परलौकिक मोक्षको कामना गर्नेहरूले ईश्वर प्राप्तिलाई आफ्नो परम लक्ष बनाउने गरे झैं झण्डै आधा शताब्दी यता प्रजातन्त्र, समाजवाद र साम्यवाद बहुमत नेपालीको इहलौकिक मुक्तिको लक्ष बनेको देखिन्छ। नेपालका ठूला र पुराना राजनीतिक दलहरू यी नै दुई दार्शनिक विचारधाराका केन्द्रको वरिपर परिक्रमा गर्छन्। नेपालमा २००७ सालको क्रान्ति पछि राजनीतिक वृत्तमा सम्भवत सर्वाधिक वाचन गरिएका शब्दहरू हुन् ‘कांग्रेस’ र ‘कम्युनिष्ट’। उत्पत्तिगत हिसाबमा भन्नु पर्दा केवल यी दलका नाम चिनाउने शब्द वा दलहरूको नामकरण मात्र होइनन् दलीय व्यवस्था नै पश्चिमी विश्वमा उदीयमान बन्न पुगेको पुँजीवादी उदार लोकतन्त्र र त्यसको प्रतिवर्गीय वैचारिक गन्तव्य समाजवाद र साम्यवादी विचारधाराबाट अभिप्रेरित भएको देखिन्छ। उक्त विचारधारा र प्रभाव भित्र्याउन हुनुपर्छ नेपाली कांग्रेसले ‘नेपाल सभा दल’ भन्ने नाम राखेन र कम्युनिष्टहरूले पनि ‘नेपाल समनिष्ट दल’ भनेर नाम राखेनन्।
नेपाली समाज राजनीतिक परिवर्तनको पृष्ठभूमि
जीविकामुखी प्राकृतिक आत्मनिर्भर अर्थतन्त्रको जगमा उभिएको नेपाली राष्ट्रिय समाज परम्परागतरूपमा जम्बुद्विप भन्ने गरिएको दक्षिण एसियामा बृटिसको आगमनसँगै विश्वव्यापी बन्न पुगेको बजार अर्थतन्त्रसँग आवद्ध बन्न पुग्यो। नेपालमा बाह्य बजार अर्थतन्त्रको प्रवेशले अधिरचनामा रहेको राजनीतिको स्वरूपमा परिवर्तन ल्याइदियो। फलत: यस अघि नेपालको इतिहासमा कहिल्यै नभएको दलीय (बहुदलीय) व्यवस्था नेपालमा स्थापित भयो। यो नवीन घटनाले सामान्तवादी अर्थराजनीतिको जगमा खडाभएको राजतन्त्रात्मक व्यवस्था २०६२ सालसम्म आइपुग्दा समाप्त भएर हाल समावेसी लोकतान्त्रिक गणतन्त्रको स्थापना हुन पुगेको छ। सामाजिक रूपान्तरणको यो घडसम्म आइपुग्नका निम्ति नेपालमा कङ्ग्रेस र कम्युनिस्ट पार्टीहरूले राजनीतिक अगुवा दस्ताको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यो व्यवस्थाले लोकतन्त्रका आधारभूत मान्यताहरू जस्तो कि सार्वभौमसत्ता जनतामा निहित हुने, आवधिक निर्वाचन, विधिको शासन, मानव अधिकार जस्ता जनअधिकारहरू स्थापित गरिदियो। फलत: नेपाल निरंकुश, घमण्डी, बहुलठ्ठी प्रकृतिका राजा, जमिन्दार र सामान्तहरूको हुकुमी शासनबाट बहिर निस्कियो। कमारा र रैतानहरू, हलिया, कमैया र कमलरीहरू, डोके, ढाक्रे र खर्पनेहरू, अँधियार र मोहीहरू, किपटिया र रैतिहरू, नेपाली नागरिकको रूपमा एकै पङ्तिमा उभिएर