डिमेन्सिया बिरामीको दुस्वप्न

डिमेन्सिया (विस्मृति) का विरामीहरूको सुधार गर्ने काममा कोभिड १९ महामारीले पुर्‍याएको दीर्घकालीन क्षति

लण्डन बस्ने डायने इभान्स (परिवर्तित नाम) हरेक दिन ८५ वर्षीय आमालाई फोन गर्छिन्। उनकी आमा वेल्समा बस्छिन्। उनी आमालाई हरेक दिन सोध्छिन्, ‘आफ्नो हात नियमित रुपले धुन र अन्य व्यक्तिहरूसँग शारीरिक दूरी (सोसल डिस्ट्यान्स) कायम गर्न सम्झिरहनुभएको छ ?’ यो प्रश्नले उनकी आमा सधैं अलमलिन्छन्।

कोरोनो भाइरस महामारीका वेलामा हरेक दिन जीवनका सत्यहरू उत्साहहीन भएर झिँझोलाग्दो गरी त्यसैगरी बारम्बार सम्झाइ राखिएको हुन्छ। सुश्री इभान्स आमालाई कोभिड १९ भाइरस संक्रमण होलाकी भनेर हरेक दिन चिन्ता गर्छिन्।

उनकी आमाको अवस्था पहिलेदेखि नै खराब हुँदै गएकोमा मात्र होइन, उनले सामाजिक सम्पर्क र उनको जीवनलाई सहज बनाउन सहयोग गर्ने दिनचर्‍याहरू पनि बिर्संदै गएको हुनाले पनि उनी चिन्तित छिन्।

उनकी आमालाई डिमेन्सिया अर्थात् विस्मृतिको समस्या छ। यो एउटा गम्भीर र असाध्य अवस्था हो। शायद यसले ८ लाख ५० हजार बेलायती र विश्वका ५ करोड (५० मि) मानिसहरूलाई प्रभावित गरेको छ। यसका कारणहरू धेरै छन्, र गम्भीरताको दायरा पनि बृहत् छ।

शुरुशुरुमा बोधक्षमता ह्रास हुँदै जान्छ। बिर्सिन थाल्छ, कहिलेकाहिँ असामान्य क्षण पनि आउँछ। यो बढ्दै गएपछि यसले मानसिक चुस्तता र सम्झने क्षमतामा आक्रमण गर्न थाल्छ।

अन्ततः यसले व्यक्तिलाई शारीरिक रुपले सक्षम भए पनि आफ्नै स्याहारसम्भार गर्न नसक्ने बनाइदिन्छ। उनीहरूले पढ्ने, खाना पकाउने र किनमेल गर्ने क्षमता पनि गुमाउँछन्।

उनीहरूले पानी पिउन बिर्सिएर शरीरमा पानीको मात्रा घट्न सक्छ र संयमहीन हुन पनि सक्छन्। उनीहरू कहिलेकाहिँ भ्रममा पर्छन्, डराउँछन् र रिसाउँछन् पनि। सामान्यत उदास भएर बस्छन्। जागै भएका वेला उनीहरूलाई हेरचाह गर्नु आवश्यक हुन्छ र सुतेका वेला पनि विचार गरिरहनुपर्छ।

विस्मृतिका विभिन्न चरणमा रहेका हरेकलाई भाइरसबाट विशेष खतरा हुन्छ। त्यो सुरक्षा सतर्कता सम्झन वा चुनौती पहिचान गर्न नसकेका कारणले मात्र त्यस्तो भएको होइन।

उनीहरू अन्य खालका जोखिममा रहेका पनि हुनसक्छन्। विस्मृति मुख्यतः वृद्ध हुनुको मुख्य लक्षण हो भन्ने स्पष्ट छ र त्यो उमेर समूहलाई कोभिड १९ सबैभन्दा घातक हुने संभावना रहन्छ।

डिमेन्सिया भएकाहरू मध्ये केहीलाई वयस्क हुँदै लक्षणहरू विकसित भइसकेको हुन्छ। उमेर बढ्दै गएपछि अझ फैलिन्छ भन्ने शंकासमेत कसैले गर्दैन।

केही सर्वेक्षणहरूले ६५ देखि ६९ वर्षका २ प्रतिशतलाई डिमेन्सिया छ र यसको व्यापकता हरेक ५ वर्षमा दोब्बर हुँदै जान्छ। ९० वर्षसम्म यो क्रम चलिरहन्छ भन्ने देखाएको छ। त्यस्तै अर्को सर्वेक्षणले ८५ वर्ष उमेरका लगभग ३.५ प्रतिशतलाई डिमेन्सिया छ भनेर धेरैले उद्धृत गरेका छन्।

