व्यापार घाटा तीब्र वृद्धिको एउटा कारण: वैदेशिक रोजगारी

विश्व बैंकले आर्थिक विकासमा विप्रेषणको प्रमुख योगदानलाई यसको आप्रवाह, गरिबी निवारण र मानव विकास, प्रतिभा पलायन र सीपको गतिशीलता र समष्टिगत आर्थिक प्रभाव (म्याक्रोइकोनोमिक्स इफेक्ट) जस्ता पक्षहरू समेटेर वर्णन गर्ने गर्छ। यस अनुसार विप्रेषणले गरिबी र यसको खाडल घटाउन ठूलो सहयोग गर्छ। जस्तो १० प्रतिशत प्रतिव्यक्ति विप्रेषण बढेमा ३.५ प्रतिशत गरिबहरू गरिबीको रेखामाथि पुग्छन्। फिलिपिन्समा १० प्रतिशत विप्रेषण बढ्दा २.८ प्रतिशतको गरिबी घटेको उदाहरण छ। समष्टिगतरूपमा अर्थव्यवस्थामा पर्ने प्रभाव पनि यसको राम्रो छ। वित्तीय क्षेत्रको विकास हुने, विदेशी विनिमयदरमा यसको असर हुने र व्यापारचक्रमा समेत यसको सम्बन्ध रहन्छ। किनकी यसले उपभोगमा उल्लेख्य रूपमा वृद्धि ल्याउँछ।

विप्रेषणको अध्ययनमा थप एक अर्को विषय पनि ध्यानयोग्य छ।विप्रेषणले आयात बढाउछ।यहाँ उत्पादन नहुँदा विप्रेषणमा आश्रित श्रमिकका परिवारलाई आयातमा भर पर्नुपर्छ।पाकिस्तानमा खान, खटक, वक्तर, नवाव, रहिम र अलिले गरेको अध्ययन (२००७) अनुसार एक रूपैंया थप विप्रेषण भित्रिदा १६ पैसा बराबरको आयात वृद्धि हुने देखाएको छ।लगभग यस्तै अवस्था भएकाले नेपालमा पनि सोही हाराहारीमा आयात बढ्ने देखिन्छ।स्मरणीय के छ भने विप्रेषण अर्थव्यवस्थाको ‘इन्जेक्सन’ हो भने आयात चाहिँ ‘लिकेज’ हो।सार्वजनिक नीति तर्जुमा गर्दा यी विषयहरू ध्यान योग्य हुन्छन्।

त्यस्तै अर्को खान, रहिम, बक्तर र नवावको अध्ययन (२००७) अनुसार विप्रेषणले पाकिस्तानमा निजी उपभोगमा निकै ठूलो वृद्धि गरेको पाइएको छ।उनीहरूले गरेको तथ्यांकीय विश्लेषण अनुसार एक रूपैयाँ बराबरको विप्रेषण बढ्दा ८४ पैसाले निजी उपभोग बढेको देखाएको छ।नेपालको अवस्था पनि लगभग यस्तै छ।वैदेशिक रोजगार नीति पुनरावलोकनमा यी पक्षहरूलाई पनि ध्यान दिनु जरूरी छ।

स्मरणीय के छ भने श्रम आप्रवासन र विप्रेषण देशको विकासका लागि सहयोगी भए पनि प्रतिस्थापक भने होइनन् (माइग्रेसन एण्ड रेमिट्यान्सेज क्यान बी युज्ड टु फिउल डेभलोपमेन्ट, बट सुड नट बी सीन एज अ सब्सिच्युट फर डेभलपमेन्ट)।तसर्थ दीर्घकालमा आफ्नै देशको विकास नगरी सुखै छैन।अरूको देश बनाएर हाम्रो देश विकास हुन सक्दैन।

अर्थशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्दा यो पनि भन्न सकिन्छ की विप्रेषण आप्रवाहले देशको विनिमय दरलाई अधिमूल्यांकित गरिदिन्छ र निर्यात असहज हुन्छ भने आयात सस्तो विनिमय दरकै कारणले आयात बढ्ने तर निर्यातमा असहज हुँदा व्यापार घाटामा तीब्र वृद्धि हुन्छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (२०१६) का अनुसार ठूलो मात्रामा विप्रेषण आप्रवाह भएमा मौद्रिक नीति कार्यान्वयनमा समेत समस्या आउँछ भन्ने छ। ठूलो मात्रामा विप्रेषण भित्र्याउने सरकारले विप्रेषणमा रमाएर देशको चीरस्थायी विकासमा कम ध्यान दिएको देखिन्छ। यसले देशको दीर्घकालीन विकासमा रोकावट ल्याउँछ।यस अलावा अरू धेरै असरहरू पनि छन्।वैदेशिक रोजगार नीति निर्माण र पुनरावलोकनमा सहयोग पुगोस् भनेर निम्न बुँदाहरू मात्र यहाँ उल्लेख गरिएको छ।विश्वबैंकका अनुसार यसका अन्य असरहरू निम्न हुन्छन्:

  • स्रोत हो तर दिगो होइन (घोस्ट-टाउन फेनोमेनोन): विप्रेषण दिगो आयस्रोत होइन। एक्कासी विप्रेषण घटेमा यसमा आधारित अर्थव्यवस्था धारासायी नै हुन्छ।स्थानीय समुदायका व्यक्तिहरू सो ठाउँ र गाउँ नै छोडेर हिँड्छन्।र त्यो ठाउँ भूतको गाउँको रूपमा परिणत हुन्छ।विप्रेषणको प्रवाह घट्ने बित्तिकै स्थानीय अर्थव्यवस्था पनि धारासाही हुन्छ। सेन्ट्रल मेक्सिकोमा यो समस्या देखिएको छ।
  • मेहनत नगरी प्राप्त भएको पैसो बचत नगर्ने प्रवृत्ती (इजिमनी: नो सेभिङ फेनोमेनोन) विप्रेषण प्राप्त गर्ने घर परिवारले सजिलोसँग कमाइ आएको पैसा ठानी जथाभावी खर्च गर्ने गर्छन्।यसले बचत निरूत्साहन गर्छ।विश्व बैंकको अध्ययन अनुसार मेक्सिकोमा केवल १० प्रतिशत मात्र बचत गर्ने र लगानी गर्ने गरिएको पाइएको छ।नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार नेपालमा केवल २ प्रतिशत जति विप्रेषणमात्र पुँजी निर्माणमा जाने गरेको पाइन्छ।
  • घरपरिवारमा काम नगर्ने प्रवृत्ति बढ्ने (लिटिल वर्क सिन्ड्रोम लिड्स टु बिहेभिअरल चेन्ज): विप्रेषणले सो प्राप्त गर्ने घरपरिवारको व्यवहारमा परिवर्तन ल्याइदिन्छ।सजिलैसँग पैसा आएको अनुभूत गरी काम नगर्न प्रेरित गर्छ।यसले सामाजिक लागत पनि बढाउँछ।साथै श्रम आपूर्ति घटाउछ।नेपालमा गाउँमा कामगर्ने लोग्ने मान्छे नै नपाउनुको कारण वैदेशीक रोजगार हो भनिन्छ।यसले ज्यालादर बढाएको छ।
  • प्रतिभा पलायन (ब्रेन ड्रेन): महत्वपूर्ण मानवीय स्रोत साधन विदेशमा पलायन भएर जान्छ।देश विकासको लागि प्रयोग हुनुपर्ने मानवीय साधन अन्यन्त्र जान्छ।आफ्नो देश विकासबाट सधैं विमुख हुन्छ।
  • काम नगर्ने प्रवृत्ति बढ्ने (मोरल हजार्ड प्रब्लम): विप्रेषण प्राप्त गर्ने परिवारले केही काम नगर्दा उत्पादकत्व घट्न पुग्छ।सजिलै आएको पैसा ठानेर धर परिवारले आवश्यकता भन्दा बढी खर्च गर्छन्।

तेस्रो नेपाल लिभिङ स्ट्याण्डर्ड सर्वे (NLSS) 2010/11 का अनुसार विप्रेषणबाट गरिबी घटेको उल्लेख थियो।यस अध्ययनले करिब ३ प्रतिशत विप्रेषणमात्र पुँजी निर्माणमा प्रयोग हुने बताएको थियो।नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार (२००२) पनि यस्तै निष्कर्ष आएको थियो।

हरेक वर्ष जुन १६ को दिनलाई इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्स (IDFR) भनी मनाइने पनि  गरिन्छ।यसले विप्रेषणको भूमिका कति हुनेरहेछ भनेर देखाउँछ। इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट – IFAD(2021) का अनुसार विगत २० वर्षमा विश्वमा विप्रेषण २० गुणाले बढेको, विप्रेषणबाट विश्वका एक अर्ब जनताहरू (पठाउने र पाउने दुवै पक्ष गरी) लभान्वित हुने गरेको, विश्वका ७० देशहरूको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको अंश ४ प्रतिशत भन्दा बढी रहेको, कामदारले पठाउने विप्रेषण रकम औसतमा केवल कमाएको रकमको १५ प्रतिशत मात्र रहने गरेको र बाँकी पैसा काम गर्ने देश (होस्ट कन्ट्री) मा नै रहने गरेको, डिजिटाइजेसन (अनलाइन र मोबाइल) ले विप्रेषण पठाउन सहयोगी भूमिका  (क्याटालिस्ट रोल) खेलेको, ५० प्रतिशत भन्दा बढी विप्रेषण रकम ग्रामीण र दुर्गम क्षेत्रमा जाने गरेको, औषतमा विप्रेषणको करिब ७५ प्रतिशत रकम खाना, वास, शिक्षा र स्वास्थ्य तथा उपचारमा खर्च हुने गरेकोले आर्थिक रूपान्तरणमा केवल २५ प्रतिशत मात्र खर्च हुने गरेको जस्ता महत्वपूर्ण तथ्यांकहरू सार्वजनिक गरेको छ।

