र सामूहिक अनुभवबाट बनेको हुन्छ। नेपालमा कानुनी चेतनाको विकासलाई प्राचीन न्याय परम्परा, स्थानीय विवाद समाधान, राजकीय न्याय, मुलुकी ऐन, आधुनिक संहिताकरण र संवैधानिक विकासबाट अलग गरेर बुझ्न सकिँदैन।
ऐतिहासिक विधिशास्त्रले समाजको सामूहिक जीवनलाई कानुनको स्रोतका रूपमा हेर्छ। नयाँ विधिशास्त्रले यसलाई सामूहिक चेतनासँग जोड्छ। विगत केवल घटनाको सङ्ग्रह होइन। विगतले समाजलाई आफूलाई बुझ्ने तरिका पनि दिएको हुन्छ।
तर ऐतिहासिक चेतना भनेको पुरानो सबै कुरा जोगाउनु होइन। चेतना भनेको परम्परालाई बुझेर त्यसको मानवीय मूल्य ग्रहण गर्नु र समयले अस्वीकार गरेका पक्षलाई परिवर्तन गर्नु हो।
चेतना र समाजशास्त्रीय विधिशास्त्र
कानुन किताबमा लेखिएको वाक्य होइन। कानुन समाजमा बाँच्छ। विवाह, सम्पत्ति, परिवार, श्रम, अपराध, प्रविधि र सामाजिक सम्बन्धका कानुन त्यस समाजका व्यवहारसँग निरन्तर परिवर्तन हुन्छन्।
समाजशास्त्रीय विधिशास्त्रले कानुन र समाजको सम्बन्धलाई केन्द्रमा राख्यो। चेतनाकेन्द्रित दृष्टिकोणले त्यसमा मानिसको अनुभूति थप्छ। समाजमा कानुनको प्रभाव बुझ्न मानिसले कानुनलाई कसरी अनुभव गर्छ भन्ने जान्नुपर्छ।
कानुनबाट पीडित मानिसको चेतना, कानुनबाट संरक्षण पाएको मानिसको चेतना र कानुन निर्माण गर्ने वर्गको चेतना समान हुँदैन। त्यसैले कानुनको सामाजिक प्रभाव अध्ययन गर्दा व्यवहारसँगै अनुभव र चेतनाको अध्ययन आवश्यक हुन्छ।
चेतना र कानुनी यथार्थवाद
कानुनी यथार्थवादले कानुनको वास्तविकता न्यायाधीश, अधिवक्ता, प्रशासक र अन्य संस्थागत पात्रको व्यवहारमा खोज्यो। निर्णय केवल कानुनी नियमको यान्त्रिक परिणाम होइन भन्ने यथार्थवादको योगदान महत्त्वपूर्ण छ।
चेतनाकेन्द्रित विधिशास्त्रले यथार्थवादलाई अझ भित्र लैजान्छ। न्यायाधीशको निर्णयमा कानुनी नियमसँगै उसको अनुभव, पूर्वाग्रह, भय, संवेदना, नैतिक कल्पना, सामाजिक दृष्टिकोण र आत्मबोधले पनि प्रभाव पार्न सक्छ।
यसको अर्थ न्यायाधीशको व्यक्तिगत इच्छा कानुनभन्दा माथि हुन्छ भन्ने होइन। यसको अर्थ न्यायिक निर्णय प्रक्रियालाई मानवीय चेतनाबाट पूर्णतः अलग गरेर बुझ्न सकिँदैन भन्ने हो।
त्यसैले भविष्यको न्यायिक शिक्षा कानुनको ज्ञानमा मात्र आधारित हुनु पर्याप्त हुँदैन। न्यायिक चेतना, पूर्वाग्रहको पहिचान, नैतिक विवेक, भावनात्मक परिपक्वता र आत्मपरीक्षण पनि न्यायिक दक्षताको हिस्सा बन्नुपर्छ।
चेतना र आलोचनात्मक विधिशास्त्र
