निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो।
सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधरको भनाई थियो । तुलाधरले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । “आचारसंहिताले स्वअनुशासनमा बस्न प्रेरित गर्छ, यो नैतिक बन्धन हो,” तुलाधरले भन्नुभयो, “आचारसंहिता सबैलाई समान रुपमा लागु हुन्छ ।”
आचारसंहिता उल्लंघनका विषयमा आयोग कडा रुपमा प्रस्तुत हुने बताउँदै आयुक्त तुलाधरले आचारसंहिता उल्लंघन गर्ने सबैलाई कारबाही गरिने प्रष्ट पार्नुभयो । “आचारसंहिताको परिधिमा रहेर दलले प्रचारप्रसार गर्नुहोस्, प्रचारप्रसारमा कसैलाई नहोच्याउनुहोस्, दुष्प्रचार नगर्नुहोस्,” उहाँले भन्नुभयो । स्वअनुशासनमा बसेर आचारसंहितामा नचुक्न आग्रह गर्दै तुलाधरले दायित्व पालना गर्न सम्झाउनुभयो ।
आयुक्त तुलाधरले मितव्ययी हिसाबले निर्वाचन सम्पन्न गराउने तयारी गरिएको बताउँदै निर्वाचन खर्च परिमार्जन गरिएको उल्लेख गर्नुभयो । निर्वाचन खर्चका सन्दर्भमा आयोगले तोकेको मापदण्ड बमोजिम तथ्याङ्क राख्न आग्रह गर्दै तुलाधरले भन्नुभयो, “यस विषयमा आयोगले सुक्ष्म रुपमा अध्ययन गरिरहेको छ ।”
संविधान र कानून बमोजिम आयोग आफ्नो कर्तव्य पालनामा प्रतिबद्ध रहेको बताउँदै तुलाधरले आयोगको काममा सरोकारवाला निकायको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । “स्थानीय तह निर्वाचनमा सरोकारवालाको भूमिकाले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि उत्तिकै सहयोगको अपेक्षा आयोगको छ,” उहाँले थप्नुभयो ।
मतदातालाई सचेत बनाउन तल्लो तहसम्म मतदाता शिक्षा सञ्चालन गरिएको र त्यसका लागि दल तथा उम्मेदवारहरूले सहयोग पुर्याउनुपर्ने उहाँको भनाई थियो ।
आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन लोकतन्त्रको आधुनिक जग भएको बताउँदै निर्वाचनको महत्वपूर्ण कडी आचारसंहिता भएको उल्लेख गर्नुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
