हाम्रो सम्प्रभुताको क्षयीकरण

आज भन्दा केवल १०० वर्ष अघिको यो सन्धिले आज हामीलाई आत्मनिर्भर औद्योगिक अर्थतन्त्रतर्फ नभएर दलाल व्यापारिक पुँजीवादको परनिर्भरतातर्फ धकेलिदिएको छ।

स्टेपस्‌को घाँसे मैदानमा विचरण गर्ने अग्ला र बलिया घोडाको वेगवान गति देखेर लोभिएका प्रागैतिहासिक मानवले घरपालुवाकरण (डोमेष्टिकेसन) गर्दै सालीहोत्र (घोडा दाउने कला) को जब विकास गरे मानव जातिको इतिहासमा सामान्य राज्यहरूलाई साम्राज्यको सामर्थ्यमा माथि उठाउने पहिलो सामरिक सामर्थ्य यही अश्व शक्तिबाट प्राप्त भयो। सायद ऋगवेद पुरुष सुक्त (१०–९०–१०) मा वर्णित ‘तस्मादश्वा अजायन्त ये के चोभयादत:। गावो ह जज्ञिरे तस्मात् तस्माज्जाता अजावय:।।’ अर्थात् ‘पहिले, माथि र तल दुवैतिर दाँत भएका घोडा प्रकारका जानवर र त्यसपछि गाई, बाख्रा र भेडा जस्ता जनावरहरू उत्पन्न भए’ भन्ने वाक्यांशले घोडाको घरपालुवाकरणतर्फ इङ्गित गरेको मान्नु पर्दछ। स्वचालित यन्त्रको आविष्कार र प्रयोग नभएको त्यस युगमा स्थलमार्ग यातायातमा घोडाको प्रयोग भन्दा तीव्रगामी अर्को विकल्प थिएन।
इतिहासमा ठूलाआकारका अटोमान, मुगल, तुर्क, पर्शियन, र मिङ् लगायतका पुराना साम्राज्यहरूको स्थापना मानव पहुँच भित्ररहेको अश्व शक्ति प्रमुख कारक थियो। समयको गतिसँगै मानिसले स्वचालित यन्त्र जडित डुङ्गा र पानी जहाजको विकास गर्दै केवल शान्त नदी र तलाउमाथि मात्र होइन समुद्रका लहरिँदा छाल एवं ज्वारभाटा समेत चिरेर समुद्रमाथि विजय प्राप्त गर्‍यो। यो अवस्थाले घोडाका पीठमा दौडिएको मानव गतिलाई प्रतिस्थापित गरी झन् तीव्रगामी बनाइ दियो। फलत: पछिल्ला जापानी, पोर्तुगाली, स्पेनी, बेलायती, फ्रान्सेली र अमेरिकी साम्राज्यहरू यही सामुद्रिक यातायातको श्रेष्ठतामा आधारित भएर स्थापित भएका थिए। हुनत स्थल यातायातमा रेल, लरी, ट्रक, बस लगायतका साधनहरू र आकाशमार्गमा हवाइजहाजहरूको विकास नभएको होइन तर पनि सबै भन्दा सस्तो र अत्यन्तै लामो दूरी र ठूलो मात्रामा सामानहरूको ओसारपसार गर्ने क्षमता जलयातायातले नै वहन गर्दछ।
अब अश्व शक्ति र स्थल यातायातका साधनदेखि द्रुतगामी हवाई यातायात समेत ढुवानीको मात्रा, खर्च, र समग्र परिवहनको दृष्टिबाट हेर्दा हामी बाँचेको वर्तमान युग जलमार्ग यातायातद्वारा सर्वोपरि वर्चश्व स्थापित युग हो। भूमण्डलीकृत बन्दै गएको वर्तमान विश्व समाजमा मात्र होइन प्रागैतिहासिक देखि ऐतिहासिक कालसम्मका मानव सभ्यताहरू पनि निश्चित भौगोलिक मार्ग वा बाटो भएरै हिँड्दथे। प्राचीन रेसमीमार्ग (सिल्करोड) मा घोडा, उँट र गधाहरूको व्यापारिक लस्कर (क्याराभान) माथि चढेर हाम्रो क्षेत्रको नजिकबाट सभ्यता