आलोचनात्मक विधिशास्त्रले कानुन तटस्थ देखिए पनि त्यसमा शक्ति सम्बन्धको प्रभाव हुन सक्ने कुरा देखायो। कानुनले केही संरचनालाई संरक्षण गर्न सक्छ। केही आवाजलाई कमजोर बनाउन सक्छ। केही सामाजिक अनुभवलाई अदृश्य बनाउन सक्छ।
चेतनाकेन्द्रित विधिशास्त्रले शक्ति संरचनाले मानिसको चेतना कसरी निर्माण गर्छ भन्ने प्रश्न थप्छ। गरिब मानिसले कानुनलाई कसरी अनुभव गर्छ। महिला, दलित, आदिवासी, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति वा सामाजिक रूपमा कमजोर वर्गले न्यायलाई कसरी अनुभव गर्छन्। शक्तिशाली व्यक्तिले कानुनलाई अधिकारको संरचना र कमजोर व्यक्तिले कानुनलाई नियन्त्रणको संरचनाका रूपमा अनुभव गर्न सक्छ।
त्यसैले न्यायको खोजीमा कानुनी समानताको साथमा चेतनागत असमानताको अध्ययन पनि आवश्यक हुन्छ।
चेतना र नारीवादी तथा अनुभव आधारित विधिशास्त्र
कानुनमा समानता लेखिनु र मानिसले समानता अनुभव गर्नु एउटै कुरा होइन। परिवार, श्रम, सम्पत्ति, विवाह, हिंसा र सार्वजनिक जीवनका क्षेत्रमा महिलाको अनुभवले कानुनको वास्तविक प्रभाव देखाउँछ।
नयाँ विधिशास्त्रले अनुभवलाई प्रमाणको महत्त्वपूर्ण सामाजिक स्रोतका रूपमा स्वीकार गर्छ। कानुनले मानिसको जीवनमा के प्रभाव पार्यो भन्ने प्रश्न कानुनी पाठको अध्ययनबाट मात्र उत्तरित हुँदैन।
यसले न्यायलाई अमूर्त व्यक्तिको अवधारणाबाट वास्तविक जीवनको व्यक्तितर्फ लैजान्छ। गरिमा यहाँ कानुनी अधिकारको अन्तिम उद्देश्यसँग जोडिन्छ।
चेतना र आर्थिक विश्लेषण
कानुनले मानिसको व्यवहारमा प्रोत्साहन र निरुत्साहन सिर्जना गर्छ। आर्थिक विश्लेषणले यही व्यवहारगत पक्षलाई गहिरो बनाएको छ। तर मानिसलाई आर्थिक स्वार्थबाट मात्र व्याख्या गर्न सकिँदैन।
मानिससँग करुणा हुन्छ। जिम्मेवारी हुन्छ। त्याग हुन्छ। आत्मसम्मान हुन्छ। भावी पुस्ताप्रतिको चिन्ता हुन्छ। प्रकृतिप्रतिको संवेदना हुन्छ।
त्यसैले नयाँ विधिशास्त्रले कानुनको आर्थिक प्रभावलाई अस्वीकार गर्दैन। आर्थिक दक्षतासँगै मानवीय गरिमा, सामाजिक विश्वास, दीर्घकालीन हित र पारिस्थितिक जिम्मेवारीलाई पनि कानुनी मूल्याङ्कनमा समावेश गर्छ।
चेतना र पुनर्स्थापना न्याय
अपराधलाई कानुनी उल्लङ्घनको रूपमा बुझ्नु आवश्यक छ। त्यससँगै अपराधले मानिस, पीडित, परिवार र समाजबिचको सम्बन्धमा चोट पुर्याउँछ भन्ने कुरा पनि बुझ्नुपर्छ।