आफ्नो प्रतिनिधि चुन्न र चुनिन पाउने भए। राजा, रजौटा र जमिन्दारहरूको हुकुमी शासन खोसियो। पहिलो पटक, कानूनत: महिला र पुरुषको, तथाकथित दलित र उपल्ला जातहरूको, सवर्ण र असवर्ण समाजका साथै विभिन्न क्षेत्र र वर्गका मानिसहरूको राजनीतिक अधिकार बराबरी भयो। यो संविधानको प्राप्ति र कार्यान्वयनले जनताका मुक्तिका आकाङ्क्षा र अभिलाषालाई थप मुखरित गरेको छ र जनता सो को प्राप्तितर्फ लम्किएका छन्।
यहाँसम्मको यात्रामा नेपाली राष्ट्रिय समाजले एउटा महत्वपूर्ण नेटो काटे तापनि सबैखाले मानवीय सम्बन्धका तन्तुहरू छिनाउदै बजार अर्थतन्त्रको जगमा दौडिएका मुनाफामूखी दलाल पुँजीको अविच्छिन्न शोषणमूलक तन्त्र अझै भत्काउन सकिएको छैन। आधारभूत तहसम्म पुगेको सहभागितामूलक र समावेशी लोकतन्त्र प्राप्त हुन सकेको छैन। व्यक्तिका आधारभूत स्वतन्त्रता र सामाजिक सुरक्षाको गन्तव्यका रूपमा परिलक्षित गरिएको प्रजातान्त्रिक समाजवाद वा समाजवादी प्रजातन्त्र प्राप्ति अझै टाढा छ। यी कार्यभार पूरा गर्नुपर्ने मूल जिम्मेवारी बोकी सरकार र राज्यसत्तामा पटक पटक पुगेका काङ्ग्रेस र कम्युनिस्ट पार्टीहरूप्रति हिजो क्रान्ति र विद्रोहकालको जनविश्वास हाल आशङ्का र आक्रोशमा परिणत हुँदै आएको छ। हिजो क्रान्तिका नायकको रूपमा रथारोहण गरिएको नेतृत्वलाई अहिले खलनायकको रूपमा चित्रण गरिँदै छ। हिजो मित्र वर्गका ठानिएका उनीहरूलाई आज प्रतिवर्गीय संशयका दृष्टिले हेरिदैछ। कतिपय नेतृत्वहरू ‘डेटएक्स्पायर’ औषधि झैं बनेका देखिन्छन्– आखिर किन?
रोमान्टिक नेतृत्वको वर्चस्व
क्रान्तिपछिको राजनीतिमा क्रियाशील रही रजनीतिक पार्टीको निर्णायक तहमा आइपुगेका नेतृत्वहरूको अभिलाषा आधारभूत वर्गका जनताको मुक्ति थिएन र होइन पनि। एक खाले नेतृत्व वर्गले जनताको मुक्तिको साध्यलाई देखेकै थिएनन्। देखेर जनताप्रति इमान्दार नहुनेहरूमा आफ्नो वर्गीय स्वार्थको महल भत्कने डर पनि थियो। क्रान्ति र परिवर्तनको प्रवाहबाट कटौती हुन सक्ने आफ्नो वर्गीय स्वार्थको रक्षा गर्न र क्रन्तिको नायकत्वको पगरी आफैंले गुथ्न नै उनीहरू क्रान्तिमा लागेका थिए। आफ्नो आर्थिक, सामाजिक, र साँस्कृतिक पहुँचका कारण आधारभूत वर्गबाट आएको नेतृत्वका तुलनामा उच्च वर्गबाट आएकाहरूका निम्ति राज्यसत्ता सञ्चालन सहज भयो किनभने राज्यसत्ताका अङ्गहरूमा सदावहार रूपमा प्राय: अभिजात्य वा कुलीनहरूको पकड हुने हुँदा कुटुम्बीय सहकार्य हुन अक्सर सजिलो हुने गर्दछ।
