ग्यास बिक्रीमा अनियमितता: जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा व्यवसायीलाई कडा निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ग्यास बिक्री-वितरणमा अनियमितता भएको गुनासो बढेपछि व्यवसायीलाई कानुनअनुसार मात्र कारोबार गर्न निर्देशन दिएको छ।

कार्यालयले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै पहुँच वा चिनजानका आधारमा ग्यास बिक्री-वितरण गर्ने तथा सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न चेतावनी दिएको हो।

कार्यालयका अनुसार विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने डिपो, पसल तथा कम्पनीहरूले उद्योग वा डिलरबाट ग्यास ल्याएर सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनुको सट्टा पहुँच र चिनजानका आधारमा सीमित व्यक्ति, होटेल तथा व्यवसायीलाई मात्र बिक्री गर्ने गरेको गुनासो प्राप्त भएको छ।

यस्ता गतिविधिमाथि जिल्ला प्रशासन कार्यालय तथा अधिकारप्राप्त निकायहरूले नियमित अनुगमन गरिरहेको जनाइएको छ। अनुगमनका लागि सादा पोसाकमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको कार्यालयले जनाएको छ।

सूचनामा ग्यास सिलिन्डर लुकाएर राख्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा पहुँचका आधारमा बिक्री–वितरण गर्ने जस्ता कानुनविपरीतका गतिविधिमा संलग्न पाइए सम्बन्धित व्यक्ति वा व्यवसायीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले यस्ता अवैध गतिविधिमा प्रयोग भएका ग्यास सिलिन्डरसमेत जफत गरिने चेतावनी दिँदै सबै व्यवसायीलाई कानुनको पालना गर्न आग्रह गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link