पुनर्स्थापना न्यायले यही सम्बन्धलाई महत्त्व दिन्छ। चेतनाकेन्द्रित दृष्टिकोणले अपराधीलाई अपराधसँग पूर्ण रूपमा समान ठान्दैन। मानिसले गल्ती गर्न सक्छ। गल्तीपछि आत्मबोध गर्न सक्छ। परिवर्तन हुन सक्छ।
अजामिलको कथालाई यही कोणबाट पढ्न सकिन्छ। त्यसलाई आधुनिक फौजदारी कानुनको प्रत्यक्ष स्रोत भन्नु उचित हुँदैन। तर पश्चात्ताप, जिम्मेवारी, परिवर्तन र पुनर्स्थापनाको मानवीय प्रश्नलाई त्यस कथाले गहिरो प्रतीकात्मक आधार दिन सक्छ।
भागवतको बाह्र स्कन्ध र नयाँ विधिशास्त्र
भागवत पुराणलाई धार्मिक आख्यानका रूपमा मात्र पढ्दा यसको विधिशास्त्रीय सम्भावना सीमित हुन्छ। त्यसलाई मानव जीवन, सत्ता, कर्तव्य, चेतना, प्रकृति, मृत्यु, जिम्मेवारी र मुक्ति सम्बन्धी विशाल दार्शनिक आख्यानका रूपमा पनि पढ्न सकिन्छ।
प्रथम स्कन्धले परीक्षितको जीवन, मृत्युको चेतना, राजधर्म र अन्तिम प्रश्नको वातावरण निर्माण गर्छ। यहाँ कानुनको प्रश्नभन्दा पहिले जीवनको उद्देश्य र न्यायको प्रश्न आउँछ। राज्य सञ्चालन गर्ने मानिसले मृत्युको बोध पाएपछि आफ्नो जिम्मेवारीलाई कसरी हेर्छ भन्ने प्रश्न उठ्छ।
द्वितीय स्कन्धले व्यक्तिबाट ब्रह्माण्डतर्फ दृष्टि विस्तार गर्छ। यसले कानुनी चिन्तनलाई मानव समाजको सीमाभन्दा बाहिर लैजान प्रेरणा दिन्छ। कानुन मानिसले बनाएको संस्था भए पनि मानिस स्वयं व्यापक अस्तित्वको एउटा भाग हो भन्ने बोध यहाँबाट विकसित गर्न सकिन्छ।
तृतीय स्कन्धमा सृष्टि, प्रकृति, पुरुष र कपिलको सङ्ख्य दृष्टिकोण आउँछ। यसलाई मानव प्रकृति, चेतना, इच्छा, कर्म र स्वतन्त्रताको विधिशास्त्रीय प्रश्नसँग जोड्न सकिन्छ।
चतुर्थ स्कन्धमा ध्रुव र पृथुको कथा आउँछ। ध्रुवको यात्रा अपमानबाट आत्मखोजतर्फको यात्रा हो। पृथुको प्रसङ्ग शासन, जनकल्याण र राजकीय जिम्मेवारीसँग जोडिन्छ। यसबाट न्यायलाई अधिकारसँग मात्र होइन, शासकको चेतना र जनताको गरिमासँग जोड्न सकिन्छ।
पञ्चम स्कन्धमा ऋषभदेव, भरत र जडभरतका प्रसङ्गले मानव पहिचान, आशक्ति, आत्मबोध र जीव तथा प्रकृतिसँगको सम्बन्धलाई गहिरो बनाउँछन्। यहाँ मानिस आफूलाई सामाजिक पदबाट मात्र परिभाषित गर्ने प्राणी होइन भन्ने प्रश्न उठ्छ।
षष्ठ स्कन्धमा अजामिलको कथा जिम्मेवारी, अपराध, पश्चात्ताप र परिवर्तनको प्रश्नसँग जोडिन्छ। अपराधीलाई स्थायी रूपमा अपराधकै पहिचानमा बन्द गर्ने वा परिवर्तनको सम्भावनालाई स्वीकार गर्ने भन्ने आधुनिक फौजदारी न्यायको प्रश्नसँग यसको संवाद सम्भव हुन्छ।
