कसरी टाढिए माछा मार्ने परम्परागत पेसाबाट दराईहरू?

माछा मार्ने दराईहरूको पुर्खौली पेसा र सीप हो। दराईको बस्ती नदी किनारा र खोला छेउमा रहनुको कारण पनि यही हो। तर आज भोलि यसको अभ्यास नै हराएको छ। निकुञ्ज क्षेत्रको नदीमा माछा मार्न नपाइने र स्थानीय जलश्रोतमा पनि स्थानीय सरकारको निषेधका कारण परम्परागत सीप खोसिएको छ।

पहेँलो तथा निलो पातुकी, सुनको हार र चाँदीका गहना शिरमा शिरफूल, नाकमा ढुङ्ग्री लगाएका एक हुल महिलाहरू बाटैमा भेटिए। उनीहरू मध्ये धेरैले रातो र केहीले कालो व्लाउज लगाएका थिए।

महिलाहरूको हूलमा नै केही पुरुषहरूले भने सेतो कछाड, माथि भोटो, कम्मरमा खुर्पेटो, खुकरी र सिरमा भादगाउँच्ले टोपी लगाएका देखिन्थे।

यो दृश्य तनहुँस्थित दुम्सी पाखाको हो। उनीहरू आदिवासी जनजातिमा सूचिकृत दराईहरू हुन्। दराई समुदायको आफनो जातीय पोशाक र पहिचान लोप हुन लागे पछि गाउँमा कोही नौलो मान्छे पुगे भने यसरी आफनो भेषभूषामा सजिएर स्वागत गर्ने परम्परा बसालेका छन् दुम्कीपाखाका दराईंहरूले।

‘आदिवासी जनजाति दराईहरूको संस्कार संस्कृति तथा पहिचान फरक भए पनि अति हिन्दूकरण र विश्वव्यापिकरणले यी सबै मासिन लागेकाले पहिचान पुनस्थापित गर्न यस्तो अभियान सुरु गरेका हौ,’ दराई समाज उत्थान संघका केन्दीय सहसचिब यमबहादुर दराईले भन्नुभयो –दराईहरूको संख्या थोरै छ। हामी अल्पसंख्यक हौ। दराईहरू चितवन, गोरखा, धादिङ, पाल्पा, नवलपरासी र बदिर्यामा दराईहरूको बसोबास गर्दछन्।

यामबहादुर दराईको भनाईमा सही थप्दै तनहुँ दम्कीपाखाकै स्थानीय शान्ति दराई आफनो नेप्टो नाक, प्रचलित भेषभुषा भाषा नै पहिचानको बिषय भएको बताउनुहुन्छ। उहाँले भन्नुभयो ‘सबै पहिचानजनित संस्कारहरू हराउँदै गएका कारण आफ्नो भेषभुषा संस्कार संस्कृतिको संरक्षण गर्नुपर्छ भनेर अघि बढेका छौँ।’

दराई समुदायको घुमाउने घरको नमूना। तस्बिर: नारायण खड्का, तनहुँ

उता तनहुँकै दराई अगुवा बीरबहादुर दराईको बिचारमा दराईहरूमा सामाजिक तथा साँस्कृतिक अतिक्रमण मात्र होइन रोजगारी लगायतका समस्या पनि चर्को रुपमा छ । तनहु जिल्लाको दमौली वरीपरिका समथल भुभागमा बसोबास गर्ने र नदीको वरिपरि बस्ने दराई जातिहरूको परम्परागत पेसा पनि लोप भएको छ। उहाँले भन्नुभयो ‘माछा मार्ने दराइहरूको पुख्र्योली पेसा र सीप हो। दराईको बस्ती नदी किनारा र खोला छेउमा रहनुको कारण पनि यही हो। तर आज भोलि यसको अभ्यास नै हराएको छ।’

२०६८ को जनगणना अनुसार दराईको जनसंख्या १७ हजार ८ सया ७९ रहेको छ। आफनो मौलिक पहिचानमा आधारित भेषभुषा, भाषा तथा संस्कृति बोकेका आदिवासी दराईहरूको थातथलो तनहुँमा रहेको अभियन्ता यामबहादुरको दावी छ।

