यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १७ वटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएका छन् भने मुस्ताङ जिल्लामा १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ।
प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख नारायण ढकालका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा कुल १७ अस्थायी मतदान केन्द्र तोकिएका छन्। गोरखा, पर्वत, म्याग्दी, तनहुँ, कास्की र बागलुङमा दुई–दुई वटा तथा नवलपुर, स्याङ्जा, मनाङ, मुस्ताङ र लमजुङमा एक–एक वटा अस्थायी केन्द्र निर्धारण गरिएको छ। यी केन्द्रहरूबाट अस्थायी मतदाता (खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागारका कैदी बन्दी आदि) ले समानुपातिकतर्फ मतदान गर्न पाउनेछन्। प्रदेशमा कुल २१ हजार ६९३ जना अस्थायी मतदाता रहेका छन्।
गण्डकी प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता छन्। निर्वाचन सम्पन्न गर्न एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएका छन्। झन्डै २१ हजार कर्मचारी तथा स्वयंसेवक (१४ हजार ३५० कर्मचारी र सात हजार ६५ स्वयंसेवक) परिचालन हुनेछन्। प्रदेशका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्रसहित २३४ उम्मेदवार (२९ महिला र २०५ पुरुष) चुनावी मैदानमा छन्।
यसैबिच, मुस्ताङ जिल्लामा कुल ३९ मतदान केन्द्रमध्ये १० वटालाई संवेदनशील सूचीमा राखिएको छ। भौगोलिक विकटता तथा मतदाता सङ्ख्याका आधारमा जिल्ला सुरक्षा समितिले यी केन्द्रहरूलाई संवेदनशील ठहर गरेको हो। प्रमुख जिल्ला अधिकारी अजिता शर्माले सुरक्षा दृष्टिकोणका कारण संवेदनशील केन्द्रहरूको नामावली सार्वजनिक नगरेको बताउँदै विशेष प्राथमिकतामा राखेर सबै खाले सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिइन्।
मुस्ताङमा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै ३१२ जना निर्वाचन प्रहरी खटाइएका छन्। २१६ जना कर्मचारी जनशक्तिलाई फागुन १८ गतेसम्म मतदान सामग्रीसहित कार्यस्थलमा खटाइने छ। उच्च उचाइका २१ मतदान केन्द्रमा लेक लाग्ने समस्यालाई मध्यनजर गर्दै पोर्टेबल अक्सिजन क्यान र पाँच प्रकारका प्राथमिक उपचारका औषधि पठाइएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताए। माथिल्लो मुस्ताङका छ, लोघेकर दामोदरकुण्डका १० र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका छ मतदान केन्द्रमा यो व्यवस्था गरिएको छ। लोमान्थाङमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने सबै स्वास्थ्य केन्द्र तथा चौकी तयारी अवस्थामा छन्।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण बनाउन फागुन १८ गते रातिदेखि नेपाल–चीन सीमानाका पूर्ण रूपमा बन्द गरिने भएको छ। शुक्रबार रातिदेखि फागुन २१ गतेसम्म मादक पदार्थ बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ भने फागुन २० गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म अति आवश्यकबाहेक सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइएको छ।
यी व्यवस्थाहरूले गण्डकी प्रदेशमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको सङ्केत गर्छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- एआई नियमनका लागि प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय ढाँचामा लोकतान्त्रिक सहभागिता र निगरानी आवश्यक
- पहेँलपुर सलकपुरमा सुन्तला र पर्यटनको दोहोरो बहार
- दोस्रो हाफमा पाँच गोल गर्दै रियल मड्रिडको सानदार जित, च्याम्पियन्स लिगमा अपराजित यात्रा कायमै
- आज महिला हिंसा उन्मूलन दिवस
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- मौसम पूर्वानुमान: आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली, बिहीबार बिहान तराईमा हुस्सु
- मेसिनले सहज बनाएको पुर्ख्यौली सीप : माटोमै भविष्य खोज्दै श्रीराम
- दमौली जानुपर्ने बाध्यताको अन्त्य, शुक्लागण्डकीबाटै करसम्बन्धी सेवा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- देशभर आज मौसम मुख्यतया सफा, केही क्षेत्रमा आंशिक बादल