सप्तम स्कन्धमा प्रह्लाद र हिरण्यकशिपुको कथा सत्ता र अन्तरात्माबिचको सङ्घर्षको गहिरो आख्यान हो। राज्यको शक्ति व्यक्तिको चेतनाभन्दा माथि पुग्न सक्छ कि सक्दैन भन्ने प्रश्न आधुनिक संवैधानिकतासँग पनि संवाद गर्न सक्छ। नरसिंहको आख्यानलाई ऐतिहासिक संवैधानिक सिद्धान्तको प्रमाणका रूपमा होइन, शक्ति सीमित गर्ने न्यायिक कल्पनाको प्रतीकका रूपमा पढ्न सकिन्छ।
अष्टम स्कन्धमा गजेन्द्र, समुद्र मन्थन र बलिका प्रसङ्ग छन्। शक्ति, वचन, कर्तव्य, सङ्कट, सहयोग र सीमाको प्रश्न यहाँ उठ्छ। मानव अधिकारको साथमा मानव जिम्मेवारी र शक्तिको संयमबारे नयाँ विधिशास्त्रले यसबाट प्रतीकात्मक संवाद गर्न सक्छ।
नवौँ स्कन्धमा राजवंश, शासन र रामको प्रसङ्ग आउँछ। शासनको वैधता शक्ति प्राप्तिबाट मात्र होइन, कर्तव्य र आचरणबाट पनि निर्माण हुन्छ भन्ने विचार यहाँबाट विकसित गर्न सकिन्छ।
दशम स्कन्धमा कृष्णका विविध सम्बन्ध र जीवनका जटिल परिस्थितिहरू आउँछन्। यहाँ कानुनले सम्बन्धको सम्पूर्ण नैतिक जटिलतालाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्न उठाउन सकिन्छ। मानिस कानुनी पद वा भूमिकामा मात्र सीमित हुँदैन। ऊ प्रेम गर्ने, दुःख भोग्ने, निर्णय गर्ने र सम्बन्ध निर्माण गर्ने चेतनशील अस्तित्व हो।
एकादश स्कन्धमा उद्धव गीतालगायतका शिक्षाले ज्ञान, वैराग्य, योग, भक्ति र आत्मबोधको प्रश्न उठाउँछन्। नयाँ विधिशास्त्रका लागि यसको महत्त्व निर्णयकर्ताको आन्तरिक अवस्थासँग जोडिन्छ। न्यायाधीशले बाह्य कानुन जान्नु पर्याप्त हुँदैन। आफूभित्रको आशक्ति, भय, क्रोध र अहङ्कार पहिचान गर्न सक्ने क्षमता पनि न्यायको गुणस्तरसँग सम्बन्धित हुन्छ।
द्वादश स्कन्धले समय, क्षय, कलियुग र परिवर्तनको प्रश्न उठाउँछ। कुनै कानुनी व्यवस्था स्थिर भएर अनन्तसम्म टिक्दैन। समाज परिवर्तन हुन्छ। प्रविधि परिवर्तन हुन्छ। मानव सम्बन्ध परिवर्तन हुन्छ। त्यसैले कानुन परिवर्तनशील हुनुपर्छ। तर परिवर्तनको क्रममा न्याय, गरिमा र सहअस्तित्वका आधारभूत मूल्य हराउनु हुँदैन।
यसरी भागवतका बाह्र स्कन्धलाई आधुनिक विधिशास्त्रको प्रत्यक्ष कानुनी स्रोत होइन, चेतना, कर्तव्य, शक्ति, न्याय, सम्बन्ध, प्रकृति, मृत्यु र सहअस्तित्वका दार्शनिक स्रोतसँग संवाद गर्ने सभ्यतागत पाठका रूपमा लिन सकिन्छ।
ध्रुव, प्रह्लाद र आधुनिक कानुनी चेतना