रोमान्टिक अभिलाषाले निर्माण भएको नेतृत्वले आधारभूत वर्गले महसुस गर्ने, शोषण, दमन उत्पीडन्, तिरस्कार, हिंसा, विभेद, बञ्चितीकरण, बहिस्कार, बेवास्ता, धोखा र गद्दारीको महसुस गरेको हुँदैन। जबजब जनसंघर्षको दबाब बढ्दै जान्छ यो वर्ग आधारभूत वर्ग र समुदायका वर्गहितका कार्यक्रमहरू ल्याउन, लागु गर्न बाध्य हुन्छ तर संघर्षहरू ओर्लंदो क्रममा हुँदा भने तल्लो वर्ग हितलाई तिरस्कार गर्दै जान्छ। नेपालमा हालसम्म पनि किन चरम गरिबीको उल्मूलन हुन सक्दैन? किन जातीय छुवाछुत र भेदभावको अन्त्य हुन सक्दैन? किन एउटा मातृभाषी समुदायले आधारभूत तहमा आफ्नै मातृभाषाको माध्यमबाट शिक्षा पाउन सक्दैन? किन अहिले पनि लैंगिक विभेदको अन्त्य हुन सक्दैन? किन नेपालका उच्चविद्यालय र विश्वविद्यालयहरूले आत्म निर्भर बनाउने शिक्षा दिन सकेका छैनन्? यथार्थमा भन्नु पर्दा सुडेनीले सुत्केरीको प्रसव पीडाको महसुस गर्न कहाँ सक्छन् र ?
नेतृत्वको वर्गारोहण
हरेक जनविद्रोह, आन्दोलन र क्रान्तिहरूबाट आधारभूत वर्ग र उत्पीडित समुदायका प्रतिनिधिका रूपमा नेतृत्वमा एउटा पङ्ति पनि पुग्ने गर्दछ। अकस्मात राज्य सत्ताको खाली सिंहासनमा पुग्ने यो वर्ग स्रोतबाट आएको नेतृत्वमा एकातर्फ राज्य सञ्चालनको अनुभव नै हुँदैन भने अर्कातर्फ यथास्थितिमा रहने राज्यसत्ताका अङ्गहरूको प्रगतिशील रूपान्तरण प्राय: असम्भव हुने हुन्छ। यो अवस्थामा केही समय ‘किंकर्तव्य विमुढ’ बन्न जाने नेतृत्वको यो पङ्ति विस्तारै राज्य सत्ताका सम्बन्ध र अवसरहरू प्रयोग गरी आफ्नो वर्ग हैसियतलाई माथि उठाइ वर्गारोहण गर्न पुग्दछ। यसरी वर्गीय हैसियत बदलिएको सन्दर्भमा उसको वर्गस्वार्थमा परिवर्तन आउने गर्दछ र उसको उद्गम भएको वर्गहित माथि कुठाराघात गर्न पुग्दछ। नेपालको राजनीतिक परिवर्तनका क्रममा २००७, २०४६–०४७ र २०६२ सालका क्रान्ति र जनआन्दोलन पछिको नेतृत्व त्यही गतिमा रूपान्तरित भएको छ।
फलत: अहिले आम जनताले देखेको राजनीतिक नेतृत्वको स्वरूप र सार, आवरण र अन्तर्वस्तु दुवैमा परिवर्तन भएको छ। वर्तमानको नेतृत्व शहर पसेको छ, विलासी आवासमा पहुँच बनेको छ, पहिरन फेरिएको छ। हिजो उसको कल्पनामै नभएको यातायातको साधन निजी पहुँच भित्र छ। उ, देश र विदेशका महँगा विद्यालयमा नानीहरू पढाउन उसको अर्थतन्त्र सक्षम बनेको छ। उसका कुलीन मित्रहरूको सङ्ख्या बढ्दो छ र कुटुम्बेरी कुलीनहरूसँग गाँसिदो