६५ देखि ७२ प्रतिशतको बीचमा मत खसेको प्रारम्भिक अनुमान

निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ । मतदानको समय सकिएपछि निर्वाचन आयोगमा एक पत्रकार सम्मेलन आयोजना गरेर स्थगन भएका मतदान केन्द्रको मतदान आयोगसँगको समन्वयमा छिट्टै गर्ने व्यवस्था मिलाएको जनाएको छ । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्ने आयोगले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशैभरी एकैसाथ निर्वाचन गराउने क्रममा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएका कारण धेरै ठाउँमा निर्वाचन स्थगित गर्नु परेको बताउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलिया पत्रकार सम्मेलनमा भन्नुभयो, ‘एकै चरणमा निर्वाचन गर्नु परेका कारण भनेजस्तो सुरक्षा बन्दोबस्त हुन नसकेको हो कि भन्ने आयोगले प्रारम्भिक अनुमान गरेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूका बीच जुन सुझबुझपूर्ण सम्बन्ध र सहयोग हुनु पर्ने हो तदनुसारको नहुँदा र त्यो अनुसारको व्यवस्थापन नहुँदा, साना कुरामा पनि विवाद सृजना भइ त्यसले उग्ररूप लिँदा त्यसप्रति आयोग चिन्तित बनेको छ ।’

विवाद र झडपबाहेक कतिपय केन्द्रमा मौसमको खराबीका कारण पनि मतदान स्थगित भएको आयोगले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनु भयो। उहाँले भन्नुभयो,  ‘सबै ठाउँमा एकैचरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौँ, तर दलहरूको बीचमा उत्पन्न विवादले उग्र रूप लिएको र वर्षाका कारण समेत गरी देशभर ४४ वटा स्थानीय तहमा मतदान सम्पन्न हुन सकेन।’

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार धेरै मत खसेका स्थानमा ७४ देखि ७५ प्रतिशत सम्म खसेको छ। आधिकारिक तथ्यांक आउने क्रममा रहेपनि प्रारम्भिक रूपमा देशभरको औषतमा ६५ देखि ७२ प्रतिशतको बीचमा मत खसेको अनुमान गरिएको थपलियाले बताउनु भयो। उनले आधिकारिक तथ्यांक आउने क्रममा रहेको बताए ।

निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचनः देउवा

मतदान सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै दशकौंको अविराम लोकतान्त्रिक सङ्घर्ष–यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्न यस निर्वाचनले सहयोग पुर्‍याएको वताउनु भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस विज्ञप्तिमा सार्वभौम नेपाली नागरिकले देखाउनु भएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्रीले भन्नुभएको छ, ‘‘संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समुन्नतिको प्रत्याभूति एवम् मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणको यो राष्ट्रिय महायज्ञमा सम्पूर्ण आमाबुवा, नेपाली दिदीबहिनी तथा दाजुभाइले अत्यन्त उत्साह, संयम र धैर्यका साथ आफ्नो अमूल्य मत दिनुभएको छ।’’

प्रधानमन्त्रीले भन्नुभएको छ, ‘‘शान्तिपूर्ण एवम् भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा सरकार निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छ।’’

तस्बिरः आशौचको अवस्थामा पनि मतदान गर्न आउनुभएका चितवनका मतदाता/प्रतिमा सिलवाल

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
६५ देखि ७२ प्रतिशतको बीचमा मत खसेको प्रारम्भिक अनुमान
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link