एण्ड्रयु साइमण्ड्सले खेलेका दुई विश्वकपको कथा

सन् २००० को शुरूको एक दशक विश्व क्रिकेटमा एकछत्र राज गरेको अष्ट्रेलियन टोलीका एक महत्वपूर्ण सदस्य एण्ड्र्यू ‘रोय’ साइमण्ड्स अब हामीमाझ छैनन्।शनिवार राति उनकै गृहनगर क्विन्स्ल्याण्डको टाउन्स्भीलबाट ५० किलोमिटरको दूरीमा भएको एक सडक दुर्घटनामा परेर ४७ वर्षीय साइमण्ड्सको मृत्यु भएको पुष्टी भएपछि सारा क्रिकेट जगत् शोकमा छ।

सन् २००० को दशकमा स्टार खेलाडीहरूले भरिएको अष्ट्रेलियन टोलीमा आफ्ना लागि विशेष स्थान बनाउँदै विश्व क्रिकेटमा गहिरो छाप छोड्न सफल साइमण्ड्स त्यो स्वर्णीम पुस्ताकै उत्कृष्ठ फिनिसरमध्ये एक मानिन्छन्।भीमकाय शरिर, ‘डेडलक’ कपाल र ओठमा पोतिएको सेतो रङ्ग साइमण्ड्को ‘ट्रेडमार्क’ थियो भने जस्तोसुकै परिस्थिति होस्, त्यसमा आफूलाई ढालेर खेल जिताउन सक्ने खुवी उनको वास्तविक पहिचान।

पिचको ‘कन्डिसन’ अनुसार स्पीन र मिडियम पेस दुबै थरिको बलिङ गर्दै विपक्षी ब्याट्स्म्यानलाई रन बनाउनबाट रोक्न माहिर साइमण्ड्सको वास्तविक परिचय भने उनको आक्रामक ब्याटिङ नै थियो।तर अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले साइमन्ड्सलाई त्यो समयका उत्कृष्ट फिल्डर मानिएका दक्षिण अफ्रिकाका जोन्टी रोड्स र हर्सल गिब्स जत्तिकै उत्कृष्ठ बताएका छन्।

सन् १९९८–२००९ सम्मको एक दशकभन्दा लामो अन्तर्राष्ट्रिय खेलजीवनमा साइमन्डसले २९ टेस्ट र १९८ एकदिवशीय खेल खेल्ने क्रममा थुप्रै सम्झनलायक पारीहरू खेल्दै पूरा विश्वको मन जितेका थिए।उनले अन्तर्राष्ट्रिय खेलजीवनका क्रममा तय गरेको यात्रा र पार गरेका आँकडाहरूले उनको बारेमा धेरै कुरा बताउँछ, तर सन् २००३ र २००७ को विश्वकप क्रिकेटमा उनको प्रदर्शनलाई हेर्ने हो भने त्यसलाई अद्भूत मान्न सकिन्छ।अष्ट्रेलियाले अपराजित हुँदै जितेको ती दुई विश्वकपमा खेलेको १८ म्याचका १३ पारीमा साइमन्ड्सले १०० भन्दा माथिको औसतमा रन बनाएका थिए।ती दुई विश्वकपमा साइमण्ड्सले गरेको प्रदर्शनको यहाँ समग्र चर्चा गरिएको छ।

विश्वकप २००३ र २००७ मा एण्ड्रयू साइमण्ड्सको प्रदर्शन:

१८ खेल

१३ पारी

५१५ रन

१०३.०० को ब्याटिङ औसत

९३.२९ को स्ट्राइक रेट

२००३ विश्वकप , दक्षिण अफ्रिका: दक्षिण अफ्रिकामा सम्पन्न आठौँ एक दिवशीय क्रिकेट विश्वकपमा साइमण्ड्सले पाँच इनिङ खेल्दै १६३ को औसतमा ३१२ रन बनाएका थिए।यही विश्वकपको पहिलो खेलमा पाकिस्तान विरुद्ध उनले बनाएको अविजित १४३ रनको पारी सम्भवतः उनको खेलजीवनकै उत्कृष्ठ पारीमध्ये एक थियो।

