परम्परागत बैङ्किङ प्रणालीलाई प्रविधिमैत्री बनाउँदै सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले डिजिटल रूपान्तरणमा उल्लेखनीय प्रगति गरेको छ। बैङ्कको कुल कारोबारमध्ये हाल ९३ प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको तथ्यले ग्राहकहरूको डिजिटल सेवाप्रतिको बढ्दो विश्वास र प्रयोगलाई स्पष्ट रूपमा देखाएको छ।
स्वतन्त्र समाचार सेवासँग कुरा गर्दै बैङ्कको डिजिटल ट्रान्सफरमेसन युनिटका प्रमुख समीप पाण्डेले सिटिजन्स बैङ्कले डिजिटल बैङ्किङलाई केवल सेवा विस्तारको माध्यमका रूपमा नभई ग्राहकको जीवनशैली सहज बनाउने दीर्घकालीन समाधानका रूपमा विकास गरिरहेको बताउनुभयो।
‘सिटिजन्स डिजीबैङ्क‘ –प्लेटफर्म एक, सेवा अनेक
बैङ्कले आफ्ना सम्पूर्ण डिजिटल सेवाहरूलाई एकीकृत गर्दै ‘सिटिजन्स डिजीबैङ्क’ नामक ओम्नी–च्यानल प्लेटफर्म सञ्चालनमा ल्याएको छ। मोबाइल र वेब दुवै माध्यमबाट समान अनुभव प्रदान गर्ने यस प्लेटफर्ममा हाल ५० भन्दा बढी सेवाहरू उपलब्ध छन्। अनलाइन खाता खोल्ने, केवाईसी अद्यावधिक, डिजिटल ऋण अनुरोधदेखि कार्डरहित नगद झिक्ने सम्मका सुविधाले ग्राहकलाई शाखा धाउनुपर्ने आवश्यकता घटाएको छ।

विभागीय प्रमुख पाण्डे भन्नुहुन्छ, “हाम्रो मुख्य प्राथमिकता ग्राहकको समय बचत गर्दै २४/७ सहज बैङ्किङ पहुँच सुनिश्चित गर्नु हो। सिटिजन्स डिजीबैङ्कका ११ वटा मुख्य मेनुहरू मार्फत बैङ्कका अधिकांश सेवाहरू औँलाको टुप्पोमै उपलब्ध छन्।”
नवप्रवर्तनमा अग्रणी: भर्चुअल क्रेडिट कार्डदेखि एआईसम्म
सिटिजन्स बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवप्रवर्तनको अगुवाइ गर्दै भर्चुअल क्रेडिट कार्ड, स्वचालित एएसबिए मार्फत सेयर आवेदन, तथा ‘टिङटिङ’ नामक एआई आधारित अटोमेटेड कल सेवा सञ्चालनमा ल्याएको छ। यस्तै, ‘पेडे ऋण’ र क्रस–बैङ्क क्युआर टेलरजस्ता सेवाहरूले ग्राहकलाई अझ सहज, छरितो र शाखा–मुक्त बैङ्किङ अनुभव प्रदान गरिरहेका छन्।
सुरक्षा र चुनौती: बैङ्कको उच्च सतर्कता
डिजिटल बैङ्किङसँगै बढ्दै गएको फिसिङ, डाटा चोरी तथा अन्य साइबर जोखिमप्रति बैङ्क सजग रहेको पाण्डेले स्पष्ट पार्नुभयो। उहाँका अनुसार दुई–तहको प्रमाणीकरण , उच्चस्तरीय इन्क्रिप्शन र नियमित सुरक्षा अडिटमार्फत ग्राहकको डाटा सुरक्षित राखिँदै आएको छ।
“हामीले सुरक्षालाई सेवा विकासको प्रारम्भिक चरणदेखि नै प्राथमिकतामा राखेका छौँ। अन्तर्राष्ट्रिय स्तरका भेन्डरहरूसँग सहकार्य गर्दै डिजिटल ठगी नियन्त्रणमा निरन्तर काम गरिरहेका छौँ,” पाण्डेले भन्नुभयो।

भविष्यको योजना: एआई च्याटबोट र पूर्ण डिजिटल ऋण
आगामी दिनमा सिटिजन्स बैङ्कले थप १७–१८ वटा नयाँ डिजिटल सेवा थप्ने तयारी गरेको छ। यसमा एआई आधारित च्याटबोट, ग्राहकको जानकारी (केवाईसि) अद्यावधिक प्रक्रिया, पूर्ण रूपमा डिजिटल ऋण प्रक्रिया, भिडियो बैङ्किङ तथा एआईमार्फत कागजात प्रमाणीकरण प्रणाली प्रमुख छन्। विशेष गरी ग्रामीण क्षेत्रका ग्राहकलाई लक्षित गरी प्रविधिमैत्री समाधान विकासमा बैङ्क सक्रिय रहेको जनाएको छ।
राष्ट्र बैङ्कको नीति र क्यासलेस अर्थतन्त्र
नेपाल राष्ट्र बैङ्कले ठुला नगद कारोबारमा लगाएको रोक र डिजिटल भुक्तानीलाई दिएको प्रोत्साहनले नगदरहित (क्यासलेस) अर्थतन्त्रतर्फ जान ठुलो मद्दत पुगेको पाण्डेको ठम्याइ छ। आगामी दिनमा साना कारोबारमा शुल्क घटाउने र डिजिटल पूर्वाधारमा लगानी बढाउने नीतिगत सुधार भएमा डिजिटल बैङ्किङले अझै उचाइ लिने उहाँको विश्वास छ।
डिजिटल साक्षरता बढाउँदै र सुरक्षित प्रविधिमा लगानी गर्दै सिटिजन्स बैङ्कले आफूलाई नेपालको डिजिटल बैङ्किङ क्षेत्रमा नेतृत्वदायी भूमिकामा स्थापित गर्ने लक्ष्य राखेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीमितलाई एक लाख उपचार सुविधा कायम, ओपिडीमा सीमितता
- टी-२० विश्वकप: दक्षिण अफ्रिकाको नाटकीय जित, आज नेपाल विरुद्ध इटाली
- अपराध गरेर विदेश लुकेका १० जनालाई इन्टरपोल सहयोगमा नेपाल फर्काइयो
- सञ्चारमाध्यम उल्लङ्घनमा प्रेस काउन्सिललाई कारबाही गर्न निर्देशन
- निर्वाचन आयोगद्वारा नागरिक शिक्षा स्रोत सामग्री सार्वजनिक
- आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
- बुवाको पहिचान नहुँदा एघार वर्ष आमाको नामबाट नागरिकता
- कृषि क्षेत्र सुस्त, उद्योग र सेवा चलायमान, चालु आवको वृद्धिदर ३.५%
- आज उच्च पहाड र हिमालमा बदली, तराईमा तुँवालोको सम्भावना
- मुस्ताङ निर्वाचन : ३६ देखि ६८९ मतदातासम्मका केन्द्र, ३९ स्थान कायम