‘मलाई छोराले बचन लायो‚ बुहारीले मुख छोडी‚ नातिले हप्कायो‚ घरमा छोरा बुहारी र नातिनातिनाले देख्न नसकेकाले घर छोडेर वृद्धाश्रम आएँ‚ छोरो त असल नै हो अर्काकी छोरी कहाँ आफ्नी हुनसक्थी र? बुहारी त असल छे आफ्नै छोरोले भने दुश्मनको झैँ व्यवहार गर्छ‚ घरै छोडेर हिडौँ जस्तो लाग्छ।’; ‘घरमा लोग्ने र सासुको सदाको कचकच‚ माइत जाउँ भने पनि भाउजूले देख्न सक्दिनन्‚ मेरै भाग्य फुटेको होला।’; ‘आफैँले मागेर झ्याँइ झ्याँइ अन्माएर ल्याएकी बुहारीलाई देख्नै नसके पछि म बुबा आमाको पक्ष लिउँ कि श्रीमतीको ? म छुट्टिन बाध्य भएँ।’; ‘मलाई त्यसले यसरी हियाएर भन्ने? मुख छोड्ने? धारे हात लाउने? अरुलाई कुरा लाउने? मेरो परिवारका मानिसलाई देख्नै नसक्ने? गाली गर्ने? मलाई नभेट्ने? फोन नगर्ने? मैले भनेको काम नगर्दिने? मलाई व्यङ्ग गर्ने? छेड हान्ने? मेरो शरीरतर्फ इंगित गरी होच्याएर भन्ने? मेरो परिवार‚ मेरो छिमेक र गाउँलाई यसरी खसाल्ने?’
माथिका वाक्यांशहरू परिवार‚ छरछिमेक र आफन्त बीच हुने अन्तर्विरोधका केही प्रतिनिधि उदाहरणहरू हुन्। समूह र समाजको एकाइको रूपमा रहेका व्यक्तिहरू जसबाट परिवार‚ छिमेक‚ इष्टमित्र‚ गाउँ‚ टोल‚ समाज‚ आफन्त र नाता कुटुम्ब‚ संघसंस्था बीच मात्र हैन क्षेत्रीय र राष्ट्रिय तथा विश्व समाज पनि अन्तर्विरोधबाट ग्रस्त छ। सूक्ष्मरूपमा नियालेर हेर्ने हो भने दोमन र द्विविधाले भरिएको व्यक्ति अर्को व्यक्तिको सापेक्षतामा मात्र हैन उ आफैँभित्र पनि अन्तर्विरोधद्वारा ग्रस्त छ। आकार‚ प्रकार‚ प्रवृत्ति‚ आवृत्ति लगायतका आयामहरूबाट हेर्दा अन्तर्विरोधका बहुविध रूप र आयामहरू हुने गर्दछन्। यो आलेख अन्तर्विरोध र सोको सकारात्मक निरूपणसँग सम्बन्धित छ। यसले मूलत: परिवार‚ छरछिमेक‚ नाताकुटुम्ब र आफन्तहरू बीचको अन्तरविरोधका वरिपरि मात्र केन्द्रित छ। यो आलेखमा राजनीतिक पार्टी र संगठन एवं राष्ट्रहरू बीच हुने अन्तर्विरोध समावेश गरिएको छैन।
अन्तर्विरोधका कारण र स्वरूप
मानिस मनोवैज्ञानिक र शारीरिक रूपमै सामाजिक प्राणी भएको हुँदा समाजबाट पृथक भएर बाँच्न सक्दैन र एकल मानवबाट मानव जातिको अस्तित्व पनि सम्भव छैन। मानिसका लागि परिवार‚ छरछिमेक‚ इस्टमित्र‚ समुदाय‚ सङ्गठन र समाज नभई हुँदैन। यसर्थ मानव अन्तर्विरोधको मूल कारण भनेको पृथक जन्म र सामूहिक जीवन हुनु हो। जन्मले व्यक्तिलाई प्राथमिकता दिन्छ भने जीवनले सामूहिकतालाई। यसर्थ व्यक्ति प्रधान र समूह प्रधान अस्तित्व बीचको टकराब नै अन्तर्विरोधको