पहिले व्याटिङ गरेको अष्ट्रेलिया ४ विकेटको नोक्सानीमा ८६ रनको दयनीय अवस्थामा रहेका बेला क्रिजमा आएका साइमण्ड्सले १२५ बलमा १४३ रनको अविजित पारी खेल्दै टोलीको उद्दार गरेका थिए।वसिम अक्रम, वकार युनिस र शोएब अख्तरजस्ता खतरनाक तीब्र गतिका बलरहरूविरुद्ध डटेर सामना गरेका साइमन्ड्सले अर्को पारीमा पाकिस्तानका मोहमद युसुफको महत्वपूर्ण क्याच लिँदै खेलको नतिजा आफ्नो पक्षमा ढल्काएका थिए।उनी त्यस खेलका म्यान अफ दि म्याच चुनिएका थिए।पछि गएर उनको अन्तर्राष्ट्रिय खेलजीवनमा त्यो पारी महत्वपूर्ण मोड सावित हुन पुगेको थियो।

उनले दोस्रो खेलमा नामिबियाविरुद्ध ५९ रन बनाए भने इंग्ल्याण्ड विरुद्ध तेस्रो पारीमा डक आउट भए।चौथो खेलमा केन्या विरुद्ध नटआउट ३३ रन बनाएका साइमण्ड्सले श्रीलंका विरुद्धको सेमिफाइनलमा अर्को ‘निर्णायक’ इनिङ खेले।खेलको तेह्रौ ओभरमा म्याथ्यु हेडेन आउट भएर अष्ट्रेलियन टोली ५१÷३ को संघर्षपूर्ण अवस्थामा रहेको समयमा ब्याटिङ गर्न आएका साइमण्ड्सले ११८ बलमा ९१ रनको सूझबुझपूर्ण र अविजित पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए।श्रीलंकाका विष्फोटक ओपनर सनथ जयसूर्यालाई बडो चलाखीपूर्ण तरिकाले क्याच आउट गरेका साइमण्ड्स नै यस खेलमा पनि म्यान अफ दि म्याच चुनिएका थिए।

भारतविरुद्धको फाइनलमा अष्ट्रेलियाले कप्तान पोन्टिङको शानदार १४० रनको सहयोगमा ५० ओभरमा ३५९ रनको विशाल योगफल खडा गरेपछि साइमण्ड्सले ब्याटिङ गर्नै परेन।फाइनलमा २ ओभर बल फ्याक्दै उनले दिनेश मोंगिया र हरभजन सिंहको महत्वपूर्ण विकेट झारेका थिए।

२००७ विश्वकप, वेस्ट इन्डिज: साइमण्ड्सले २००७ को विश्वकपमा कुल ८ इनिङ खेल्दै ९८.४३ को औसतमा कुल १८९ रन बनाए जसमा १ अर्धशतक सामेल थियो।उनको यो विश्वकपका प्रदर्शनहरूमा २००३ मा जस्तो ठूला–ठूला व्यक्तिगत स्कोर देख्न नपाइए पनि त्यो विश्वकपमा उनको प्रदर्शनमा गजबको एकरूपता देखिएको थियो।आफूले खेलेका सबै इनिङमा उनले दोहोरो अंकको आँकडालाई छोएका थिए भने पाँच खेलमा उनी अविजित थिए।

इंग्ल्याण्डविरुद्ध ‘सुपर एट’ को महत्वपूर्ण खेलमा २८ रनको अविजित पारी खेल्दै २४८ रनको लक्ष्य भेटाउन महत्वपूर्ण भूमिका खेलेका साइमण्ड्सले सोही चरणको अर्को खेलमा श्रीलंकाविरुद्ध ६३ रनको अर्को अविजित पारी खेल्दै अष्ट्रेलियालाई सेमीफाइनलतर्फ डोर्‍याएका थिए।दक्षिण अफ्रिका विरुद्धको सेमिफाइनल र श्रीलंका विरुद्धको फाइनलमा पनि उल्लेखनीय प्रदर्शन गरेका साइमण्ड्सले श्रीलंकाविरुद्धको फाइनल खेलमा लसिथ मालिङ्गाको विकेट लिँदै अष्ट्रेलियालाई उपाधि दिलाएका थिए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
एण्ड्रयु साइमण्ड्सले खेलेका दुई विश्वकपको कथा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link