स्वच्छ, स्वतन्त्र, र निष्पक्ष निर्वाचन सबैको दायित्व: आयुक्त डा. तुलाधर

निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगको नेतृत्व र हामी सबैको दायित्व रहने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा शनिबार धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममको उद्घाटन गर्दै आयुक्त तुलाधरले संविधान र कानूनले दिएको अधिकार र कार्यक्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको उल्लेख गर्दै उहाँले यस क्रममा सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्व दिइएको बताउनुभयो ।

निर्वाचनलाई सफल बनाउने कार्य आयोग एक्लो प्रयासबाट सम्भव नहुने भएकाले निर्वाचनका विभिन्न चरण र प्रक्रियाहरूमा भएका सही सूचनालाई प्रवाह गरेर आयोग र मतदाताबीच सेतुको कार्य गर्न पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभयो ।

‘निर्वाचनका क्रममा सही सूचनाको संवाहक सञ्चारकर्मीहरू नै हुन् । सञ्चारकर्मीका सही सूचना हाम्रा लागि कोसेढुंगा हुनेछ ।’ आयुक्त डा. तुलाधरले भन्नुभयो, ‘आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत रहेको छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ । त्यस अर्थमा आयोग र सञ्चारको सम्बन्ध नङ र मासुजस्तै रहेकामा हामी स्पष्ट रहेका छौँ ।’

आयुक्त डा. तुलाधरले आयोगले निर्वाचनका क्रममा समानुपातिकतर्फको मतपत्र ढुवानी लगभग सम्पन्न भइसकेको र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ कार्य भइरहेको जानकारी दिँदै उहाँले आयोगले प्रेस अफिस, कल सेन्टर, इ बुलेटिनजस्ता संयन्त्रको माध्यमबाट सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको अवगत गराउनुभयो ।

आयुक्त तुलाधरले निर्वाचनका चरणहरूमा पनि सञ्चार क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर सन्तुलित र आधिकारिक सूचना दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिताको पालना सबैले गर्नुपर्ने र आचारसंहिता उल्लंघन भएका सही सूचना दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link