मूल कारण हो। भनिन्छ मानिस बीचको अन्तरसम्बन्ध हरदम नकारात्मकताबाट नकरात्मक दिशातर्फ प्रवाहित भइरहेको हुन्छ। नुहाएर सफा भएको व्यक्तिले फेरि नुहाएन भने क्रमश: उ मैलो हुँदै जान्छ‚ खेतबारीमा अन्न छरिसकेपछि झार पलाउँदै जान्छ। ननुहाइकन व्यक्ति आफैँ सुकिलो हुँदैन‚ खेतमा पलाएको झार आफैँ उखेलिँदै गएर वा खेत गोडिँदै गएर बाली राम्रो हुँदैन।
एउटा हिन्दी कवितामा ‘कातिलोंके नजरमे जीना भि बगावत हैं’ अर्थात् ‘हत्याराका दृष्टिमा कोही बाँच्नु पनि विद्रोह गर्नु हो’ भनेझैँ कुनै व्यक्तिले केही विषयमा प्रगति गर्नु भनेको उसका समान धराका प्रतिद्वन्दीहरूका निम्ति उनीहरू मरेतुल्य हुने भएको हुँदा यस्ता लक्ष्यहरू पनि अन्तर्विरोध र द्वन्द्वका कारण बन्न पुग्दछन्।
प्रकृतिको नियम अनुसार मानिसले सचेत प्रयास नगर्दासम्म उ सुकिलो हैन मैलो हुँदै जाने हो‚ लुगा नधुँदा त्यो पनि मैलो हुँदै जाने हो‚ कसिंगर नलगाउँदा कोठा फोहोर हुँदै जाने हो‚ नगोड्दा खेत बारीमा झारले ढाक्दै लाने हो। यी सम्पूर्ण प्राकृतिक नियमहरूलाई सामान्यीकरण गरेर हेर्दा मानव बीचको अन्तर्सम्बन्ध पनि सकारात्मकबाट नकारात्मक दिशातर्फ प्रवाहित भएको देख्न सकिन्छ। त्यसैले यहाँ केही अपवादबाहेक के निष्कर्ष निकाल्न जरुरी छ भने मानिस बीचको सम्बन्ध बेरोकटोक ढंगले हरदम नकारात्मक दिशातर्फ प्रवाहित भइरहेकै हुन्छ जुन अन्तर्विरोधको एक जड पनि हो। यो नकारात्मक प्रवाहलाई मानिसको सकारात्मक प्रयासले बीचबीचमा नरोके वा हस्तक्षेप नगरेसम्म त्यसले मानिसलाई नकारात्मक रूपमा प्रभावित गरिरहन्छ। सामान्यत: मानिस बीचको अन्तरविरोध मानवीय अन्तर्वस्तुको कारणले नभएर आवरण वा आकृतिमा मानिसलाई अभिव्यक्त गरिँदा देखापर्दछ। मानिसका बीचमा देखापर्ने अन्तर्विरोधका केही स्वरूप‚ प्रक्रिया र प्रवृत्तिहरूलाई तल व्याख्या गरिन्छ।
शरीरको नकरात्मक चित्रण:
यस कोटीमा कुनै पनि व्यक्तिको शरीर वा शारीरिक अवस्थालाई त्यसको उचाइ‚ लम्बाइ‚ आयतन‚ रङ्ग‚ कपाल‚ टाउको‚ नाक‚ आँखा आदिको बनावट‚ उमेरजन्य आकृति‚ लिङ्ग वा लैङ्गिकता जस्ता स्वरूपगत पक्षलाई लिएर उक्त व्यक्तिको हैसियत आफ्नो भन्दा तलको हो भन्ने धारणा‚ दृष्टिकोण र अभिव्यक्ति द्वारा नकारात्मकरूपमा चित्रण गर्नु अन्तर्विरोधको एउटा कारण हो। यसका अनगिन्ती उदाहरणहरू छन्। केही प्रतिनिधि उदाहरणहरूमा कालो रङ्ग भएकालाई काले वा काली‚ होचो कद भएकालाई पुड्के‚ बामपुड्के‚ बाउन्ने‚ खैरो केस भएकालाई खैरे‚ अपाङ्गता भएकालाई अपाङ्गताको प्रकृति बमोजिमका शब्दहरू‚ महिला र यौनिक अल्पसङ्ख्यकहरूलाई पनि सोही बमोजिमको शब्दहरू‚ जस्तो आईमाई‚ अवला‚ पोथी‚ बूढो‚ बूढी‚ किन्नर‚ फुच्चे‚ अदना आदि इत्यादि। यस्ता शब्दको प्रयोगले मानिसलाई भावनात्मकरूपमै अपमानित गरिएको ठानी त्यसमाथि बदलावको भावना उत्पन्न हुने हुँदा यसले अन्तर्विरोध चर्काएको पाइन्छ।
