जितपछि पनि किताब बेच्दै महावीर पुन

म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुन:चुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरेका हुन् ।

“एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु ।” पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागेको थियो । पुनः संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर पुनले जन्मथलो म्याग्दीमा चुनाव लड्न आएका थिए । उनले जेन जेड आन्दोलन अघि पनि देशका विभिन्न ठाउँ पुगेर किताब बेच्ने गर्दै आएका थिए ।गत भदौको २३ र २४ जेन जेड आन्दोलनपछि पूर्वप्रधानान्यायाधीश सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा उनी करिब चार महिना शिक्षामन्त्री बने । स्वतन्त्र उम्मेदवार पुनले लोकप्रिय मतका साथ म्याग्दीमा चुनाव जितेलगत्तै समर्थकलाई विजयउत्सव मनाउने नाममा तडकभडक नगर्न अनुरोध गर्दै आफ्नै पुरानो दिनचर्यामा फर्केका हुन् ।

पुनले २२ हजार ८५० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१० मत पाए। नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ६७६ मत पाए। निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरिनसकेको र फुर्सदको समय सदुपयोगका लागि पुस्तक बिक्री गर्न निस्किएको पुनले बताए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link