काठमाडौँका १० निर्वाचन क्षेत्रः नयाँ पात्रहरूका कारण हुनसक्छ कायाकल्प

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि  काठमाडौँको चुनावी मैदानमा देखिएकाले नयाँ नयाँ पात्रहरूका कारण यसपालीको नतिजा कायाकल्प हुनसक्ने आंकलन गर्न थालिएको छ।

२०७४ मा काठमाडौँ–१ बाट पूर्वमहामन्त्री प्रकाशमान सिंह, काठमाडौँ–४ बाट वर्तमान महामन्त्री गगन थापा, काठमाडौँ–६ बाट केन्द्रीय सदस्य भीमसेनदास प्रधान र काठमाडौँ–१० बाट केन्द्रीय सदस्य राजन केसीले जित्नुभएको थियो। २०७४ मा वाम गठबन्धन भएको अवस्थामा काठमाडौँ– १ र १० नम्बर माओवादीको भागमा परे पनि दुवै क्षेत्रमा पराजित भएको थियो। बाँकी क्षेत्र एमालेका भागमा परेका थिए। एमालेका तर्फबाट काठमाडौँ–२ बाट निर्वाचित माधव नेपाल र काठमाडौँ–८ बाट निर्वाचित जीवनराम श्रेष्ठ अहिले नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ। २०७४ मा एमालेले जितेको काठमाडौँ–३ बाट विजयी कृष्ण राई, काठमाडौँ–५ बाट विजयी ईश्वर पोखरेल, काठमाडौँ–७ बाट विजयी रामवीर मानन्धर र काठमाडौँ–९ बाट विजयी कृष्णगोपाल श्रेष्ठ भने एमालेमै हुनुहुन्छ।

काठमाडौँ एकमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनियुक्त उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, सुशासन पार्टीका रमेश खरेल चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ। यो क्षेत्रमा  काठमाडौँ महानगरपालिकाका १०, ११, २९ र ३१ वडाहरू समेटिएको छ। अहिलेको परिस्थिति हेर्दा रमेश खरेलको काभ्रे पुर्खौली थलो भएका मतदाताहरूमा केही प्रभाव देखिएको छ भने रवीन्द्र मिश्र राजावादीहरूको घेरामा सीमित देखिनुभएको छ। किरण पौडेलको साथमा एमाले सांगठनिक मत छ भने प्रकाशमान सिंह अरू भन्दा प्रभावकारी देखिनु भएको छ। कसलाई भोट हाल्ने भनेर अलमलमा बस्ने मतदाताको भोटमध्ये अधिकांश मत ‍अन्तिम समयमा पुकार बम, प्रकाशमान र रमेश खरेलबीचमा बाँडिने र किरणको पक्षमा एमालेको सांगठिनक भोट मात्र आउने भएकाले पनि प्रकाशमान सिंहका लागि जित अलि सहज भएको हो।

काठमाडौँ दुईमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती, एमालेका मणिराम फुयाँल, राप्रपाका कुन्तीदेवी पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम स्वतन्त्रबाट कोषराज सुवेदी र रोहन कार्की लगायत प्रतिनिधिसभा सदस्यमा प्रतिष्पर्धा गर्दैहुनुहुन्छ।

काठमाडौं महानगरपालिकाका ९ र ३२ तथा शंखरापुर नगरपालिकासँगै कागेश्वरी मनोहरा नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर वडा क्षेत्र नम्बर २ मा समेटिएका छन्। यो क्षेत्रको ग्रामीण भेगमा नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती, एमालेका मणिराम फुयाँल, राजावादी कुन्तीदेवी पोखरेलबीच प्रतिस्पर्धा देखिएको छ। तर पुराना पार्टीहरूको अकर्मणयताको प्रचार गरेर सहरी र अर्ध सहरी क्षेत्रका मतदाताका बीचमा सोविता गौतम लोकप्रिय हुन थाल्नुभएको छ। माओवादीलाई मतदान गर्न हात कमाउने कांग्रेसी मतदाता र नयाँ मतदाताहरूका कारण सोविता गौतम निकै अगाडि आउने देखिएको छ।

काठमाडौँ तीनमा सत्ता गठबन्धनबाट कांग्रेसका सन्तोष चालिसे, एमालेका कृष्णबहादुर राई, राप्रपाका गणेश गिरीलगायत उम्मेदवार हुनुहुन्छ।