ध्रुवको कथा कानुनी अधिकारको कथा होइन। त्यो मान्यता र अस्वीकृतिको अनुभवबाट जन्मिएको चेतनाको कथा हो। एउटा बालकले आफूलाई अस्वीकार गरिएको अनुभव गर्छ। सुरुमा उसको खोज बाह्य प्रतिष्ठातर्फ हुन्छ। तपस्याको यात्रामा उसको चेतना रूपान्तरित हुँदै जान्छ। आधुनिक विधिशास्त्रमा यसलाई गरिमा, मान्यता र आत्ममूल्यको प्रश्नसँग संवाद गराउन सकिन्छ।
प्रह्लादको कथा पनि आधुनिक संवैधानिक अधिकारको प्रत्यक्ष पूर्वरूप होइन। तर यसमा एउटा महत्त्वपूर्ण विधिशास्त्रीय प्रश्न देखिन्छ। राज्यसत्ता वा शासकीय शक्ति व्यक्तिको अन्तरात्माभन्दा माथि पुग्न सक्छ कि सक्दैन। प्रह्लादको प्रतिरोध बाह्य शक्तिको विरुद्धको आन्तरिक स्वतन्त्रताको प्रतीक बन्न सक्छ।
यसरी ध्रुवले मान्यता र आत्मगरिमाको प्रश्न उठाउँछ। प्रह्लादले अन्तरात्मा र शक्तिको सीमाको प्रश्न उठाउँछ। दुवैलाई चेतनाकेन्द्रित विधिशास्त्रको मानवीय आधारसँग जोड्न सकिन्छ।
कानुन, न्याय, गरिमा र चेतनाको सम्बन्ध
नयाँ विधिशास्त्रमा कानुन र न्याय एउटै कुरा होइनन्। कानुन न्याय प्राप्त गर्ने संस्थागत माध्यम हो। न्याय कानुनको मूल्याङ्कन गर्ने नैतिक र मानवीय मापदण्ड हो।
गरिमा न्यायको केन्द्र हो। मानिसलाई साधनका रूपमा मात्र प्रयोग गर्न नहुने कारण उसको अन्तर्निहित मूल्य हो। तर गरिमा पनि चेतनाबाट अनुभूत हुन्छ। मानिसले आफ्नो गरिमा बुझ्छ। अरूको गरिमा स्वीकार गर्छ। राज्यले त्यसलाई संरक्षण गर्छ।
यसैले नयाँ विधिशास्त्रको आधारभूत शृङ्खला यस्तो हुन्छ।
कानुनबाट न्यायतर्फ, न्यायबाट गरिमातर्फ, गरिमाबाट चेतनातर्फ र चेतनाबाट ब्रह्माण्डीय जिम्मेवारीतर्फ।
कानुनले आचरण नियमन गर्छ। न्यायले त्यसलाई मूल्य दिन्छ। गरिमाले मानिसको मूल्य निर्धारण गर्छ। चेतनाले निर्णय र आचरणलाई दिशा दिन्छ। ब्रह्माण्डीय जिम्मेवारीले मानिसलाई आफ्नो सीमाको बोध गराउँछ।
कृत्रिम बुद्धिमत्ता र चेतना आधारित विधिशास्त्र
एक्काइसौँ शताब्दीमा कृत्रिम बुद्धिमत्ताले विधिशास्त्रको परम्परागत मानव केन्द्रित संरचनालाई चुनौती दिएको छ। अब प्रश्न कानुन मानिसले मानिसका लागि बनाउने हो भन्नेमा सीमित छैन। कृत्रिम बुद्धिमत्ताले निर्णय गर्न सक्छ। डाटा विश्लेषण गर्न सक्छ। कानुनी अनुसन्धान गर्न सक्छ। प्रशासनिक निर्णयमा सहयोग गर्न सक्छ। स्वचालित प्रणालीले मानिसको अवसर र अधिकारमा प्रभाव पार्न सक्छ।
तर कृत्रिम प्रणालीसँग मानिसजस्तै चेतना छ भन्ने निष्कर्ष प्रमाणित नभएसम्म त्यसलाई मानव चेतनासँग समान राख्नु उचित हुँदैन। नयाँ विधिशास्त्रले यहाँ दुई कुरा छुट्याउनु पर्छ। पहिलो, चेतनाको दार्शनिक प्रश्न। दोस्रो, कृत्रिम प्रणालीको कानुनी उत्तरदायित्व र सामाजिक प्रभाव।
