भारतको नयाँ चिया नीति: नेपाली उद्योगलाई ठूलो धक्का

भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ।

भारतको यो नीतिगत कडाइका कारण वार्षिक रु पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटमा परेको व्यवसायीहरूले बताएका छन्।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो। नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ।

“चिया निर्यातको यो मुख्य याम हो। अहिले करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा छ”, अध्यक्ष पराजुलीले भने, “तर भारतीय पक्षको नयाँ र कडा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजाने आँट गर्न सकेका छैनन्। दुई सातादेखि एक पोका चिया पनि निर्यात हुन सकेको छैन।”

यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो। तर, नयाँ नियमअनुसार काँकडभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानीट्ङ्की भन्सार प्रवेश गर्ने बित्तिकै प्रत्येक ट्रकको चियाको नमुना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्ने भएको छ।

प्रतिट्रक नमुना परीक्षणका लागि रु १८ हजार शुल्क तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्ने बताइएको छ। भारतीय प्रयोगशालाले १४ दिनभित्र अनलाइन प्रणालीमा रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा उक्त चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउनसमेत नदिई जफत गरिने कडा प्रावधान राखिएको छ।

“एकातर्फ हरेक ट्रकको नमुना परीक्षणका लागि महँगो शुल्क र समय लाग्ने नियम बनाउनु निर्यातमा पूर्ण अवरोध सिर्जना गर्ने नियत हो”, पराजुलीले थपे, “अर्कातर्फ रिपोर्ट प्रतिकूल आएमा चिया नै जफत गर्ने प्रावधान छ। यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यातको ढोका सधैँका लागि बन्द हुनेछ।”

नेपाली चियाको मुख्य बजार भारत नै रहँदै आएको छ। प्रयोगशालाको प्रतिवेदन नआउन्जेल १० देखि १४ दिनसम्म लोड भएका ट्रकहरू सुरक्षित रूपमा रोकेर राख्ने पर्याप्त पार्किङ स्थल र पूर्वाधार पानीट्ङ्की भन्सारमा समेत नरहेको व्यवसायीहरूको गुनासो छ।

चिया क्षेत्रमा देखिएको यो गैरभन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग अबिलम्ब ‘जिटुजी’ संवाद थाल्नुपर्ने नेपाल चिया उत्पादक सङ्घको माग छ। यसका लागि पहल भइरहेको सङ्घले जनाएको छ।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चिया विश्व बजारमा गुणस्तरका लागि लोकप्रिय मानिन्छन्। तर, प्रमुख बजार भारतमै नीतिगत अवरोध सिर्जना हुँदा किसानदेखि ठुला उद्योगीसम्म र यसमा आश्रित लाखौँ श्रमिकको जीविकोपार्जन सङ्कटमा परेको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मुलुकको २० हजार ६०२ हेक्टर भूभागमा रहेको चिया बगानबाट रु दुई करोड ६१ लाख २३ हजार १११ किलोग्राम तयारी चिया उत्पादन भएको थियो। आव २०८१/८२ मा नेपालबाट रु चार अर्ब ५९ करोड आठ लाख ५६ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो।

मुलुकभर १७० वटा ठुला चिया बगान र १२० वटा साना तथा मझौला चिया बगान छन्। चिया उत्पादनमा १५ हजारभन्दा बढी साना किसान प्रत्यक्ष सहभागी छन्। एक लाख श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link