सत्यमोहन जोशी: देश चियाउने आँखीझ्याल

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। मुटु र प्रोष्टेटको समस्या रहेका जेशीमा  कमजोरी बढेपछि यही असोज ७ गते ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। अस्पतालमा रगत परीक्षण गरेपछि उनमा डेंगु संक्रमणसमेत पुष्टि भएको थियो।

उपचारकै सिलसिलामा आज बिहान जोशीको निधन भएको जोशी परिवार निकट प्रसाईंले जानकारी दिएका छन्। प्रसाईंको फेसबुक स्टाटसमा लेखिएको छ– ‘हाम्रा अति श्रद्धेय शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान ७ बजे र ९ मिनेटमा किस्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा स्वर्गारोहण भयो।’

संस्कृतिविद् एवम् शताब्दी पुरुष जोशीको निधनले अपुरणीय क्षति भएको छ। आईएनस परिवार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकशन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।

आज उनै जोशीका बारेमा पत्रकार गिरिश गिरीद्वारा लिखत पुस्तक ‘सत्यमोहन’ बाट केही अंश प्रस्तुत गरेका छौं।

म सत्यमोहन

मेरो घरको मूल ढोकाबाट भित्र प्रवेश गर्ने बित्तिकै पिताजी शङ्करराज जोशी र आमा नुगलदेवीको प्रतिमा देखिन्छ। आँगनमै मेरा जन्मदाताहरुको मूर्ति म आफैंले स्थापना गर्न लगाएको हुँ। मेरो प्रत्येक दिनको दैनिकीको सुरुआत माता र पिताको सम्झनाबाट हुन्छ। बिहान स्नान गर्दा एक पटक जल अर्पण गर्ने र बेलुकी सम्झनाको रूपमा दियो बालेर आरती गर्ने चलन मैले बाँचुञ्जेल कायम राखेको छु। त्यसैगरी मैले जीवनभर मेरी श्रीमती राधाको साथ पाएँ। मेरो व्यक्तिगत परिचय यिनै तीनजनासँग जोडिएको छ। र, योसँगै जोडिन्छ, जोशी परिवारको इतिहास।

रातो मच्छिन्द्रनाथसँग सोझो सम्पर्क भएको परिवार मानिने प्यंगथा (चारवटा थाम) अर्थात् चार जोशी खलकमध्ये एकको मेरै टोल बखुंबहाःमा पनि बसोबास छ बुङ्गमतीबाट रथजात्राको साइत निकाल्ने काम त्यसै खलकबाट हुन्छ। म भने अत्यन्त सामान्य कृषक परिवारमा जन्मेको हुँ यस्तो परिवारमा बाँचुन्जेल सङ्घर्ष गर्ने काममात्रै हुन्छ वंशावली तयार पारेर राख्ने जाँगर हत्तपत्त चल्दैन त्यसैले मलाई मेरो तीन पुस्ताभन्दा माथिको जानकारी छैन। मेरो बाजे नरसिंहराज जोशीसम्मको जीवन खेतीपातीबाटै चलेको थियो। त्यसबाहेक हामी ज्योतिषीका रूपमा पनि चिनिँदै आएका हौं मेरा अग्रजहरूले चिना लेख्नेभन्दा पनि दिनदशा बताइदिने काम गर्थे। त्यसै गरी साइत दिने र कर्मकाण्डका काम पनि चल्थे यसरी अन्नप्राशनदेखि लिएर श्राद्धसम्ममा सरिक हुने क्रमले मेरा पिताजीका पालासम्म निरन्तरता पाएको थियो।

त्यस्तो परम्परागत कामले घरचाहिं धानिएको थिएन। त्यसैले मेरा पिताजी शङ्करराज जोशीको वृत्ति लेखनदासी बन्न पुग्यो। लेखापढी गर्ने कारिन्दाको रूपमा उहाँ व्यस्त रहनुहुन्थ्यो। त्यसरी कागज लेखिदिएबापत कमाइ हुने दुई-चार पैसाले नै हाम्रो घर चलेको थियो।

