अफगानिस्तानको हारपछि पश्चिमाहरूले सिक्न पर्ने चार पाठ

नेटो गठबन्धनले अफगानिस्तानको वास्तविक स्थितिका बारेमा आफू र आफ्ना जनतालाई किन मूर्ख बनाए?

जोन मान्जा

नराम्रोसँग हारेपछि अमेरिकालगायत पश्चिमा देशका सिपाहीहरूले पूर्ण रूपमा अफगानिस्तानबाट हिँडेको गत साता एक वर्ष भइसक्यो। अफगानिस्तान छोडेर विश्व अन्य मुद्दाहरूमा अघि बढेको छ। सन् २०१८–२०२२ सम्म पश्चिमा देशहरूको संगठन नेटोको अपरेसनको सहायक महासचिव भएर काम गर्नु भएका जोन मान्जा अफगानिस्तानमा हारेपछि पश्चिमाहरूले सिक्न पर्ने चारवटा पाठ तयार गर्नु भएको छ। मान्जाको भनाइमा त्यो लडाइँबाट सिकिएका पाठले भविष्यमा त्यस्तै खालका गल्तीहरू दोहोराउन रोक्नेछ। मान्जाका शब्दहरूः

नेटोको अपरेसनका लागि सहायक महासचिवको रूपमा, सन् २०२१ को अन्त्य ताका  अफगानिस्तानमा पश्चिमा गठबन्धनले सिकेका कुराहरू लेख्ने जिम्मेवारी मैले पाएको थिएँ। यो दस्तावेजको पूर्ण पाठ गोप्य भएपनि त्यहाँ सिकेका कुराहरूलाई बाहिर ल्याउन अनुमति रहेछ। यी सिकेका कुराहरू राष्ट्रिय सुरक्षा, द्वन्द्व, वा अन्तर्राष्ट्रिय मामिलाकाविद्यार्थीका लागि लाभप्रद छन्।

पश्चिमा गठबन्धनले सिकेका पाठ मध्ये पहिलो, नेटो (North Atlantic Treaty Organization) गठबन्धन गलत शत्रु विरुद्ध रणनीतिक रूपमा असान्दर्भिक स्थानमा लड्यो। दोस्रो, राम्रो नियतले  सञ्चालित भएपनि, नेटो गठबन्धनले मिसनको मात्रा र दायरालाई रणनीतिक चासोको स्तरभन्दा बाहिरसम्म विस्तार गरे। तेस्रो, नेटोले अफगान संस्कृति र प्राविधिक क्षमताभन्दा बाहिर गएर अफगानी सुरक्षा फौज बनाउन खोज्यो। अन्तमा, नेटो गठबन्धनले अफगानिस्तानको वास्तविक स्थितिका बारेमा आफू र आफ्ना जनतालाई  मूर्ख बनाए।

अफगानिस्तानमा अमेरिकी र गठबन्धन राष्ट्रका हजारौं सेनाले ज्यान गुमाए, हातखुट्टा र आफ्नो विवेक गुमाए। संयुक्त राज्य अमेरिका र यसका सहयोगी तथा साझेदारहरू आफ्नो देशको लागि राम्रो भविष्य खोज्ने धेरै बहादुर अफगानहरू लगायत त्यहाँ लड्ने र मर्नेहरूका लागि ऋणी छन्। अतः उनीहरूले यी गल्ती नदोहोर्‍याउने हो भने हामी किन हार्‍यौं  भनेर मूल्यांकन गर्न आवश्यक छ।