स्वभाव माथिको नकरात्मक चित्रण
शरीरको नकरात्मक चित्रण जस्तै मानिसमा एकनासले रहने विशेषता वा गुण‚ स्वभाविक प्रकृति‚ चालचलन‚ आनीबानी‚ आदत‚ मिजास जस्ता पक्षहरू माथिको नकारात्मक चित्रण वा टिप्पणी यस अन्तर्गत पर्दछन्। उदाहरणका रूपमा रिसाहा‚ फटाहा‚ छुल्याहा‚ बैगुनी‚ ठाडे‚ मिचाहा‚ डाले‚ अल्छी‚ ढोँगी‚ सन्काहा‚ घमण्डी र महिलाका लागि पनि सोही बमोजिमका स्त्रीवाची शब्दहरू आदिको प्रयोग गर्ने गरिएको पाइन्छ। यस्ता शब्दहरूको नकरात्मक प्रयोगले अन्तर्विरोध र द्वन्द्व झन् बढ्न जान्छ।
क्रियाकलापमाथिको नकरात्मक चित्रण
व्यक्तिद्वारा गरिने क्रियाकलापलाई लिएर त्यसउपर गरिने नकरात्मक चित्रण अन्तर्विरोधको अर्को कारण हो। यो तहको नकरात्मक चित्रणमा एकापट्टि व्यक्तिको हेराइ‚ बोलाइ‚ हँसाइ‚ हिँडाइ‚ लवाइ ख्वाई‚ उठाइ बसाइ जस्ता पक्षहरू छन् भने अर्को पट्टी उसले गर्ने कार्य र पेशाहरू समेत पर्न जान्छन्। यो तहका केही प्रतिनिधि उदाहरणहरूमा आँखा तर्नु‚ होच्याएर बोल्नु‚ ठाडो बोल्नु‚ हियाएर हाँस्नु‚ अरुलाई ठोक्काएर हिँडनु‚ फरक ढङ्गका लुगा लगाउनु‚ अभक्ष्य वा नखाने चिज खानु‚ उठबस नगर्नु भनिएका मानिससँग मिसिएर उठबस गर्नु आदि पर्दछन्। कतिपय पेशा र व्यवसायीहरूलाई हियाउनु जस्तो एकातिर परम्परागतरूपमा ल्याइएको शिल्पी पेशा र अर्कातिर कर्मकाण्ड गर्ने पुरोहित बर्गको पेशा लाई पनि हियाउने गरिन्छ। अर्कोतर्फ परम्परागत काम छोडेर हाल अँगालिएका केही पेशा व्यवसायीहरू पनि यस कोटीमा पर्दछन्। यसरी कार्यहरू पनि अन्तर्विरोधका कारण बन्दछन्।
चरित्रको नकरात्मक चित्रण
प्रत्येक व्यक्ति चाहे त्यो बालख (बालक)‚ वयस्क‚ वृद्ध नै किन नहोस् उसको चरित्रको नकारात्मक चित्रण हुनु अन्तर्विरोध र द्वन्द्वको कारण बन्दछ। व्यक्तिको चरित्रका बारेमा भ्रम र अफवाह फैलाउनु‚ आक्षेप लगाउनु‚ चरित्र हत्या गर्ने प्रयास गरिनु या चरित्र हत्या गरिनु यो तहमा पर्दछन्। चरित्रको हत्या मूलत: व्यक्तिको यौन नैतिकता‚ आर्थिक व्यवहार‚ तथा सामाजिक सदाचारसँग सम्बन्धित हुन्छन्। विवाहपूर्व वा विवाहइतर यौन सम्बन्धको कुरा‚ चोरी‚ भ्रष्टाचार‚ घुसखोरी‚ तस्करी वा लुट‚ मिसावट जस्ता विषयहरू अन्तरविरोध र द्वन्द्वका कारण बन्न पुग्छन्।