घर चलाउनुबाहेक पिताजीले हाम्रै पुस्तादेखि सन्तानलाई शिक्षादीक्षामा अघि बढाउने काम पनि थाल्नुभयो तर त्यस बेलासम्म पनि शिक्षाको उज्यालो त्यति सहजै प्राप्त हुन्थेन।

त्यो श्रीपञ्चमीको दिन म पाँच वर्ष पुगेको थिएँ। बाले एउटा काठको फलेकमा अँगारले पोत्नुभयो यसरी तयार भएको कालो पाटी र खरी मलाई समात्न लगाउनुभयो त्यस बेला हाम्रा पूरोहित र दीक्षा दिने गुरू विद्यानन्द थिए। उनैले मलाई हात समाएर ऊँ नमो बागीश्वराय’ लेखिदिए। त्यसपछि अक्षरैपिच्छे छुट्टाछुट्टै उच्चारण गर्न लगाए। अर्थ थाहा नभए पनि मैले विद्यानन्द गुरूलाई पछ्याएँ। त्यसपछि ॐ अक्षर लेख्न पनि लगाए। यसरी ओमबाट मेरो अक्षर शुभारम्भ भएको थियो (पृष्ठ २६–२७)।

मलाई बाल्यकालको सबैभन्दा धेरै सम्झना आइरहने घटनाचाहिं मेरो बोली फुटाउनका निम्ति आमाबाले गरेको प्रयास हो।

म छ-सात वर्षको हुन्जेलसम्म पनि राम्रोसँग बोली फुटेको थिएन। केही लठेब्रो पाराकै थिएँ स्पष्ट आवाज निस्कन्थेन बाआमासँगका अधिकांश संवाद पनि इशारामै हुन्थे।

यस्तोमा त्यति बेलाको परम्परा पछ्याउँदै धार्मिक तवरले उपचार गर्न निकै पर जानुपर्ने भयो त्यस बेला हिडाएर लैजान सम्भव थिएन। मलाई र त्यो भाकल गरेको पूजाको ‘कलःलाई आलोपालो गरेर बोकेरै लैजानुपर्ने भयो। पाटनबाट तीन, साढे तीन कोस टाढा जङ्गलभित्रको सूर्यविनायक मन्दिरसम्म हामी त्यसै गरी बोकेर लगियाँ त्यहाँ विधिवत् पूजाआजा गरेपछि एउटा विचित्रको उपाय अपनाइयो म केही कुरामा अलमलिएको मौका छोपेरै बाआमा दुवै जना बेपत्ता भइदिनुभयो मेरो त होशहवासै उड्यो आमा ! बा ! आमा ! भन्दै म बेस्करी चिच्याएँ मेरो आवाज जङ्गलैभरि गुन्जियो एकैछिनमा के भो के भो’ भन्दै बा आमा दुवै जना दायाँबायाँबाट आइपुग्नुभयो। त्यसपछि फेरि पूजाआजा भयो। त्यसरी चिच्याएपछि नै मेरो बोली फुटेको थियो त्यस बेला भगवान्‌को कृपाले यसरी बोली फुटेको भनियो तर, मलाई चाहि अहिले पनि त्यस बेला अकस्मात बाआमा गायब भएपछि भित्रैबाट तर्सेको अवस्थाको सम्झना हुन्छ (पृष्ठ ४०–४१)।

९० सालको भुइँचालो:

विक्रम संवत् १९९० सालमा भुइँचालो जाँदा म दरबार हाइस्कुलमा पढ्थें त्यस घटनाभन्दा अगाडि मैले भुइँचालो भन्ने शब्दै सुनेको थिइनँ। नेपालमा भुइँचालो शब्दको प्रचलन सुरू भएको नै त्यही सालको भूकम्पपछि मात्रै हो। युरेसियन र इन्डियन प्लेटको बीचमा बसेको यो भूगोलमा त्यसअघि पनि जमिन नहल्लिएका होइनन्। तर, त्यस्ता कम्पन र त्यसले गराएका क्षतिहरूले नेपाली जनजीवनमा नाम पाएका थिएनन्। भुइँचालोको बारेमा पाठ्यसामग्री त परको कुरा, कुनै पनि लिखतमा कहीँकतै उल्लेख भएको थिएन। अलिक पछि थाहा पाएअनुसार वंशावलीमा मात्र यसको चर्चा भएको रहेछ। नत्र त जनजीवनमा हामीबीच यो भुइँचालो भन्ने शब्दै थिएन। त्यसैले यसबारे कुनै जानकारी हुने पनि कुरै आएन। नेवारी परम्परामा कुमार षष्टीको दिन सिटी नखः भन्ने पर्व मनाइन्छ। इनारलगायत पानीका विभिन्न मुहानहरू सफा गर्ने परम्परा हो यो। त्यस बेलै पृथ्वी मातालाई पूजा पनि गर्ने चलन उहिल्यैदेखिको छ। पृथ्वी माताको पूजा गर्दै घरवरपर सफासुग्घर गर्ने, पर्यावरण स्वच्छ राख्ने काम त्यस दिन गरिन्छ। ख्वै के भएर हो, त्यो सिटी नखःकै दिन अक्सर गरेर कम्पहरू आउँथे। यसरी जमिन काँप्ने बेलामा महिलाहरूले बुढीऔंलाले भुइँलाई थिच्थे त्यसरी थिच्दा पृथ्वीले सान्त्वना पाउँछ भनिन्थ्यो र हल्लिएको भुइँ थामिन्थ्यो पनि। हामीले थाहा पाएको यतिमात्रै थियो। यति ठूलो कम्पन पनि हुन्छ र ज्यानै जोगाउनुपर्छ भन्ने त कहींकतै कसैलाई केही थाहा थिएन। श्रुति परम्पराबाट पाउने जानकारीबाहेक अहिलेजस्तो आमसञ्चारको त जग पनि बसेको थिएन।

पछि जब ९० सालको भुइँचालो गयो, प्रायः सबैले नयाँ र कहिल्यै नसुनेको कुरा अनुभव गरे। त्यति बेला मेरो पनि आफ्नै खाले केटाकेटी अनुभव छ। १९९० साल माघ २ गते मेरो मिनपचासको बिदा चलिरहेको थियो। म पढ्ने दरबार हाइस्कुल छुट्टी थियो। त्यस बखत म गाउँमा अर्थात् मेरा पिताजीले जागिर खानुहुने अहिलेको महाराजगन्जमा बसोबास गर्थे मेरी आमा सुत्केरी हुनुभएको थियो काखे बच्चा सायद दुई महिनाकै थियो। त्यसैले आमालाई पाटनमै रहन दिएर महाराजगन्जस्थित पिताजीको डेरामा बस्ने पालो मेरो थियो। त्यस दिन म गोठालाहरूसँग खेल्न चौरतिर निस्केको थिएँ हामी भुराभुरीहरू खेलिरहेकै दिउँसो दुई बजेतिर मैले हेर्दाहेर्दै अगाडिका रूखहरू नाच्न थाले। रूख मात्र के हुन्थ्यो, म त आफैँ पनि नाचिरहेको रहेछु मलाई त गजब रमाइलो पो लाग्यो पेट मिचिमिची हाँस्न थालें ‘यो के गजब भयो भन्दै हामी सबै कटाकेटीका हूल रमाइरहेका थियौं झन्डै तीन मिनेटसम्मै त्यस बेला जोडजोडले हल्लाएको थियो एकैछिनमा एक जना मान्छे हामी नजिकै आइपुगे “यस्तोमा रमाइलो मान्दै हाँस्ने हो मोराहरू!” भन्दै उनले हामीलाई हकार्न पो थाले, “यो त ठूलो विपत् हो। उनले हामी बसेको घरतिर जम्मै भत्किसकेको, चर्किसकेको जानकारी दिए। अब सुरक्षित भएर बस्नुपर्ने भनेर अह्राए पनि त्यसपछि बल्ल त्यो त ठूलै विपत् पो रहेछ भन्ने चाल पायौं (पृष्ठ ५१–५२)।

