प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ। आयोगले आज साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म भएको मतदान कार्यमा देशभरबाट प्रारम्भिक अनुमानित ६० प्रतिशत मत खसेको जानकारी दिएको छ।

शान्तिपूर्ण र व्यवस्थित मतदान

विशिष्ट परिस्थितिमा घोषणा भएको यस निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गराउनु चुनौतीपूर्ण भए पनि सबैको सहयोगले यो सफल भएको आयोगको ठम्याइ छ। केही मतदान केन्द्रहरूमा समयभित्र प्रवेश गरेका मतदाताहरूका लागि मतदान कार्य जारी रहेको भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। छिटपुट अवरोधका घटनाबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक रिपोर्टले पनि निर्वाचनलाई शान्तिपूर्ण मानेको छ।

मतगणना र मतपेटिका ढुवानी

मतदान कार्य सम्पन्न भएसँगै देशभरका मतपेटिकाहरू सुरक्षित रूपमा सङ्कलन गर्ने कार्य सुरु भइसकेको छ र आयोगका अनुसार सबै मतपेटिकाहरू सङ्कलन भए लगत्तै मतगणना कार्य तत्काल प्रारम्भ गरिनेछ। विशेष गरी दुर्गम क्षेत्रका मतपेटिकाहरू ढुवानीका लागि आयोगले विशेष व्यवस्था गरेको छ, जसअन्तर्गत १५ वटा दुर्गम जिल्लाका विकट क्षेत्रहरूबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइनेछ। ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिकाहरू आजै सम्बन्धित मतगणना स्थलमा पुर्‍याउने लक्ष्य राखिएको छ भने सङ्खुवासभा, सोलुखुम्बु, गोरखा, रुकुम (पश्चिम भाग), मनाङ, बाजुरा र हुम्लाका मतपेटिकाहरू भने शुक्रबार बिहानसम्ममा मात्र मतगणना स्थलमा पुर्‍याइने आयोगले जनाएको छ।

आयोगको धन्यवाद

निर्वाचन आयोगले यस लोकतान्त्रिक उत्सवमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साथै, निर्वाचन सफल पार्न सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र पर्यवेक्षक संस्थाहरू प्रति पनि आयोगले आभार व्यक्त गरेको छ।

निर्वाचन आयोगको प्रेस विज्ञप्ति

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link