धरानमा जनता समाजवादी गठबन्धन बाहिर

हर्ष सुब्बा

वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट बाहिरिएर जनता समाजवादी पार्टी धरानमा अलग्गै चुनावमा जाने भएको छ। धरानमा जनमोर्चाको संगठन नभएकोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बिच चार दलीय गठबन्धन बनेको थियो। उम्मेदवार मनोनयनपत्र फिर्ता लिने अन्तिम दिन शुक्रवार जनता समाजवादीको नगर प्रमुख र उपप्रमुखको उम्मेदवारी फिर्ता नगरी गठबन्धनबाट बाहिरिएको हो।

धरान निर्वाचन अधिकृतको कार्यालय अनुसार नगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई, सोही पार्टीका उपप्रमुख अमृता सुनारले उम्मेदवारी फिर्ता लिनुभयो। एकीकृत समाजवादी चार दलीय गठबन्धनको सहयात्री हो। तर जनता समाजवादीबाट नगर प्रमुखका ताजुब लिम्बू र उपप्रमुख विना राईले उम्मेदवारी फिर्ता लिनुभएन। पार्टीको उपमहानगर अध्यक्ष समेत रहेका नगर प्रमुखका उम्मेदवार ताजुब लिम्बूले भन्नुभयो, ‘कांग्रेसले गठबन्धनको भावना अनुसार समझदारी नदेखाएकोले धरानको पार्टी कमिटीले चुनावमा जाने भएको छ।’

गठबन्धनको समझदारी अनुसार जसपालाई धरान वडा १९ र वडा १० को अध्यक्ष सहित सदस्यहरूका लागि कांग्रेसले छोड्ने निर्णय भएको थियो। गएको चुनावमा दोश्रो स्थानमा रहेका पार्टीहरूले गठबन्धनका पार्टीलाई छोड्ने समझदारी अनुसार जसपाले उक्त दुई स्थान मागेको थियो। अध्यक्ष ताजुबले भन्नुभयो‘कांग्रेसको आन्तरिक समस्याका कारण उक्त स्थान मिलाउन सकेनन् तर हामीले त्यहीँ नभए अन्य विकल्प दिनु माग गर्‍यौ त्यसमा उनीहरूले चासो देखाएनन्।’

मनोनयपत्र फिर्ता लिने दिन शुक्रवार पनि जसपाले वार्ताको पहल गरेको तर कांग्रेसले फोन समेत नगरेको ताजुब भन्नुहुन्छ। उहाँको भनाईकम ‘कांग्रेसको दम्भप्रति कार्यकर्ताहरू रुष्ट भएका छन्, सबै चुनावमा भिड्नु पर्छ भन्दै छन्।’ धरानमा पार्टीको अस्त्वितका लागि पनि चुनावमा जानुपर्ने अगुवाहरूको सुझाव आइरहेको उहाँको भनाई छ। ताजुबले पार्टी हाइकमान्ड पछिल्लो निर्णय र निर्देशन पनि ढिलो सर्कुलर भएकाले धरानमा अप्ठ्यारो स्थिति भएको बताउनुभयो। शुक्रवार पार्टीले गठबन्धनका शीर्ष नेताहरूको निर्णय अनुसार तोकिएको पार्टी बाहेक सदस्य पार्टीहरूले दिएको उम्मेदवारी फिर्ता लिन सर्कुलर गरेको थियो।

ताजुब भन्नुहुन्छ, ‘यता गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले समझदारी नगरेको उता मनोनयनपत्र फिर्ता लिने समय सकेपछि मात्र सर्कुलर प्राप्त भएकोले हामी चुनावको मैदानमै रहेको अवस्था छ।’ पार्टीका हाइकमान्डबाट धरानको परिस्थिति अवगत गराउँदा उम्मेदवारी फिर्ता नभएको अवस्थामा कै गर्ने भन्ने स्पष्ट जवाफ आइनसकेको अध्यक्ष ताजुबले बताउनुभयो। ताजुबका अनुसार आज शनिवार शीर्ष नेताहरू बिच धरानको परिस्थितिका बारेमा छलफल गरिने र चुनावमा होमिने वा मौन बस्ने स्पष्ट हुने विश्वास गरिएको छ।

नेपाली कांग्रेसका सुनसरी –२ सुजेन्द्र तामाङले भने गठबन्धनको केन्द्रिय नीति अनुसार जसपासँग वार्ता जारी रहेको बताउनुभयो। उहाँका अनुसार उम्मेदवारी फिर्ता नलिएपनि जसपा गठबन्धनमै रहेकाले धरानको चुनावमा गठबन्धनको उम्मेदवारलाई सघाउने छ। यो समाचार तयार गर्दा आज बिहान १० बजे तामाङसँग फोन सम्पर्कमा भन्नुभयो ‘आज पनि वार्तामा बस्दैछौँ, हामी आधा घण्टा भित्र बैठकमा बस्दैछौँ, कुरा सकारात्मक भइरहेको छ।’ उता अध्यक्ष ताजुब लिम्बुले भने चुनावमा जाने नजाने निर्णय पार्टी हाइकमान्डको निर्देशन ४ बजे सम्ममा आउने भएकाले त्यसको प्रतीक्षामा भएको बताउनुभयो।

धरानमा गठबन्धनबाट नगर प्रमुखमा नेपाली कांग्रेसका किशोर राई, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम वेघा, नेकपा एमाले बाट नगर प्रमुखमा मञ्जु भण्डारी, उपप्रमुखमा पदम इस्वो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान) बाट अमर इजम र सरस्वती सुब्बा, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजेशकुमार राई र श्यामकुमार तामाङ, राप्रपाबाट नरेशकुमार शाक्य र पूर्णमाया राई छन्। यसै गरी १४ विभिन्न पार्टी स्वतन्त्र समेत २२ जनाले नगर प्रमुख र ११ जनाले उपप्रमुखमा उम्मेदवारी दिएकोमा २ जना प्रमुख १ जना उपप्रमुखका उम्मेदवारले मात्र उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ।

तस्बिरः गएको साता धरानमा चार दलीय गठबन्धनको घोषणा गरिएको पत्रकार सम्मेलन। तस्बिरः ललित राई

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हर्ष सुब्बा/धरान का अन्य पोस्टहरु:
धरानमा जनता समाजवादी गठबन्धन बाहिर
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link