हिँड्दथ्यो भने अहिले मूलरूपमा पानीजहाज र आंशिकरूपमा हवाईजहाजमाथि चढेर महाद्विप र टापूहरूसम्म सभ्यताको आवागमन हुन्छ। भूमध्यसागरलाई एक काल्पनिक रेखाले जोडेर पृथ्वीको वरिपरि हेर्ने हो भने यो सागर उत्तर र दक्षिणका भूभागहरू जोड्ने र छुट्याउने एक जलसंयोग पनि हो। एसिया, अफ्रिका र युरोप महादेशमा हुने परिवहनको यो मुख्य वा राज–जलमार्ग पनि हो।
अर्कोतर्फ हरेक महाद्विपका तटीय क्षेत्रहरू जलयातायातका केवल केन्द्र (हब) मात्र होइन उद्योग र व्यापारसहित आर्थिक गतिविधिका मुख्य केन्द्रहरू पनि हुन्। आर्थिक गतिविधिसहित मुनाफा केन्द्रित हुने विशेष क्षेत्र भएको हुँदा तटीय क्षेत्रहरू महाद्विपको समग्र भित्री इलाका वा भित्री भूभाग (हिन्टरलेण्ड) भन्दा आर्थिक र प्राविधिकरूपमा प्रभुत्वशाली बन्दछन्। आर्थिक र प्राविधिक प्रभुत्व (डोमिनेसन) भनेको राजनीतिक वर्चश्वको निर्णायक आधार भएको हुँदा महाद्विपीय राष्ट्रका तटीय क्षेत्रहरूले उक्त महाद्विप भित्रका भित्री इलाकासम्म पनि आफ्नो प्रभाव निरन्तर बढाउँदै लाने गर्दछन्। यो प्रक्रियाले एउटै देशभित्र मात्र होइन अर्को देशको राजनीतिक सीमा पार गरेर पनि आफ्नो प्रभुत्व स्थापित गर्दछ। लाक्षणिक रूपमा भन्नुपर्दा कलकत्ताले दार्जेलिङ मात्र होइन काठमाडौंलाई पनि प्रभावित गर्दछ।

नेपाल मण्डल दक्षिणको केवल गङ्गाको मैदान मात्र होइन उत्तर पट्टिको तिब्बतीय उच्च समस्थली पनि ज्ञानका लागि अनुकूल भूमि हो। नेपालमा सभ्यताको प्रसार मूलत: यिनै दुई भूमिबाट भएको देखिन्छ। हामी कहाँ आशाले भरिएको तर एउटा यथार्थ भन्दा टाढाको परिकल्पना के छ भने ‘पर्वतीय क्षेत्र ज्ञान भूमि हो, तपो भूमि हो, र ज्ञान यहींबाट अन्यत्र प्रसारित भएको हो !’ तर ज्ञान आर्थिक उत्पादनको उपरि संरचना हो। पहाडको सानो आकारको अर्थतन्त्रमा ठूलो उच्चाइका विद्वत् व्यक्तित्व र दार्शनिकहरूलाई थेग्ने सामर्थ्य हुँदैन।

पहिले युरोप, अफ्रिका र एसियाली भूक्षेत्रको स्थलमार्ग सभ्यता प्राचीन रेसममार्ग हुँदै हिमालय पर्वत शृङ्खलाको उत्तर र दक्षिणको पाटोबाट पूर्वतर्फ प्रशारित हुन्थ्यो। पश्चिममा कश्मिर, उत्तर पश्चिममा कैलाश मानोसरवर, उत्तर पूर्वमा ल्हासा र दक्षिणमा काशी (यहाँको आफ्नै सभ्यतासमेत) हुँदै यो सभ्यतासँग नेपालको सम्पर्क हुने गर्दथ्यो। अझ काठमाडौंमा आफैंमा सानो आकारको सभ्यताको केन्द्र भइरहँदा बाह्य सभ्यताको आगमन भने दक्षिण काशी र उत्तर ल्हासाका केन्द्रबाट हुने गर्दथ्यो। जलमार्ग सभ्यताको सुरुआतसँगै बेलायतको पानीजहाजबाट कलकत्तामा ओर्लिएको पाश्चात्य सभ्यता भारतको पश्चिम बङ्गालको सिलगुडी र दार्जेलिङको भूभाग हुँदै नेपालको पूर्वी तराई र पहाडमा प्रवेश गर्‍यो। नेपालमा पहिलो पटक यो बङ्गालको खाडी नजिकको तटीयक्षेमा केन्द्रित बेलायती सभ्यताको आगमन थियो र बृटिस उपनिवेशको दक्षिण एसियाली महाद्विपमा आगमन पनि थियो।
