दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको क्रिकेट क्लब चितवन राइनोजले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ। क्लबले आफ्नो क्लबका ‘टिसर्ट’ लगायतका सामग्री बिक्रीको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो।
क्लबमार्फत चितवन र यहाँको गैँडालाई विश्वमा चिनाउँदै आएको चितवन राइनोज तेस्रो वर्ष नेपाल प्रिमियम लिग (एनपिएल) मा सहभागी हुँदैछ। चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा क्लब लागेको बताए। उनले भने, “हाम्रो नाम नै गैँडासँग जोडिएकाले हामी यसको संरक्षणमा पनि योगदान दिन लागेका हौ।
यस क्लबले एक सिङ्गे गैँडाको तस्बिर राखेर संरक्षणका लागि सन्देश प्रवाह गर्दै आएको छ। चितवन मेडिकल कलेजको भगिनी संस्था चितवन राइनोजले पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडालाई अहिले क्रिकेटको माध्यमबाट थप चिनाउँदै आएको छ। त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राइनोज’ ले खेलमार्फत चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ बनेको थियो। अहिले पहिलो बन्ने तयारीसहित मैदानमा उत्रिएको क्लबका निर्देशक प्रताप देवकोटाले बताए। चितवन राइनोजको समर्थनमा चितवनको वीरेन्द्र क्याम्पस चौर, विशाल चोक, दीपेन्द्र चोकको चितवन स्पाइसी हर्बलगायत जिल्लाका विभिन्न स्थानमा प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको उनले जानकारी दिए।
चितवन राइनोजले संरक्षणमा जोड दिँदै विभिन्न स्थानीय क्लबलाई सहयोग गर्ने गरेको उनले बताए। भोटेकोशी बाढी प्रभावितलाई सहयोग पनि गरेको यस क्लबले जिल्लामा हुने सांगीतिक कार्यक्रमहरूमा प्रायोजकका रूपमा सहकार्य गर्ने गरेको क्लबका निर्देशक देवकोटाले बताए। उनले भने, “गैँडा संरक्षण गर्दै क्रिकेट खेलको प्रवर्द्धनमा हामी लागेका छौँ।”
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका आठवटा क्लबमध्येको एक क्लब चितवनको रहनु आफैँमा गर्वको विषय भएको बताए। उनले भने, “चितवन जिल्लाको नाममा स्थापित यो क्लब जिल्लाका लागि गौरवको विषय हो।” खेलले अनुशासित बनाउने जनाउँदै उनले आम जनसमुदायलाई खेलप्रति आकर्षित गर्न यस्ता क्लब सहयोगी बन्ने बताए।
चितवन राइनोज खेल्ने तयारी गर्दा यहाँका होटल, रेस्टुरेन्ट र सार्वजनिकस्थलमा खेलप्रेमी रमाइरहेको देख्न सकिन्छ। सडक किनारका पोल, होटल, रेस्टुरेन्ट र सार्वजनिकस्थलमा पनि चितवन राइनोजको लोगो अङ्कित झण्डा फहराएको देखिन्छ।
आजबाट एनपिएलको तेस्रो सिजनको खेल सुरु हुँदैछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा
- क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
- तरकारीभन्दा फूल खेतीमै बढी आम्दानी
- च्याम्पियन्स लिग: भल्भेर्डेको निर्णायक गोलमा एएके एथेन्समाथि रियल मड्रिडको रोमाञ्चक जित
- आजदेखि राष्ट्र बैंकले सुन-चाँदीका सिक्का बेच्ने
- आजको लागि विदेशी मुद्राको विनिमय दर