विद्युत खरिद वार्ताका लागि बङ्गलादेश टोली नेपाल आउँदै

हर्ष सुब्बा

नेपालका लागि बङ्गलादेशका राजदूत सल्लाहुद्धीन नोमान चौधरीले बङ्गलादेश र नेपालको सामाजिक, आर्थिक विकासको गति समान रहेको र दुवै मुलुकले समान समस्याहरू सामना गर्नु परिरहेको बताउनु भएको छ। धरानमा नेपाल बङ्गलादेश फ्रेन्डसिप सोसाइटी इन इस्टर्न नेपालद्वारा शुक्रवार साँझ आयोजित कार्यक्रममा राजदूत चौधरीको दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई विकासका क्षेत्रमा परिणाममुखी बनाउन सकिने सम्भावनाहरू बारे चर्चा गरे।

बङ्गलादेश –नेपाल बिच अघि बढेको विद्युत खरिद प्रकृयाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक विकासका क्षेत्रमा परिणाममुखी बनाउन सकिने चर्चा गर्दै राजदूत चौधरीले भन्नुभयो ‘‘विद्युत खरिद सम्बन्धी वार्ता अघि बढाउन आउँदो महिना बङ्गलादेशबाट डेलिगेसन नेपाल आउँदै छ।’ पूर्वका व्यवसायी, बुद्धिजीवीहरूसँग भएको भेटघाटमा दुई देश बीच आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा पर्यटनको क्षेत्रमा द्विपक्षीय सम्बन्धको विकासका सम्भावनाहरू बारे महत्वपूर्ण सुझावहरू प्राप्त भएको उहाँले बताउनु भयो।

राजदूत चौधरीले आफ्नो मुलुकले स्वाधिनतका लागि निकै कठिन संघर्ष गर्नु परेको बताउँदै तथापी बङ्गलादेश र नेपालको सामाजिक, आर्थिक विकासको गति समान रहेको र दुवै मुलुकले सामाना रुपमा विश्वव्यापी समस्याहरुको सामना समान रुपमा गर्नु परिरहेको उहाँको भनाई थियो। विश्वव्यापी जलवायु परिवर्तनले ल्याउनसक्ने संकटको उल्लेख गर्दै उहाँले भन्नु भयो ‘बङ्गलादेशले समुद्रको बढ्दो जलस्तरले ल्याउने संकटको सामना गर्नुपरेको छ भने नेपालले हिमालमा हिउँ पग्लने बढ्दो क्रमले ल्याउने संकटको सामना गर्ने तयारी गर्नु परेको छ।’

पर्यटनका लागि सामाजिक, सांस्कृतिक निकटता बढाउन सांस्कृतिक टोलीको आदान प्रदानका गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले भन्नु भयो ‘बंगाली र नेपाली भाषा खासै समस्या छैन, नेपाली– बंगलादेशी सर्वसाधारणले दुवै भाषा सामान्य रुपमा बुझ्न सक्छन् भन्ने मलाई लाग्छ।’ शिक्षाका लागि दुवै मुलुक विच अवसरहरू बढाउनुपर्नेमा राजदूत चौधरीले जोड दिनु भयो। पछिल्लो समय कोविड महामारी र रुस युक्रेन युद्धपछि देखिएको आर्थिक सङ्कटको प्रभाव बङ्गलादेश र नेपालमाले समान रुपमा सामना गर्नुपरेको पनि उहाँले चर्चा गर्नु भयो।

नेपाल– बङ्गलादेश बिच आर्थिक, व्यापारिक विकासका सम्भावनाहरूका बारेमा राजदूत चौधरीको ध्यानाकर्षण गराउँदै अर्थ विश्लेषक कृष्णकुमार अग्रवालले नेपाल बङ्गलादेश बिचको सतह मार्गको उपयोगलाई प्राथमिकतामा ल्याउन जोड दिनु भयो। बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेपछि छोटो समयमा गरेको आर्थिक उन्नतिको चर्चा गर्दै अग्रवालले त्यसबाट नेपालले सिक्नुपर्ने कुराहरू धेरै भएको बताउनु भयो। दुवै मुलुक बिच आयात र निर्यातका सुविधाका सम्झौता भएता पनि नेपालले परिणाममुखी व्यापारको लाभ लिन नसकेको उहाँको भनाई थियो।

सोसाइटीका अध्यक्ष डा. खालिद हुसेन हकले बङ्गलादेश शैक्षिक रुपमा नेपालको गन्तव्य रहेको बताउँदै नेपालीका लागि सामाजिक समानता रहेकाले सहज रुपमा गुणस्तरीय शिक्षा हासिल गर्न दुवै मुलुकले आपसी प्रोत्साहन गर्ने नीति बनाउन जरुरी भएकोमा जोड दिनु भयो। बङ्गलादेशको प्रगतिको लाभ नेपालले नयाँ पुस्ताको शैक्षिक गन्तव्य बङ्गलादेशलाई लक्षित गर्नुपर्नेमा उहाँले जोड दिनु भयो।

दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई क्षेत्रगत आधारमा विकासका लागि परिणाममुखी नेपाल– बङ्गलादेश सोसाइटी स्थापना भएको हो। अध्यक्ष डा. खालिद हुसेनका अनुसार सन् २०५० मा तत्कालीन राजदूत हुमायु कबिर पूर्वका उद्योगी व्यवसायीहरूसँग भेटघाटका लागि धरान आउनु भएको बेला उहाँले राख्नु भएको चासोका कारण धरानमा सोसाइटी स्थापना गरिएको हो। सोसाइटीका व्यापारिक, शैक्षिक, पर्यटनका लागि बङ्गलादेशमा समय बिताएका बुद्धिजीवी, व्यवसायीहरू सदस्य छन्। यसअघि राजदूत चौधरीले भेडेटार लगायत धरान आसपासका पर्यटकीयस्थलहरूको अवलोकन गर्नु भयो। स्वागत तथा भेटघाट कार्यक्रममा उहाँलाई धरानको सम्झनाका लागि अग्रज चित्रकार प्रणोद दत्तको कलाकृति उपहार प्रदान गरिएको थियो।

 तस्बिरः राजदूत चौधरी (निलो कोटमा) लाई कलाकृति हस्तान्तरण गर्नु हुँदै सोसाइटीका अध्यक्ष डा.खालिद हुसेन (ढाकाटोपीमा) र चित्रकार दत्त।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हर्ष सुब्बा/धरान का अन्य पोस्टहरु:
विद्युत खरिद वार्ताका लागि बङ्गलादेश टोली नेपाल आउँदै
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link