डार्विन (१८७६) ले आफ्नो पुस्तक ‘अन ओरिजिन अफ् दि स्पेसिज’ मा पहाडलाई जमिनको टापु भनि उल्लेख गरेका छन्। उनका अनुसार टापु र पहाडमा महाद्विपीय भूमिबाट सभ्यता प्रसारित हुन्छ। सापेक्षरूपमा हेर्दा सानो भूभागको तुलनामा जमिनको ठूलो क्षेत्रमा धेरै मानिस हुन्छन् र धेरै मानिस हुनु भनेको मात्रात्मक र गुणात्मक दुबै रूपमा धेरै ज्ञान, सीप र अनुभव हुनु पनि हो। राजनीतिक भूगोलका अनुसार पनि पानीको मूल फुट्ने स्थानका मानिस भन्दा पानी गएर सागरमा मिल्ने स्थानमा बसोबास गर्ने मानिसहरूमा बढ्ता जानकारी वा ज्ञान हुने सम्भावना रहन्छ। यो तर्कको अन्तर्य भनेको पानीको मूल अग्लोे भूभागमा हुन्छ जहाँ मैदानी भूभागको तुलनामा जनसंख्या कम हुन्छ। मानिस आफैं ज्ञानको वाहक भएको हुँदा धेरै मानिस भएको भूभागमा धेरै ज्ञान हुने संभावना रहन्छ।
स्वचालित यन्त्रको युगअघिको प्राचीन भूगोलका आधारमा नेपाल वरिपरिको भूभागमा सभ्यताको प्रसारण बारे विचार गर्दा के भन्न सकिन्छ भने हिमालका टाकुरा र पहाडका चुचुरा तल बसेको पहाडका फाँटहरूमा, टाहारिला बस्तीहरूमा, उपत्यका र नदी बेंसीहरूमा, अनि तराई र मधेसको मैदानी भूभागमा निश्चिय नै ज्ञानको मात्रा वा राशी बढ्ता थियो। नेपाल मण्डल दक्षिणको केवल गङ्गाको मैदान मात्र होइन उत्तर पट्टिको तिब्बतीय उच्च समस्थली पनि ज्ञानका लागि अनुकूल भूमि हो। नेपालमा सभ्यताको प्रसार मूलत: यिनै दुई भूमिबाट भएको देखिन्छ। हामी कहाँ आशाले भरिएको तर एउटा यथार्थ भन्दा टाढाको परिकल्पना के छ भने ‘पर्वतीय क्षेत्र ज्ञान भूमि हो, तपो भूमि हो, र ज्ञान यहींबाट अन्यत्र प्रसारित भएको हो !’ तर ज्ञान आर्थिक उत्पादनको उपरि संरचना हो। पहाडको सानो आकारको अर्थतन्त्रमा ठूलो उच्चाइका विद्वत् व्यक्तित्व र दार्शनिकहरूलाई थेग्ने सामर्थ्य हुँदैन।
अर्कोतर्फ कम्तिमा पनि आज भन्दा एघार हजार वर्षमात्र उता भएको भनिएको अन्तिम हिम युग, त्यसपछि हालसालै चौधौंदेखि उन्नाईसौं शताब्दीका बीचमा फैलिएको सानो हिम युग (लिटिल आइसएज) समेतलाई विचार गर्दा दक्षिण एसियाको हिमाली र पर्वतीय भागमा हिमरेखा धेरै तल सम्म ओर्लिएको हुने हुँदा यसले मानव सभ्यताका लागि प्रतिकुल परिस्थिति सिर्जिएको हुनुपर्दछ। यसको दृष्टान्तको रूपमा हामी जतिजति पृथ्वीको उत्तर र दक्षिण ध्रुव नजिक जान्छौं त्यहाँ जीवन र मानव उद्भावित क्रियाकलाप कम हुँदै गएको पाउँछौ। यो दृष्टिबाट हेर्दा हिउँले ढाकेका क्षेत्रहरू सृष्टि भूमि, ज्ञान भूमि र तपो भूमि नभएर भूमध्य रेखाको उत्तर र दक्षिणको उष्ण र समशीतोष्ण क्षेत्रहरू नै जीवनका लागि सर्वाधिक अनुकूल क्षेत्र हुन्। हाम्रा मध्यपहाडी क्षेत्रका होचा फाँट, उपत्यका, बेँसी र तराई मधेसका समथर भूभागहरू जीवनका निम्ति तुलनात्मक रूपमा अनुकूल वातावरण भएका क्षेत्र हुन्।