हिलारीको देशमा सगरमाथाको प्रवक्ता

म एउटा यस्तो राष्ट्र जाँदै थिएँ, जहाँ त्यसअघि कुनै नेपालीले पाइला राखेको जानकारी थिएन। त्यो मुलुक यो पृथ्वीमै कता पर्छ भन्नेधरि थाहा थिएन। मैले बुझेसम्म त ‘ल्यान्ड’ भनिएका मुलुकहरू सबै युरोपतिरै पर्थे त्यसबाहेक मानिस र घरहरू पनि युरोपकै जस्ता देखिने भएकाले हामी त यो न्युजिल्यान्ड पनि युरोपै होला भन्ठान्दै थियौं कहाँ हुनु ? होइन रहेछ २०१० सालको जेठ १९ गते दिउँसो तीन बजे गौचर विमानस्थलबाट उडेको विमानले मलाई एउटा अनजान मुलुकतर्फ लैजाँदै थियो। मेरो न्युजिल्यान्ड भ्रमण ‘युनाइटेड नेशन्स टेक्निकल एसिस्टेन्स एडमिनिस्ट्रेसन’ (युएनटिएए) मार्फत भएको थियो त्यसैका माध्यमबाट राष्ट्र सङ्घले विकाशशील राष्ट्रका मानिसहरूलाई अध्ययनका लागि छात्रवृत्ति (फेलोशिप) प्रदान गर्दो रहेछ, जुन मैले पाएको थिएँ। त्यतिन्जेल नेपाल राष्ट्र सङ्घको सदस्य राष्ट्र भइसकेको थिएन। त्यसको दुई वर्षपछि मात्र नेपालले सदस्यता प्राप्त गरेको हो सदस्य नहुँदै राष्ट्र सङ्घले यहाँको विकास कार्यमा सहयोग पुऱ्याउन सुरू गरिसकेको थियो। यस्तो अवस्थामा युएनटिएएका आर्थिक विकास तथा जनप्रशासन प्रमुख होबार्ड डानियलले न्युयोर्कबाट नेपालका निम्ति चारवटा फेलोशिप प्रदान गरिएको पत्र पठाएका थिए। तीमध्ये एउटा फेलोशिपचाहिं हाम्रो सङ्ख्या विभागमा आइपुग्यो तथ्याङ्क सङ्कलनबारे तेस्रो मुलुक गएर थप अध्ययनको मौका दिने यो फेलोशिप न्युजिल्यान्ड भन्ने मुलुकका लागि थियो विशेष गरेर त्यस मुलुकको आर्थिक विकाससँग सम्बन्धित तथ्याङ्क सङ्कलनका तौरतरिका अध्ययन गराउने हिसाबले यो अध्ययनवृत्ति हाम्रो विभागलाई प्राप्त भएको थियो।