छ। संस्कृति बदलिएको छ थोरै ‘होली वाइन’ तर्फ उक्लिएको छ– उ अब । बेलामौकामा विकसित देशका भूभागसम्मको पर्यटन र तीर्थाटनमा निस्कने आधुनिक सामर्थ्य बनाएको छ– उसले। सुन, सेयर, घडेरीसहितको अपारदर्शी अर्थतन्त्रको नसुक्दो स्रोत बनेको छ राज्यसत्ताको पहुँचबाट। त्यसैले अब उसको बोली अलिक उच्च बनेको छ र अरुलाई हेर्ने नजर दबाबपूर्ण बनेको छ। यी विशेषताहरू सहित यसरी नेतृत्वको वर्गारोहण भएको छ।
नाम जनतन्त्र, गन्तव्य कुलीनतन्त्र
सनातनी कुलीन वर्गस्रोतबाट आएको वा वर्गारोहण गरी कुलीनतन्त्रमा उक्लिएको नेतृत्वको स्वभाव क्रान्तिको कार्यादेशबाट विमुख बन्दै जाने हो र सोही बमोजिमको बनेको छ। नेतृत्वमा आएको यो वर्ग राज्यसत्ताको पहिचान लोगो, झण्डा, सलामी, अगुवा र पछुवा स्कटिङ, गाडी, आवास र सचिवालय लगायतका बाह्य तामझामलाई नै आफ्नो साध्य बनाउन व्यस्त छ। उनीहरू अब विस्तारै आफू बलियो ग्रह लिएर यो धर्तीमा विजयी हुन र शासक हुन जन्मिएको ठान्न पुग्छन् । आफ्नो आत्मदेवत्वकरण गर्दै आफूलाई चुन्नेहरू मूर्ख भएको निष्कर्ष निकाल्छन् र आम जनता भन्दा आफूलाई फरक भएको देखाउने कोशिस गर्दछन्। मिखेल्स (१९१५) ले भनेझैं ‘यी चुनिनेहरू चुन्नेमाथि शासन गर्न थाल्दछन्, यी अधिकार पाउनेहरू अधिकार दिने माथि शासन गर्न थाल्दछन्, यी वारिसहरू वारिसदाता माथि शासन गर्न थाल्दछन्, जहाँ नातावाद र पैसा बाहेक अन्य चीजको कुनै महत्व हुँदैन।’
उनीहरू भन्छन्– ‘राजनीति जोगी बन्नलाई गरिने कार्य हो र ?’, ‘मजबुरीका नाम महात्मा गान्धि’; ‘एकपटक त माननीय भई लोगो लाउनै पर्यो’; ‘एक पटक त झण्डा हल्लाउनै पर्यो’; ‘हिम्मत नभएकाले कहाँ खान सक्छ र?’; ‘पैसा नभएकाले राजनीति गर्ने होइन, खर्च गर्न सक्नेलाई टिकट् दिनु पर्दछ।’ ‘गरिबी– यो हिजो पनि थियो भोलि पनि रहने छ तर गरिबी निवारणको नारा भने दिइरहनु पर्दछ ! ’ ‘सामाजिक विभेद कहाँ हट्ने कुरा हो र? यो हिजो पनि थियो भोली पनि रहने छ !’, ‘राजनीति त साम, दाम, दण्ड, भेद, ढाँट, र छल सबैथोक जान्नेले गर्ने काम हो !’, ‘म राज्य सत्तामा जान योग्य अर्थात् शासक बन्नका लागि भाग्य लिएर जन्मिएको हुँ तिमी कार्यकर्ता र जनताले बाँचुञ्जेल मलाई सहयोग गर।’ ‘मेरो एउटा इच्छा छ मेरो र मेरो परिवारको योगदानको कदर गर्दै यो मेरो छोरो/छोरीलाई जिताइ दिनु पर्या !’ , ‘निजलाई एक पटक अमुक पदमा वा मन्त्री पदमा लानु पर्यो ! त्यसो नभए क्रान्ति र देश खतरामा पर्छ !’
माथि उल्लिखित भनाइले नेपालमा लोकतन्त्रको संस्कारलाई अभिव्यक्त गर्दछ। यसले राजनीतिप्रतिको आम सामाजभित्र नेतृत्वको मनोविज्ञानलाई उजागर गर्दछ। यही कुरातर्फ इङ्गित गर्दै प्रजातान्त्रिक समाजवादका चिन्तक एवं २००७ सालको क्रान्तिका नायक विश्वेश्वरप्रसाद कोइरालाले भनेका थिए– ‘भविष्यमा यो पार्टीमा सुकिला मुकिलाको हावी हुनेछ, इमान्दार कार्यकर्ता पनि छन्, तर भोलि त्यही पुराना इमानदार समर्पित कार्यकर्ताहरूले उनीहरू विरुद्ध विद्रोह गर्नुपर्छ अनि मात्र पार्टीलाई सही बाटोमा ल्याउन सकिन्छ’। हुन पनि वर्तमानको राज्यसत्तामा जान लालायित पार्टीका नेतृत्ववर्ग सुकिला मुकिलाहरूबाट घेरिएका छन्। भक्तजन, प्रियजन, आफन्तजन, निकट्जन, धनदाता, प्रशंसकहरूबाट घेरिएका छन् र विस्तारै उनीहरू जनताबाट अलग थलग हुन थाल्छन्। यो कुलीनतन्त्र तर्फको यात्रा हो र क्रान्तिको निषेध पनि हो।
के हुन सक्ला समाधान ?
के समस्याको समाधान वर्तमान संविधान भित्रैबाट सम्भव छ? के यस संविधान भित्रैबाट मानवद्वारा मानवमाथि हुने सबै प्रकारका शोषण र उत्पीडनकार्यको निराकरण सम्भव छ? के यस संविधानको जनादेश भित्रबाट नेपाललाई आधुनिक, विकसित र सुसम्पन्न मुलुक बनाउन सम्भव छ? के सही कानूनको निर्माण र पूर्ण पालनाले वर्तमान कुलीनतन्त्रलाई जनतन्त्र (जनताको तन्त्र) द्वारा विस्थापन गर्न सम्भव छ? के शक्ति सन्तुलनको दस्तावेजको रूपमा रहेको वर्तमान संविधान भित्रबाट समस्याको समाधान असम्भव छ? के वर्तमान संविधानको संशोधन र नयाँ कानूनको निर्माण एवं परिपालनाबाट समस्याको समाधान हुन सक्ला? के वर्तमान संविधानको संशोधनबाट समस्याहरू हल हुन नसक्लान्? के वर्तमान संविधानलाई यस अघिका संविधानहरूले विस्थापित गर्नु पदर्छ? के वर्तमान संविधानको पुनर्लेखन वा पुन:निर्माण आवश्यक छ?
यी प्रश्नका वरीपरिबाट नेपालका वर्तमान राजनीतिक शक्तिहरू र उनीहरूको सोच, दृष्टिकोण र कार्यदिशा बुझ्न सकिन्छ। सारमा वर्तमान संविधान आउनु नै गलत, यस अघिको संविधान मुलुकका निम्ति उपयुक्त भएको मान्ने एकखाले पश्चगामी राजनीतिक शक्ति छ। अर्कोखाले यो संविधान जे लेखिएको छ यसको कमा र पूर्णविराम समेत परिवर्तन गर्न नहुने विचार राख्ने यथास्थितिवादी शक्ति छ। अर्कोखाले शक्तिले वर्तमानको संविधानलाई आवश्यकता अनुसार परिमार्जन र सुधार गर्दै लैजाने सुधारवादी दृष्टिकोण राख्दछ। यसैगरी अर्को एक खाले शक्ति छ जो क्रन्तिद्वारा वर्तमान संविधानको पूर्ण ध्वंश र नयाँ संविधानको निर्माणमा विश्वास गर्दछ तर उसको ध्वंश पछि निर्माण गरिने संविधान र राज्यसत्ताको सुस्पष्ट खाका वा मार्गचित्र छैन।
भावी परिदृष्यका दुई पाटा
सर्वप्रथम त संविधान र कानूनहरू आफैंमा गतिशील र परिवर्तनशील दस्तावेज भएको हुँदा यो सदासर्वदा एकैनासे रहँदैन, विगतका परिवर्तनहरू त्यसैको परिणाम हुन्। अर्को दृष्टिबाट हेर्दा समाजको गति नत ऊध्र्वरेखीय नत चक्रीय वरु यो ‘स्पाइरल’ गतिको हुनेभएको हुँदा संविधान र कानूनहरू यथास्थितिमा त रहँदैनन् नत सिधा चक्रीय परिवर्तनकै रूप लिन्छन् बरु यिनीहरूमा स्पाइरल गतिमा परिवर्तन् हुन्छ। यो दृष्टिकोणबाट हेर्दा वर्तमान संविधानको यस अघिका संविधानद्वारा विस्थापन सम्भव छैन। अर्को कुरा राजनीतिक शक्तिहरू बीचको ध्रुवीकरण र सन्तुलनका लागि वस्तुगत आधार हिजोको तुलनामा खासै भिन्न बनि नसकेको हुँदा आँधीबेहरी युक्त क्रान्ति हुन तत्काल सम्भावना कम देखिन्छ।
प्राप्त जनअधिकार सहितको जनतान्त्रिक सत्ता कुलीनतन्त्रतर्फ निरन्तर वर्गारोहण गरी भुइँतलामा बस्ने बहुसंख्यकको जनआकाङ्क्षालाई लत्याउँदै सुकिला मुकिलाहरूद्वारा घेरिँदै जाने र एक भ्रष्ट सत्ताको रूपमा पतन हुने स्थिति देखिएमा र श्रीलङ्काको झैं अर्थतन्त्र समेत धराशायी हुने बाह्य परिस्थितिको निर्माण भएमा भने कुलीनतन्त्र जरैबाट उखेल्ने क्रान्तिको शंखनाद सुरु भैसकेको छ। यसमा हामीले चुनेर, अनि पार्टी भित्र चयन गरी पठाएका र हाम्रो संवैधानिक संरचना भित्रबाट गई आफूलाई समन्वयकर्ता र सहजकर्ता होइन एक कुलीन शासक ठान्नेहरूलाई चेतना भया !
(लेखक अधिकारी समाजशास्त्र तथा मानवशास्त्र विषयका अध्येता र भाषा विज्ञान विषयका अनुसन्धाता हुनुहुन्छ।)
आवरण सौजन्यः मदरजोन्सबाट लिइएको भिक्टो नागाईको कला कुलीनतन्त्र।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
डा. रघुनाथ अधिकारी ‘निलमशेखर’ का अन्य पोस्टहरु:
- नेपालमा सांस्कृतिक बहुलता र पहिचानको अन्तर्विरोध
- युरेसियामा प्राच्य संस्कृत र लिथुआनियाली भाषा
- सुशासनको दृष्टिमा ह्रासोन्मुख र बिटुलिँदो प्राकृतिक स्रोत
- लोकतन्त्रमा टिकट खरिदबिक्री र इमानदार ‘जुनुमान’
- ‘स्वतन्त्र’ उम्मेदवारको उदय र दलमा विकल्पको खोजी
- यसपालीको चुनावमा प्रभाव पार्ने तत्त्व
- सपनामा सीमित बनाइएको जनता केन्द्रित लोकतन्त्र
- कुलीनतन्त्रमा पतन भइरहेको हाम्रो लोकतन्त्र
- रुस–युक्रेन युद्धको वैश्विक प्रभाव र नेपाल
- आसन्न निर्वाचन: संविधानपक्षधर, विरोधी र तटस्थ मतदाता