शिक्षा १: शत्रुलाई आवश्यकता भन्दा बढी महत्त्व नदिनुहोस्

अफगानिस्तान एक कठोर, भूपरिवेष्ठित, र संयुक्त राज्य अमेरिका र गठबन्धनका राष्ट्रका लागि कम रणनीतिक महत्वको गरीब राष्ट्र हो। अन्तर्राष्ट्रिय मामिलाका विद्यार्थीहरूले यो देशलाई गौण चासोको र सानो अमेरिकी स्रोत लगानी भएको भन्दा  बढी हैसियतमा  राख्दैन थिए। अमेरिकी जीवनशैली र आर्थिक समृद्धिको रक्षाका लागि पनि खासै महत्त्वपूर्ण थिएन। अफगानिस्तान कहिल्यै पनि संयुक्त राज्य अमेरिका वा कुनै नेटो पक्षधरका लागि विशेष चासोमा परेको थिएन।

सेप्टेम्बर ११ को भयानक आक्रमणपछि, संयुक्त राज्य अमेरिका किन अफगानिस्तानमा पसेको थियो भनेर सजिलै बुझ्न सकिन्छ। तालिबानले अलकायदा र ओसमा बिन लादेनका लागि सुरक्षित आश्रय प्रदान गर्दै आएको थियो र अमेरिकी राजनीतिक नेताहरूले बदलामा केही त गर्नै पर्ने थियो। त्यो बदला चासोको स्तरद्वारा मापन गरिनुपर्थ्यो। तर  संयुक्त राज्य अमेरिकाले शीर्ष राष्ट्रिय सुरक्षा प्राथमिकता सरह झैँ अफगानिस्तानमा लगानी गर्यो।  आफ्नो सीमाभन्दा धेरै टाढा दूरदराजको भूमिबाट उत्पन्न हुने खतराको तुलनामा अत्यधिक रूपमा बढी जीवन र धन अमेरिकाले अफगानिस्तानमा खर्च गरेको थियो।

सन् २००१ मा तालिवान शासनको पतन पछि, अफगानिस्तानमा मुट्ठीभर अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरू मात्र बाँकी थिए। यी गुटहरू तितरबितर, प्रभावहीन, र संयुक्त राज्य अमेरिका वा यसका साथीहरू र पक्षधरहरू विरुद्ध ठोस कारबाही गर्न सामान्यतया असक्षम थिए। वास्तविकतामा, यमन वा सहेललगायतका ठाउँहरूबाट उत्पन्न खतरासँग सम्बद्ध क्षेत्रको चुनौती न्यून थियो। तालिवान एक अन्तर्राष्ट्रिय आतङ्कवादी संगठन थिएन, र यो विदेशी राष्ट्रहरूमा आक्रमण गर्न  लालायित पनि थिएन। यसको ठीक उल्टो: तालिबानले विदेशी आक्रमणकारीहरूलाई परास्त गर्न, सरकारी सेनालाई परास्त गर्न र राष्ट्रको नियन्त्रण पुन: प्राप्त गर्न डिजाइन गरिएको दीर्घकालीन विद्रोहको रणनीति कार्यान्वयन गरिरहेको थियो।

अफगानिस्तानका वास्तविक शत्रु अन्तर्राष्ट्रिय आतङ्कवादीहरू थिए। अयमान अल–जवाहिरीको हालैको हत्याले देखाएझैं संयुक्त राज्य अमेरिका र यसका पक्षधरहरूले अफगानिस्तानलाई कब्जा नगरी र पुनर्निर्माण गर्ने प्रयास नगरी अलकायदा जस्ता समूहहरूसँग लड्न सक्थे। यदि नेटो गठबन्धनले अफगानिस्तानमा अन्तर्राष्ट्रिय आतङ्ककारीहरूलाई रोक्ने गर्ने मुख्य लक्ष्यमा आफ्नो ध्यान केन्द्रित गरेको भए, सानो मिसनले काम हुन सक्थ्यो र त्यहाँको धरातलीय परिस्थिति अनुरूप तयार भएको हुन सक्थ्यो। त्यहाँको परिस्थितिमा नेटोको प्रतिआतंकवादी जत्थाको सानो हिस्सालाई अफगानी समकक्षी कमान्डोको सहयोग पर्याप्त हुनसक्थ्यो।

