हटाइएको ‘प्रोक्सी’ प्रथा पछि व्यापारीहरूमा शुद्धिकरणको बहस 

हर्ष सुब्बा

धरानः कुनै बेला प्रोक्सी मतदानको विवादले विभाजन समेत आएको सुनसरी उद्योग वाणिज्य संघमा त्यस्तो प्रथा हटाइए पनि सदस्यता शुद्धिकरणको सवाल हरेक चुनावमा उठ्दै आएको छ। यसपालि भोलि सोमवार हुने चुनावको मुख्य मुद्दा पनि त्यही छ।

धरानमा व्यापार व्यवसायको प्रबन्ध मिलाउन २०१९ सालमा व्यापार प्रबन्ध समिति स्थापना भएको थियो। २०५३ सालमा निर्वाचन अधिकारी रहेका अधिवक्ता शिव भण्डारी अनुसार त्यस बेलाको चुनावमा प्रोक्सी मतदानको प्रथा थियो। सदस्य फर्मको नाममा अख्तियारी पाएका एकै जनाले १० भोट भन्दा बढी मतदान गर्न पाउँथ्यो। उहाँको भन्नुभयो ‘त्यस बेला चार सय जति सदस्य थिए।’

प्रोक्सी भोटकै कारण एकअर्का पक्षले बहुमत रहेको दाबी गर्ने चलन थियो। यस्तो स्थितिले  व्यापारीहरूको दुई गुटबीच विभाजन समेत ल्याएको इतिहास छ। कालान्तरमा सुनसरी उद्योग वाणिज्य रूपान्तरण भएको विधान २०६२ सालमा संसोधन गरी प्रोक्सी भोटको प्रथा हटाइएको हो। पूर्व अध्यक्ष सरोज श्रेष्ठको भनाई छ ‘त्यसले थालनी गरेको शुद्धिकरणको काम अझै बाँकी छ।’

यसपालिको चुनावमा अध्यक्षका ३ उम्मेदवारले शुद्धिकरणलाई नै मुख्य मुद्दा बनाएका छन्। अध्यक्षका प्रत्याशी विजय श्रेष्ठ, शिवराज श्रेष्ठ, पवन अग्रवालको मुद्दा एउटै छ। पूर्व अध्यक्ष खजाञ्ची दास अग्रवाल भन्नुहुन्छ ‘शुद्धिकरणलाई इमानदारी पूर्वक कार्यान्वयन गर्ने भरपर्दो अध्यक्ष रोज्नुपर्ने अवस्था छ।’  उहाँसँगै संघका पूर्व अध्यक्षहरू मोहनकाजी शाक्य, सरोज श्रेष्ठ, राजेन्द्र साह सक्रिय हुनुहुन्छ।

चुनावका बेला शद्धिकरणको कुरा गर्ने पदमा पुगेपछि विर्सने गरेकाले पनि इमान्दार अध्यक्षको खोजी भएको हो। अध्यक्षका प्रत्यशी पवन अग्रवाल यसअघि अध्यक्ष भैसकेका पूर्व अध्यक्ष हुनुहुन्छ। अर्का प्रत्याशी शिवराज श्रेष्ठ निवर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ।  शुद्धिकरणको मुद्दा उठाउँदै आएका विजय श्रेष्ठ अघिल्लो चुवावमा पराजित हुनु भएको थियो।

यसपालीको चुनावमा कुल मतदाता संख्या २ हजार ९ सय ७८ छन्। यो संख्या यसपाली कायम भएको हो। चुनावै पिच्छे सदस्य संख्या बढ्ने गरेको छ। नियमानुसार व्यवसायीक फर्महरूले वार्षिक रुपमा सदस्यता नविकरण गर्नुपर्ने हो। तर संघमा चुनावका बेला मात्र सदस्यता नविकरण हुने गरेको छ। यसो हुनुमा अध्यक्षका प्रत्याशीले वार्षिक १ हजार रुपैयाँ शुल्क तिरिदिने चलन पनि भएको सदस्यका एक प्रत्याशी बताउँछन्।

प्रोक्सी प्रथा हटेपछि संघको सदस्यतामै अशुद्धिकरण बढेको पाइन्छ। गत साता (असार १२) एक व्यापारी विष्णुकुमार लोहियाले पत्रकार सम्मेल गरेरै त्यस्तो दाबी गर्नुभयो। एक हजार जनाको सदस्यता नवीकरण गरिदिने अध्यक्षको प्रत्याशीले चुनाव जित्ने अवस्था उद्योग वाणिज्य संघमा छ। लोहियाका अनुसार यसपालि एक वर्षको मात्र नभएर पाँच वर्ष (२०८०/०८१) सम्मको नवीकरण गरिएको पाइएको छ।

नियमानुसार संघको सदस्यता र नवीकरण व्यवसाय दर्ता नवीकरण, आयकर, मूल्यअभिवृधिकर, स्थानिय कर लगायत चुक्ता गरेको प्रमाण सहितको निवेदनको आधारमा प्राप्त गर्न सकिन्छ। उक्त नियमलाई कडाइका साथ पालन नगर्दा गैर व्यवसायीहरूको प्रवेश बढेको व्यापारीहरूको आरोप छ। हाल संघमा सदस्य रहेका एक हजार बढी फर्महरूले आयकर क्लियर नगरेको आन्तरिक राजश्व कार्यालयले संघलाई जानकारी दिएको चुनावकै बेला चर्चाको विषय बनेको छ।

पूर्व उपाध्यक्ष राजकुमार राई भन्नुहुन्छ ‘गैर व्यवसायीहरू हावी भएकोले संघले धरानको विकासमा खेल्नुपर्ने भूमिकामा प्रभावहीन बन्दै गएको छ।’ उद्योग वाणिज्य संघहरू व्यापारीको हितका लागि मात्र नभई स्थानीय आर्थिक विकासका लागि पनि महत्वपूर्ण दवाव समुह हुन्। धरानमा एशियाली विकास बैंकको ऋण सहयोगमा खानेपानी आयोजना ल्याउने कार्यमा संघको पहल निर्णायक थियो। क्षेत्रीय रङ्गशालाको लागि मुख्यमन्त्री कार्यालयमा धर्ना दिने काम समेतमा संघले अगुवाइ गरेको उहाँले बताउनुभयो।

संघलाई शुद्ध व्यवसायीहरूको संस्था बनाउन धेरै सुधार आवश्यक भएको पूर्व अध्यक्ष सरोज श्रेष्ठ बताउनुहुन्छ। सुनसरी जिल्लाका व्यवसायीहरूको नेतृत्व लिनुपर्ने संघ पछिल्लो समय चुनावको मुखमा मात्र सक्रिय हुने गरेकाले धरानमा सीमित भएको जस्तो बनेको छ। यसको लागि विधानमा संसोधन आवश्यक छ, तर अहिले सम्म संसोधन समिति बन्ने काम नगर्ने गरेको बताउँदै उहाँले भन्नुभयो ‘यसको लागि केही गर्नेछु भन्ने इच्छाशक्ति भएकालाई अध्यक्ष बनाउन जरुरी छ।’

तस्बिरः सुनसरी उद्योग वाणिज्य संघका चार पूर्व अध्यक्षहरू सरोज श्रेष्ठ, मोहनकाजी शाक्य, विजय डागा, खजाञ्ची दास अग्रवाल सहित पत्रकार सम्मेलनमा। तस्विरः हर्ष।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हर्ष सुब्बा/धरान का अन्य पोस्टहरु:
हटाइएको ‘प्रोक्सी’ प्रथा पछि व्यापारीहरूमा शुद्धिकरणको बहस 
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link