धरानमा गठबन्धनलाई सघाउन जसपाको उमेदवारी निस्क्रिय

हर्ष सुब्बा

गठबन्धनबाट बाहिरिएर धरानमा चुनावी घरदैलोमा लागिसकेका जनता समाजवादी पार्टीका नगर प्रमुख, उपप्रमुखका उम्मेदवारले मंगलबार गठबन्धनलाई सघाउन उम्मेदवारी फिर्ता लिएर निस्क्रिय बनाएको घोषणा गरेका छन्। लोकतान्त्रिक बाम गठबन्धनद्वारा आज बिहान आयोजित पत्रकार सम्मेलनमा जसपाको प्रत्याशी बनेका ताजुब लिम्बुले भन्नुभयो ‘केन्द्रीय तहको गठबन्धनको उद्देश्य प्राप्तिका लागि हाम्रो उमेदवारी फिर्ता लिएर निस्क्रिय भएको घोषणा गर्दछौ।‘

यसअघि स्थानीय तहको चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धन भए पनि धरानमा जनता समाजवादी पार्टी बाहिरिएर अलग्गै चुनाव प्रचारमा लागेको थियो। धरानमा कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीबीच चार दलीय गठबन्धन बनेको थियो। एकीकृतबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका रेवतीरमण राई र अमृता सुनारले फिर्ता लिए पनि जसपाबाट नगर प्रमुखमा ताजुब लिम्बु, उपप्रमुखमा बिना राईले दिएको उम्मेदवारी मनोनयनपत्र फिर्ता लिएनन्।

पत्रकार सम्मेलनमा जसपाका नगर अध्यक्ष समेत रहेका ताजुब लिम्बुले गठबन्धनमा वडा अध्यक्षहरूमा तालमेल नमिलेपछि एक्लै चुनाव लड्न प्रचारमा लागेको बताउँदै भन्नुभयो ‘यो चुनाव पार्टीहरूको जीत–हारको मात्र नभई संविधानलाई सही बाटोमा ल्याउने तथा संघीयता कार्यान्वयन, धर्मनिरपक्षता र जनताको अधिकारको रक्षासमेत गर्नुपर्ने भएकाले गठबन्धनलाई सघाउनुपर्ने भयो।‘ त्यसका लागि ६ महानगर, ११ उपमहानगरमा गठबन्धन जरुरी भएको पार्टी केन्द्रीय समितिबाट निर्देशन आएपछि उम्मेदवारी निस्क्रिय गरिएको ताजुबले बताउनु भयो। 

गठबन्धनको समझदारी अनुसार जसपालाई धरान उपमपाको वडा १९ र वडा १० को अध्यक्षसहित सदस्यहरूका लागि कांग्रेसले छोड्ने निर्णय भएको थियो। गएको चुनावमा दोस्रो स्थानमा रहेका पार्टीहरूले गठबन्धनका पार्टीलाई छोड्ने समझदारी अनुसार जसपाले ती दुई स्थान मागेको थियो। त्यसमा सम्झौता नभएपछि जसपाले उक्त दुई वटासहित १३ वटा वडामा दिएका उमेदवारहरू चुनावी मैदानमा छ। धरानमा कुल २० वटा वडा छन्।

पछिल्लो पटक मंगलवार भएको चार दलीय गठबन्धनको सहमतिपत्रमा ‘सबै दलले गठबन्धनका साझा उमेदवार नगर प्रमुखमा किशोर राई, उपप्रमुखमा आइन्द्रविक्रम बेघालाई सघाउने तथा गठबन्धन हुन नसकेको वडाहरूमा मित्रवत प्रतिस्पर्धा गर्ने’ निर्णय भएको उल्लेख छ। सहमतिपत्र सुनाउँदै गठबन्धन निर्वाचन परिचालन संयोजक, कांग्रेस सुनसरी–१ का सभापति सुजेन्द्र तामाङले भन्नुभयो, ‘सम्भव भएसम्म वडाहरूमा अन्तिम समयसम्म समझदारी कायम गर्न पहल गर्ने निर्णय भएको छ।‘

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा गठबन्धनबीच समझदारी नभएका स्थानहरूमा सम्बद्ध पार्टी केन्द्रीय कार्यालयले वैशाख १४ गते गरेको परिपत्र र पाँच दलीय गठबन्धन संयन्त्रले महानगर, उपमहानगरलगायतका प्रमुख तथा उपप्रमुख पदका लागि  गठबन्धन गर्न वैशाख १६ गते पार्टीका स्थानीय तहलाई गरेको निर्देशनात्मक परिपत्र अनुसार धरानमा नयाँ सम्झौता भएको उल्लेख छ। पत्रकार सम्मेलनमा कांग्रेस, माओवादी केन्द्र, जसपाको केन्द्रीय सदस्यहरू उपस्थित थिए।

धरानमा गठबन्धनबाट नगर प्रमुखमा नेपाली कांग्रेसका किशोर राई, उपप्रमुखमा नेकपा मओवादी केन्द्रका आइन्द्रविक्रम वेघा, नेकपा एमालेबाट नगर प्रमुखमा मञ्जु भण्डारी, उपप्रमुखमा पदम इस्वो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान) बाट अमर इजम र सरस्वती सुब्बा, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजेशकुमार राई र श्यामकुमार तामाङ, राप्रपाबाट नरेशकुमार शाक्य र पूर्णमाया राई छन्।

कांग्रेसद्वारा कारबाही

यसैबीच धरान उपमहानगरपालिका वडा १४ र १ मा अघिल्लो चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्ष बनेका कृष्णप्रसाद भट्टराई र रोशन अधिकारीलाई कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ।

दुवै वडाध्यक्षले यसपाली नेपाली कांग्रेसबाट टिकट नपाएपछि राप्रपाबाट वडाध्यक्षको उम्मेदवार बनेका छन्। दुवै हलो चुनाव चिह्न लिएर अहिले प्रचारमा सक्रिय छन्। कांग्रेस सुनसरी जिल्ला सचिव वीरेन्द्र साहका अनुसार पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीबाट उठ्ने उनीहरूको साधारण सदस्यता खारेज गरिएको बताए।

उनका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कृष्णप्रसाद भट्टराई र रोशन अधिकारीलाई कारबाही स्वरूप कांग्रेसको साधारण सदस्यता खारेज गरिएको हो। वडाध्यक्षद्वयले पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत कार्य गरेको, पार्टीको  विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङघन गरेको र पार्टीको उम्मेदवार विरुद्ध उमेदवारी दिएका कारण उनीहरू विरुद्ध पार्टी विधान बमोजिम अनुशासनको कारबाहीमा परेको जिल्ला सचिव साहले बताउनु भयो।

तस्बिर: पत्रकार सम्मेलनमा उम्मेदवारी निस्क्रिय गरिएको घोषणा गर्दै जसपाका नगर अध्यक्ष तथा प्रमुखका प्रत्याशी ताजुब लिम्बु। तस्बिर: ललित राई

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हर्ष सुब्बा/धरान का अन्य पोस्टहरु:
धरानमा गठबन्धनलाई सघाउन जसपाको उमेदवारी निस्क्रिय
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link