विश्वमा हाल औषतमा विप्रेषण पठाउन महँगो हुने गरेको छ।IFAD कै अनुसार यसमा मुद्रा परिवर्तन (करेन्सी कन्भर्सन्स) गरी पठाउनुपर्ने र पठाउदा लाग्ने चार्ज (ट्रान्सफर फी /कस्ट) करिब ७ प्रतिशतसम्म रहेकोले यसलाई घटाउनुपर्ने भएको छ।दीगो विकासका लक्ष्यहरूमध्ये लक्ष्य नं. १० सी ले सन् २०३० सम्म  यो घटाएर ३ प्रतिशतको हाराहारीमा ल्याउने कुरा गरेको छ।दिगो विकासका लक्ष्यहरू हासिल गर्न पनि विप्रेषणले निकै ठूलो योगदान दिने अपेक्षा गरिएको छ।दिगो विकासका लक्ष्यहरू मध्ये लक्ष्य नं. एक गरिबीको अन्त्य, लक्ष्य नं. दुई भोकमरीको अन्त्य, लक्ष्य नं. तीन स्वस्थ र समुन्नत समाज, लक्ष्य नं. चार गुणस्तरीय शिक्षा,  लक्ष्य नं. छ स्वच्छ पानी र सरसफाइ, लक्ष्य नं. आठ मर्यादित रोजगारी तथा आर्थिक वृद्धि र लक्ष्य नं. दश असमानता न्युनीकरण हासिल गर्नमा विप्रेषणको भूमिका निकै ठूलो हुने विश्वास गरिएकोछ।

सन् २०१९ मा संयुक्त राष्ट्र संघले पारित गरेको प्रस्ताव ‘ग्लोबल कम्प्याक्ट फर सेफ, अर्डरली एण्ड रेगुलर माइग्रेसन’ मा पनि यसलाई जोडतोडले उठाइएको पाइन्छ। संयुक्त राष्ट्र संघको साधारण सभाले ११ जनवरी २०१९ मा पारित गरेको रिजोलुसनका २३ वटा उद्देश्यहरू मध्ये उद्देश्य नं. २० ले विप्रेषणको शुल्क घटाउने  र वित्तीय समावेशीकरणमा जोड दिने बताएकोछ।

वैदेशिक रोजगारले मौद्रिक विप्रेषण मात्र होइन कि सामाजिक विप्रेषण पनि भित्र्याउने गर्छ भनिन्छ (टुसियो र अन्य तथा लेभिट, १९९८) वैदेशिक रोजगारमा जानेले विचार, व्यवहार, पहिचान र सामाजिक पुँजी जस्ता कुराहरू पनि साथै ल्याउँछन्।सामाजिक विप्रेषणमा नव प्रवर्तनीय (इनोभेटिभ) विचारहरू, महत्वपूर्ण रूपान्तरणकारी सञ्जालहरू, ज्ञान, राजनैतिक मूल्य मान्यता, नीतिगत सुधार र नयाँ प्रविधिगत सीपहरू जस्ता विषयहरू पनि हुन्छन्।

डोनोभान, लु र टोड (२०२०) को अध्ययन अनुसार अन्तर्राष्ट्रिय श्रम बजारमा केही गतिशिलता (dynamics) हरू देखिएका छन्।उनीहरूका अनुसार श्रम बजार प्रवाह जसमा तीनवटा चरहरू राखेर हेरिन्छन् (जब फाइण्डिङ रेट्स, इम्पलोयमेन्ट एक्जिट रेट्स एण्ड जब टु जब ट्रान्जिसन रेट्स), धनी देशहरूको तुलनामा गरिब देशहरूमा २ देखि ३ गुणासम्म बढी हुन्छ।उनीहरूका अनुसार गरिब देशमा ज्याला र कार्यअवधि  (वेज टेनियोर प्रोफाइल) बीच सकारात्मक र द्रुतगतिमा बढ्ने सम्बन्ध रहेको; ज्याला र अनुभव बीच (वेज एक्सपेरियन्स फ्लोज) सकारात्मक तर खासै नबढ्ने सम्बन्ध रहेको तथा कार्य जोखिम र कार्यवधि (हजार्ड-टेनियोर) बीच नकारात्मक सम्बन्ध रहेको हुन्छ।

अन्तर्राष्ट्रिय श्रम बजारमा आएका गतिशिलताबारे सेभिल अकारको अध्ययन अनुसार श्रमबजार अनौपचारिकीकरण (इन्फरमेसनलाइजेसन) तर्फ उन्मुख भएको छ।जसमा अब स्थायी कामदार भन्दा आकस्मिक कामदार (क्याजुअल लेबर), करारका कामदार (करार लेबर), ठेक्का मार्फत काम गर्ने कामदार (आउटसोर्सिङ), घरबाट नै काम गर्ने (होम वर्किङ) जस्ता कामदारहरूको खोजी हुन थालेको छ।

राष्ट्रिय योजना आयोगद्वारा वैदेशिक रोजगारी नीतिसम्बन्धमा गराइएको अध्ययन प्रतिवेदन को सम्पादित अंश।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link