बाँदरले दु:ख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ। बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन्। बाँदरको दु:ख कम नभएपछि ग्रामीण बस्तीहरू क्रमश: सुनसान बन्दै गएका छन्।
स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन्। खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुन: फर्किने भएकाले नियन्त्रण गर्न झन् कठिन भएको छ। कतिपयले डर देखाउने आकृति बनाएका छन्। खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन।
विशेषगरी मानेभञ्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका–५ (साविक वडा नं) ८ र ९० मा बाँदरको समस्या ठूलो छ। स्थानीय जगतबहादुर तामाङका अनुसार यस क्षेत्रका करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ रित्तो जस्तै भएको छ।
“पहिले खेतबारीमा चहलपहल हुन्थ्यो, अहिले घरका ढोका बन्द छन्, आँगनमा झार उम्रिएको छ”, उनले भने। अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायतका बस्तीहरूमा अहिले अधिकांश घरहरू जीर्ण र खाली अवस्थामा छन्। एक समय हराभरा देखिने खेतबारी बाँझै छाडिएका छन्।
खेतका कान्ला र पाखाहरू झाडीले ढाक्न थालेका छन् भने कतिपय स्थानमा बारी नै जंगलमा परिणत हुन थालेको छ। उत्पादनमुखी जमिन उपयोगविहीन बन्दै जाँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ।
किसानहरूका अनुसार मकै, कोदो, फापर, गहुँ, आलु तथा तरकारी जस्ता अन्नबाली बाँदरले नष्ट गरिदिने गरेको छ। “बाँदरले लगाएको बाली छिनभरमै सखाप पारिदिन्छ”, तामाङले गुनासो गरे, “दिनभरि खेतबारी कुरेर बस्न सकिँदैन। मेहिनत गरेर लगाएको बाली जोगाउन नसक्दा धेरैले खेती छाडे। कतिपयले त गाउँ नै छाड्नुपरेको छ।”
जिल्लाका अन्य स्थानीय तहहरूमा बाँदर समस्या उस्तै गम्भीर रहेको कृषकहरूको गुनासो छ। कृषि नै मुख्य आम्दानीको स्रोत रहेको ग्रामीण परिवारहरू आर्थिक रूपमा मारमा परेका छन्। युवापुस्ता रोजगारीका लागि बाहिरिएपछि बचेका ज्येष्ठ नागरिक र महिलामाथि खेतबारीको जिम्मेवारी थपिएको छ, तर बाँदर आतंकका कारण उनीहरू पनि निरुत्साहित भएका छन्।
स्थानीय सरोकारवालाहरूका अनुसार वनक्षेत्र नजिकका बस्तीहरूमा समस्या चर्को छ। मानवीय बस्ती घट्दै जादा बाँदर बाँकी रहेका बस्ती केन्द्रित बनेका छन्। दीर्घकालीन रूपमा समस्या समाधान नगरे गाउँ रित्तिँदै जाने तथा खेतीयोग्य जमिन पूर्ण रूपमा बाँझिने खतरा बढ्दै गएको किसानहरुको भनाइ छ।
बाँदर नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण, वैज्ञानिक व्यवस्थापन, सामूहिक बाली सुरक्षा प्रणाली, क्षतिपूर्ति व्यवस्था तथा वैकल्पिक खेती प्रविधिको विकास आवश्यक रहेको स्थानीयको भनाइ छ। साथै, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानहरुको माग छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मनसुनबाट देशभर साढे २ लाख नागरिक प्रभावित हुने अनुमान
- आईपीएल २०२६: मिचेल मार्सको विस्फोटक ब्याटिङ, लखनउद्वारा चेन्नाई ७ विकेटले पराजित
- विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
- आजको मौसम पूर्वानुमान
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६३औँ प्रतिवेदन पेस
- सडक विस्तारसँगै सम्पदा संरक्षण
- डिजिटल अर्थतन्त्र र संरचनागत सुधार: आगामी बजेटको मार्गचित्र
- आईपीएल २०२६: मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स ६ विकेटले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- धौलागिरि डायरी: उजाडिँदै पदमार्ग, सुस्ताउँदै पर्यटन