आदिवासी दराईहरूको आफनौ परम्परागत पैतृक भूभाग, भूमि भए पनि अहिले अतिक्रमणमा परेको छ। युगौदेखि प्राकृतिक स्रोत जल, जमिन र जंगलसंग निकट भएर बिशिष्ट प्रकारका ज्ञान र सीपको प्रयोग गर्ने अवसरबाट उनीहरू बञ्चित भएका छन्। उनीहरूले प्रयोग गरिरहेको बन राष्ट्रियकरण भएका छन्। उनीहरूले हुर्काएको बन कतै सामुदासयिक बनका नाममा अरुले नै राज गरेका छन्।

यामबहादुर दराईको भनाइमा बनका स्रोतको प्रयोग गर्न कै लागि पनि अरुसँग अनुमति लिनुपर्ने बाध्यता छ। निकुञ्ज क्षेत्रको नदीमा माछा मार्न नपाइने भएकाले दराई युवाहरू माछा मार्ने काम पनि गर्देनन्। जलस्रोतमा पनि स्थानीय सरकारले निषेध गरेको छ। यसकारण दराई समाजमा बेरोजगारीको ठूलो समस्या छ।

‘सबै बेरोजगार छन रोजगारी छैन। सिमान्तकृत र अति पिछडिएको जातिको रुपमा छौ।’ दराई समाजका सहसचिव यामबहादुर दराई ले भन्नु भयो –दराई जातिको उत्थानको लागि आर्थिक रुपमा सांस्कृतिक, धार्मिक रुपमा कार्यक्रमको माग गरेका छौ।

त्यसो त दराईहरूको परम्परागत पेसा मासिदै गएको भए पनि केही सीपहरू संरक्षणमा रहेको दराई अगुवाहरूको भनाई छ। ‘केही सीपहरू अहिले पनि निरन्तरता दिइरहेका छौ। किनभने त्यसको समयअनुसारको माग बढदै गएको छ।’ स्थानीय बीरबहादुर दराईले थप्नु भयो ‘दराई गुन्द्री नौलो खालको छ। अरुलाई उपहार दिँदा पनि काम लाग्ने र मर्दापर्दा पनि संस्कृतिसँग पनि सम्बन्धित भएको कारण केही कुराहरू जोगिरहेको पनि छ। छोडिसकेको चाडपर्वहरू पनि हामीले जोगाउनुपर्छ भनेर २०४७ सालपछि यस्तो अभियान चलाएकोले केही कुराहरू जोगिएको छ।’

दराईहरू प्रकृति पुजक हुन्। सामान्यत आदिवासीहरूको आध्यात्मिक विश्वास नै आदिवासीहरूको धार्मिक मान्यता हो। आदिवासी दराई समाजमा पनि यस्तै मान्यता छ।

स्थानीय आसा दराईको भनाइमा दराईहरू प्रकृति पुजक हुन्। तर दराई संस्कार बौद्ध धर्मसँगै मिल्दोजुल्दो छ। उहाँले भन्नुभयो ‘विवाहमा पण्डित वा पुरेत लगाउने चलन छैन। बालबालिकाको न्वारनमा पनि ज्वाईबाट चोखिने प्रचलन छ। कसै मृत्यु भएको खण्डमा ज्वाँईबाट नै चोखिने काम हुन्छ।’

यसैमा शान्ति दराईको भनाइ थियो ‘दराईको पण्डित, पुरेत, लामा वा कुनै पनि गुरु हुँदैनन्। सबै काम ज्वाईँचेला वा कुटुम्बबाट सम्पन्न हुन्छ।’

विवाह पनि दराईकै बीचमा हुन्छ। दराई भित्रको पनि थर फरक बिच विहेबारी चल्छ फुपुमामा चेला बीच विवाह हुँदैन। फरक थर भएका दराईसंग मात्र विवाह गर्नुपर्छ। विवाह गर्दा मामा नै चाहिन्छ। दराई गीतलाई सहरै भनिन्छ। यो गीत चाही हाम्रो लागि महत्वपूर्ण छ। सहरै गीतमा नै मृत्यु तथा उत्सवका गीतहरू छन्।

(साभारः पाम सुनुवार/इन्डिजिनियस फिचर सेवा)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link