हैसियतको नकरात्मक चित्रण
प्रत्येक व्यक्तिको पारिवारिक‚ आर्थिक‚ सामाजिक‚ सांस्कृतिक तथा धार्मिक‚ राष्ट्रिय र मानवीय हैसियत हुने गर्दछ। व्यक्तिको कुनै बेला कुनै हैसियत र अर्को बेलामा अर्कै हैसियत महत्वपूर्ण हुन जान्छ। सामान्यत: हैसियत भित्र आर्थिक र शक्ति सामर्थ्य महत्वपूर्ण हुन्छ। कसैलाई गरिब‚ कङ्गाल‚ मगन्ते‚ हरितन्नम‚ नीच आदि आक्षेप लगाउनु अन्तर्विरोध र द्वन्द्वको कारण हुन जान्छ। गरिबले कुर्सीमा बस्नु हुँदैन‚ अझ उपरखुट्टी लगाउनु हुँदैन‚ आँखा जुधाएर औँलो ठड्याएर कुरा गर्नु हुँदैन, धनीले त्यसो गर्न हुन्छ भन्ने सामाजिक मान्यता रहेको देखिन्छ। अर्कोतर्फ कोही यथास्थितिबाट माथि उठेमा उक्त माथि उठेको व्यक्ति सँगको शक्ति सन्तुलनमा फेरबदल आउने हुँदा यसले पनि नयाँ अन्तर्विरोध बढ्न जान्छ।
बेवास्ता‚ अमान्यता र बहिस्करण
कुनै व्यक्तिले नयाँ कार्य गर्न खोजेमा वा गरेमा उक्त कार्यसँग गाँसिएको त्यस व्यक्तिको व्यक्तित्व उठ्न गएको हुन्छ। अझ कसैको आर्थिक‚ सामाजिक र शैक्षिक प्रगतिले व्यक्ति वा परिवारको विद्यमान सामाजिक हैसियतमा परिवर्तन आउने गर्दछ। यस्तो अवस्थामा निश्चित हैसियत र शक्तिमा रहेका व्यक्तिहरूको व्यक्तित्वको क्षेत्र फिक्का पर्न जाने हुँदा यस्ता उदीयमान व्यक्तित्वहरू प्रति बेवास्ता‚ अमान्यता र बहिष्कार गरिएको हुन्छ। आफूलाई बेवास्ता गर्ने‚ मान्यता नदिने‚ र बहिष्कार गर्ने व्यक्तिहरूसँग नवोदित व्यक्तित्वको अन्तरविरोधसँगै द्वन्द्व बढ्न जान्छ।
बोलीचाली र चालढालमा मपाइँत्व
व्यक्तिको बोलीचाली र व्यवहारको तौरतरिका अन्तर्वैयक्तिक सम्बन्धमा अन्तर्विरोध न्यूनीकरणका लागि सारै नै महत्त्वपूर्ण हुन्छ। कुनै व्यक्तिहरू झगडालु स्वभावका हुन्छन्‚ अरुलाई बेवास्ता गर्ने अरुलाई घोचपेच गरेर बोल्ने‚ व्यङ्ग हान्ने‚ खिल्ली उडाउने‚ खुइल्याउने‚ र होच्याउने आदि गर्दछन्। उनीहरू बोलीद्वारा आफ्नो आर्थिक‚ सामाजिक‚ सांस्कृतिक‚ लैङ्गिक‚ उमेरजन्य‚ शिक्षाजन्य‚ रूप‚ यौवन‚ बल‚ पारिवारिक विरासत वा यस्तै विशेष हैसियत देखाउँदै संवादको अर्को पक्ष वा व्यक्तिलाई होचो नीचो देखाउने गर्दछन्। कहिलेकाँही अप्रिय शब्दको प्रयोग गर्ने गर्दछन्‚ जसलाई हाम्रो भाषामा मुख छाडेको रूपमा पनि लिइन्छ। यस्तो अवस्था द्वन्द्वको एक कारण बन्दछ। यसको विपरीत केही व्यक्तिहरू अरुलाई समान व्यवहार गर्ने सहयोगी‚ समायोजक‚ र सम्झौता गर्ने स्वभावका हुने हुँदा यस्तो अवस्थामा द्वन्द्व नहुने वा कम हुने गर्दछ।
पहिलो वा आरम्भिक भेटमा मानिसले प्राय: तटस्थ दृष्टिकोणले हेर्दछ भने त्यसपछि गएर उ या त सकारात्मक या नकारात्मक दृष्टिकोणतर्फ ढल्कने गर्दछ। सकारात्मक रूपमा हेरिएको ‘रामप्रसाद’ नकारात्मकरूपमा ‘रामे’ बन्न पुग्दछ। आफूलाई सहज‚ हित र फाइदा रहुन्जेलका ‘रामप्रसाद’ आफू अनुकुल नहुदाँ ‘रामे’ हुन पुग्दछन्।
भनाइ‚ सुनाइ र बुझाइ बीच अन्तर
वक्ता र स्रोताका बीचमा पर्न जाने अन्तरले द्वन्द्व निम्त्याउँछ। वक्ताले ‘तिमी साधक हौ’ भनेको कुरा वाक्यांशमा परिवर्तन भई स्रोताका कानमा पुग्दा ‘तिमी बाधक हौ’ भन्ने हुन जाँदा द्वन्द्व उत्पन्न हुन जान्छ। कतिपय अवस्थामा भनाइ र सुनाइ मात्र हैन बुझाइका बीच पनि अन्तर पर्न जान्छ। भनेको कुरा नबुझेका कारणले अन्तर्विरोध र द्वन्द्व उत्पन्न भएका कयौं उदाहरणहरू छन्।
छोपिएको लक्ष्य र प्रगतिमाथिको इर्श्या
प्रत्येक व्यक्तिको चाहना अग्रगतितर्फ हुन्छ। उसको मनमा पलाएको विचार र चाहनालाई उसले तत्काल बाहिर ल्याउनु कहिलेकाँही प्रत्युत्पादक पनि हुन सक्दछ। यस्तो अवस्थामा व्यक्तिले आफ्नो योजना अरुलाई नसुनाउनु नै श्रेयस्कर ठान्दछ। प्रत्येक व्यक्तिका केही प्रतिद्वन्द्वीहरू हुन्छन्। तिनीहरू सामान्यत: उस्तै परिवेशबाट आएका हुँदा समान प्रकृति र प्राय समान क्षमताका नै हुने गर्दछन्। केही फुच्चे प्रतिद्वन्द्वीहरू भने समयक्रममा किनार लाग्दै गएका हुन्छन्। प्रतिद्वन्द्विताको क्षमता भएकाहरूनै व्यक्तिका प्रतिद्वन्द्वी हुने हो। उनीहरूले गरेको नराम्रा काम माथिको आलोचना र राम्रा काम माथिको प्रशंसा पाउने एउटा साझा धरातल वा समाज हुने गर्दछ। आफ्नो प्रतिद्वन्द्वी आफूभन्दा अघि बढ्न लागेको कुराले उक्त लक्ष्य नलिएको द्वन्द्वी हैरान र मनोवैज्ञानिक रूपमा असुरक्षित बन्दछ। उसले इर्श्या गर्न थाल्छ र यो द्वन्द्व र अन्तर्विरोधको एक कारण बन्दछ। एउटा हिन्दी कवितामा ‘कातिलोंके नजरमे जीना भि बगावत हैं’ अर्थात् ‘हत्याराका दृष्टिमा कोही बाँच्नु पनि विद्रोह गर्नु हो’ भनेझैँ कुनै व्यक्तिले केही विषयमा प्रगति गर्नु भनेको उसका समान धराका प्रतिद्वन्दीहरूका निम्ति उनीहरू मरेतुल्य हुने भएको हुँदा यस्ता लक्ष्यहरू पनि अन्तर्विरोध र द्वन्द्वका कारण बन्न पुग्दछन्।
उत्पीडन‚ धम्की वा दादागिरी
यस्तो देखिन्छ कि मानिसका लागि मानिस सरिको शत्रु अर्को कोही पनि हुँदैन। विभिन्न कारणबाट आफू शक्तिमा भएको मानिसले आफूभन्दा कमजोरमाथि उत्पीडन‚ धम्की‚ दादागिरी‚ र दबाब आदि दिएर आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छ र गर्दछ पनि। उदाहरणका रूपमा मुखिया बा र कृषक बीच‚ ठालु र सर्वसाधारण बीच‚ कतिपय उत्पीडक ‘लोग्ने’ र घरेलु हिंसामा परेकी निरीह ‘स्वास्नी’ मानिस बीच। मानिसको वैयक्तिक र सामाजिक जीवनको सापेक्षतामा यो सर्वत्र देखिन्छ। यो अन्तर्विरोध र द्वन्द्वको मूल कारण मध्ये एक हो।
अस्पष्ट चाहना
मानिसमा अस्पष्ट र अव्यक्त चाहना हुन्छ जुन प्रष्टरूपमा प्रकट भएको हुँदैन। कुनै व्यक्तिको उक्त चाहनाको पहिचान हुन नसके अन्तर्विरोध र द्वन्द्व हुन पुग्दछ। कतिपय बालबालिका र अभिभावक बीचको असमझदारी‚ युवकयुवतीको एकतर्फी प्रेम‚ समाज र नेताबीच देखापर्ने अन्तर्विरोध र द्वन्द्व त्यसैका अभिव्यक्ति हुन्।
अविश्वास र धोका
व्यक्ति स्वभावैले एक स्वार्थी प्राणी हो। समय र परिस्थितिमा आएको परिवर्तनसँगै उसको अन्तरवैयक्तिक सम्बन्ध पनि बदलिन्छ। उसले गरेका बाचा‚ प्रतिबद्धता र दायित्वका घोषणाहरू पनि बदल्न पुग्दछ। खासगरिकन युवायुवतीहरू बीचका प्रेम‚ व्यक्तिका आर्थिक कारोबार‚ सामाजिक सहभागिता जस्ता पक्षहरूमा अविश्वास र धोकाहरू देखापर्छन्। यस्ता अविश्वास र धोका अन्तर्विरोध र द्वन्द्वका महत्वपूर्ण कारण बन्दछन्।
मानिसहरूमा अन्य व्यक्तिलाई हेर्दा मानवताले भरिएको अन्तरवस्तुतर्फ नभएर उसको बाह्य स्वरूप‚ मानव आकृति वा आवरणलाई हेरेर त्यसको आधारमा धारणा बनाउने चलन हुन्छ। मानिसले अर्को मानिसलाई हेर्दा मूलत: तटस्थ‚ सकारात्मक र नकारात्मक गरी तीन प्रकारले हेर्ने गर्दछ। पहिलो वा आरम्भिक भेटमा मानिसले प्राय: तटस्थ दृष्टिकोणले हेर्दछ भने त्यसपछि गएर उ या त सकारात्मक या नकारात्मक दृष्टिकोणतर्फ ढल्कने गर्दछ।
संवेग नियन्त्रणमा असफल
मानिसका मनमा अनेक भावनाहरू उर्लिरहेका हुन्छन्। मानिस कहिले शान्त देखिन्छ कहिले उग्र हुन्छ। रिस, क्रोध वा संवेग उर्लिएको बेला मानिसले आफूलाई सन्तुलित राख्न सक्दैन। यो असन्तुलनले गर्दा अर्को व्यक्ति वा समुदाय प्रतिको उसको व्यवहार असामान्य‚ आक्रामक र हस्तक्षेपकारी हुन गई अन्तर्विरोध र द्वन्द्व पैदा हुन जान्छ।
मूल्य र मान्यता
समाजमा परापूर्व कालदेखि अनेकौं मूल्य र मान्यताहरू प्रचलित छन्। यी मूल्य र मान्यताहरू अहिले पनि खास वर्ग‚ जात‚ समुदाय‚ लिङ्ग‚ वर्ण‚ क्षेत्र‚ उमेर समूह‚ पेशा समूहको सापेक्षतामा छन्। समाज परिवर्तनशील छ परिवर्तनको यो प्रक्रियामा कतिपय यस्ता मूल्य र मान्यताहरूले व्यक्तिको अग्रगतिमा तगारोको काम गर्ने गर्दछन्। यस्ता मूल्य र मान्यताले मानिसको बोली व्यवहार‚ खानपानदेखि‚ कतिपय पेशाहरू सम्ममा नकारात्मक दृष्टिकोण राख्दछ।
नीति र कानून
हरेक समाजलाई एकताको सूत्रमा बाँधेर राख्नका निम्ति वा सङ्गठित गर्न नीति नियम र कानूनहरू बनाइएका हुन्छन्। आफैँमा नीति‚ नियम र कानून भनेको अन्तर्विरोध र द्वन्द्वलाई हल गर्ने सूत्रहरू हुँदाहुँदै पनि तिनीहरूको परिपालनाले व्यक्तिका कतिपय अधिकारहरू खोसिएका र कुण्ठित भएका हुन्छन्। व्यक्तिले आफ्नो स्वतन्त्रता हनन भएको सन्दर्भमा रुष्ट हुनु अस्वभाविक हैन। यसरी नीति‚ नियम र कानूनहरूको पृष्ठभूमिबाट नयाँ प्रकारका अन्तर्विरोधहरू जन्मिन पुग्दछन्।
मानिसको दृष्टिकोण
अन्तर्वैयक्तिक सम्बन्धको सन्दर्भमा मानिसले अवलम्बन गर्ने दृष्टिकोण अन्तर्विरोध र द्वन्द्वको सन्दर्भमा सबै भन्दा मुख्य छ। मानिसले अरुलाई आफूसरहको अझ आवश्यकताको दृष्टिबाट आफूभन्दा पनि बढ्ता प्रश्रय दिनुपर्ने भनी सोचेको खण्डमा अन्तरविरोध र द्वन्द्वको आवृत्ति सिधै तल भर्दछ तर मानिसले सामान्यत: अरुको मानवीय अन्तरवस्तु नहेरेर आकृति वा आवरणमात्र देख्ने गर्दछ। आवरण वा आकृतिलाई नकारात्मकरूपमा चित्रण गर्दछ भने मानवीय अन्तरवस्तु वा उसको अस्मिता वा आत्मिक सत्तालाई वेवास्ता गरेको हुन्छ। यो नै मानिस मानिस बीचको अन्तर्विरोधको मूल कारण हो।
अन्तर्विरोधको सकारात्मक निरूपण
अन्तर्विरोध मानिसमा हुने प्राकृतिक गुण हो यसको सत प्रतिशत निवारण असम्भव छ। जतिसुकै उदार भए तापनि आफ्नो अस्तित्वको प्रतिरक्षाका निम्ति व्यक्तिले अन्तरविरोधी र द्वन्द्वीसँग आफ्नो आत्मसमर्पण गर्दैन। यसर्थ उसले केही मात्रामा भए पनि अन्तर्विरोध र द्वन्द्वको प्रक्रियाबाट गुज्रन बाध्य हुन्छ। डाँकाले मार्न लाग्दा साधुले त्रिशूल चलाउन बाध्य हुन्छ। व्यक्ति र व्यक्ति बीच र व्यक्ति र समूह वा समूह-समूह बीच देखापर्ने अन्तर्विरोध मानवीय सचेत प्रयासद्वारा न्यूनीकरण‚ निरूपण‚ निवारण‚ वा निराकरण सम्भव छ। गाउँमा भलाद्मी र राष्ट्रमा कुटनीतिज्ञहरूले गर्ने प्रयास अन्तर्विरोध र द्वन्द्व निराकरणकै कार्यहरू हुन्। त्यस्ता केही प्रक्रिया र दृष्टिकोणहरू सङ्क्षेपमा तल उल्लेख गरिएको छ।
आवरण होइन मानवीय अन्तरवस्तु
मानिसहरूमा अन्य व्यक्तिलाई हेर्दा मानवताले भरिएको अन्तरवस्तुतर्फ नभएर उसको बाह्य स्वरूप‚ मानव आकृति वा आवरणलाई हेरेर त्यसको आधारमा धारणा बनाउने चलन हुन्छ। मानिसले अर्को मानिसलाई हेर्दा मूलत: तटस्थ‚ सकारात्मक र नकारात्मक गरी तीन प्रकारले हेर्ने गर्दछ। पहिलो वा आरम्भिक भेटमा मानिसले प्राय: तटस्थ दृष्टिकोणले हेर्दछ भने त्यसपछि गएर उ या त सकारात्मक या नकारात्मक दृष्टिकोणतर्फ ढल्कने गर्दछ। सकारात्मक रूपमा हेरिएको ‘रामप्रसाद’ नकारात्मकरूपमा ‘रामे’ बन्न पुग्दछ। आफूलाई सहज‚ हित र फाइदा रहुन्जेलका ‘रामप्रसाद’ आफू अनुकुल नहुदाँ ‘रामे’ हुन पुग्दछन्। यो नकारात्मक चित्रणको प्रवृत्ति हो। हरेक व्यक्तिलाई सकारात्मक रूपमा हेर्नु पर्दा उसलाई आफू वा आफूले माया गरिएको परिवारका सदस्यसँग बारम्बार तुलना गर्न सकिन्छ। उसका जैविक‚ मनोवैज्ञानिक‚ मानवीय र सामाजिक आवश्यकताहरू आफूसरह नै हुने हुन्।
मानौँ गाउँकी कुनै वृद्धा महिलालाई कसैले आफ्नो परिवारको सीमित परिवेशमा ‘बोक्सी बूढी’ भनी नामकरण गरेको हुन सक्दछ। ती बोक्सी बूढी र आफ्नी आमालाई उसले कहिल्यै पनि तुलना गरेर उनीहरू जैविक र सामाजिक आवश्यकताले‚ उमेरले र मानव हुनुको नाताले उस्तै हुन् र समान रूपमा आदरणीय हुन् भन्ने दृष्टिकोणबाट हेरेको हुँदैन। केही विशिष्ट सीमालाई छोडेर छोरी र बुहारी समान हुन् भन्ने दृष्टिकोणका आधारमा हेरिएको हुँदैन। यो दृष्टिकोण मात्र हैन व्यक्तिलाई हृदयमै महसुस गर्नुपर्ने कुरा हो। हरेक मानवता आफू तुल्य छ भन्ने जान्न जरुरी छ। मूर्खताले भरिएको आफ्नो र घमण्डको विसर्जन गर्न जरुरी छ। हरेक व्यक्तिले आफू विरुद्ध निर्मम संघर्ष गर्न जरुरी छ। मानिस प्रेम करुणा र ममताले भरिएको जीव हो भनेर सम्झन जरुरी छ। मानवको सार्वभौमिकता सानो र ठूलो हुन्न भन्ने बुझ्न जरुरी छ। समग्रतामा अन्तर्विरोधको निवारणका लागि सकारात्मक सोच हुन आवश्यक छ।
(लेखक समाजशास्त्र तथा मानवशास्त्र विषयका अध्येता र भाषा विज्ञान विषयका अनुसन्धाता हुन्। )
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
डा. रघुनाथ अधिकारी ‘निलमशेखर’ का अन्य पोस्टहरु:
- नेपालमा सांस्कृतिक बहुलता र पहिचानको अन्तर्विरोध
- युरेसियामा प्राच्य संस्कृत र लिथुआनियाली भाषा
- सुशासनको दृष्टिमा ह्रासोन्मुख र बिटुलिँदो प्राकृतिक स्रोत
- लोकतन्त्रमा टिकट खरिदबिक्री र इमानदार ‘जुनुमान’
- ‘स्वतन्त्र’ उम्मेदवारको उदय र दलमा विकल्पको खोजी
- यसपालीको चुनावमा प्रभाव पार्ने तत्त्व
- सपनामा सीमित बनाइएको जनता केन्द्रित लोकतन्त्र
- कुलीनतन्त्रमा पतन भइरहेको हाम्रो लोकतन्त्र
- रुस–युक्रेन युद्धको वैश्विक प्रभाव र नेपाल
- आसन्न निर्वाचन: संविधानपक्षधर, विरोधी र तटस्थ मतदाता