काठमाडौं–३ मा काठमाडौं महानगरपालिकाको ६ नम्बर, कागेश्वरी मनोहरा नगरपालिकाका १, २, ३ र गोकर्णेश्वर नगरपालिकालाई समेटिएको छ। यो क्षेत्रमा कृष्णबहादुर राई र सन्तोष चालिसेबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ।  राप्रपाले यी दुईमध्ये कसको भोट बढी काट्छ त्यसले नै परिणाम निर्धारण गर्ने देखिन्छ। तर यस क्षेत्रमा बस्ने सिन्धुपाल्चोक पुर्खौली घर भएका मतदाताको रुझान सन्तोष चालिसेतिर भएकाले अन्त्यमा फाइदा कांग्रेसलाई पुग्ने देखिन्छ।

काठमाडौँ चारबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस महामन्त्री गगन थापा र एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईका बीचमा तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ। थापा र भट्टराईसँगै यो क्षेत्रबाट राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठ, स्वतन्त्रबाट अर्जुन प्रसाई, आकर्षण पोखरेल, राधा पोखरेल र शिवराज पोखरेललगायत भिडदैँ हुनुहुन्छ।

क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा समेटिइएको छ। बूढानीलकण्ठ क्षेत्रमा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा छ तर काठमाडौंमा भने कांग्रेसलाई अलि सहज छ। बूढानीलकण्ठ क्षेत्रमा माओवादी र एसका मतदाताले गगन थापालाई धेरै सान्त्वना दिन सक्छ। मुलत यस क्षेत्रमा रहेको राजावादीको भोट डा. ठाकुरमोहन श्रेष्ठको सट्टा राजन भट्टराईलाई गयो भनेचाहिँ गगनलाई अप्ठ्यारो अवस्था आउन सक्छ।

काठमाडौँ पाँचबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट प्रदीप पौडेल, एमालेका  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, राप्रपाका डा. रामप्रसाद उप्रेती, स्वतन्त्रहरू रञ्जु दर्शना, विजय कँडेल, गोपीलाल न्यौपाने, मधुसुदन पाठकलगायत उम्मेदवार हुनुहुन्छ। सामाजिक सञ्जालमा अत्यधिक खर्च गर्नु हुने श्री गुरुङ पनि यसै क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ।

पाँच नम्बर क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ५ बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ७   तथा टोखा नगरपालिकाका वडा नम्बर २, ३, ४, ५, ६ र ७ समेटिएको छ।

यहाँ मुख्य प्रतिस्पर्धा प्रदीप र ईश्वर बीचमा नै छ। कांग्रेसका उम्मेदवार प्रदीप बुद्धिजिवि हुनका साथै सधै युवाहरूको आवाजको प्रतिबिम्बित गर्ने भएकाले ईश्वरका तुलनामा लोकप्रीय बन्दै जानु भएको छ। यसपाली स्वतन्त्र रूपमा उठनु भएकी रञ्जु दर्शना खासै तरङ्ग ल्याउन सक्नु भएको छैन। त्यसैले पनि अघिल्लो चुनावमा तेस्रो हुनुभएका विवेशशील साझाका उम्मेदवार स्वर्गीय उज्वलबहादुर थापाले ल्याउनु भएको ६ हजार ८५३ मत व्यक्तित्वका कारण प्रदीपतिर मोडिएमा कांग्रेसलाई फाइदा हुने देखिन्छ।

काठमाडौँ छबाट कांग्रेसका भीमसेनदास प्रधान, एमालेका सर्वेन्द्र खनाल, राप्रपाका विष्णुप्रसाद आचार्य, शिशिर खनाल प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ।

काठमाडौं–६ मा काठमाडौं महानगरपालिका २६, २७ र २८ नम्बर वडाहरू, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नं. वडाहरू तथा  टोखाका १, ८, ९, १० र ११ नम्बर वडाहरू समेटिएको छ।

कांग्रेसका भीमसेनदास प्रधान पूर्वरक्षामन्त्री हुनुहुन्छ भने एमालेका सर्वेन्द्र खनाल नेपाल प्रहरीको पूर्व प्रमुख। शिशिर खनालचाहिँ शैक्षिक अभियन्ता, उद्यमी र सार्वजनिक नीतिको विशेषज्ञ हुनुहुन्छ। नेपालको शैक्षिक क्षेत्रमा सबैभन्दा प्रभावकारी काम गर्न सफल ‘टिच फर नेपाल’ को स्थापना र नेतृत्व गरी सरकारी विद्यालयमा अध्ययन गर्ने ५० हजार भन्दा बढी विद्यार्थीमा गुणस्तरीय शिक्षाको पहुँच पुर्‍याउन सफल हुनुको पछाडि शिशिर खनालको उल्लेख्य भूमिका रहेको छ। त्यसैले पनि यो क्षेत्रमा शिशिर लोकप्रिय हुनुहुन्छ र यहाँ मुख्य प्रतिस्पर्धा शिशिर र  भीमसेनदास प्रधानका बीचमा हुँदैछ।