यस दृष्टिकोणमा कृत्रिम बुद्धिमत्ताको नियमनको केन्द्र मानव गरिमा, स्वायत्तता, निष्पक्षता, पारदर्शिता र उत्तरदायित्व रहन्छ। भविष्यमा गैर मानवीय प्रणालीको कानुनी हैसियतबारे नयाँ प्रश्न उठ्न सक्छ। त्यसको उत्तर पनि चेतना, क्षमता, सम्बन्ध र जिम्मेवारीको गहिरो अध्ययनबाट खोजिनुपर्छ।
प्रकृति र भावी पुस्ता
आधुनिक कानुनले लामो समयसम्म प्रकृतिलाई सम्पत्तिको रूपमा हेर्ने प्रवृत्ति राख्यो। नदी, वन, जमिन र खनिजलाई आर्थिक स्रोतका रूपमा हेरियो। अब यो दृष्टिकोण पुनर्विचारको चरणमा छ।
नयाँ विधिशास्त्रमा प्रकृति मानव अधिकारको विरोधी होइन। प्रकृतिको संरक्षण मानव जीवनको संरक्षणकै विस्तार हो। नदीको स्वास्थ्य मानिसको स्वास्थ्यसँग सम्बन्धित छ। वनको अस्तित्व जलवायु र जैविक जीवनसँग सम्बन्धित छ। पृथ्वीको स्वास्थ्य भावी पुस्ताको अधिकारसँग सम्बन्धित छ।
त्यसैले भावी पुस्तालाई कानुनी विचारमा उपस्थित गराउनु नयाँ विधिशास्त्रको महत्त्वपूर्ण कार्य हो। आज निर्णय गर्ने मानिस र भविष्यमा त्यसको परिणाम भोग्ने मानिसबिच कानुनी तथा नैतिक सम्बन्ध स्थापित गर्नुपर्छ।
ब्रह्माण्डीय जिम्मेवारी
ब्रह्माण्डीय जिम्मेवारी कुनै धार्मिक आदेश होइन। यो मानव सीमाको बोध हो। मानिस पृथ्वीको सम्पूर्ण अस्तित्व होइन। मानिस पृथ्वी प्रणालीको एउटा चेतनशील हिस्सा हो।
मानिसले विज्ञान विकास गर्यो। अन्तरिक्षमा पुग्यो। प्रकृतिको शक्तिलाई उपयोग गर्यो। अब उसले आफ्नो शक्तिको सीमा पनि बुझ्नुपर्छ।
ब्रह्माण्डीय जिम्मेवारीको अर्थ ग्रहहरूको गति कानुनले नियन्त्रण गर्ने होइन। यसको अर्थ मानव कानुन बनाउँदा मानव अस्तित्वलाई सम्भव बनाउने व्यापक प्राकृतिक र पारिस्थितिक व्यवस्थाप्रति जिम्मेवार रहनु हो।
यसले विधिशास्त्रलाई पृथ्वी केन्द्रित न्यायतर्फ विस्तार गर्छ। पृथ्वी केन्द्रित न्याय पनि मानव गरिमाको विकल्प होइन। मानव गरिमाको दीर्घकालीन आधार हो।
न्यायाधीशको चेतना
चेतनाकेन्द्रित विधिशास्त्रको सबैभन्दा व्यावहारिक परीक्षण न्यायाधीशमा हुन्छ। न्यायाधीशसँग कानुनको ज्ञान हुनुपर्छ। प्रमाणको मूल्याङ्कन गर्न सक्नुपर्छ। प्रक्रिया बुझ्नुपर्छ। संविधान र कानुनको व्याख्या गर्न सक्नुपर्छ। यससँगै उसले आफूलाई पनि पढ्न सक्नुपर्छ।
