जबरजस्ती रुसमा गाभियो युक्रेनको चार भाग

रुसले युक्रेनी भूभाग अवैध कब्जा गरेकोमा सर्वत्र आलोचना

युक्रेनको धेरै भागमा जबरजस्ती जनमत संग्रह गराएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका कयौ भागलाई रुसमा गाभ्ने घोषणा गर्नुभएको छ । यसका लागि शुक्रबार क्रेमलिनमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले यी नयाँ क्षेत्रहरूको सुरक्षाका लागि रुसले सबै सम्भव कदम चाल्ने बताउनुभयो। यसैबीच पुटिनले युक्रेनलाई वार्तामा बस्न पनि आग्रह गरेका पनि गर्नुभएको छ ।  उहाँले रुसमा समावेश भएका भागहरूमा आफूले दाबी कहिल्यै नछाड्ने स्पष्ट पनि पार्नुभयो।

यो लाखौं जनताको चाहना हो-पुटिन
भ्लादिमिर पुटिनले आफ्नो देशमा गाभिएको भनिएका युक्रेनका चार क्षेत्र डोनेट्स्क, लुहान्स्क, जापोरिज्ज्याखेरसन  हुन् । पुटिनले क्रेमलिनको सेन्ट जर्ज हलमा सयौँ रुसी प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा हस्ताक्षर गरी युक्रेनका चार क्षेत्रहरू रुसमा समाहित भएको घोषणा गर्नुभयो। जनमत संग्रह सम्पन्न भएको ठीक ३ दिनपछि घोषणा समारोह भएको थियो । यस क्रममा पुटिनले आफ्नो मन्तव्य राख्दै भन्नुभयो, “यो लाखौं जनताको चाहना हो।” अर्कोतर्फ, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले प्रतिक्रिया दिदैं भन्नुभएको छ, “यदि रसियाले युद्धको सबैभन्दा हानिकारक परिणामबाट बच्ने हो भने पुटिनलाई रोक्नु पर्छ।”

यी चार क्षेत्रलाई रुसको आधिकारिक अंग बनाएपछि यी क्षेत्रहरूमा भएको आक्रमणलाई रुसमाथिको आक्रमण मानिने पुटिनले आफ्नो मन्तव्यका क्रममा भन्नुभएको छ। पुटिनले यी चार राज्यका प्रमुखसमेत नियुक्त गर्नु भएको छ । डोनेट्स्क, लुहान्स्क, जापोरिझिया, खेरसनका मानिसहरू अब रुसी नागरिक भएको उहाँले बताउनुभयो । “अब कुनै पनि देशले उनीहरूमाथि आक्रमण गरे त्यसलाई रुसमाथिको आक्रमण मानिनेछ । त्यसपछि रुसले आफ्ना नागरिक र आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न पूर्ण शक्तिका साथ जवाफ दिनेछ, ” पुटिनले चेतावनी दिदैँ भन्नुभयो। सात महिनाभन्दा बढी समयसम्म चलेको यो युद्धलाई रुसले युद्ध नभई सैन्य अभियानको रुपमा लिएको छ ।

बन्दुक भरमा  कब्जा : पश्चिम
रुसी राष्ट्रपतिको घोषणालाई अमेरिकालगायत पश्चिमा नेताहरूले गैरकानुनी र कब्जावादी मानसिकताको संज्ञा दिएका छन् । युक्रेनका पश्चिमी समर्थकहरूले रुसी जनमत संग्रहलाई बन्दुकको नालमा झूटको आधारमा भूमि हडप्न सफल भएको बताएका छन् । चारवटै क्षेत्रमा जनतालाई मतदान गर्न बाध्य पारेको र यसका लागि रुसी सेनाका अधिकारीहरू स्वयं मतपेटिका बोकेर घरघर गएको बेलायतले बताएको छ । अमेरिकाले यो कदमले विश्वव्यापी मान्यता नपाउने बताएको छ । अर्कोतर्फ ईयूले रुसमाथि थप प्रतिबन्ध लगाउने कुरा गरेको छ ।

बेलायती प्रधानमन्त्री लिज ट्रसले ट्विटरमा प्रतिक्रिया दिदैँ लेख्नुभएको छ – “भ्लादिमिर पुटिनले फेरि युक्रेनलाई गाभेको धम्की दिएर अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरिरहेका छन्। पुटिनको युद्ध मेसिनलाई निस्तेज गर्न थप प्रतिबन्ध लगाउनेलगायत थप कारबाही गर्न हामी हिचकिचाउने छैनौं। हामी उसले यो अवैध युद्ध हारेको सुनिश्चित गर्नेछौं।”

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले ट्विटरमा प्रतिक्रिया दिदैँ लेख्नुभएको छ- “संयुक्त राज्य अमेरिकाले युक्रेनमा रुसको जाली “जनमत संग्रह” को अवैध, बनावटी नतिजालाई अस्वीकार गर्दछ। यो अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो। हामी युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थनमा खडा छौं।”लेख्नुभएको छ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रुसले चारवटा प्रान्तलाई गाभ्नु संयुक्त राष्ट्रको बडापत्रको उल्लङ्घन भएको र यसको कुनै कानुनी मूल्य नभएको बताउनुभयो। उहाँले यो कदम खतरनाक भएको भन्दै यसलाई स्वीकार गर्न नहुने बताउनुभयो । यसले शान्तिको सम्भावनालाई खतरामा पार्ने उहाँको भनाइ छ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले ट्विटरमा क्रेमलिनमा भएको समारोहमा प्रतिक्रिया दिदैँ लेख्नुभएको छ , “पुटिनले घोषणा गरेको अवैध विलयले केही परिवर्तन गर्दैन।” “रूसी आक्रमणकारीहरूले अवैध रूपमा कब्जा गरेका सबै क्षेत्रहरू युक्रेनी भूमि हुन् र सधैं यो सार्वभौम राष्ट्रको हिस्सा हुनेछन्,” उहाँले भन्नुभएको छ। 

आवरण चित्रः डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिझियाका चार क्षेत्रका मस्को-नियुक्त प्रतिनिधिहरू: खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डो, जापोरोज्य क्षेत्रका प्रमुख इभजेनी बालित्स्की, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, डोनेट्स्क जनवादी गणतन्त्रका प्रमुख डेनिस पुशिलिन र लुगान्स्क को प्रमुख तस्बिर: © मिखाइल मेट्जेल / तास समाचार एजेन्सी

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link