पहाडबाट झरे–मरेको वनस्पति र जीवका अवशेषहरू मलका रूपमा लड्दै र बग्दै समथर मैदानमा पाक भएर सङ्ग्रहित (डिपोजिट) हुने हुँदा कालान्तरमा तल्लो तटीय क्षेत्रको जमिन उर्बर हुनजान्छ। अधिकांशरूपमा भिरालो र रुखो पहाडमा हुने उत्पादनको तुलना नदी निर्मित बेँसी वा सम्म मैदानको उर्वर भूभागमा हुने उत्पादनसँग तुलना गर्नै सकिन्न। फलत: थोरै श्रमले धेरै उत्पादन हुने हुँदा मानिसले बचेको समय ज्ञान, विज्ञान, साहित्य, कला, र दर्शन् जस्ता विधामा लगाउन पाउँछ। दक्षिण एसियाली सन्दर्भमा पनि वेदको विकास हुनमा पृष्ठभूमिबाट सङ्ग्रहित ज्ञान सँगै मूलत: सिन्धु, एवं गंगा र जमुनाको उर्वर मैदानको देन छ। ठूलो अर्थतन्त्रको आधार बन्ने उर्वर मैदान माथिको आधिपत्य र नियन्त्रण, त्यस क्षेत्रका सबै भन्दा लडाका जातिहरूले गर्दछन् र उनीहरूका राज्य अन्य वरिपरिका राज्य भन्दा अर्थतन्त्रमा सबल पनि हुन्छन्। अधिकांश ठूला विद्वान्‌हरू यस्तै ठूलै राज्यमा आश्रित हुने भएकाले उनीहरू पनि ज्ञानमा अब्बल दरिएका हुन्छन्।

यसलाई सामान्यीकरण गरेर हेर्दा ज्ञान प्राप्तिका र विकासका लागि सामान्यत: समथर वा मैदानी भूभाग उपयुक्त हुने गर्दछ। केही विद्वान्‌हरू केही समयको ज्ञान पर्यटनका लागि पहाड पर्वत वा हिमालयमा उक्लिए तापनि उनीहरूले त्यहाँ छोटो समय बसी तपस्या अर्थात् चिन्तनमनन गर्ने मात्र हो। अर्थतन्त्रको सहयोग बिना तपस्या गर्ने ऋषिको रोटीको स्रोत सुकिसकेको हुन्छ र धोती फाटिसकेको हुन्छ। कमजोर अर्थतन्त्र भएका अनुयायीहरूले यस्ता साधक ऋषिहरूलाई धान्न गारो हुन्छ। यो दृष्टिकोणबाट हेर्दा नेपालको पहाड नजिकै कपिलवस्तुमा जन्मिएर हुर्किएका सिद्धार्थ गौतम तल गंगाको किनारमा गएर नै ‘बुद्ध’ बने। नेपालको पर्वतीय क्षेत्रमा बसोबास गर्ने खस भाषी ब्राह्मणहरू तल बनारस ओर्लिएरै शिक्षित भए। आखिर पहाडदेखि तराई मधेसका लागि पनि नालन्दा, तक्षशिला, नैम्यसारण्य, नवदीप जस्ता विद्यापीठहरू पनि गङ्गाको जलाधार क्षेत्रका उर्वर मैदान अन्तर्गत नै त थिए।

पहिले शिन्ध क्षेत्रमा चट्टानबाट बनेको शिन्धे (सिधे) नुन भारतको भूभाग हुँदै केही मात्रामा नेपाल आउने गरेको भए तापनि बृटिसको आगमन पश्चात भने विस्तारै हिन्द र अरबसागर तटका उद्योगबाट उत्पादित धुले नुनमा नेपाल निर्भर हुन थाल्यो। नुनमा नेपाललाई दक्षिण फर्काउन बृटिसहरू सफल भए र नुनमा दक्षिण फर्किएको नेपाल परनिर्भरताको पासोमा कसिएर कहिल्यै अन्त फर्कन नसक्ने भयो।