उसको वर्गीय अनुभवले निर्णयलाई प्रभाव पारेको छ कि छैन। उसको व्यक्तिगत पूर्वाग्रहले कुनै पक्षलाई अदृश्य बनाएको छ कि छैन। उसको अहङ्कारले कठोरता पैदा गरेको छ कि छैन। उसको करुणाले कानुनी सीमालाई अनावश्यक रूपमा पार गरेको छ कि छैन। उसको भयले स्वतन्त्र निर्णयलाई प्रभावित गरेको छ कि छैन।यस्ता प्रश्न न्यायिक निष्पक्षताको विरुद्ध होइनन्। निष्पक्षताको गहिरो आधार हुन्।
यस दृष्टिकोणमा न्यायाधीशको आत्मपरीक्षण न्यायिक नैतिकताको एउटा अङ्ग बन्न सक्छ। न्यायाधीशले फैसला लेख्नुअघि मुद्दा मात्र होइन, आफ्नो मानसिक अवस्थालाई पनि हेर्न सिक्नुपर्छ।
कानुनी शिक्षाको पुनर्निर्माण
चेतनाकेन्द्रित विधिशास्त्रले कानुनी शिक्षालाई पनि परिवर्तन गर्छ। विद्यार्थीलाई दफा, नजिर र सिद्धान्त सिकाउनु आवश्यक छ। त्यससँगै कानुनले मानिसको जीवनमा पार्ने प्रभाव बुझाउनुपर्छ।
कानुन विद्यार्थीले एउटा मुद्दा पढ्दा पक्षकारको पीडा बुझ्न सक्नुपर्छ। फैसला पढ्दा न्यायाधीशको तर्क मात्र होइन, निर्णयको सामाजिक प्रभाव बुझ्नुपर्छ। संविधान पढ्दा राज्यको संरचना मात्र होइन, नागरिकको गरिमा बुझ्नुपर्छ।
भविष्यको कानुनी शिक्षामा कानुनी तर्कसँगै नैतिक तर्क, सामाजिक अनुसन्धान, मनोविज्ञान, प्रविधि, वातावरण, दर्शन र चेतनाको अध्ययनको स्थान बढ्नेछ। कानुनी शिक्षा पेसागत दक्षता मात्र उत्पादन गर्ने प्रणाली नभई जिम्मेवार कानुनी चेतना निर्माण गर्ने प्रक्रिया बन्नुपर्छ।
यस विधिशास्त्रको मौलिकता
चेतनाकेन्द्रित ब्रह्माण्डीय विधिशास्त्रले नयाँ कानुनी सम्प्रदायको नाममा पुराना सबै विधिशास्त्रलाई विस्थापित गर्ने दाबी गर्दैन। यसको मौलिकता अरूभन्दा आफूलाई श्रेष्ठ ठान्नुमा छैन। यसको मौलिकता विभिन्न विधिशास्त्रीय उपलब्धिलाई एउटा व्यापक सम्बन्धमा पुनर्संयोजन गर्नुमा छ।
यसले प्राकृतिक विधिशास्त्रबाट मूल्य ग्रहण गर्छ। प्रत्यक्षवादबाट संस्थागत स्पष्टता ग्रहण गर्छ। ऐतिहासिक विधिशास्त्रबाट सभ्यताको स्मृति ग्रहण गर्छ। समाजशास्त्रीय विधिशास्त्रबाट सामाजिक वास्तविकता ग्रहण गर्छ। यथार्थवादबाट निर्णयकर्ताको व्यवहार बुझ्छ। आलोचनात्मक विधिशास्त्रबाट शक्ति सम्बन्ध पहिचान गर्छ। नारीवादी तथा अनुभव आधारित धाराबाट जीवन अनुभव ग्रहण गर्छ। आर्थिक विश्लेषणबाट परिणामको अध्ययन गर्छ। पुनर्स्थापकीय न्यायबाट रूपान्तरणको सम्भावना ग्रहण गर्छ।
तर यी सबैको बिचमा एउटा नयाँ तत्त्व थपिन्छ। त्यो हो चेतना। चेतना यहाँ अर्को एउटा विषय होइन। सम्पूर्ण विधिशास्त्रलाई जोड्ने आन्तरिक आयाम हो।
नयाँ विधिशास्त्रको मूल सूत्र