काठमाडौँ सातमा सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई उठाएको छ भने एमालेले श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ। यस्तै राप्रपाबाट ध्रुवविक्रम मल्ल, स्वतन्त्रबाट यादवलाल कायस्थ र रवीन्द्रकुमार श्रेष्ठलगायत उम्मेदवार हुनुहुन्छ।

काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ नम्बर वडा, नागार्जुन नगरपालिकाका १, २ र ३ वडा तथा तारकेश्वर नगरपाकिलाकाका ३, ४ र ५ नम्बर वडा समेटेर निर्वाचन क्षेत्र नम्बर ७ मा बनेको छ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–७ बाट विजयी हुनुभएका एमाले नेता रामवीर मानन्धरको असहयोग भएका कारण एमालेका श्याम घिमिरेलाई निकै अप्ठयारो छ। त्यसैले पनि मानुषीका लागि स्थीति सहज बन्दै गएको देखिन्छ।

काठमाडौँ आठमा  सत्ता गठबन्धनका तर्फबाट साविक विजेता एकीकृत समाजवादीका नेता  जीवनराम श्रेष्ठ, नेकपा (एमाले)का शिवसुन्दर राजवैद्य, हाम्रो नेपाली पार्टीका सुमन सायमी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठबीच प्रतिस्पर्धा छ।

काठमाडौं–८ मा महानगरका १३, १५, १९, २०, २३ र २४ नम्बर वडाहरू  तथा नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडालाई समेटिएको छ। यो क्षेत्रमा विवेकशिल पार्टीमा बसेर पहिला गरेका काम तथा बागमती प्रदेशसभामा देखाएको भूमिकाका आधारमा  विराजभक्त श्रेष्ठ निकै लोकप्रिय हुनुहुन्छ र अगाडि पनि बढिरहनु भएको छ। जीवनरामको व्यवहारबाट असन्तुष्ट कांग्रेसीहरूको मत पनि विराजभक्तकै पक्षमा जाने देखिन्छ।

काठमाडौँ नौमा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेतृ कल्पना धमला, एमाले नेता कृष्णगोपाल श्रेष्ठ, राप्रपाका देवेन्द्र प्रधान, विवेकशील साझाका पूर्वअध्यक्ष मिलन पाण्डे, स्वतन्त्र विद्या श्रेष्ठ महर्जनलगायतको उम्मेदवारी परेको छ।

निर्वाचन क्षेत्र नं. ९ मा काठमाडौं महानगरपालिकाका वडा नं. १२, १४, २१ र २२, चन्द्रगिरि नगरपालिकाका वडा नं. १, १२, १३, १४ र १५ तथा नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडाहरू समेटिएको छ।

यसो हेर्दा कल्पना धमला र कृष्णगोपाल श्रेष्ठबीच प्रतिस्पर्धा देखिए पनि मिलन पाण्डेले भित्रभित्र लोकप्रिय हुँदै गएका छन्। कांग्रेसको उम्मेदवार नभएकाले उनीहरूको मत मिलनको पक्षमा जाने देखिन्छ भने कल्पनाको डा. बाबुराम भट्टराईसँगको निकटताका कारण कट्टर माओवादीको भोट पनि मिलनको पक्षमा जाने देखिन्छ। त्यसमाथि पुराना राजनीतिक खेलाडी कृष्णगोपालको लोकप्रियता पनि घटेको छ।

काठमाडौँ दशबाट यस अघिका सांसद् तथा कांग्रेसका नेता राजन केसी,  माओवादी केन्द्रबाट अंजना विशंखे, एमालेले नेता हिमेश केसी तथा राप्रपा नेता बलराम थापा उम्मेदवार हुनुहुन्छ।

काठमाडौं–१० मा चन्द्रागिरी नगरपालिकाका २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकाको भूगोल समेटिएको छ।

राजन केसीको लोकप्रिय नामले चिनिनु हुने कांग्रेसका नेता राजेन्द्रकुमार केसीले प्रचण्डलाई हराएर परम्परागत कम्युनिष्ट पकड क्षेत्रमा कांग्रेसलाई लोकप्रिय बनाउनु भएकाले पनि उहाँले तेस्रो पटक चुनाव जित्नुभएमा कुनै आश्चर्य हुने छैन। त्यसमाथि यतिबेला कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरी नगरपालिकाका मेयरहरू कांग्रेसकै रहेकाले पनि केसीको अवस्था सहज देखिएको हो। तर महिला तथा दलित मतदाताका बीचमा अंजना विशंखे निकै लोकप्रिय हुनुहुन्छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link