शिक्षा २: अयोग्य र भ्रष्ट सरकारको समर्थन नगर्नुहोस्

सेप्टेम्बर ११ को हमलापछि अफगानिस्तानमा स्थापना गरिएको संयुक्त राष्ट्र संघको मिसन विकसित परिस्थितिको तुलनामा सामान्य थियो।  सुरक्षा प्रदान गर्न काबुलमा हजारौं सेना र अफगानिस्तानमा संस्थागत क्षमता निर्माण गर्न केही सयको सङ्ख्यामा कूटनीतिज्ञ र विकास विशेषज्ञहरू सहभागी थिए। अलकायदाको उन्मूलनका लागि उनीहरूले गर्नुपर्ने खासै केही थिएन, तर उनीहरू त्यहाँ केही उपलब्धि हासिल गर्न सकिन्छ भन्नेबारे आशा र अपेक्षा प्रशस्त थिए।  गठबन्धन (र विश्वभरि) असल नियतका राजनीतिक नेताहरूले अफगानिस्तानलाई अझै थप केहीमा परिणत गर्न सकिन्छ भन्ने विश्वास लिएका थिए।

ब्रिटिस र रुसी अनुभवलाई बेवास्ता गर्दै, पश्चिमी नेताहरूले अफगानिस्तानलाई परम्परागत रूपमा केन्द्रीकृत शक्तिको इतिहास नभएको आदिवासी राज्यबाट काबुलबाट शासित हुने लोकतन्त्रमा परिणत गर्न खोजे।

जब नेटोले सन् २००३ मा मिसनको नियन्त्रण ग्रहण गर्‍यो, यसले गठबन्धनका नेतादेखि राज्य प्रमुख,  परराष्ट्र र रक्षा मन्त्रालय समेतका बैठकहरूमा राखिएका अव्यवहारिक लक्ष्यहरू पछ्याउन थाल्यो। त्यस समयको आशावादीतालाई सदुपयोग गर्न खोज्दै यसले मिसनले  लक्ष्य र कार्यक्षेत्रको दायरालाई निरन्तर विस्तार गर्‍यो। सन् २००३ र २०१० बीचको अवधिले, विशेष गरी, सामान्य रूपमा “मिसन क्रिप” ( प्रारम्भिक सफलता पछि सैनिक अभियानलाई यसको वास्तविक लक्ष्यभन्दा थप विस्तार गर्नु) भनेर चिनिने एक केस स्टडी को रूप दिएको छ। ती वर्षहरूमा, मिसनलाई अफगानिस्तानका थप भौगोलिक क्षेत्रमा विस्तार गरियो, सेनाको संख्या दस हजार भन्दा कमबाट एक लाख भन्दा धेरैले बढ्यो, स्थानीय शासन र आर्थिक वृद्धिलाई बढावा दिन प्रान्तीय पुनर्निर्माण टोलीहरूको राष्ट्रव्यापी सञ्जाल स्थापना गरियो, र सामाजिक लक्ष्यहरू प्रजातन्त्र, महिला अधिकार, शिक्षा, जातीय विविधता र समावेशीकरण, तथा भ्रष्टाचार विरोधी मुद्दाहरू समावेश गरी फराकिलो कार्यक्षेत्रसहित विस्तार गरिएको छ।

अफगान संस्थाहरूलाई सुदृढ गर्न, शिक्षकहरूको तलब भुक्तानी गर्न, र विद्यालयहरू, चिकित्सा क्लिनिकहरू, सैन्य मुख्यालयहरू, सेनाका ब्यारेकहरू, सडकहरू र पुलहरू निर्माण गर्ने प्रयासमा सयौँ अर्ब डलर खर्च गरिएको थियो – परियोजनाहरू र कार्यक्रमहरूको  झण्डै अन्तहीन सूचीको अंश अफगान जीवनको गुणस्तर सुधार गर्न तयार गरिएको थियो। तर अन्तत:, यी स्रोतहरू अमेरिकी र पक्षधरहरूको हितमा फरक नपर्ने गरि अयोग्य र भ्रष्ट सरकारको समर्थनमा महत्वपूर्ण अमेरिकी र सहयोगीहरूको कुनै स्वार्थ रक्षा नहुने ठाउँमा खन्याएर बर्बाद गरियो।