समय नाघ्ने अवस्थामा पनि मेरो कागजपत्र नआएपछि म त्यही कोठामा मेरा कागजपत्र खोज्दै पुगे। त्यहाँ त त्यस्ता चिठीपत्रको थुप्रा नै थिए। म त्यो रासभित्र पसेर खोज्न थालें। शौभाग्यले त्यही रासमा मेरा निम्ति आएको पोको भेटियो विदेशीहरूले कत्रो विश्वासमा पठाएको त्यो खामभित्रै मेरा सम्पूर्ण कागजातदेखि उड्ने टिकटसम्म अटाएका थिए। राष्ट्र सङ्घले प्रदान गर्ने फेलोशिप भनिसकेपछि नेपाल सरकारले पठाउने वा सरकारी खर्चबाट जाने भन्ने कुरा थिएन। सबै उतैबाट आउनुपर्ने। हाम्रो यहाँ भने त्यस्तो महत्त्वको चिठी त्यसरी रासभित्र थुपारेर राखिएको थियो। भद्रकालीमा त्यो चिठी पाउनेबित्तिकै म तयारीमा जुटिहालें किनभने दुई-चार दिनमै उडिहाल्नुपर्ने थियो। त्यस बेलाको विदेश यात्रा अहिलेजस्तो तत्काल बन्दोबस्त मिलिहाल्ने कुरा पनि थिएन। त्यो खामभित्रै मेरो विमान टिकटसहित विभिन्न सुझावहरू पनि थिए। त्यसैअनुसार हतार-हतार यात्राको तयारी अघि बढाएँ। त्यतिन्जेल पनि नेपाल र न्युजिल्यान्डका बीच राज्यस्तरको कुनै सम्बन्ध थिएन। २०१३ सालमा संयुक्तरूपले तयार पारिएको दुग्धशाला र २०१८ सालमा दौत्य सम्बन्धपछि बल्ल दुई मुलुकबीच सम्बन्ध जोडिएको हो त्यस बेला राहदानी पनि थिएन। लिखित एउटा कागज हुन्थ्यो। काठमाडौस्थित बेलायती राजदूतावासले नै मेरा निम्ति न्युजिल्यान्ड जाने राहदानी जारी गरिदिएको थियो। यसरी हतारहतार सबै काम सम्पन्न गरेर दुई दिनमै म गौचर विमानस्थलबाट उडेको थिएँ। म न्युजिल्यान्ड उडेको एघार वर्षपछि मात्रै गौचरस्थित त्यो हवाईमैदानलाई ‘त्रिभुवन विमानस्थल नामकरण गरिएको हो (पृष्ठ ७५–७७)।

चर्या नृत्य

पूजा मञ्चमा हामी कहाँ युगौंदेखि अभ्यासमा रहेको आफ्नै मौलिक शास्त्रीय नृत्य हो चर्या। यो सार्वजनिक रूपले बाहिर प्रदर्शन हुन थालेको चाहिँ निकै पछि मात्र हो। हिजोआज स्कुले केटाकेटीहरू पनि परम्परागत पोशाकमा सजिएर चर्या नृत्य गरिरहेको देख्दा मलाई रमाइलो लाग्छ। आगम पूजाकोठाभित्र मात्र अभ्यास गरिदै आएको यो नृत्यलाई यसरी सार्वजनिक थलोसम्म ल्याउन कुनै समय निकै मेहनत गर्नुपरेको थियो। आर्यावर्त आदिबुद्ध त्यसपछि वज्रसत्त्व र पछिल्ला बुद्ध शाक्यमुनि सिद्धार्थ गौतमले यस नृत्यलाई प्रतिपादन तथा विकास गरेको मानिन्छ। यस बारेमा बेग्लै मत राख्नेहरू पनि छन्। चर्याका गीतहरू मूलतः संस्कृत भाषामै भईकन पनि केही मिसमास स्वरूपमा गाइन्छन्। हिजोआज मेरै घरमा विशिष्ट अतिथिहरू आउँदा चर्या नृत्य देखाएरै स्वागत गर्ने गरेको छु त्यस्तो बेलामा चर्या गुरूहरू आएरै यो नाच प्रस्तुत गरिदिन्छन्। बौद्ध धर्मका वज्रयानी वज्राचार्य गुरूहरूले परम्परादेखि पूजाकोठाभित्र यसलाई अभ्यास गर्दै आएका हुन्। उनीहरूले मान्ने शून्यवादको सिद्धान्तलाई नै यो नृत्यका माध्यमबाट प्रस्तुत गरिन्छ यसलाई परमार्थ सत्य आत्मसात गर्ने काव्यरूपी सङ्गीतमय साधना पनि भनिन्छ। यस्तो नृत्यलाई पूजाकोठाबाट बाहिर ल्याउने काम ६५ वर्षअघि हामीले नै गरेका थियौ। त्यति बेला वज्राचार्य गुरुजुहरूलाई यो नृत्य सार्वजनिक ठाउँमा प्रदर्शनका निम्ति सहमत गराउन निकै मुश्किल परेको थियो।