यस्तो अवस्था हुनुका विभिन्न कारणहरू छन्। धेरै देखिने चाहिँ अल्जाइमर्स रोग हो। यो ६० देखि ८० प्रतिशतसम्म छ तर यो दर्जनभन्दा बढी प्रकारको हुन्छ।

र जुनसुकै खालका स्वास्थ्य अवस्थामा रहेका सबै मानिसमा डिमेन्सिया विकास हुनसक्छ। यो मानिसहरूलाई संक्रमणको जोखिममा पार्ने अन्य अवस्थाहरूसँग पनि सम्बन्धित रहेको देखिन्छ। शरीरको तौल अधिक भएका, अवसादमा रहेका, धूमपान गर्ने, उच्च रक्तचाप वा मधुमेह र व्यायाम नगर्नेहरूलाई डिमेन्सिया हुने जोखिम बढी रहन्छ। साथै शारीरिक कमजोरी पनि देखिन्छ।

डिमेन्सिया पीडित मानिसको हेरचाह गर्नुभनेको एकहातले काम गर्नु वा कठिन श्रम गर्नु जस्तै हो। घरमा बस्नेहरूले सामाजिक दुरीसम्बन्धी दिशानिर्देशहरू पालन गर्ने हो भने यो लगभग असम्भव हुनसक्छ। सामान्य हेरचाह पद्धति– दिनहुँ आउने आगन्तुक र दिवा स्याहार केन्द्रहरू– उपलब्ध नहुन सक्छ।

अलिकति मदत प्रविधिले गर्न सक्छ। उदाहरणका लागि सिंगापुरले केही सार्वजनिक आवास ब्लकहरूमा एउटा प्रणाली प्रयोग गरेको छ जसले छिमेकी वा परिवारका सदस्यहरूलाई संवेदनशील सतर्कता सूचना पठाउँछ। जस्तो हातधुने बेसिनको धारा निकैवेरसम्म खुलै रह्यो भने त्यो प्रणालीले तुरुन्त सन्देश पठाइदिन्छ।

इम्पेरियल कलेज लण्डनमा रहेको युके डिमेन्सिया रिसर्च इन्स्टिच्युट्सको केयर रिसर्च एण्ड टेक्नोलोजी सेन्टरका अनुसन्धानकर्ताहरूले यसलाई थप सुधार गर्न काम गरिरहेका छन्।

डिमेन्सियाका बिरामी भएका घरमा इन्फ्रा–रेड र राडार सेन्सरहरू जडान गरिएका छन्। तिनले बिरामीले लगाएका घडी, श्रवणयन्त्र, ब्रेन–स्क्यानरजस्ता उपकरणहरूमार्फत संकट सुरु हुनु अघि नै सतर्कता संकेत दिँदै तथ्यांक उपलब्ध गराउन थाल्छन्।

त्यतिमात्र होइन विस्मृति समस्या भएकाहरूका लागि एप्लिकेशनहरू पनि छन्। जस्तै हाउ डु आई भन्ने प्राविधिक कम्पनीले बनाएको रिफ्रेश प्लेयर र रिफ्रेस स्टुडियो आदि। ती एप्लिकेशनले पर्सनलाइज्ड मेमोरीलाई सपोर्ट गर्छन्। त्यसमा दैनिक कार्यहरू कसरी गर्ने भनेर सिकाउने भिडियोहरू पनि पर्छन्। जस्तै नुहाउनु, कित्लीमा पानी उमाल्नु आदि

वृद्धहरूको स्याहार गर्ने रोबोटिक बनाउन जापानले नेतृत्व गर्दै आएको छ। उदाहरणका लागि पारो भनिने खेलौनालाई लिन सकिन्छ। मुलायम भुवा भएको हेर्दा प्रियदेखिने यो जनावर लाई थेरापी एनिमलका रुपमा प्रयोग गरिन्छ। त्यस्तै गेम खेल्ने, केटाकेटीले जस्तो कुरा गर्ने र व्यायामका विभिन्न अवस्थिति प्रस्तुत गर्ने र हेर्दा पनि मानिसजस्तै देखिने रोबोटहरू सयकडौं स्याहार केन्द्रमा तैनात गरिएका छन्।

