भोटेकोशी बाढी: १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता, उद्धारका लागि पर्यटन बोर्ड र सुरक्षा निकायको दौडधुप

रसुवा, नुवाकोट, धादिङ र गोरखा भएर बग्ने भोटेकोशी तथा त्रिशूली नदीमा बुधबार बिहान ८:३० बजे आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रबाट १२७ नेपाली नागरिकसहित कुल ६४४ जना पर्यटक तथा पदयात्रीहरू सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले बिहीबार मध्याह्न १२:०० बजेसम्मको अद्यावधिक विवरण  सार्वजनिक गर्दै पर्यटकहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटकीय प्रहरी तथा ट्रेकिङ एजेन्सीहरूले उद्धार कार्य र सम्पर्कविहीन भएकाहरूको यकिन विवरण सङ्कलन गरिरहेका छन्। बोर्डका अनुसार भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा क्षति पुगे पनि अन्य पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेका छन्।

बेपत्ता हुनेहरूको देशगत विवरण (मुख्य देशहरू):

  • भारत: १७८ जना
  • नेपाल: १२७ जना
  • अमेरिका: ६५ जना
  • युक्रेन: ५३ जना
  • मलेसिया: ५१ जना
  • अस्ट्रेलिया ३५ जना
  • युनाइटेड किंगडम (युके): ३३ जना
  • क्यानडा: २५ जना (अन्य विभिन्न देशका नागरिकहरू समेत गरी कुल ६४४ जना सम्पर्कविहीन छन्)

पर्यटन बोर्डले पर्यटकहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जनाउँदै अलपत्र परेका तथा सहायता चाहिने व्यक्तिहरूका लागि आपत्कालीन सम्पर्क नम्बरहरू जारी गरेको छ:

  • टोल-फ्री नम्बर: १२३४
  • हटलाइन नम्बर: ११४४
  • टुरिस्ट प्रहरी: ९८५१२८९४४५

पर्यटन बोर्डले प्रभावित क्षेत्रका नागरिक तथा पर्यटकहरूलाई धैर्य धारण गर्न, आधिकारिक सूचनाहरू मात्र पछ्याउन र नजिकैको सुरक्षा निकाय वा ट्राभल एजेन्सीसँग निरन्तर सम्पर्कमा रहन अपिल गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link