२०१३ सालको कात्तिक ३० गते नेपालले चौथो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरेको थियो त्यसै बेला यो नृत्य पहिलोपटक मञ्चमा देखाइएको हो। ६ दिनसम्म चलेको सो सम्मेलनलाई नेपालका धेरै सांस्कृतिक विशेषताहरू उजागर गर्ने अवसरका रूपमा समेत लिइएको थियो। त्यति बेलै चर्या पनि प्रस्तुत हुनसक्यो (पृष्ठ ९२-९३)।

मदन पुरस्कार

मैले तीनपटक मदन पुरस्कार ग्रहण गरें नेपाली लेखन क्षेत्रको यो शिखर विभूषण कालान्तरमा एकपटकभन्दा बढ़ी। कसैलाई नदिने घोषणा यस पुरस्कारको गुठीले गरिसकेको छ। यस हिसाबले अब मेरा कृतिहरूले मलाई दिलाएको तीनपटक मदनपुरस्कार विजेता अलङ्कार सदासर्वदाका निम्ति अद्वितीय बनिसकेको छ। श्री ३ चन्द्रशमशेरका छोरा मदनशमशेरको २०१० सालमा बनारस रहँदै निधन भएको थियो। उनको स्मृतिमै त्यसको दुई वर्षपछि यो पुरस्कार स्थापना गरियो। यसरी स्थापित पहिलोपटककै अर्थात् २०१३ सालको मदन पुरस्कार मेरो पुस्तक ‘हाम्रो लोक संस्कृतिले प्राप्त गरेको थियो। २०१४ सालमा पहिलो मदन पुरस्कार वितरण समारोह आयोजित श्रीदरबारटोलको दृश्य म अहिले पनि झलझली सम्झन्छु। त्यस दिन म निर्धारित समयमै ललितपुरस्थित लेफ्टिनेन्ट जर्नेल मदनशमशेरको दरबारमा उपस्थित भएको थिएँ। त्यति बेला बाहिर जुत्ता फुकालेपछि हामी सबैलाई मदनशमशेरको सोझो बैठक कोठामा प्रवेश गराइएको थियो त्यो भव्य बैठक रातो थियो, जहाँ अहिले रातो बङ्गला स्कुलको कमलमणि थिएटरसहितको भवन ठडिएको छ। पुरस्कार लिने बेलामा मलाई एकातिर पण्डितराज सोमनाथ सिग्द्यालले पाखुरा समातेका थिए भने अर्कोतिर कवि शिरोमणि लेखनाथ पौड्यालले। सोमनाथ कोट लगाउँथेनन् पटुका बौध्ये र एकातिरको बर्को यसो मास्तिर लगेका हुन्थे कवि शिरोमणिको पहिरन त उही कालो लामो कोट नै थियो पुरस्कार लिनका निम्ति त्यसरी मलाई रानी जगदम्बाको अगाडि लगियो। त्यसपछि मेरा पाखुरा समातेका दुवै व्यक्तित्वले रानीका अघिल्तिर बिन्ती चढाउँदै मेरे परिचय गराएऽ ‘यस वर्षको सबैभन्दा पहिले मदनपुरस्कार पाउने सत्यमोहन जेशी यिनै हुन् (पृष्ठ१०८)।

भक्तपुर दरबारमा राष्ट्रिय कला सङ्ग्रहालय

पुरातत्त्व विभागको निर्देशक रहँदै मैले गरेको अर्को एउटा काम भक्तपुरमा राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना पनि हो।