शिक्षा ३ : पाल्तु सेना नबनाउनुहोस्

अफगान सुरक्षा बलहरू यति चाँडो किन पतन भए भनेर फर्केर हेर्दा, जवाफ स्पष्ट छ: तिनीहरू एक अमेरिकी र नेटो सैन्य मोडेलमा बनाइएका थिए जुन सांस्कृतिक रूपमा अफगान समाजसँग मेल खाएको थिएन।  अघिल्ला पुस्ताका अफगान योद्धाहरू, जसले ब्रिटिस र सोभियत दुवैलाई पराजित गरे, तिनीहरूको शारीरिक र मानसिक सुगठन, गोपनीयतामा निपुणता र बहादुरीका लागि परिचित थिए। तर संयुक्त राज्य अमेरिकाले यी अनावश्यक चर्चा गरिएका पहाडी लडाकुहरूलाई लिएर तिनीहरूको अन्तर्निहित शक्ति र कमजोरीहरूलाई बेवास्ता गर्दै तिनीहरूलाई आफ्नै ढाँचामा जबरजस्ती नचायो।

अफगान सेनाहरू मुख्य रूपमा गतिशील मानिसहरूको बीचमा बस्ने गस्ती गर्ने लडाकु न्यूनतम बन्दोबस्तीमा भर परेको हुनुपर्छ। अफगान सेना पश्चिमी सेनाको पासोमा परेको थियो। सरसामान बोकेर हिँड्नु वा गधाहरू प्रयोग गर्नुको सट्टा तिनीहरूले ट्रकहरू प्रयोग गरे जसले तिनीहरूलाई सडकमा सीमित गर्‍यो र हेलिकप्टरहरूमा उडान गरे जुन धेरै महँगो र कायम राख्न जटिल थियो। अफगान सेनाहरू उनीहरूले प्रतिरक्षा गरिरहेको स्थानीय समुदायहरूमा बस्नुपर्नेमा यसको सट्टा संयुक्त राज्य अमेरिका र नेटो सहयोगीहरूले पूरै आधारहरू बनाइदिए, जहाँ उनीहरू महँगो ब्यारेकमा बस्थे र मेस हलहरूमा खाना खान्थे। जब गस्ती गर्ने वा अन्य लडाइँसम्बन्धी अपरेसनहरू सञ्चालन गर्थे, यी सेनाहरू विदेशी सेनाजस्तै आफ्नो आधारबाट ग्रामीण इलाकामा तैनाथ हुन्थे। तालिवान (र त्यसभन्दा अघिका मुजाहिदीनहरू) विपरीत, संयुक्त राज्य अमेरिका र नेटोले तालिम दिएका र सुसज्जित अफगानका गस्ती सेना उनीहरूको सहयोगका लागि विमान देखा नपरेसम्म प्रत्यक्ष लडाइमा संलग्न हुन हिचकिचाउँथे।

एक उल्लेखनीय अपवाद अफगान कमान्डोहरू थिए, जसले उत्कृष्ट र साहस प्रदर्शन गरे; यी सेनाहरू, अमेरिकी विशेष बलहरूकै शैलीमा तयार गरिएका थिए। यिनीहरू हिर्काउने र भाग्ने कदम चाल्थे र सानो सङ्ख्याका टोलीहरूमा खटिएर लड्थे।  तर तिनीहरूको संख्या एकदमै सानो थियो, र अफगान सेनालाई घेरेको सैन्य कर्मचारीतन्त्रले उनीहरूलाई समेत  स्वतन्त्र ढंगले काम गर्न दिएन।