तर संसारका धेरै भागका अधिकांश मानिसका लागि, डिमेन्सियाका बिरामी र उनीहरूका हेरचाहकर्ताहरूलाई गर्न सकिने सबैभन्दा राम्रो प्रयास भनेको ढोकामा दैनिक ढकढक्याउनु र सुश्री इभान्सले जस्तै फोन गर्न वा सम्झाउन केही लेखेर ‘पोस्ट इट नोट्स’ छाड्न सकिन्छ। जस्तो तपाइँको हात धुने वेला भयो, सुत्ने वेला भयो आदि।

शारीरिक रुपमा स्वस्थ भइन्जेल डिमेन्सियाका बिरामीलाई हेरचाह गृहमा पठाउने सम्बन्धमा विचार गर्ने समय अब छैन। धेरैले एक्ल्याएर राख्ने नीति कडाइका साथ लागू गरेका छन्, त्यहाँ कसैलाई जाने अनुमति नै दिइँदैन। धेरैले कोभिड १९ को संक्रमण प्रकोप देखेका छन्।

लण्डन स्कूल अफ इकोनोमिक्सका शिक्षाविद्हरूले गरेको एउटा अध्ययन अनुसार धेरै युरोपेली देशहरूमा कोभिड १९ को संक्रमणका कारण भएका करिब आधाजति मृत्यु हेरचाह केन्द्रहरूमै भएको छ।

डिमेन्सियाका बिरामीलाई हेरचाह गर्ने मानिसहरू संक्रमित हुनु दुर्भाग्यपूर्ण हो। उनीहरू अस्पतालमा भर्ति हुन आउँछन्, जुन उनीहरूको आरोपका लागि अन्तिम उपाय हो।

अल्जाइमर्स डिजिज इन्टरनेशनल डिमेन्सियाका बिरामीका बारेमा वकालत गर्ने समूह हो। समूहले यसै महिना प्रस्तुत गरेको परिस्थितिपत्रमार्फत “८० वर्ष भन्दा बढीका मानिसहरू जो अन्य रोगसँग पनि लडिरहेका छन्, र कोभिड १९ संक्रमण भएर अस्पताल भर्ना हुनु पर्ने अवस्था छ उनीहरूलाई फाइदा हुने संभावना कमै हुन्छ किनभने ती सबै जोखिममा हुन्छन्।”

अनुभवले अलमलमा पार्न र द्विविधा बढाउँदै लान सक्छ। पीडा र दिग्भ्रमित हुने स्थिति आउन सक्छ। “धेरैजसो मानिसका लागि यो भयावह नै हुनेछ” गिल लिभिङस्टोन (लण्डन विश्वविद्यालयमा वृद्ध मानिसको मनोरोग सम्बन्धी प्राध्यापक) भन्छन् “तर उनीहरूका लागि अझै डरलाग्दो हुनेछ।”

त्यहाँ अर्को पनि डर हुन्छ, जब ट्रायेज ( सिकिस्त बिरामीहरूलाई वर्गीकरण गर्ने विधि) को कुरा आउँछ तब अत्यावश्यक चिकित्सकीय उपचार र सुविधा पाउनेहरूमा डिमेन्सिया युक्त बृद्ध रोगीको पालो अन्तिममा आउँछ। जुन बिरामीको गुणस्तरीय जीवनयापन र कमजोरीको सन्दर्भमा सन्देहपूर्ण धारणामा आधारित हुन्छ।

अल्पकालिक खतराहरूका अतिरिक्त भाइरसले डिमेन्सियासँग सामना गरिरहेकाहरूलाई पनि गुटमुट्यायो। त्यहाँ अर्को डर भनेको त्यस्तो अवस्थामा रहेकाहरूलाई यसले दीर्घकालिक क्षति पुर्‍याउन सक्छ कि भन्ने हो।

त्यसको एउटा कारण धेरै शारीरिक रोगहरूसँग  जोडिन्छः आपतकालका दौरान धेरै मानिसहरू संक्रमण हुने डरले वा स्वास्थ्य सेवा सम्बन्धी स्रोतहरू अरुलाई तत्काल आवश्यक भएको हुन सक्छ भनेर सहयोग माग्न सावधान भएका हुन्छन्।

प्रोफेसर लिभिङस्टोन भन्छिन्, आफूले काम गर्ने “मेमोरी क्लिनिक” बन्द गर्ने निर्णय गरिएछ किनभने डाक्टरहरूले “निदान नभई छोटो अवधिको लागि मानिसहरू भेट्नु बढी जोखिमपूर्ण छ” भन्ने निष्कर्ष निकालेका रहेछन्।

तर डिमेन्सिया निदान नगरी बसेकाहरूलाई जति ढिलो गर्यो त्यति धेरै खतरा हुन्छ। अरुले बिर्सिएर त्यस्तो गरेको भनिरहेका छन् भने उनीहरूले आगो सल्काइरहेका हुनसक्छन्। जस्तो उनीहरूले सवारी चलाइरहेका हुनसक्छन्, जबकि उनीहरू सुरक्षित तवरले त्यस्तो काम गर्नै सक्दैनन्।

डिमेन्सिया सम्बन्धी वैज्ञानिक अनुसन्धानलाई पनि महामारीले बाधा पुर्‍याएको छ। मानिसको जिउने तरिकाले उसको संज्ञानात्मक प्रक्रियालाई सुस्त गराउँदै वा पक्रँदै परिवर्तन गर्छ भन्ने विषयमा नवप्रवर्तनकारी अध्ययन गरिरहेकी  फिनल्यान्डकी स्नायू वैज्ञानिक ‘मिया किविपेल्टो’ ले आफ्ना अध्ययनका अनुगमनमूलक पछिल्ला  अनुसन्धान रोक्नु परेको छ। स्वएकान्तवास (सेल्फ आइसोलेसन) को परिस्थितिले यस्तो अध्ययन असम्भव बनाइदिएको छ।

यसैगरी अमेरिकी फर्मास्युटिकल कम्पनी, बायोजेनले अल्जाइमरको संभावित उपचार एडुकानुमावको उपयोग गर्ने अनुमति प्राप्त गर्न पर्खिनु परेको छ। क्लिनिकल परीक्षणहरूको सञ्चालनमा कठिनाई भोगे बाहेक कम्पनीले कोभिड १९ महामारीको पनि सामना गर्नुपर्यो। अल्जाइमर रोगको उपचारका लागि तयार गरिएका धेरै औषधिहरू विफल भइसकेका छन् र यसबारेमा आशावादी हुनु नै उत्तम सावधानी थियो। तर रोगबाट पीडितहरूमध्ये केहीका लागि यो लामो सुरुङको अन्त्यमा देखिने उज्यालोको किरण थियो।

कोभिड १९ भन्दा अघि डिमेन्सिया अनुसन्धान र हेरचाह गर्ने अभियानकर्ताहरू आफूहरूले प्रगति गरिरहेका छौं भन्ने विश्वास गर्थे। डिमेन्सिया बुढेसकालको अपरिहार्य विशेषता होइन भन्ने तर्क उनीहरूको थियो तर अशक्ततालाई यसैगरी उपचार गर्नुपर्छ भन्ने सर्वत्र स्वीकार गरिएको थियो।

त्यसैले उनीहरूको एउटा मामिला डिमेन्सियाले एउटा वास्तविक र विश्वव्यापी संकटको प्रतिनिधित्व गर्छ भन्ने थियो। प्रतिव्यक्ति औषत आयु (लाइफ एक्सपेक्टेन्सी) बढ्दै गएपछि विशेष गरी विकासोन्मुख देशहरूमा त्यस्तो अवस्थाका मानिसहरूको संख्या बढ्दै जान्छ र विश्वमा सन् २०३० सम्ममा ८ करोड (८० मिलियन) र २०५० सम्ममा १ अर्ब ५० करोड (१५० मिलियन) पुग्ने छ।

जसरी जनसंख्या वृद्धि सुस्त हुन्छ त्यसैगरी उनीहरूलाई हेरचाह गर्ने मानिसहरूको कमी हुने छ। अहिलेसम्म कुनै पनि देशले यो समस्यासँग जुध्न वा यति ठूलो संख्याका मानिसहरूलाई हेरचाह गर्न आवश्यक एउटा राम्रो योजना तयार गरेका छैनन्।

आशावादीहरूले वर्तमान महामारीतिर इशारा गर्दै संकटको गहिराइले कति गर्न सकिन्छ भनेर  देखाउँछ भन्ने तर्क गर्छन्।  सायद अझै वास्तविक रुपमा यसले डिमेन्सियाको लागि विश्वव्यापी प्राथमिकताहरूको सूची तल झर्ने अर्को कारण दिएको छ।

आवरणः सांकेतिक तस्बिर, एक नेपाली वृद्धा तस्बिरः राजेश घिमिरे

(द इकोनोमिस्टमा प्रकाशित सामग्रीको टी एन घिमिरेले गर्नुभएको भावानुवाद)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
डिमेन्सिया बिरामीको दुस्वप्न
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link