२०१६ सालताकै पुष्करलाल मास्के भक्तपुरको मजिस्ट्रेट थिए। उनी त्यस बखत नारायणहिटी राजदरबारका शक्तिशाली बडाकाजी पुष्पराज राजभण्डारीका ज्वाइँ थिए त्यस बेला उपत्यकाका तीनवटै शहरमा मजिस्ट्रेटको नियुक्ति पाएकाहरूलाई अत्यन्तै प्रभावशाली प्रशासकको भूमिका दिइएको थियो, निकै पछिका अञ्चलाधीशहरूजस्तै।

पुष्करलाल मेरा पुराना चिनारू। उनी हवाई विभागमा रहँदै मेरो परिचय भएको थियो पोखरास्थित हामी दुवैका मित्र प्रेमराज मुल्मीमार्फत राम्रै हिमचिम थियो। पछि आ-आफ्नो काममा लागेका थियौं।

पुरातत्त्व तथा संस्कृति विभागको निर्देशक नियुक्त भएपछि भने उनीसँग मेरो फेरि जम्काभेट भयो नियुक्ति पाएपछि विभागअन्तर्गत सरोकारका विभिन्न क्षेत्रमा म घुमफिर गर्न थाले। त्यसै क्रममा एक दिन भक्तपुर पुगें

भक्तपुरमा पुष्करलालको धाक र रमझम बेग्लै थियो म पुगेको थाहा पाएपछि उनले नै मलाई चिया पिउनका निम्ति निम्त्याए म गएँ। कुराकानीका क्रममा मैले मेरो कामको प्रसङ्ग उप्काएँ त्यसै बेला उनले भक्तपुरमा मलाई केही गर्ने चाहना छ कि भनेर सोधे। मैले पनि राम्रो स्थान मिलेदेखि भक्तपुरमा एउटा गतिलो सङ्ग्रहालय स्थापना गर्ने चाहना रहेको सुनाएँ त्यस बेला उनले प्रयोग गरिरहेको सबैभन्दा ठूलो र भव्य बैठक दरबार क्षेत्रभित्रकै ‘लाल बैठक’ थियो मैले काम गर्ने हो भने प्राचीन कालको त्यो बैठक उनले मलाई प्रदान गर्ने जानकारी दिए। यदि त्यो ठाउँ पाउने हो भने म यहाँ एउटा ठूलो म्युजियम बनाइदिन्छु।”, मैले पनि भनिहालें।

त्यस बेला वीर पुस्तकालय मेरै विभागअन्तर्गत पर्थ्यो। त्यहाँ भएका सरसामग्रीको हरहिसाब पनि मसँगै थियो मुलुककै त्यत्रो सम्पन्न सङ्ग्रहालय आफूमातहत भएपछि म यस विषयमा ढुक्क निर्णय लिनसक्ने अवस्थामा पुगिसकेको थिएँ।

त्यसपछि पुष्करलालले मलाई सुम्पन तयार रहेको ‘लाल बैठक’ देखाउन लगे। हल पनि गजबकै लाग्यो। पाटन दरबारमा रहेको ‘बहादुर शाहको बैठक’जत्तिकै गजबको त्यो बैठक देखेर मेरो उत्साह झनै बढ्यो दायाँबायाँ भव्य मूर्तिहरू राखेर सजाइएको त्यो लाल बैठक यता पाटनको भन्दा अझ बढी भव्य थियो त्यसमाथि संरचनाका हिसाबले पनि बलियो देखियो।

मैले त्यति बेलै त्यहाँ राष्ट्रियस्तरकै भव्य सङ्ग्रहालय बनाइदिने घोषणा गरे। उनले पनि त्यो बैठक मलाई सुम्पने मात्र नभई मजिस्ट्रेटका हैसियतबाट सक्दो सहयोग पनि गर्ने वचन सुनाए।