युद्धको दौरान, भ्रष्ट अफगान सेनापतिहरूले सेनाको तलब, खाना र गोला बारुद लुट्दै आफ्नो सेनाको लडाई शक्तिलाई नष्ट गरे। अमेरिकी र नेटो सेनाहरू फिर्ता हुँदा, यो स्पष्ट भयो कि अफगान सेनाका ट्रकहरू र हेलिकप्टरहरू पनि हजारौं ठेकेदारहरूको समर्थन बिना हिंड्न सक्दैनथे। कमजोर नेतृत्व र तिनीहरूका नेताहरूद्वारा परित्याग गरिएका, स्थानीय सेनाहरूले कठोर लडाइँ लडेका र उत्प्रेरित तालिवान लडाकुहरूसामु आत्मसमर्पण गरे, जसले आफ्नो सांस्कृतिक–सैन्य परम्परालाई सदुपयोग गरे र विदेशी–थोपरिएको कर्मचारीको बोझबाट मुक्त रहे।

शिक्षा ४: तितो सत्य बोल्नुहोस्

एउटा पुरानो भनाई छ जसको नेपाली भावार्थ- युद्ध यति धेरै महत्वपूर्ण हुन्छ की त्यसलाई जर्नेलहरूको जिम्मामा मात्र छोड्न सकिन्न भन्ने हुन्छ। त्यस्तै भयो पनि नेटो जर्नेलहरू यो युद्धमा यति धेरै संलग्न भए की तिनले युद्धका बारेमा वस्तुनिष्ठ ढंगले सोच्न नै सकेनन्। उनीहरूले आफ्नो व्यावसायिक जीवनको ठूलो हिस्सा हेलमण्ड, कान्दाहार र खोस्ट प्रान्तहरूमा भएका लडाइँहरूमा सेनाको नेतृत्व गर्न बिताएका थिए। युद्धको मैदानमा आफ्ना धेरै पुरुष र महिला सैनिक गुमाएका कारण तिनीहरूका लागि युद्ध व्यक्तिगत थियो; ती बलिदानहरूलाई वेवास्ता गरेर गठबन्धन युद्धबाट बाहिरिनु उनीहरूका लागि पाच्य कुरा थिएन।

नतिजा स्वरूप , स्थलगत रिपोर्टहरू प्राय: आवश्यकताभन्दा बढी आशावादी हुन्थ्ये र कमान्डको शृंखलामा माथि चढ्दै जादा अलि कमजोर बनाइन्थ्यो। विशेष गरी अमेरिकाको राजधानी केन्द्रित राजनीतिक नेताहरू पनि धेरै दोषको हकदार छन्, किनकि रक्षा मन्त्रालयमा राजनीतिक नियुक्ति पाएका धेरैले अफगानिस्तानमा कुनै प्रगति नभएका बारेमा तितो सत्य बोल्नु भन्दा बहालवाला राष्ट्रपति पुन: निर्वाचित हुने सम्भावनामा बढी केन्द्रित थिए।

सत्य बोल्ने व्यक्ति र संस्था नभएका होइनन्। उदाहरणका लागि अमेरिकी गुप्तचर एजेन्सी– सीआईए र रक्षा गुप्तचर एजेन्सीले अफगानिस्तानमा हार्नुभन्दा दस वर्ष अघि नै काउन्टर-इन्सरजेन्सी  (विद्रोह विरोधी अपरेसनहरू) सफल हुने छैन भनेर बताएका थिए। अफगानिस्तान पुनर्निर्माणका लागि विशेष महानिरीक्षक जोन सोप्कोले पुनर्निर्माण र अफगान सुरक्षा बलहरूको तयारीमा असफलता पछि असफल भएको बहादुरीका साथ रिपोर्ट गरेका थिए। त्यस्तै गरी, स्वतन्त्र प्रेसले एकपछि अर्को लेखमा अफगानिस्तान सरकार र सुरक्षा बलहरू अयोग्य, भ्रष्टाचारले ग्रसित र असफलतामा फसेका छन् भनी स्थलगतरूपमा सही रूपमा रिपोर्ट गरे।