उदाहरणका रूपमा लिँदा पूर्व प्रधान न्यायाधीश अनुपराज शर्माका पिता साहित्यकार केशवराज पिँडालीका बाजेका बाजे हरिहर शर्मा लामिछाने पढ्न गएको बंलादेशस्थित नवदीप विद्यापिठ र योगी नरहरीनाथले पढेको वर्तमान पाकिस्तानको पेशावर स्थित गोरखनाथ विद्यापिठ नेपालबाट पूर्व र पश्चिमतर्फ नै भए तापनि पहाडबाट ओर्लनेहरूका निम्ति त यिनीहरू मैदानी भूभाग नै थिए। काभ्रे जिल्लाको तिमाल क्षेत्रका बौद्ध धर्मावलम्बी तामाङ्हरूका पहिला दीक्षा दिने बौद्ध गुरु बङ्गालबाट आएका थिए भनिन्छ। हुनत तिब्बतको बौद्ध धर्म आफैँ पनि भारतको मैदानबाट विभिन्न नाका जस्तो लद्दाख, सिक्किम, अनि नेपालको काठमाडौं, पाकिस्तानको पेशावर (पुरुषपुर), र अफगानिस्तानको ब्याक्टेरिया (बाल्हिक) प्रदेशको बाटो हुँदै उत्तरतर्फ उक्लिएको देखिन्छ। नेपालको हिमाली भेकबाट बौद्ध धर्ममा दीक्षित हुन तिब्बत जानेहरू पनि अग्लो ठाउँमै गए तापनि त्यो तिब्बतको उच्च समस्थली भएको हुँदा समथर मैदानको केन्द्रमा नै गएको मान्नुपर्ने हुन्छ।
यसरी नेपालको भूभागमा पहिले जमिनबाट हिँड्ने सभ्यता ल्हासा र कुती अनि कैलाश र मानोसरोवरबाट ओर्लिन्थ्यो, काशीबाट उक्लिन्थ्यो। पर्वतीय क्षेत्रमा उत्तर र दक्षिणका मैदानी भूभागबाट प्रशारित सभ्यताले प्रभावित गर्दथ्यो। अझ जलयातायात सभ्यताको युगपछि त नेपालको सन्दर्भमा भन्नुपर्दा बेलायतको पानीजहाजबाट कलकत्तामा ओर्लिएको सभ्यता छचल्किदै सबभन्दा पहिले दक्षिण पूर्वी नेपालमा आइपुग्यो। त्यसपछि क्रमश: उत्तर पश्चिमी नेपालतर्फ प्रशारित भयो। यो बाटोबाट सभ्यता हिँड्नु भनेको विकास पनि त्यसैगरी हिँड्नु हो। नेपालमा खुलेका विद्यालयहरूमा विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षकहरू भारतको कलकत्ता (कोलकाटा) र काशीबाट प्रशारित शिक्षाको पहुँच क्षेत्र भित्र रहेका व्यक्तिहरू थिए। हाल आन्तरिकरूपमै अंग्रेजी शिक्षकको जनशक्तिमा नेपाल आत्मनिर्भर भए तापनि विगत दशकहरूमा नेपालका निजी अंग्रेजी विद्यालयहरूमा अंग्रेजी पढाउने शिक्षकहरू भारतको दार्जेलिङ, खार्सांङ्, ग्यान्टोक, भुटान र मद्रास जस्ता समुद्रबाट केही नजिक पर्ने भूभागबाट आएका हुन्थे।
शिक्षाको विकासतर्फ हेर्दा पनि नेपालका विद्यालय र महाविद्यालयहरूको सुरुवात भारतीय विद्यालय, महाविद्यालय र परीक्षा बोर्ड अन्तर्गत जोडिएर आएको पाइन्छ। नेपालका लागि आवश्यक पर्ने प्राविधिक जनशक्तिहरू पहिले दक्षिणको मैदानी भूभाग अर्थात् भारतबाटै आएका छन्। बृटिसहरू भारतमा आएपछि नेपालको प्राकृतिक आत्मनिर्भर अर्थतन्त्र टुटेर अर्धऔपनिवेशी प्रकृतिको परनिर्भर अर्थतन्त्रको विस्तारित स्वरूप बन्न पुग्यो। जसले गर्दा नेपालको व्यापारको दिशामा पनि परिवर्तन ल्याइदियो। उदाहरणका रूपमा नेपालको पहाडी भूभाग मूलत: भोटबाट आउने नुनमा (ढिके र बिरे नुन) मा निर्भर थियो। पहिले शिन्ध क्षेत्रमा चट्टानबाट बनेको शिन्धे (सिधे) नुन भारतको भूभाग हुँदै केही मात्रामा नेपाल आउने गरेको भए तापनि बृटिसको आगमन पश्चात भने विस्तारै हिन्द र अरबसागर तटका उद्योगबाट उत्पादित धुले नुनमा नेपाल निर्भर हुन थाल्यो। नुनमा नेपाललाई दक्षिण फर्काउन बृटिसहरू सफल भए र नुनमा दक्षिण फर्किएको नेपाल परनिर्भरताको पासोमा कसिएर कहिल्यै अन्त फर्कन नसक्ने भयो।
ई.सं.६३९ ताकाबाट खोलिएको बनेपा–कुती मार्ग तिब्बततर्फको व्यापारका लागि एक महत्त्वपूर्ण पहुँच थियो र काठमाडौं, तिब्बत र भारत बीचको भित्री बन्दरगाह (इनरपोर्ट)को रूपमा स्थापित थियो। वास्तवमा लिच्छवि र मल्लकाल आर्थिकरूपमा नेपालको एक स्वर्णिम युग पनि थियो। युरोपेली तामाको तुलनामा उच्चकोटीको गुणस्तर भएको नेपाली तामा कलकत्ताका बजारमा डेढा मूल्य बढीमा बिक्दथ्यो तर पछि गएर चुम्बू र कालिम्पोङ्बाट भित्र्याइएका बृटिस सामानहरूलाई त्यतिवेलाको नेपाल राज्यले खुला गरिदिएपछि नेपाली उद्योगहरू टिक्न सकेनन्। अझ पछि गएर वि.सं.१९७९ मा बृटिस भारतसँग नेपालको राणा सरकारले गरेको सन्धि पश्चात् बेलायत र भारतबाट बिना भान्सार र बिना परिमाणात्मक बन्देज नेपालभित्र आयात गर्ने छुट दिइएपछि नेपालमा आधुनिक उद्योगहरू स्थापना गर्ने सम्भावना समाप्त हुँदै गएको मात्र होइन मूलत: यही विन्दुबाट नेपाल परनिर्भताबाट उम्कन नसक्ने दुश्चक्रमा फस्न पुग्यो (भरतमोहन अधिकारी, २०६६ ‘नेपालमा औद्योगीकरणका समस्या’)।

यो सन्धि आज भन्दा केवल १०० वर्ष अघिको मात्र हो जसले आज हामिलाई आत्मनिर्भर औद्योगिक अर्थतन्त्रतर्फ नभएर दलाल व्यापारिक पुँजीवादको परनिर्भरतातर्फ धकेलिदिएको छ। स्वतन्त्र भारतसँग र नेपाल बीच गरिएका इ.सं. १९५० को शान्ति तथा मैत्री सन्धिदेखि लिएर व्यापार तथा पारवहन सन्धि र जलश्रोत सन्धि लगायतका दर्जनौ सन्धि, सम्झौता र समझदारी र हालसालै अध्ययन सम्पन्न गरी बुझाइएको ए.पि.जि (एमिनेन्ट पर्सनस् ग्रुप) प्रतिवेदनसम्मका कार्य, तिनका प्रभाव र प्रयोजन विहीनता भएको दृष्टान्तले हाम्रो सम्प्रभुता कमजोर बनाएको देखिन्छ। क्रान्ति विद्रोह र आन्दोलनहरूले शक्ति सन्तुलनमा ल्याएको फेरबदलका रिक्त अवधिमा हुने बाह्य चलखेल र षडयन्त्रका फलस्वरूप राष्ट्रिय हितका अडान छोड्नुपर्ने परिस्थिति दु:खद छ। बढ्दो भूराजनीतिक जटिलताले समुद्र टाढा रहेका भूपरिवेष्ठित मुलुकहरूको सम्प्रभुता नरम प्रकृतिको हुने र उनीहरूले तटस्थ, असंलग्न जस्ता अडानहरू राख्नुपर्ने र बलशाली छिमेकीका चाहना बमोजिमका आफ्ना संविधान र कानून बनाउन वा संशोधन गर्न बाध्य पारिने कुराहरूले सम्प्रभुतालाई खुम्च्याइ दिने गर्दछ।

इतिहासको कुनै कालखण्डमा धेरै ठूलो भूभागसम्म फैलिएका साम्राज्यहरू हाल खुम्चिएर लिलिपुट बनेका छन्। अझ खासगरीकन सागर बाहेकको भूभागमा मात्र फैलिएका भूपरिवेस्ठित साम्राज्यहरू इतिहासमा हराउँदै गएका छन् वा खुम्चिएर सानो राष्ट्रमा सीमित बनेका छन्। युरोपको दक्षिणमा रहेको भूमध्य सागरको किनार वा यो सागर भित्री भागमा जोडिएका तटवर्ती भूभागले इतिहासको एक काल खण्डमा ल्याटिन (रोमन) र ग्रिक सभ्यताको जन्म गराउन महत्वपूर्ण भूमिका खेलेको थियो। यो क्षेत्रबाट व्यापारसँगै ल्याटिनमा लेखिएको बाइवल उत्तरी युरोपका थुप्रै देशहरूसम्म पुग्दा दक्षिण एसियाको संस्कृत जस्तै पवित्र र श्रद्धाको भाषा बन्न पुगेको थियो– ल्याटिन। अहिले भने एट्लान्टिक किनारामा जन्मिएको बेलायती साम्राज्य, त्यसको उत्परिवर्तित स्वरूप (म्युटेन्ट भेरियन्ट) अमेरिका, क्यानडा र अस्ट्रेलिया ठूलो आकारका साम्राज्यकै हैसियतमा उक्लिएका छन्। अझ अमेरिका त हालको सबै भन्दा बलियो शक्ति राष्ट्र नै हो।
यता नेपालको सन्दर्भ पनि पूर्वमा टिस्टा र पश्चिममा काङ्गडा, उत्तरमा दिगार्ची गुम्बामाथिको भूभाग र दक्षिणमा गङ्गावारीको भूभागसम्म बेलाबेलामा साम्राज्यको हैसियत प्राप्त गरेको नेपाल समुद्रबाट पसेको बृटिस साम्राज्यवादसँग पराजित भई सुगौली सन्धिमार्फत वर्तमानको आकारमा खुम्चनु परेको छ। हाम्रो देशले अहिले आफ्नो सम्प्रभुता खुम्च्याउँदै, छिमेकीको चाहना बमोजिम राष्ट्रिय निर्णयहरू गर्दै कैले तटस्थता, कहिले असंलग्नता जस्ता नारा दिए तापनि यथार्थमा एक दुर्बल सम्प्रभुता भएको संरक्षित, अधीनस्थ, र बफर राष्ट्र बन्ने सम्भावनातर्फ गइरहेको आभाष हुन्छ। हाम्रो यो स्थिति हुनु के भौगोलिक निस्चयावाद (जोग्राफिकल डिटरमिनिजम) सँग गाँसिएको नियति हो ? कि बाह्य राजनीतिक षडयन्त्र को परिणाम हो? वा आन्तरिक अकर्मण्यतासँग गासिएको नियति? यी प्रश्नको उत्तर भित्र नेपालको उज्यालो वा अँध्यारो भविष्यको दुवै पाटा निहित छन्। सबैमा चेतना भया !

(लेखक समाजशास्त्र तथा मानवशास्त्र विषयका अध्येता र भाषा विज्ञान विषयका अनुसन्धाता हुन्।)

आवरणः स्कटिस लेखक तथा कलाकार जेम्स बेली फ्रेसरले सन् १८१५ मा बनाउनु भएको “गोर्खाहरूको जमघट” चित्र।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

डा. रघुनाथ अधिकारी ‘निलमशेखर’ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link