त्यसलाई ‘राष्ट्रिय कला सङ्ग्रहालयको नामाकरण पनि गरियो।

नेपाली राष्ट्रिय मुद्रा

पुरातत्त्व विभागमा निर्देशकको दायित्व सम्हालेलगत्तै मेरो कार्यालयमा र पुस्तकालयका हाकिम आइपुगे। मेरै मातहत पर्ने त्यस बेलाको वीर पुस्तकालयलाई अहिले त झन् राष्ट्रिय अभिलेखालय’ भनेर रामशाहपथमै राखिएको छ। वीर पुस्तकालयका ती हाकिम राजपरिवारसँगै जोडिएका कुनै चौतारिया पनि थिए। उनका साथमा पण्डितहरू पनि विभागमा आएका थिए। त्यसैले भेटघाट भव्य थियो।

भेटघाट र औपचारिक कुराकानी सकिएपछि फर्कने बेलामा अब वीर पुस्तकालय हेर्न कहिले आउनुहुन्छ ? भनेर सोधे त्यो मेरो चाहनाकै कुरो थियो मैले “छिट्टै आउँछु भनेर जवाफ दिएँ एक त त्यसै पनि मलाई पुराना सम्झनाले मीठोसँग अँठ्याएको थियो।

त्रिचन्द्रमा पढ्दा छेवैमा घण्टाघरको मुन्तिर पछाडिपट्टि वीर पुस्तकालय थियो पुस्तकालयको परिसरबाहिर जहिले पनि थुप्रै कागजपत्र र पाण्डुलिपिहरू सुकाएर राखिरहेका हुन्थे ती नेपाली इतिहासका महत्त्वपूर्ण दस्तावेजहरू थिए दिनभरि घाममा सुकाइसकेपछि फेरि पोका पारेर बाँध्दै भित्र थन्क्याउन लैजान्थे। ती दृश्य निकै चाखलाग्दा भएकाले नजिकै गएर ती गतिविधि हेरिरहन्थे त्यस बेला सर्वसाधारणलाई पुस्तकालयभित्र पस्ने अनुमति हुन्थेन। सरकारी कागजपत्र लिएर आउने गिनेचुनेका अध्येताहरूले मात्र त्यहाँ गएर अध्ययन अनुसन्धान गर्न पाउँथे। त्यसैले विद्यार्थीकालभरि मैले त्यस पुस्तकालयप्रतिको जिज्ञासालाई बाहिरबाटै नियालेर चित्त बुझाएको थिएँ। पुस्तकालयकै टिम आएर निम्तो दिएपछि म निरीक्षण गर्नका निम्ति नजाने कुरै भएन त्यहाँ भएका पाण्डुलिपिदेखि पुराना पौभा चित्रहरू एक-एक गरेर मेरा सामुन्ने प्रस्तुत गरिए त्यसै क्रममा एक जना कर्मचारीले त्यही कतै राखिएको एउटा घैटो ल्याएर मेरै सामुन्ने खन्याए त्यस घैटोमा पुराना मुद्राहरू अझ खास गरी लिच्छविकालीन सिक्काहरू थुपारेर राखिएको थियो मैले त्यसका बारेमा थप जिज्ञासा राखे उनीहरूले पनि मलाई जानेसम्मका कुरा बताइदिए।

त्यस दिनसम्म मैले मुद्रा भनेको बजारमा किनबेचका निम्ति प्रयोग गरिने चलनचल्तीका सिक्काहरूलाई मात्रै बुझ्दै आएको थिएँ त्यसपछि भने यसभित्र पनि इतिहासदेखि सभ्यता र संस्कृतिसम्मका महत्त्वपूर्ण जानकारीहरू अटाएका हुँदा रहेछन् भन्ने थाहा पाएँ अझ त्योभन्दा पनि बढ्ता त राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताका प्रामाणिक इतिहासहरू यसले समेटेर राख्दो रहेछ भन्ने बुझ्न पाइयो।

तस्बिर सौजन्य: कुमार आले, गिरिश गिरीद्वारा लिखित ‘सत्यमोहन’ पुस्तकबाट

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
सत्यमोहन जोशी: देश चियाउने आँखीझ्याल
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link