यस विधिशास्त्रलाई एउटा वाक्यमा व्यक्त गर्नुपर्दा भन्न सकिन्छ: “मानव केन्द्रित, चेतनायुक्त र ब्रह्माण्डसँग समायोजित कानुनी व्यवस्था नै एक्काइसौँ शताब्दीको नयाँ विधिशास्त्रको आधार हो।”
यसको विस्तृत सूत्र यस्तो हुन सक्छ: व्यक्ति → परिवार → समाज → राष्ट्र → मानवता → अन्य जीव → प्रकृति → पृथ्वी → ब्रह्माण्ड।
यस क्रममा मानिस हराउँदैन।उसको जिम्मेवारी विस्तार हुन्छ।मानव अधिकारबाट मानव जिम्मेवारीतर्फ, कानुनी समानताबाट वास्तविक गरिमातर्फ, बाह्य कानुनी नियन्त्रणबाट आन्तरिक चेतनातर्फ, राज्य केन्द्रित कानुनबाट बहु-स्तरीय सहअस्तित्वतर्फ र वर्तमान पुस्ताको हितबाट भावी पुस्ताको हिततर्फ विधिशास्त्र विस्तार हुन्छ।
निष्कर्ष
एक्काइसौँ शताब्दीको कानुनले पुराना प्रश्नको उत्तर दिनुका साथै नयाँ प्रश्न पनि स्वीकार गर्नुपर्छ। मानिस स्वतन्त्र छ, तर उसको स्वतन्त्रता अरूको जीवनसँग जोडिएको छ। मानिस शक्तिशाली छ, तर उसको शक्ति प्रकृतिको सीमाभित्र छ। मानिस बुद्धिमान छ, तर बुद्धि मात्र पर्याप्त छैन। उसलाई विवेक चाहिन्छ। उसलाई संवेदना चाहिन्छ। उसलाई आत्मबोध चाहिन्छ। यसैले भविष्यको विधिशास्त्र बाह्य नियमको विज्ञानमा सीमित रहन सक्दैन। यो मानव चेतनाको अध्ययनसँग पनि जोडिनुपर्छ।
कानुनले मानिसलाई नियन्त्रण गर्छ। न्यायले मानिसलाई मूल्य दिन्छ। गरिमाले मानिसलाई केन्द्रमा राख्छ। चेतनाले मानिसलाई आफूभन्दा बाहिर हेर्न सिकाउँछ। प्रकृतिले उसको सीमाको बोध गराउँछ। ब्रह्माण्डीय दृष्टिले उसको जिम्मेवारी विस्तार गर्छ। यहीँ नयाँ विधिशास्त्रको जन्म हुन्छ।यसलाई चेतनाकेन्द्रित ब्रह्माण्डीय विधिशास्त्र भन्न सकिन्छ। यसको मूल दर्शन हो : मानिस केन्द्रमा छ, तर मानिस एक्लो छैन। कानुन मानिसका लागि हो, तर मानिस कानुनभन्दा ठुलो जिम्मेवारीभित्र बाँचेको छ।
न्याय अदालतमा सुरु हुन्छ, तर अदालतमा समाप्त हुँदैन।कानुन समाजलाई व्यवस्थित गर्छ, तर चेतनाले कानुनलाई मानवीय बनाउँछ।मानव गरिमा यसको केन्द्र हो।सहअस्तित्व यसको विस्तार हो।ब्रह्माण्डीय जिम्मेवारी यसको अन्तिम क्षितिज हो।
र अन्ततः कानुनको अन्तिम परीक्षा दफामा हुँदैन। मानिसको चेतनामा हुन्छ। न्यायको अन्तिम सीमा मानव समाजमा हुँदैन। त्यसको विस्तार सम्पूर्ण जीवन र सहअस्तित्वसम्म पुग्छ।
यही चेतनाबाट एक्काइसौँ शताब्दीको नयाँ विधिशास्त्रको यात्रा सुरु हुन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
डा. रामकृष्ण तिमल्सेना का अन्य पोस्टहरु: