आसन्न निर्वाचन: संविधानपक्षधर, विरोधी र तटस्थ मतदाता

यो आलेखमा आसन्न निर्वाचनमा सहभागी हुने विभिन्न शक्ति, विभिन्न विशेषता बोकेका मतदाता र उनीहरूले हेर्ने दृष्टिकोण प्रस्तुत गरिएका छन्।

निर्वाचनलाई हेर्ने दृष्टिकोण

मैले मेरो घर नजिकैका एक अधबैँसे पुरुषलाई ‘हैन दाइ चुनाव आएछ नि!’ भनी कुरा गरेँ। उनले प्रतिक्रिया दिए ‘हेर भाइ जाल, झेल र तिकडम गर्न जान्ने, अनि रुपैयाँ खर्च गर्न सक्ने मानिस निर्वाचित हुने हुन्। पहिले के के न गर्छु भनेर बाचा गर्छन्। घर घर आएर नमस्कार गर्छन्। चुनाव जितिसकेपछि नाक मुख देखाउने हैनन्। कतै भेट भए पनि चिनेको नचिने झैं गर्ने हुन्। सबै लुट्ने नै हुन्, यिनीहरूमा कतिपय त पुरानै अनुहारका छन्, धेरै जसो नयाँ अनुहारका आएर लुट्ने हुन्- चुनावमा।’

उनी त्यतिकैमा रोकिएनन् ‘हामी जनताको सेवा गर्ने हौं भन्छन्, चुनावका बेला देखापर्छन्, अरु बेला हराउँछन्। प्राय: सबैका शहर बजारमा घर छन्, आधा भन्दा धेरैका घर त काठमाडौंमै पनि होलान्। छोराछोरीलाई विदेशका महँगा स्कुलमा पढाउँछन्।  हाम्रा स्कुलको हविगत यस्तो छ। राजनीति फोहोरी खेल हो भाइ। हामी जस्तो पारिवारिक हैसियतका मानिसले चुनावका बारेमा सोच्न पनि सकिदैन’।

यी दाइले चुनावका बारेमा उनको धारणा राखेपछि हामी आआफ्नो बाटो लाग्यौँ। मेरा मनमा अनेक कुरा खेल्न थाले। यी दाइको भनाइको सार खिच्दा निर्वाचनप्रतिको निराशा, अविश्वास, वितृष्णा र पलायन थियो। केही दिन अघि मैले एउटा राजनीतिक दलका उपल्लो स्तरका नेताज्यूको भाषण  सम्झिएँ। उनको भनाइ थियो ‘नेपाली जनताको क्रान्तिको उपलब्धि खोस्ने गम्भीर प्रकारको प्रतिगामी षड्यन्त्र भइरहेको छ। यो निर्वाचनमार्फत यो षड्यन्त्रलाई निस्तेज पार्दै क्रान्तिका उपलब्धिहरूको रक्षा गर्नु छ’। म अर्का नेताज्यूको भाषण सुनिरहेको थिएँ ‘हाम्रो राष्ट्र अभूतपूर्वरूपमा खतरामा छ। यो राष्ट्र नै रहने हो कि होइन भन्ने प्रश्न उठेको छ। तसर्थ यसपटक हामीलाई हार्ने सुविधा छैन। जसरी पनि जित्नु छ।’ अर्को नेताको भनाइ थियो ‘जनताको बलिदानबाट स्थापित लोकतान्त्रिक परिपाटी खतरामा परेको छ। हाम्रो दलले हार्यो भने सम्झनोस् मुलुक र लोकतन्त्रले हार्‍यो, जनताको हार भयो। तसर्थ हामीले जसरी पनि जित्नु छ’।

निर्वाचनको समाप्तिको करिब आधा वर्ष भित्रमा अधिकांश युवाको मृगतृष्णा टुटिसकेको हुन्छ। ‘भोको मानिस रिसाएको हुन्छ’ भनिएझैँ उनीहरू दलहरू प्रति आक्रोश पोख्न थालिसकेका हुन्छन् तर दलहरूसँग उनीहरू ‘नाता सम्बन्ध’, ‘खाजापानी’ र ‘आन्तरिक द्रव्य परिचालन’ सँग गाँसिएका रहेछन् भने उनीहरू तत्काल विरक्ति सकेका हुँदैनन्। अझ भावी नेतृत्वका आकांक्षी युवाहरू भने दीर्घकालीन स्वार्थका निम्ति अल्पकालीन हितको बलिदानी गर्नुपर्छ भनी मौन बसेका हुन्छन्। सानो सङ्ख्याको वाणीविहीन युवा जमात सोच्ने त गर्छ तर बोल्न सक्दैन।

माथिको पहिलो अनुच्छेद भित्र निर्वाचन प्रतिको वितृष्णा र अकर्मण्यता छ भने पछिल्लो अनुच्छेदले निर्वाचनको पक्षधरता देखाउँछ। यी माथिका भनाइका अतिरिक्त अन्य विभिन्न कोणबाट पनि निर्वाचनप्रतिको दृष्टिकोण बनाउने र  टीका टिप्पणी हुने गरेका छन्। मूलभूतरूपमा यस्ता टीकाटिप्पणीहरूको विश्लेषण गर्दा तीन खाले दृष्टिकोणहरू पाइन्छन्। यस्ता दृष्टिकोणमा अहिलेको लोकतान्त्रिक गणतान्त्रिक संविधान र यो प्रणाली प्रति वा वर्तमान संविधानप्रति पूर्ण वफादार मूलधारको भित्रको दृष्टिकोण, यो प्रणालीको सम्पूर्ण परिवर्तन चाहने दृष्टिकोण र अर्को तटस्थ दृष्टिकोण। यी मोटा दृष्टिकोणहरू भित्र अनेकौं उपदृष्टिकोणहरू भए/ रहेका देखिन्छन्/सुनिन्छन्। वर्तमान संविधानको पक्षधरता हुँदाहुँदै पनि यसको क्रमागत सुधारको पक्षधरता भएका दृष्टिकोणहरू र यथास्थितिवादी दृष्टिकोणहरू पनि रहेका छन्। संविधानको परिवर्तन चाहने खेमाभित्र पनि भिन्न नमुनाका प्रणालीका समर्थकहरूका भिन्नभिन्न दृष्टिकोणहरू रहेका छन्।

उता तटस्थताको दृष्टिकोणहरू भित्र पनि यो वर्तमान संविधानको धुरीतर्फ ढल्किएका र  संविधानतर्फ पिठ्युँ फर्किएकाहरू पनि छन्। कतिपय भने बैरागी, उदासीन र तटस्थहरू पनि छन् जसका लागि यो निर्वाचन नाटक मञ्चनका रूपमा देखापर्ने एक सांसारिक घटना मात्र हो । यस्ता विभिन्न दृष्टिकोणहरूलाई यस आलेखमा निम्नानुसार प्रस्तुत गरिन्छ।

संविधान पक्षधर मूलधारका दल

संविधानको पक्षधर शक्तिहरू यो निर्वाचनमा सहभागी हुने पहिलो शक्ति हुनुका साथै वर्तमानको शक्ति सन्तुलनमा निर्णायक पनि हुन्। संविधान पक्षधरहरूको जमात भित्र पनि विभिन्न दल, संगठन,  दृष्टिकोण तथा विचार समूह, दबाब समूह आदि पर्न आँउछन्। उनीहरू भित्र यथास्थितिवादी, सुधारवादी, क्रान्तिकारी र पश्चगामी कित्ताका पक्षधर समेत रहेका छन्। संविधानको अंश मात्रै पनि परिवर्तन गर्ने आवश्यकता नभएको ठान्नेदेखि लिएर संविधानलाई सुधार गरेर लानुपर्ने र संविधान भित्रैबाट संविधानमा आमूल परिवर्तन गर्नुपर्ने शक्तिहरू पनि यस भित्र रहेका छन्। संविधानका पक्षधर शक्तिहरू भित्र पनि यथार्थमा नवउदारवादी लोकतान्त्रिक धार, समाजवादी / साम्यवादी धार र मधेसवादी धार गरिकन मुख्य तीन प्रकारका शक्ति र दृष्टिकोणहरू रहेका छन्। यी तीन धारभित्र भोटबैङ्कको हिसाबमा उनीहरूको सिद्धान्त र विचारका दृष्टिकोणबाहेक बाक्लो मत रहेका (पकेट) क्षेत्रहरू छन्।

नेपालमा वर्तमान संविधानलाई अस्वीकार गर्ने मूलत: उग्रवामपन्थी शक्ति र घोरदक्षिणपन्थी शक्तिहरू रहेका छन्। उग्रवामपन्थी शक्तिहरू समाज विकासको वस्तुगत आधार र परिपक्वताभन्दा पनि आत्मगत आग्रहका आधारमा कल्पित समाजवादी / साम्यवादी राजनीतिक प्रणालीको परिकल्पना गर्दछन्। घोर दक्षिणपन्थी शक्तिहरू पश्चगामी छन् र हालको राजनीतिक प्रणालीको विकल्पका रूपमा थोरबहुत परिमार्जित हुने हिजो सञ्चालित प्रणालीलाई अघि सार्दछन्। संविधानप्रति मौन र प्रष्टरूपमा विमति राख्ने अर्को शक्तिमा जातिवाद र क्षेत्रीयतावाद रहेको छ।

यस्ता मतका पकेट क्षेत्र वा भोट बैंकको कुरा गर्दा नवउदारवादी लोकतान्त्रिक धारमा शहरी मतदाताहरूका अतिरिक्त औद्योगिक र व्यापारिक पुँजीपतिवर्ग र उक्त बर्गसँग सहकार्य गरिरहेको परिवारसहित आमरूपमा छरिएर रहेका देशभरिका मतदाताहरू छन्। समाजवादी तथा साम्यवादी धार भित्र पर्ने राजनीति शक्तिहरूमध्ये आमरूपमा छरिएर रहेका देशभरिका मतदाताहरूका अतिरिक्त ‘राष्ट्रवाद’ र ‘जनजाति राष्ट्रवाद’ को नाराबाट प्रभावित हुने मतदाताहरू देखिन्छन्। मधेसवादलाई आफ्नो मूलनारा बनाउने राजनीतिक शक्तिको मुख्य भोट बैंक मधेस नै रहेको र रहने कुरामा कुनै दुईमत हुन्न। मधेसवाद भित्र पनि यथास्थितिवादी मधेसवाद, सुधारवादी मधेसवाद र आमूल परिवर्तनको पक्षधरताका मधेसवाद जस्ता फरक फरक विचार र दृष्टिकोणहरू एउटै दल भित्र पनि रहेको पाइन्छ। यो निर्वाचनमा उनीहरूका आआफ्नै प्राथमिकता विचार र दृष्टिकोण रहेका छन्।

माथि उल्लेखित हरेक शक्तिहरूका आआफ्नै उद्देश्य, अभियान र दाउपेचहरू छन्। मधेसवादी दलहरू बाहेकका दलहरू ‘आफ्नो नेतृत्वमा सरकार बनाउने छौ’ भनेर जनतालाई आश्वस्त पारिरहेका छन्। यता मधेसवादी दलहरू आफ्नो बहुमत नपुग्ने सर्वस्वीकृत तथ्य सामु कुनै ठूलो राजनीतिक दलसँग सहकार्य गरी अधिकतम सङ्ख्यामा आफ्ना उम्मेदवारहरूलाई जिताउन चाहन्छन् ताकी सरकार र राज्यसत्ताका विभिन्न निकायहरूमा आफ्नो पकड जमिरहोस्। वि.सं. २०४७ सालको परिवर्तनपछि प्रजातन्त्रवादी, समाजवादी / साम्यवादी र राजतन्त्रवादी दलहरूको बीचमा रहेको त्रिपक्षीय प्रतिस्पर्धामा क्रमश: मधेसवाद र जनजातीय राष्ट्रवादको उदय पश्चात अघिल्लो संसदीय निर्वाचन यता आएर स्वतन्त्र अभियान मार्फत नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको छ। यी शक्तिहरू सानै आकारमा भए तापनि मुख्य शहरी क्षेत्रका मत आकर्षण गर्न सफल भइरहेका छन्।

संवैधानिक वा आलंकारिक राजतन्त्रसहितको लोकतान्त्रिक व्यवस्थामा नेपालको भविष्य देख्ने दलहरूमा केहीले उदारवादी र समाजवादी / साम्यवादी दलहरूको कमीकमजोरीको नकरात्मक प्रभावलाई भजाएर आफ्नो स्थान (स्पेस) बनाइरहेका हुन्छन्। यद्यपि मूलधारका राजनीतिक दलहरूले पनि धर्म, राष्ट्रवाद, लोकतन्त्र वा समावेशिताका नाराहरूको आकर्षण मार्फत राजतन्त्र पक्षधर दलहरूका मतदाता आफूतर्फ तान्ने कोसिस गरिरहेका छन्। यहाँ आफ्नै प्रकारको तानातान रहेको देखिन्छ। संविधान पक्षधरता भित्र नै दलित तथा उत्पीडित समाज र धार्मिक अल्पसंख्यक मतदाताहरू रहेका छन्। यी मतदाताहरू हरेक दलहरूमा विभाजित छन्। यो क्षेत्रको बहुमत अन्ततोगत्वा सुरक्षा र समावेशिताका नाममा मूलधारका राजनीतिक दलहरूमा नै गएर समाहित भइरहेको छ र हुने देखिन्छ। भौगोलिकरूपमा सीमान्तकृत क्षेत्रको भोट पनि अन्ततोगत्वा मूलधारकै दलहरूमा समाहित हुने परम्परा छ।

निर्वाचनमा मूलधारका युवा

मूलधारका राजनीतिक दलहरूको प्रभाव क्षेत्रभित्र रहेका युवाहरूलाई सङ्गठित र असङ्गठित गरिकन दुई खेमामा बाँडेर हेर्न सकिन्छ। सङ्गठित युवाहरू विद्यार्थी तथा युवासँग सम्बन्धित जनवर्गीय सङ्गठनका विभिन्न समिति वा त्यसका सदस्यका रूपमा क्रियाशील रहेका छन् भने असंगठित युवाहरूको  मत घुमाइफिराइ मूलधारका दलहरूलाई नै हाल्ने गरेका छन् तर उनीहरू आफूलाई स्वतन्त्र देखाउँदै थप स्वतन्त्रताको परिकल्पना गर्दछन्। सङ्गठित युवाहरूमा पनि एक प्रकारको मनोवैज्ञानिक उदात्तपन देख्नेगरिन्छ जसअनुसार उनीहरू दलहरूको परम्परागत नियन्त्रणकारी लगामबाट आफूलाई स्वतन्त्र भएको सोच्दै नयाँ र रचनात्मक बाटोको खोजी गर्ने गर्दछन्। यदाकदा उनीहरूका फरक विचारहरू पनि नसुनिने होइनन् तर पुन: दलहरूको नियन्त्रणकारी लगाम भित्र उनीहरू खैँचाइएका हुन्छन्। अर्कातर्फ असंगठित युवाहरू भने सङ्गठित युवा र उनीहरूका परिवारको राजनीतिक नियन्त्रण भित्रपर्ने गर्दछन्।

हाम्रा छिमेकीहरूमा भारत आँगन जोडिएको र चीन कान्लोमाथिको छिमेकी हुन् । यो निर्वाचनमा दुवै छिमेकीहरूको आआफ्नै चासो छ। यो निर्वाचनबाट बन्ने नेपाली सरकार र त्यसपछिको राज्यसत्ताको नीतिले उनीहरूको राष्ट्रिय स्वार्थमा के कस्तो असर पर्ला भन्ने उनीहरूको मूल चासो हो। निर्वाचनका क्रममा मूलत: जनस्तरका सम्बन्धहरू र आर्थिक स्वार्थ भएका व्यापारिक सम्बन्धहरू प्रभावित भएका हुन्छन भने पछि गएर राज्य-राज्य बीचका सम्बन्धहरू पनि प्रभावित बन्दछन्। छिमेकीहरू चाहन्छन् निर्वाचनले आफ्नो राष्ट्रहितका निम्ति सकारात्मकरूपमा हेर्ने दलहरू विजयी बनून्।

मूलधारका राजनीतिक दल भित्रका विभिन्न संगठन र निकायहरूमा सङ्गठित बन्न पुगेका युवाहरू मध्ये जो नेतृत्वदायी ओहोदामा छन्, उनीहरूले आफ्नो माउ दल भित्र आफ्नो भविष्य देखेका हुन्छन्। उनीहरू संगठन सञ्चालनका आम नियमहरूका अतिरिक्त मूल नेतृत्वको वरिपरि गोलबन्द हुन लालायित हुन्छन् ताकि उनीहरूको कृपादृष्टि गरिरहोस् र भोलि छोटो बाटोबाट इच्छाइएको निकाय वा ओहोदामा पुग्न सजिलो होस्। उनीहरू भित्रबाट निष्ठाका साथ अभियान–राजनीति (मिसन पोलिटिक्स्) मा लाग्ने थोरै हुन्छन् र ठूलो संकट वा उथलपुथल नआएमा उनीहरूको राजनीति दलहरूको यथास्थितिवादी नोकरशाही संरचनामा त्यसै हराएर जान्छ। ती उज्यालो छर्ने सम्भावना बोकेका प्रतिभाहरू त्यतिकै निभ्ने गर्दछन्। यसरी सङ्गठित भएका युवाहरू प्राय: बेरोजगार हुने भएको हुँदा रोजगारीका लागि नेतृत्वको कृपा पाउने मृगतृष्णामा मरुभूमिमा विम्बित हुने मिथ्या जलप्रतीति (मिराज) तर्फ दौडिरहेका हुन्छन्।

रोजगारमा भएका युवाहरू दलका निम्ति कामयाबी जमात होइन। उनीहरू आर्थिकरूपमा आत्मनिर्भर नहुनेहुँदा रोजगारी प्राप्तिको आशमा युवावय नेतृत्वप्रति समर्पित गर्नुपर्ने बाध्यता रहन्न। उनीहरूलाई नेतृत्वको आदेश अवज्ञा गर्ने सामर्थ्य आर्थिक आत्मनिर्भरताले दिएको हुन्छ। नेपाल श्रम शक्ति सर्वेक्षण, २०७४/७५ का अनुसार नेपालको बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ (के.त.वि, २०७६)। यो बेरोजगार रहेको जनसङ्ख्यामा अधिकांश हिस्सा युवाहरूको रहेको कुरा थप पुष्टिगर्नु पर्दैन। यो तथ्यलाई हेर्दा नेपालमा प्रतिवर्ष करिब चारलाख युवाहरू श्रम बजारमा प्रवेश गर्न योग्य हुन्छन् (आइएल्ओ, २०१६)। यसरी श्रम बजारमा प्रवेश गर्न योग्यमध्ये सबैले रोजगारी पाउँदैनन्। हाल राजनीतिक दलहरूका निम्ति लडाकु दस्ताका रूपमा परिचालित भएको यही लक्षित समूह हो, अंग्रेजी भनाइ अनुसार ‘a hungry man is an angry man’ अर्थात् भोको मानिस रिसाएको हुने हुँदा उ मर्न र मार्न पनि तयार हुन्छ।

दलहरूको निर्वाचन अभियानका निम्ति परिचालित हुने सम्भावित जनसङ्ख्यामा सबैभन्दा उपयुक्त लक्षित समूह यिनै युवाहरू हुन्। निर्वाचन घोषणापत्रमा उल्लेख भएको युवा रोजगार कार्यक्रमबाट आश्वस्त भएर दलको पछि लाग्ने भन्दा पनि उनीहरू दलका विभिन्न तहका नेतृत्वसँगको व्यक्तिगत सम्बन्ध र सामिप्यका आधारमा अनुबन्धित भएका पाइन्छन्। निर्वाचनको समाप्तिको करिब आधा वर्ष भित्रमा अधिकांशको मृगतृष्णा टुटिसकेको हुन्छ। ‘भोको मानिस रिसाएको हुन्छ’ भनिएझैँ उनीहरू दलहरू प्रति आक्रोश पोख्न थालिसकेका हुन्छन्। तर दलहरूसँग उनीहरू ‘नाता सम्बन्ध’, ‘खाजापानी’ र ‘आन्तरिक द्रव्य परिचालन’ सँग गाँसिएका रहेछन् भने उनीहरू तत्काल विरक्ति सकेका हुँदैनन्। अझ भावी नेतृत्वका आकांक्षी युवाहरू भने दीर्घकालीन स्वार्थका निम्ति अल्पकालीन हितको बलिदानी गर्नुपर्छ भनी मौन बसेका हुन्छन्। सानो सङ्ख्याको वाणीविहीन युवा जमात सोच्ने त गर्छ तर बोल्न सक्दैन।

निर्वाचनमा संविधानका विपक्षी शक्ति

नेपालमा वर्तमान संविधानलाई अस्वीकार गर्ने मूलत: उग्रवामपन्थी शक्ति र घोरदक्षिणपन्थी शक्तिहरू रहेका छन्। उग्रवामपन्थी शक्तिहरू समाज विकासको वस्तुगत आधार र परिपक्वताभन्दा पनि आत्मगत आग्रहका आधारमा कल्पित समाजवादी / साम्यवादी राजनीतिक प्रणालीको परिकल्पना गर्दछन्। घोर दक्षिणपन्थी शक्तिहरू पश्चगामी छन् र हालको राजनीतिक प्रणालीको विकल्पका रूपमा थोरबहुत परिमार्जित हुने हिजो सञ्चालित प्रणालीलाई अघि सार्दछन्। संविधानप्रति मौन र प्रष्टरूपमा विमति राख्ने अर्को शक्तिमा जातिवाद र क्षेत्रीयतावाद रहेको छ। यो शक्तिको नेपाल निर्माण प्रक्रिया मै विमति रहेको छ। यसले निर्वाचन जस्ता घटनाहरूलाई पनि आफ्नो सोच अनुसार प्रभावित गर्ने रणनीति अख्तियार गर्दछ। वर्तमान संविधानलाई उपयोग गरी यो संविधानको विरोध गर्ने राजनीतिक शक्तिहरूमा तपसिलमा उल्लेख भएबमोजिमका छन्:

वर्गवादी उग्रवामपन्थ

मार्क्सवादी दर्शनका अनुसार समाज वर्गीय हुन्छ र समाजमा शोषक वर्गले शोषित माथि शोषण र शासन गर्दछ। वर्तमान संविधानले निर्दिष्ट राजनीतिक प्रणालीलाई पुँजीवादी संसदीय प्रणालीका रूपमा लिँदै यसले शोषक वर्गको हित गर्ने ठान्दछन्। नेपालका साम्यवादी दलहरूले गरेको व्याख्या अनुसार नेपालमा सामन्तवाद तथा नोकरशाही दलाल पूँजीपतिहरू शोषक वर्गमा पर्दछन्। उनीहरूले सर्वहारा श्रमजीवी वर्ग जस्तो कि किसान र मजदुरमाथि शोषण र उत्पीडन गर्दछन्।  यही शोषक वर्गका मानिसहरूको हालीमुहाली भएको वर्तमान राज्यसत्ता अन्तर्गत हुने निर्वाचनले शोषक वर्ग भित्रको एउटा समूह हटाएर अर्को समूहलाई सरकारमा पुर्‍याउनु मात्र हो यसले आम शोषित पीडित जनताको मुक्तिका निम्ति केही भूमिका निर्वाह गर्दैन। फलतः यस्तो शोषकवर्गको वर्ग हितको प्रस्तावना (एजेण्डा) मा हुने निर्वाचन को कुनै अर्थ छैन।

उनीहरू ‘प्रतिक्रियावादी संसदीय निर्वाचन बहिष्कार गरौँ !, नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढौँ !’ भन्ने नाराका साथ निर्वाचन बहिष्कार गर्ने अभियानमा लाग्ने गर्छन्। फलतः निर्वाचन बहिष्कार गर्न जनपरिचालन गर्ने सन्दर्भमा निर्वाचन पक्षधर र बहिष्कारवादी बीच झडप हुने सम्भावना रहेको छ। अत: यो बहिष्कारको नाराको अन्तर्य भनेको संविधानप्रतिको अस्वीकार्य र नयाँ प्रणालीको खोजतर्फको मनोविज्ञान पनि हो।  साम्यवादी आन्दोलन भित्रकै अर्को हिस्सा भने वर्तमानको राज्यसत्ता र राजनीतिक प्रणालीको  वर्गीय सार पुँजीपति वर्गकै भए तापनि यो निर्वाचनलाई उपयोग गरी भावी सर्वहारा क्रान्तिका लागि शक्ति सञ्चय गर्नुपर्दछ भन्ने दृष्टिकोण राखी आफ्नो माउ पार्टी हैन त्यसको मोर्चा सङ्गठनका नाममा चुनावमा भाग लिने तर सत्तामा नजाने दृष्टिकोण राखेको पाइन्छ।

माउ दलले वर्तमानको संविधानलाई खुलस्त हृदयबाट समर्थन नगर्ने र सरकारमा जान अस्वीकार गर्ने प्रवृत्तिले गर्दा यस्ता मोर्चाहरू पनि संविधान विरोधी कित्तामै परेको मान्नु पर्दछ तर कानूनीरूपमा मोर्चा सङ्गठनलाई भने वर्तमान संविधान अन्तरगतका संसदीय शक्तिका रूपमा हेरिनुपर्दछ। यस्तो समूहमाथि उग्रवामपन्थीहरूले ढुल्मुले अवसरवादी भनी टिप्पणी गर्दछन् भने उता उग्रवामपन्थी जमातलाई जडशुत्रवादी, एकोहोरा, अव्यवहारिक भनी आरोप लगाइने गरिन्छ।

जातिवाद, क्षेत्रवाद र निर्वाचन

नेपालको राजनीति भित्र दुईखाले जातिवादी धार रहेको छ। एउटा बहुसंख्यक जातीय अहंकार बोकेको धार र अर्को अल्पसंख्यक समूहको रूपमा रही पहिचानको आधारमा संघीयताको पुनर्संरचना चाहने सानो आकारको जातीय धार। बहुसंख्यक जातीय अहंकार बोकेको धार आफ्नो परम्परागत वर्चस्वको पुनःप्राप्तिको अभिलाषा राख्दै आफ्नो अधिकार सीमित गरिएकोमा रोष प्रकट गर्दछ। संविधानको संशोधन भएमा पहिलेको निरन्तरता कायम होस् भन्ने कामना गर्दछ र यो निर्वाचनलाई त्यो कोणबाट प्रभावित गर्न खोज्छ। उता अल्पसंख्यक जातिहरूको धार एकातिर वर्तमान संविधानलाई उपयोग गर्दै आफ्नो जातीय अभिष्टका निम्ति लागिपर्छ भने अर्कोतर्फ नेपाली राज्य सत्ताका विभिन्न अङ्गमा बहुसंख्यक जातिका रूपमा प्रतिनिधित्व हुने जनसंख्याप्रति रोष प्रकट गर्दै वर्तमानको नेपाली केन्द्रीय राज्यको विगठन र स्थानीय क्षेत्रका प्रमुख जातिहरूको वर्चस्व भएको राज्य स्थापना गर्न चाहन्छ।

नेपालभरि निर्णायक जनसङ्ख्याको रूपमा नरहेका तर निश्चित क्षेत्रमा परम्परागत बसोबास भएका यस्ता जातीय समुदायहरू पहिचानको आधारमा राज्यको पुनर्संरचना गरी आफ्नो राज्य स्थापना गर्ने मनस्थिति राख्दै वैधानिक कार्यक्रम सञ्चालन गर्दछन्। कतिपय गुप्त प्रकारका संस्था र अभियानहरू अलगाववादी सोचले काम गरिरहेको हुन सक्ने कुरालाई नकार्न सकिन्न।  खासगरिकन नेपालको केन्द्रबाट टाढा रहेका जस्तो तराई मधेस, हिमाल, कर्णाली, सुदूरपश्चिमाञ्चल जस्ता क्षेत्रहरूका केही भिन्न प्रकृतिका भौगोलिक तथा सांस्कृतिक विशेषताहरू रहेका छन्। उक्त विशेषतालाई आधार बनाएर एक प्रकारको साझा मनोविज्ञान निर्माण भएको देखिन्छ। यो साझा मनोविज्ञान अन्य क्षेत्रसँग प्रतिस्पर्धा गर्न चाहन्छ। राज्यको पुनर्संरचनाले धेरैजसो यो भावनाको संविधान गरे तापनि अझै पनि यो क्षेत्रीयतावादका केही अवशेष छन् जस्तो किराँत र मधेस प्रदेश।

धार्मिक साम्प्रदायिकता र निर्वाचन

नेपालमा प्रचलित धार्मिक सम्प्रदायहरूका आँखाले हेर्दा यो निर्वाचन आआफ्नो पक्षमा पार्नका निम्ति सोही बमोजिम उनीहरूका प्राथमिकता रहेका हुने देखिन्छ। अझ स्थानीय निर्वाचनमा त निश्चित धार्मिक सम्प्रदायको उम्मेदवारको हार र जितमा उक्त स्थानमा रहेका धार्मिक मतावलम्बीहरूको सङ्ख्याले निर्णायक हुने गरेको छ। हालको निर्वाचनमा हिन्दु राष्ट्रको स्थापनाको मुद्दा प्रखररूपमा उठाइएको पाइन्छ भने अन्य साना आकारका धार्मिक सम्प्रदायहरूका पनि धर्मनिरपेक्षता र बहुधार्मिक अधिकारका निम्ति प्राथमिकता रहेको देखिन्छ। जेहोस् धार्मिक सम्प्रदायमा आवद्ध मतदाताहरूको आआफ्नै प्राथमिकता रहेका छन्।

प्रवासी जनसंख्या

यो निर्वाचनमा प्रवासमा रहेका आवासीय नेपालीहरू प्रवासी कामदारहरू निर्वाचन प्रभावित गर्ने एउटा महत्वपूर्ण लक्षित जनसंख्या हो। आवासीय नेपालीहरूको सङ्ख्यालाई छोडेर भन्नु पर्दा करिव ५५ लाख नेपालीहरू विभिन्न मुलुकमा वैदेशिक क्रमिकरूपमा काम गर्दछन्। उनीहरू अहिले सामाजिक सञ्जालमा जोडिएका छन्, विदेशिनुका पीडा र अपमान महसुस गरेका छन्, विदेशको प्रगति र आफ्नो देशको स्थिति बुझेका छन्। उनीहरूले आफ्ना घर परिवार र आफन्तहरूलाई प्रभावित मात्र हैन निश्चित दल र उम्मेदवारहरूलाई आर्थिकरूपमा सहयोग गर्न समेत सक्षम बनेका छन्। अझ एनआरएनकै र पार्टी विशेषका सङ्गठनहरूमा सङ्गठित भएका उनीहरू निर्वाचनमा आउँदा मतदाता, नआए चन्दादाता वा प्रचारक त अवश्य बन्न सक्छन्। अझ विदेशमा स्थायी बसोबास गर्ने आवासीय नेपालीहरू आफ्नो आर्थिक हैसियत र पहुँचका कारण महत्वपूर्ण जनसंख्या हुन्।

छिमेकीहरूको चासो

हाम्रा छिमेकीहरूमा भारत आँगन जोडिएको छिमेकी र चीन कान्लोमाथिको छिमेकीहरूमा रहेका छन्। यो निर्वाचनमा दुवै छिमेकीहरूको आआफ्नै चासो छ। यो निर्वाचनबाट बन्ने नेपाली सरकार र त्यसपछिको राज्यसत्ताको नीतिले उनीहरूको राष्ट्रिय स्वार्थमा के कस्तो असर पर्ला भन्ने उनीहरूको मूल चासो हो। निर्वाचनका क्रममा मूलत: जनस्तरका सम्बन्धहरू र आर्थिक स्वार्थ भएका व्यापारिक सम्बन्धहरू प्रभावित भएका हुन्छन भने पछि गएर राज्य-राज्य बीचका सम्बन्धहरू पनि प्रभावित बन्दछन्। छिमेकीहरू चाहन्छन् निर्वाचनले आफ्नो राष्ट्रहितका निम्ति सकारात्मकरूपमा हेर्ने दलहरू विजयी बनून्। कतिपय अवस्थामा सम्बन्धित देशसँगको व्यापारमा संलग्न भएका व्यापारीहरू परिचालित हुँदा निर्वाचनका लागि आर्थिक श्रोत पनि बन्न पुगेको देखिन्छ। आफ्ना हितैसी मित्रहरूको विजयका निम्ति हुने गुप्त सहयोगहरूको सम्भावनालाई पनि नकार्न सकिन्न।

सीमापार रोटी, बेटी र भेटीको  अन्तरनिर्भरतामा गाँसिएका जनताका लागि दलहरूले लिने छिमेक नीति र छिमेकीले लिने दलहरू सम्बन्ध नीति महत्वपूर्ण हुन जान्छ। यस्ता नीतिहरूबाट भोट घट्ने र बढ्ने हुन जाँदा यस्ता लक्षित मतदाताहरूलाई आकर्षित गर्ने दलहरूले विशेष नीति लिने गर्दछन् तर सीमाक्षेत्रमा सीमावारपार समुदाय (ट्रान्सबोर्डर कम्युनिटी) को बसोबास हुने हुँदा यो समुदायका आफ्नै पीडा र आफ्नै प्राथमिकता हुने गर्दछन्। जसले मतलाई प्रभावित गर्दछ।

तटस्थ बैरागी र निर्वाचन

समाजबाट पाको उमेर भएका सदस्यहरू, जोगी, बैरागी, उदासीन, इहलौकिक हित  र स्वार्थप्रति निरास बनेका मानिसहरू निर्वाचनलाई सामान्य र भइरहने गोलाकाररूपमा हेर्छन्। ‘मानव समाजमा यस्ता धेरै निर्वाचन आए र गए। धेरै व्यक्तिहरू विजयी र पराजयी बने तर ती सबै नै अस्थायी हुन्। सुख र दुख, हर्क र विस्मात, जीवन र मरण यी सबै अस्थायी हुन्। त्यसो भएको हुँदा सत्य, परमतत्त्व र परमेश्वर मात्र स्थायी हुन् ! मानिसले त्यतातर्फ सोच्नुपर्छ।’ उनीहरूका भनाइ यस्तै हुने गर्दछन्।

निष्कर्ष

यसरी निचोडमा भन्नुपर्दा संविधान पक्षधर मूलधारका दलहरू नै यो निर्वाचनका मुख्य कर्ताहरू हुन्। उनीहरूका आआफ्ना सङ्गठित मतदाताका अतिरिक्त जति धेरै तटस्थ र विरोधी खेमाका मतदातालाई प्रभावित गर्न सक्दछन् त्यतिनै विजयी हुने सम्भावना राख्छन्।

(लेखक समाजशास्त्र तथा मानवशास्त्र विषयका अध्येता र भाषा विज्ञान विषयका अनुसन्धाता हुन्।)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रघुनाथ अधिकारी ‘निलमशेखर’ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap