“ल भाइहरू तिमीहरू सबैजना बाहिर जाउ”।
कक्षाकोठा भित्र अर्को घण्टीको लागि शिक्षकलाई पर्खीरहेको बेला, स्वास्थ्य विषयका सर कक्षामा आउनासाथ हामीलाई भन्नुभयो। कक्षामा साथीहरूले केही पनि नसोधी सरासर बाहिर गए। सरका कुरा सुनेर कक्षामा भएका छात्राहरू पनि अक्कमक्क भएका थिए। हामी केटाहरू बाहिर गए पछि सरले भित्रबाट झ्याल र ढोका लगाउनुभयो। मनमा अनेक प्रश्नहरू घुमिरहेका थिए, के भई रहेको थियो कक्षा भित्र। उत्सुकता कम गर्नका लागि हामी केही साथीले कक्षाको झ्याल र ढोकामा कान लगाएर सुन्ने प्रयास पनि गर्यौ, तर केही आवाज सुनिएन। हामी विद्यालयको चौरमा बसेको ४५ मिनेट भइसकेको र घण्टीको समय बिते पछि सरले ढोका खोल्नु भयो।
“लौ भाइहरू भित्र जाउ” भन्दै उहाँ जानुभयो।
के भएको हो भनी मनमा उत्सुकताका साथ हामी भित्र गएर छात्रा साथीहरू सँग सोध्यौ “सरले किन ढोका बन्द गर्नु भएको ?” तर कसैले पनि जवाफ दिएन।
अर्को दिन पनि स्वास्थ्यको घण्टीमा सर आउनु भयो। त्यो दिन उहाँले छात्राहरूलाई कक्षा बाहिर जान भन्नुभयो र भित्रबाट झ्याल र ढोका बन्द गर्नुभयो। म लगायत साथीहरूको मनमा अनेक प्रश्नहरू घुम्न थाल्यो। सरले “ल, भाइहरू महिला प्रजनन स्वास्थ्य पाठ निकाल” भन्नुभयो र पढाउनुभयो।
घण्टीको समय बिते पछि सर बाहिर जानुभयो र छात्राहरू कक्षा भित्र आए। कसैले पनि सरले के गर्नुभएको हो भनी प्रश्न गरेन किनकी एक दिन पहिला सरले छात्राहरूलाई “पुरुष प्रजनन स्वास्थ्य र किशोरीहरूमा महिनावारी” को बारेमा पढाउनु भएको थियो भन्ने कुरा सबैले बुझिसकेका थिए।
म पढेको सरकारी विद्यालय हो। त्यतिबेलाको विद्यालयको भित्रको वातावरण अहिलेको जस्तो खुला थिएन। कक्षा कोठामा पढ्ने बेला छात्र र छात्रा छुट्टाछुट्टै बस्ने गर्थे। हामीले एकदम कडा अनुशासनको वातावरणमा पढेको थियौ।
त्यो महिला प्रजनन स्वास्थ्य पाठ पढेको पनि लगभग २० वर्ष जति भएछ। समयसँगै अगाडि बढ्दा र जीवनमा जिम्मेवारी बढ्दै जाँदा पुराना कुराहरू सम्झनाबाट हराउँदै जाँदो रहेछ, तर कुनै बेला जीवनमा, त्यो सँग मिल्दोजुल्दो केही कुरा हुँदा, केही सुन्दा वा केही घटना हुँदा झट्ट याद पनि आउँदो रहेछ।
मलाई पनि त्यही नै भयो। केही दिन अगाडि फेसबुकको एउटा पोस्टले मलाई त्यो २ दशक पुरानो कुरा सम्झायो। आफू विद्यालयका दिनहरू सम्झँदा एकछिन त रमाइलो भयो, तर मनमा कता कता नराम्रो पनि महसुस भयो।
मैले देखेको फेसबुक पोष्ट वीरगञ्जको एक नाम चलेको एक माध्यमिक विद्यालयले एउटा कुनै संस्थाको सहयोगमा एक दिने “महिनावारीका सकारात्मकता” विषयमा त्यस विद्यालयका अध्ययनरत छात्राहरूलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो। विषय र प्रशिक्षक उत्कृष्ट थिए। फेसबुकको ती तस्वीरहरू देख्दा कार्यक्रम अर्थपूर्ण र सहभागितमूलक भएको पनि देखिन्छ।
तर केही फरक कुरा थिए भने केही समान पनि थिए।
मैले पढेको बेला, कक्षाको शिक्षकले जे गर्नुभयो अर्थात छात्र र छात्रालाई छुट्टाछुट्टै समूहमा राखेर प्रजनन स्वास्थ्य र महिनावारीको विषय पढाउनु भयो, त्यसको २० वर्षपछि त्यही शैलीमा त्यो विद्यालयले आफ्नो अभिमुखीकरण कार्यक्रममा अनुशरण गरेको देखिन्छ। हरेक तस्बिरहरूलाई हेर्दा सहभागीहरू विद्यालयका छात्राहरू मात्र थिए भने छात्र एक जना पनि थिएन।
यति लामो गन्थनको मूल कुराचाहिँ उद्देश्य राम्रो भए पनि यस्ता गतिविधिले किशोर र किशोरी बिच हुने शारीरिक परिवर्तनबारे राम्ररी बुझ्नबाट रोकिरहेको छ। महिला होस वा पुरुष, दुवैको प्रजनन स्वास्थ्य र महिनावारी बारे सबैले राम्ररी जान्नै पर्ने विषय हो। यस्ता विषयहरूमा समाजमा राम्ररी खुलेर छलफल गर्ने वातावरण नभएको कारण अहिले पनि समाज पछि परिरहेको कुरा भन्दा गल्ती हुँदैन।
एउटा थप घटना फेरी याद आयो। सानो हुँदा मेरो घरमा टीभी हेर्ने बेला, छिमेकीको काकाकाकीहरू पनि आउनुहुन्थ्यो र सँगै उहाँका छोराछोरी पनि आउँथे। सबैजना सँगै बसेर टीभी मा कार्यक्रम हेर्थ्यौ र सँगै रमाउँथ्यौ। एकदिनको कुरा हो, टीभी हेर्दै गरेको बेला टीभी मा स्यानेटरी प्याडको प्रचारको विज्ञापन आयो। त्यो देखेर ११ – १२ वर्षकी एकजना बहिनीले आमालाई सोधिन “मम्मी, त्यो के को बारे देखाएको हो, टीभी मा ?”
प्रश्न सुन्ना साथ सबैजना त्यो बहिनीलाई एकहोरो हेरिरहे र त्यहाँ भएका काकीहरू साडीको पल्लुले आफ्नो मुख छोप्न थाले। एकछिनको लागि त्यहाँको वातावरण स्तब्ध भयो। उनकी आमाले “घर हिँड पछि भन्छु” भन्दा पनि बहिनीले जिद्दी गरिरहिन्। एकछिन पछि काकीलाई शायद अप्ठ्यारो भएपछि छोरीलाई लिएर घर गइन। त्यसपछि नियमित हामी कहाँ आइरहने ती काकी र बहिनी धेरै दिन सम्म आएनन्।
यो घटना पनि सामान्य जस्तो देखिए पनि यसले हाम्रो समाजमा महिला प्रजनन स्वास्थ्य र महिनावारी बारे कति जनचेतना छ भने कुरा दर्शाउँछ।
एउटा घरमा बहिनी हुन्छे, उसलाई महिनावारी भएछ र घरमा कोई छैन र भाइ मात्र छ भने उसले लाज मानेर आफ्नो भाइलाई स्यानेटरी प्याड किनेर ल्याइदेऊ भन्न सक्दिनन्। त्यही घरमा आमा हुनुहुन्छ, उहाँको पनि महिनावारी भएछ भने उनी आफ्नो छोरालाई “छोरा स्यानेटरी प्याड किनेर ल्याइदिउँ” पनि भन्न शायद लाज मान्नु हुन्छ होला। त्यति मात्र कहाँ हो र कोही किशोरी वा महिला औषधी पसलमा स्यानेटरी प्याड किन्न जान पनि लजाउँछन्, गएका पनि छन भने औषधी पसलेले सुटुक्क कसैले नदेखने गरि काउन्टरको तलबाट कागजमा प्याक गरि झोलामा राखेर दिन्छ र लाज मान्दै बाँकी दिनु पर्ने फिर्ता पैसा पनि टाउको तल गरेर दिन्छन्। हाम्रो समाजमा थप यस्ता यस्ता घटनाहरू सुन्न र देख्न पाइन्छ जहाँ विवाह भएको पहिलो महिनामा श्रीमती महिनावारी हुँदा श्रीमान आफ्नै श्रीमतीका लागि स्यानेटेरी प्याड किन्न अप्ठ्यारो मान्छ भने श्रीमती पनि नयाँ भएर होला आफ्नै श्रीमानलाई भन्न पनि लजाउँछिन्।
एउटा तथ्यांकले के देखाएको छ भने नेपालमा ८९ प्रतिशत महिलाहरू ( थोरै शहरी भेग र बढि ग्रामीण भेगमा) महिनावारीको बेला विभिन्न सामाजिक र मानसिक यातनाको शिकार हुने गर्दछन्। त्यसमा पनि प्रजनन स्वास्थ्य र सरसफाइ व्यवस्थापन नेपालको तथ्यांक अनुसार ८३ % किशोरी र महिलाहरूले महिनावारीको बेला कपडा प्रयोग गर्दछन् भने मात्र १५ % किशोर महिलाहरूले स्यानेटरी प्याड प्रयोग गरेको पाइन्छ, त्यो पनि शहरी भेगमा मात्र। ८३ % महिलाहरू कपडा प्रयोग गर्दा पनि सरसफाइमा बढि विशेष ध्यान नदिएको पाइएको छ। महिनामा एक पटक महिनावारी हुँदा ७ दिन जति ती महिलालाई घर तथा समाजमा विभिन्न सेवाहरूबाट वञ्चित गरिन्छ अर्थात केही गर्न दिइँदैन। अर्थात १ वर्षमा ८४ दिन। नेपालका धेरै समुदायमा अझै पनि महिलाहरूमा हुने महिनावारीलाई विकृतिका रुपमा हेर्ने गरिन्छ। यति बेला महिलाहरू आफू शारीरिक पीडामा हुन्छन्, त्यसमा पनि मानसिक पीडा थपिदिए पछि कस्तो होला?
यसको कारक तत्त्व के हो त ? जनचेतनाको अभाव मात्र होइन। किनकी, आज नेपालमा प्रजनन स्वास्थ्य र महिनावारीबारे थाहा नहुने त कमै होलान् । सबभन्दा मुख्य समस्याचाहिँ खुला छलफलको अभाव हो। समावेशी र खुला रुपमा शुरु देखि नै कुरा नगर्नु हो। घर समाजमा सानै देखि बालबालिकाहरूलाई यसबारे उनीहरूको उमेर अनुसार घरबाटै जानकारी नगराउनु, किशोर अवस्थामा यसबारे आफ्नै साथीहरूसँग खुलेर कुरा गर्न नसक्नु, कक्षाकोठामा पनि छात्र र छात्राहरूलाई सँगै यसबारे ज्ञान नदिनु, सरकारको ठोस नीति तथा नियम नहुनुलगायतका कारणले समस्या आएको हो।
त्यसैले कुरा गरौं, आमाले छोरीलाई मात्र होइन छोरालाई पनि यसका बारेमा जानकारी दिनुपर्छ। यो सामान्य प्राकृतिक कुरा हो भनेर सिकाउनै पर्छ। स्कुलमा सहज रूपमा यौन शिक्षा दिने वातावरण मिलाऔ र सबैजना सँगै मिलेर महिनावारीको कुरा मात्र होईन, यसका लागि आवश्यक क्रियाकलाप गरेर महिनाबारीको पीडा कम गरौँ।
आवरणः आफ्ना समस्याका बारेमा शिक्षिकासँग छलफल गर्दै धनुषा, नगराइन नगरपालिकाको एक स्कुलका किशोरीहरू तस्बिरः राजेश घिमिरे
श्रोत: आइएनएस-स्वतन्त्र समाचार