कोरला नाका बन्द विकल्प बनेसँगै मुस्ताङ भन्सारमा उछाल

नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व संकलन गरेको छ । चालु आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको लक्ष्य नौ अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहे पनि साढे तीन महिना नबित्दै मुस्ताङ भन्सारले लक्ष्यभन्दा बढी रु दुई अर्ब ४५ करोड ४७ लाख भन्सार राजस्व संकलन गर्न सफल भएको छ ।

भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार चालु वर्षको साउनदेखि कात्तिक १३ गतेसम्मको अवधिमा कोरला नाकाबाट रु २६ अर्ब एक करोड २३ लाख मूल्य बराबरको मालवस्तु आयात भएको जानकारी दिए । त्यसैगरी, नेपालबाट भने रु २८ करोड ६३ लाख मूल्य बराबरको मालवस्तु चीनतर्फ निकासी भएको छ । यस अवधिमा मुस्ताङ भन्सार कार्यालयमा चीनबाट आयात गरिएका विभिन्न कम्पनीका छ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी)को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार अधिकृत सिंहले जानकारी दिए । गत वर्ष मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोड राजस्व संकलन गरेको थियो ।

दसैँअघि असोज २७ गतेसम्म कार्यालयले रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व संकलन गरेकामा दसैँपछि भने थप रु तीन अर्ब १२ करोड ६४ लाख राजस्व संकलन गरेको भन्सार अधिकृत सिंहले बताए। दसैँअघि कोरला नाकाबाट रु १० अर्ब ४० करोड ६९ लाख बराबरका चिनियाँ मालवस्तु कोरला नाका हुँदै नेपालतर्फ आयात भएकामा दसैँपछि भने थप रु छ अर्ब ७० करोड ५४ लाख मूल्य बराबरको चिनियाँ मालवस्तु नेपालतर्फ आयात भएको मुस्ताङ भन्सार कार्यालयले उल्लेख गरेको छ ।

त्यसैगरी, चालु वर्षको साउनदेखि असोज २७ गतेसम्म कोरला नाकाबाट तीन हजार ९२६ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएकामा दसैँपछिको १५ दिनमा थप दुई हजार ५७५ वटा विद्युतीय सवारीको भन्सार जाँचपास भएको भन्सार अधिकृत सिंहले जानकारी दिए । उनका अनुसार रसुवागढीनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द हुँदा कोरलानातर्फको निकासी तथा पैठारी कारोबार बढेको छ । रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढी घटनापछि त्यहाँबाट मार्ग परिवर्तन भई सयौँ कन्टेनरका मालवस्तु कोरला नाकाबाट पैठारी भएको हो ।

चीनतर्फको एकमात्रै वैकल्पिक नाकाका रूपमा स्थापित भइरहेको कोरला नाका हुँदै चीनबाट तयारी पोसाक, कस्मेटिक सामान, इलेक्ट्रोनिक उपकरण, औद्योगिक कच्चा पदार्थ खाद्यान्न, फलफूल, दसैँतिहारजस्ता चाडपर्व लक्षित सामग्रीका साथै विद्युतीय सवारी नेपालतर्फ पैठारी भइरहेको छ । नेपाल–चीन उत्तरी कोरला नाका गत वर्षको भदौ ३१ गते सरकारले पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link