बन्द समाजः न आविस्कार न त  व्यक्तित्व 

अहिले जमाना बदलिएको छ। मानिसको त के कुरा, पशुपन्छीको स्वभावमा पनि परिवर्तन आएको छ। रूपी (सारौं) ले पनि प्लास्टिकको गुँड लगाउन थालेको छ ! कागले गाउँका बारीमा रोपेको बदाम चुचोले उखेलेर खान सिकेको छ अनि सहरमा घर बनाउँदा प्रयोग गरिने ढलान–तार लगेर गुँड बनाउन पनि जान्ने भएको छ ! सहरबजारका छाडा गाईवस्तुहरू तरकारी बिक्रेताले डालो (ढाकी) मा बोकेर लगिरहेको तरकारी थुतुनाले हानेर तलझारी खान जान्ने भएका छन् ! वानर झ्याल ढोका खोलेर घर भित्र पसी चोर्न जान्ने भए ! अझ रोचक त के छ भने आजकाल वानरहरू सुन्तलाको बोक्रा छोडाउँदा त्यसको रागले आँखा नपोलोस् भनेर आफ्ना पिठ्युँतर्फ राखेर छोडाउन थालेका छन्। जङ्गली हात्तिहरू जङ्गल छेउको झुपरपट्टीमा पसी घ्याम्पोमा राखेको जाँड खाएर मात्न थालेका छन्! कुकुरहरू त चियापसलमा बसेर आगन्तुकलाई बिस्किट ख्वाउन भनसुन गर्न थालेका छन्! आखिर किन र कसरी बदलियो दुनियाँ? परिवर्तन आयो किन?

नयाँ प्रविधि, परिवर्तनको कारण 

परिवर्तनको सबैभन्दा जिम्मेवार कारण हो प्रविधिको आविष्कार र नवीकरण। उदाहरणका रूपमा फलामको आविष्कारपछि झुलो र चकमकले, त्यस पछि सलाइले, अनि अहिले आएर लाइटरले मानिसको आगोमाथिको पहुँचलाई घण्टाबाट सेकेण्डमा ओरालेको छ। अब आगो प्राप्तिमा उन्साठी मिनेट, उन्साठी सेकेण्डको समय बचत भएको छ। ग्यास र विद्युत्‌को प्रयोगबाट खाना पकाउने आधुनिक परिवारले वर्षदिनका लागि दाउरा जोहो गर्ने समय ३ घण्टाबाट घटाएर करिब आधा घण्टामै पूरा गरी दुई घण्टाको समय उभारेको छ। अघिल्लो पुस्ताकी आमा र पछिल्लो पुस्ताकी हजुरआमाले महिनामा करिब २ पटक नजिकको खोला, पँधेरो वा पोखरीमा गई खरानी पानीमा कपडा उसिनेर करिब आधा दिन खर्चिएकर धुनुपर्ने हैरानीलाई लुगाधुने मेसिन राखेका परिवारका हकमा केवल अब घण्टाको वरिपरिको समयमा सीमित गरिदिएको छ।

अन्न कुट्ने पिस्ने मिलको विस्तार र पहुँचले ढिकी–जाँतोको कुटानी–पिसानीलाई कैयौं घण्टाबाट मिनेटको समयमा झारेको छ। जस्तापाता, सिमेन्ट र आधुनिक निर्माणसामग्रीको प्रयोगले सालै पिच्छे घर छाउनुपर्ने र आवधिक मर्मतसम्भार कार्यलाई अभूतपूर्व रूपमा घटाइ समयको बचत गराएको छ। घाटमा पुगेर डुङ्गा चढी खोलापारीको खेतबारीमा जाँदा लाग्ने समय झोलुङ्गे र पक्की पुलको निर्माणले अब दिनबाट केही घण्टामा झारेको छ। बढ्दो पहँुचभित्र आएका यातायातका र सञ्चारका साधनहरूले मानिसलाई दिनहुँ र घण्टौं लगाएर गर्नुपर्ने कार्यहरू केही घण्टा र मिनेटमै सम्भव तुल्याएको छ। इन्टरनेटको प्रयोगले आफ्नै कम्युटर, आइप्याड र मोबाइल भित्र हजारौं स्रोतग्रन्थहरू अटाउने पुस्तकालय त छ नै कृत्रिम बुद्धि (आर्टिफिसिलय इन्टेलिजेन्स) बोकेको ज्ञान प्राप्तिको अझ छोटो सुविधा भएकी गुगल गुरुआमा हर्दम् पहुँचमा छिन्। यसरी अहिलेको भौतिक विकास भनेको हरेक कुरामा छोट्याइएको समय र दूरी हो।

व्यक्तिको उदयमा नयाँ प्रविधि   

प्रविधिको पहुँच नपुगेको परम्परागत संयुक्त परिवारको अर्थतन्त्रभित्र प्रत्येक सदस्यहरूको भूमिका अन्तर्निर्भर र परिपूरक हुन्छ। बाजे–बज्यै पुस्ताले साना नानीहरू हेर्दछन् र घरको रेखदेख गर्दछन्। वयस्क छोराबुहारीहरू खेतबारी, वस्तुभाउ, र क्रयविक्रयको काम गर्दछन्। किशोर–किशोरीहरू भाइबैनी, वस्तुभाउ र बाली बिरुवाहरूको रेखदेख गर्ने जस्ता कार्यमा सहयोगीको भूमिकामा हुन्छन्। यसरी पारिवारिक अर्थतन्त्रभित्र कृषि, पशुपालन, व्यापार, उद्योग (तुनबुन, कुटन–पिसन), पाक–भान्सा, सरसफाइ/धोईपखाली, जस्ता कार्यहरू पर्दछन्– जुन परिवारभित्र आपसी श्रमविभाजनका आधारमा सम्पन्न गर्ने गरिन्छ। यस्तो सरल समाजका परिवारका सदस्यहरू व्यक्तिगत महत्त्वाकांक्षाको परिपूर्तिका लागि पारिवारिक विरासत (लिगेसी) बाहिर निस्किएर आजका कतिपय ‘स्वतन्त्र मानिस’ झै जीवित रहन सम्भव थिएन। हिजोका मानिसका निम्ति परिवारको सनातन विरासत र कार्यादेशबाहिर गएर हप्ता दिन मात्र पनि जीउन सक्ने सम्भावना ज्यादै न्यून हुन्थ्यो।

निरङ्कुश राजतन्त्रात्मक समाजमा, सैन्य तानाशाही रहेको समाजमा, धार्मान्ध धर्मतन्त्रात्मक समाजमा र यस्तै प्रकारका बन्ध र नियन्त्रित समाजमा नयाँ वैज्ञानिक आविष्कारका साथै नयाँ विचार र सिद्धान्तको उदय हुन नसक्नु नयाँ व्यक्तित्वको उदय नभएर नै हुनुपर्दछ। युरोपको पुनर्जागरणकालमा नवीन आविष्कार र विचारहरूको उदयका पछाडि नूतन प्रविधिको विकास र व्यक्तिको उदय सायद एकापसमा परिपूरक छन्।

आजको नूतन प्रविधिको भौतिक विकासले अभूतपूर्वरूपमा मानिसले हिजो लगानी गर्नुपर्ने समय र दूरी साटसुट्ट घटाएको छ। हिजो परिवार र समाजबाहिर निरीह भएको एउटा मानिस आजको आधुनिक समाजमा स्वचालित यन्त्र र विद्युतीय उपकरणहरूको उपयोग गरी एक्लै काम गर्न सक्षम भएको छ। आज परिवारबाहिर निस्किएर एक्लै हिँडेको बालकलाई बालगृहमा बस्न सम्भव छ। अध्ययनका लागि परिवार बाहिरगएकी एक किशोरीलाई एक छात्राबासमा बसेर आफू सुरक्षित भई पढ्न सम्भव छ। परिवारको भान्सा बाहिर भएको व्यक्तिलाई होटल र रेष्टुेन्टमा खान सम्भव छ। घरबाहिर रात बिताउनुपर्नेलाई लजमा गएर बस्न सम्भव छ। परिवारबाट बिछडिएका वृद्ध–वृद्धालाई वृद्धाश्रममा आश्रय पाउन सम्भव छ र  हिंसामा परेर परिवारबाट छुटेकी एक महिलालाई आज मानव सेवा आश्रममा बस्न सम्भव छ। यी सम्भावनाले अहिले समाजमा व्यक्तिको उदय भएको छ।

व्यक्तिको उदय, स्वतन्त्रता र व्यक्तिवाद

हिजोको परम्परागत संयुक्त परिवार भएको सरल समाज भित्रको व्यक्ति र आजको एकल परिवारको बाहुल्यता रहेको समाजको व्यक्ति बीच ठूलो अन्तर छ। व्यक्ति समाजको एक व्यक्त, प्रकटीकृत वा दृष्यमान, वास्तविक रूप वा स्वतन्त्र सत्ता हो। नेपाली बृहत् शब्दकोश (२०६७) ले व्यक्तिवादलाई ‘अरुको वास्तै नगरी व्यक्तिगत स्वार्थमात्र सिद्ध गर्न खोज्ने विचार वा मत’ भन्ने अर्थमा परिभाषित गरेको छ तर व्यक्तिवादलाई सकारात्मकरूपमा लिँदा पूर्वोक्त शब्दकोशले ‘सम्भव भएसम्म हरेक क्षेत्रमा व्यक्ति स्वतन्त्र हुनुपर्दछ, उसमाथि राज्य वा समाजको कम नियन्त्रण हुनुपर्दछ भनेर मान्ने राजनीतिक सिद्धान्त’ का रूपमा परिभाषित गरेको छ। व्यक्तिवाद चाहिँ समूहवाद वा सामूहिकताको विपरीत धार हो भने वैयक्तिक स्वतन्त्रता भने समाजसँगको सहअस्तित्व भित्रको विशिष्ट प्रकारको स्वतन्त्रता मात्र हो। व्यक्तिवाद व्यक्तिको तहमा व्यक्तिगत व्यक्तिवाद र समूहको तहमा सामूहिक व्यक्तिवादका रूपमा पनि प्रकट हुन्छ।

व्यक्तिवादको विकासक्रमलाई नियालेर हेर्दा यो आदिम प्रकृतिको सिकार र सङ्ग्रहको युग, पशुपालन र खेतीपातीको युग र हालको औद्योगिक तथा व्यापारिक युगमा पनि एक निश्चित स्वरूपमा प्रकट भइरहेको हुन्छ। एउटा भिन्नता के छ भने तुलनात्मक रूपमा यो हरेक पछिल्ला युगमा बढ्ता मुखरित भएर देखापर्दै आइरहेको छ। लाक्षणिक रूपमा भन्नुपर्दा पहिले बाटोमा कतै जाँदै गरेको व्यक्तिलाई समाजको सदस्यले ‘यताबाट जानु, यता नजानु, यसो गर्नु त्यसो नगर्नु’ भनि सामाजिक अभिभावकत्त्व (सोसियल गार्जेनसिप) को रूपमा सचेत गराउने गर्दथे तर अहिले त्यो युग रहेन। हालैका वर्षहरूमा व्यङ्ग्यात्मकरूपमा प्रस्तुत गर्ने गरिएको कलियुग भित्रको एक ‘घोप्टे युग’ जहाँ वयस्कदेखि बाल सदस्यहरू समेत एकार्कालाई वास्तै नगरी आआफ्ना डिजिटल ग्याजेटहरूमा घोप्टिई रहेको देखिनु परिवार भित्र व्यक्तिवाद प्रवेशको चरम नमुना हो।

टेलिफोन र इन्टरनेटको प्रयोगले मानिसको भौतिक उपस्थितिको आवृत्तिलाई ह्वात्तै घटाएको छ। गाउँको घरमा सन्तानको बाटो हेरेर बसेकी आमा विद्युतीय तरङ्गमा देखापर्ने आभासी (भर्चुअल) सन्तानको अनुहार हेरेर चित्त बुझाउन बाध्य छन्। आफ्ना सामु उपस्थित सन्तानको स्पर्स र सान्निध्य समाप्त भएको छ। अग्ला घरहरूको निर्माणसँगै जति अग्लो घर त्यति समाजबाट अलग, त्यति उच्च आवृत्तिको व्यक्तिवाद झाँगिदो छ। यी  सुविधाहरूले एउटा व्यक्ति झन् स्वतन्त्र र अझै धेरै व्यक्तिवादी बन्ने अवस्था सिर्जना गरेका छन्।   

अहिलेका अग्ला घर र अपार्टमेन्टहरू, घरपरिसर घेरेका सादादेखि काँटी वा सिसाका टुक्रा रोपिएका, वा काँडेतार लगाइएका पर्खाल (कम्पाउण्ड वाल) हरू, सिसिटिभी, विद्युतीय घण्टी, कुकुर, पाले लगायतका जनसैनिकिकरणका सुविधाहरूको प्रयोगले हिजोको जस्तो गाउँ आँगनमा गएर समाजको एक सदस्यले अर्कोलाई सहजरूपमा भेट्घाट गर्न पाउने सम्भावना समाप्त गरिदिएको छ। टेलिफोन र इन्टरनेटको प्रयोगले मानिसको भौतिक उपस्थितिको आवृत्तिलाई ह्वात्तै घटाएको छ। गाउँको घरमा सन्तानको बाटो हेरेर बसेकी आमा विद्युतीय तरङ्गमा देखापर्ने आभासी (भर्चुअल) सन्तानको अनुहार हेरेर चित्त बुझाउन बाध्य छन्। आफ्ना सामु उपस्थित सन्तानको स्पर्स र सान्निध्य समाप्त भएको छ। अग्ला घरहरूको निर्माणसँगै जति अग्लो घर त्यति समाजबाट अलग, त्यति उच्च आवृत्तिको व्यक्तिवाद झाँगिदो छ। यी  सुविधाहरूले एउटा व्यक्ति झन् स्वतन्त्र र अझै धेरै व्यक्तिवादी बन्ने अवस्था सिर्जना गरेका छन्।

यसरी समाजमा व्यक्तिको उदयले एउटा नकारात्मक पाटोको रूपमा व्यक्तिवाद ग्रहण गरेको छ भने अर्को सकारात्मक पाटोको रूपमा व्यक्तिगत स्वतन्त्रताको उपयोग गर्दै अभूतपूर्वरूपमा नयाँ, सृजना, र सम्भावनाको उदय पनि गरेको छ। व्यक्ति समाज र परिवारको नियन्त्रित परिधिभित्र केवल निरीह र दुर्वल प्रतिछाया जस्तो मात्र नभएर त्यो परिवार र समाजलाई जगैदेखि भत्काउने र नयाँ ढाँचामा रूपान्तरण गर्ने राजनीतिक क्षमता समेत बहन गर्न सक्दछ।

व्यक्ति र राजनीतिक नेतृत्त्व 

आधुनिक राज्यको उदयपूर्व सिकार र संग्रहको अर्थतन्त्र भएको समाजमा कविलाहरू पूर्णरूपमा संगठित हुन्थे। प्रजापति, गणपति वा कविलाका मुखिया (ट्राइवल चिफ्) को एकल र सामान्यत वंशगत वा जन्मजात नेतृत्त्व हुने गर्दथ्यो। कविला समाज वर्गमा विभाजित हुँदै जाँदा दासस्वामीहरूको नेतृत्त्वमा रहेको राज्य बन्यो। यस्ता राज्यमा राजनीति सञ्चालकहरू स्वामी, प्रभु, मालिक, ठालु, महाजन, भूपतिहरू आदि थिए।  जहाँ कमारा, दास, नोकर, चाकर र रैतानहरू श्रमजीवि वर्गकारूपमा थिए र उनीहरू राजनीतिक पहुँच बाहिर थिए। उनीहरू स्वर्गको आश र नर्कको त्रास, पाप र पुण्य अनि भाग्यवादका मनोवैज्ञानिक बन्धनहरूले जकडिएका थिए।  मूलत: कृषि र पशुपालनमा आधारित त्यतिवेलाको अर्थतन्त्रमा बहुकेन्द्रहरू नहुने हुँदा केन्द्रदेखि स्थानीय इलाकाहरूसम्म प्रभुहरूका आफन्त घरानाको वर्चस्व हुन्थ्यो।

क्रमश: कृषि, पशुपालन, कुटिर उद्योग, बन्दव्यापार जस्ता व्यवसायहरूको वृद्धिले अर्थतन्त्रमा आएको विविधीकरण र कृषक वर्गको जमिनमाथिको अधिकार स्थापना हुँदैजाँदा सीमित मात्रामा भए पनि अर्थतन्त्रमा विविधिकरण हुँदै जान थाल्यो। यसले केन्द्र र क्षेत्रीय सामान्तहरूलाई बलियो बनाएर मात्र लगेन इतिहासमा ठूलो सङ्ख्यामा स्वतन्त्र कृषक वर्गको पनि उदय भयो। यतिवेलाको राजनीति भनेको जन्ममा आधारित राजा महाराजाहरूको नियन्त्रण भित्र थियो र स्थानीय तहमा सामन्तहरूको हातमा थियो। स्वतन्त्र किसान, अँधियार, मोही, कृषि–मजदुर, हलिया (हरूवा), गोठाला (चरुवा), कमारा (कमैया), कमलरी (कमारी) र बालिघरे प्रथामा आधारित शिल्पीहरू अर्को वर्गमा थिए। केन्द्रदेखि स्थानीय तहसम्म केन्द्रीकृत सामन्तवादी व्यवस्थाको पकड भएको हुँदा पृथक राजीनितिक सङ्गठनको आधार थिएन।

विस्तारै आधुनिक औद्योगिक र व्यापारिक पुँजिपतिवर्गको उदयसँगै राजनीतिक बहुलताको पृष्ठभूमि तयार भयो। यसलाई समाजशास्त्रीय भाषामा समाज विकासको पुँजीवादी चरण पनि भनिन्छ। यही चरणमा गएर अभूतपूर्व रूपमा समाजमा राजनीतिक बहुलताको पृष्ठभूमि तयार हुन गयो। अर्थतन्त्रको विविधिकरणको आधारमाथि अधिरचनाको रूपमा बहुल राजनीतिक सङ्गठनहरूको उदय हुँदै गयो। अब समाज आर्थिकरूपमा ठाडो (भर्टिकल) र सांस्कृतिकरूपका तेर्साे वर्गमा आधारित विभिन्न संगठनहरूमा सङ्गठित हुन थाल्यो। यस्ता वर्गीय सङ्गठनका सर्वोच्च स्वरूपमा विभिन्न दलहरू देखा पर्न थाले।

यसरी एउटा मुलुक भित्र स्वभाविकरूपमा एउटा भन्दा धेरै राजनीतिक दलहरूको अभ्युदय हुनु भनेको मोटो अर्थमा सामूहिक व्यक्तिवादको उदय हुनु पनि थियो। समाज विकासको यो चरणमा आइपुगेपछि भने व्यक्तिवादको आर्थिक र साँस्कृतिक आधारहरू राम्ररी नै तयार हुन थाले। नेपाल २००७ सालको क्रान्तिको केही अगाडिबाटै यो चरणमा प्रवेश गरेको थियो।

खुला समाज, आविष्कार र व्यक्तिको उदय 

यसरी आदिम सिकार र सङ्ग्रहमा आधारित कविलायी परिवारमा भन्दा खेती र पशुपालनमा आधारित दासयुगिन परिवारहरूमा, स्वतन्त्र कृषकवर्ग, उद्योग र व्यापारको प्रारम्भिक उदय भैसकेका परिवारमा भन्दा आधुनिक उद्योग र व्यापार प्रधान अर्थतन्त्रसँग गाँसिएका परिवारमा क्रमश: व्यक्तिको उदय अझ दृष्यमान हुँदै गएको देखिन्छ। सारमा भन्नुपर्दा पहिलेका परिवारमा मानिसको जन्म भएको थियो तर अहिलेका परिवारमा आएर एक व्यक्तिको जन्म भएको छ। व्यक्तिवाद मानव जातिको साझा अस्तित्त्वका लागि ग्राह्य नहोला तर व्यक्तिगत स्वतन्त्रता निश्चित रूपमा मानव जातिकै इतिहासमा एक सुन्दर आयाम र नवीन परिघटना पनि हो। स्वतन्त्रता अपहरित र बन्ध समाजमा व्यक्तित्वको उदय हुन सक्दैन। व्यक्ति र व्यक्तित्वको उदय हुनका निम्ति खुल्ला समाज अपरिहार्य छ र यस्तो खुला समाज हुनका निम्ति नवीन प्रविधिको जन्मले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

निरङ्कुश राजतन्त्रात्मक समाजमा, सैन्य तानाशाही रहेको समाजमा, धार्मान्ध धर्मतन्त्रात्मक समाजमा र यस्तै प्रकारका बन्ध र नियन्त्रित समाजमा नयाँ वैज्ञानिक आविष्कारका साथै नयाँ विचार र सिद्धान्तको उदय हुन नसक्नु नयाँ व्यक्तित्वको उदय नभएर नै हुनुपर्दछ। युरोपको पुनर्जागरणकालमा नवीन आविष्कार र विचारहरूको उदयका पछाडि नूतन प्रविधिको विकास र व्यक्तिको उदय सायद एकापसमा परिपूरक छन्। विश्वको मानचित्रमा नवीन आविष्कार तथा नयाँ विचार, दर्शन र सिद्धान्तको प्रवर्द्धन आवृत्ति हेर्दा धर्तीका केही भूखण्डहरू वा क्षेत्रहरू बाँझै देखिन्छन्। त्यो समाज जहाँ नयाँ प्रविधिको विकास र नवीकरण हुँदैन त्यहाँ मानिस मात्र जन्मन्छ तर नयाँ व्यक्तित्वको जन्म हुँदैन। बन्द समाजलाई आफ्नो आदर्श मान्नेहरूमा यो चेतना भया !

(लेखक अधिकारी समाजशास्त्र तथा मानवशास्त्र विषयका अध्येता र भाषा विज्ञान विषयका अनुसन्धाता हुन्।

तस्बिर सौजन्य: द स्वाडल

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

डा. रघुनाथ अधिकारी ‘निलमशेखर’ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link