अन्तमा, केवल एक राजनीतिक नेताले अफगानिस्तानलाई वस्तुनिष्ठ रूपमा हेर्न सक्छ र अन्तत: प्रयास असफल भएको देख्न सक्छ। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई तेह्र वर्ष पहिले सहजै थाहा थियो, जब उनी तत्कालीन राष्ट्रपति बाराक ओबामा प्रशासनका उपराष्ट्रपति थिए। त्यतिबेला उनले त्यहाँको रक्षा बजेट उल्लेख्य वृद्धिको घोषणा गरे, यो संयुक्त राज्य अमेरिकाको लागि रणनीतिक रूपमा महत्व नभएको ठाउँमा निरन्तर बढ्दो लक्ष्यहरूको साथ आफ्नो कर्तव्य पूरा गर्न नसकिरहेको त्यहाँको सरकारको समर्थनमा ठूलो लगानी  भएकाले असफल हुने निश्चित थियो। कसैले सत्य बोल्नु पर्ने थियो, र त्यो काम उनकै हातमा पर्यो।

इराकमा गठबन्धनको हालको मिसनले कसरी यी हस्तक्षेपहरूलाई हल्का, अधिक दिगो तरिकाले पूरा गर्न सक्छ भन्ने अवधारणाको राम्रो प्रमाण प्रदान गर्दछ। नेटो मिसन इराक (एनएमआई) केही  सयको सङ्ख्याका सेनाको सानो पदचिन्हको वरिपरि केन्द्रित छ, लगभग विशेष रूपमा इराकी सेनामा क्षमता विकास गर्नमा केन्द्रित छ। यसले महँगो र  धेरै समय–खपत हुने पुनर्निर्माण र विकास प्रयासहरूमा संलग्न हुन, साथै इराकी सरकारी मामिलाहरूमा हस्तक्षेप गर्नबाट समेत सचेत रहन्छ। यसका लक्ष्यहरू सामान्य छन् र बाहिर निस्कने मापदण्ड (जसलाई गोपनीय राखिएको छ) अफगानिस्तानमा असफलतापछि नेटो गठबन्धन राजनीतिक रूपमा इच्छुक हुने प्रतिबद्धताको स्तरले प्रतिबिम्बित गर्दछ।

यसलाई दिमागमा राखेर, अफगानिस्तानको वास्तविक पाठ नेटो गठबन्धनले वास्तवमा, रणनीतिक रूपमा महत्वपूर्ण नभएका कठिन ठाउँहरूमा मिसन कार्यान्वयन गर्न सक्छन्  भन्ने हो । तर यी मिसनहरूको मात्रा र दायरा मित्र राष्ट्रहरूको हितका लागि आयोजक राष्ट्रको सापेक्षिक रणनीतिक महत्वका सम्बन्धमा सन्तुलित हुनुपर्छ। एनएमआईको मामलामा, यसको मतलब स्थानीय सेनाहरूलाई  आतङ्कवादीहरूको आश्रय बन्न नदिन मद्दत गर्नु हो, जहाँबाट इस्लामिक राज्य र अन्य आतङ्कवादीहरूले युरोप र संयुक्त राज्य अमेरिकालाई  निशाना बनाउन सक्छ।

यो एक महत्वपूर्ण मूल्याङ्कन हो, किनभने ठूला शक्ति प्रतिस्पर्धाको यो नयाँ युगमा, नेटोले आफ्नो प्रमुख हितहरूमा फरक नपर्ने ठाउँहरूमा बहुमूल्य स्रोतहरू खर्च गर्न सक्दैन – अन्यथा गठबन्धनले  भविष्यमा द्वन्द्व हुनसक्ने ठाउँहरूमा पनि हार्ने खतरा हुन्छ।

जोन मान्जाको अटलान्टिक काउन्सिलको वेवसाइट प्रकाशित ब्लगको भावानुवाद।

 

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link