आम निर्वाचन २०७९ सम्पन्न, प्रतिनिधिसभामा ७ राष्ट्रिय दल, नेपाली कांग्रेस ठूलो दल

औपचारिक सिट संख्या घोषणा– अर्को साता

प्रतिनिधिसभा तथा प्रदेशसभा २०७९ को प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा भइसकेको छ। समानुपातिकतर्फको मतगणना सम्पन्न भई निर्वाचन आयोगले बन्दसूचीमा रहेका दलका उम्मेदवारहरूबाट प्राथमिकतामा रहेका उम्मेदवारको नाम पठाउन राजनीतिक दलहरूलाई आजै सूचित गर्दैछ।
यस आम निर्वाचनको औपचारिक परिणाम घोषणाबाट आउने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूको संख्या आँकलन गर्दा दलहरूको स्थिति स्पष्ट भएको छ।
सम्पन्न निर्वाचन परिणाम अनुसार संघीय प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा ८९ पदमा नेपाली कांग्रेसले जित हासिल गर्ने भएको छ भने नेपाल कम्युनिष्ट पार्टी एमाले ७८ पदमा निर्वाचित हुने भएको छ। प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवारहरू विजयी भइसकेका छन् भने विभिन्न १२ दलको उपस्थिति हुने भएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो आम निर्वाचनले संसद्‌मा सरकार बनाउन आवश्यक बहुमत कुनै पनि दललाई दिएन तर निर्वाचनमा सँगै गएको सत्ता गठबन्धन आफू समर्थित स्वतन्त्रसहित झिनो बहुमतको नजिक पुग्न सफल भएको छ। सम्पन्न निर्वाचनमा प्रदेशसभातर्फ पनि कुनै पनि प्रदेशमा कुनै दल एक्लै बहुमतमा पुग्न सकेको छैन। ४ प्रदेशमा नेपाली कांग्रेस ठूलो दल भएको छ भने ३ प्रदेशमा नेकपा एमाले ठूलो दल भएको छ।
निर्वाचन परिणाम अनुसार संघीय नेपाल सरकारको प्रधानमन्त्री सात प्रदेशकै मुख्यमन्त्रीको निर्वाचनमा विभिन्न दलहरूबीच सत्ता गठबन्धन बन्नुपर्ने बाध्यात्मक स्थिति आइपरेको छ।
यो निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी जस्ता तीन नयाँ दललाई स्थापित गरेको छ भने पुरानो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रिय दलको रूपमा पुन:स्थापित गरेको छ।
समानुपातिकतर्फ प्राप्त मतको गणना प्रक्षेपण गर्दा नेकपा माओवादी प्रतिनिधिसभामा कुल ३२ पद पाएको तेस्रो ठूलो दलका हैसियतमा कायम भएको छ भने नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी २० पद पाएर राष्ट्रिय दल र चौथो ठूलो दलका रुपमा स्थापित हुन सफल भएको छ।
प्रतिनिधिसभामा मधेशवादी भनिएका पुराना प्रमुख २ दलमध्ये जनता समाजवादी पार्टी कुल १२ पदमा खुम्चिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी ४ पदमा सीमित भएर राष्ट्रिय दलको हैसियत समेत गुमाउन पुगेको छ। जसपाले भने आफ्ना नेता उपेन्द्र यादवलाई गुमाए पनि राष्ट्रिय दलको हैसियत बल्लबल्ल जोगाएको छ।
यो निर्वाचनले नेकपा एमाले विभाजन गरी बनेको नेकपा एकीकृत समाजवादीलाई गठबन्धनको सहायताले प्रत्यक्षतर्फ १० पद मिले पनि न्यूनतम मतभार ३ प्रतिशत पुर्‍याउन नसक्दा राष्ट्रिय दलको हैसियत मिल्न सकेन।
पश्चिम तराइमा थारु समुदायको दलका रुपमा नागरिक उन्मुक्ति पार्टीलाई पनि यो निर्वाचनले अगाडि ल्याएको छ। यो दलको चुनाव चिह्नबाट ३ र समर्थनबाट १ स्वतन्त्रसहित ४ जना संघीय संसदमा पुग्ने भएका छन्।
प्रत्यक्षतर्फ १ सिट मात्रै जितेको जनमत पार्टी भने समानुपातिक तर्फबाट मतले गर्दा ६ जना संघीय सांसदसहित राष्ट्रिय दलका रुपमा प्रतिनिधिसभामा पुग्ने भएको छ।
पुराना कम्युनिष्ट पार्टी नेमकिपा र राष्ट्रिय जनमोर्चा विगतमा झैं १/१ पदमा संघीय संसदमा उपस्थित हुने भएका छन्, तर यी दुवै दलले राष्ट्रिय दलको हैसियतमा उक्लन भने सकेनन्।
प्रतिनिधिसभामा जितेका ५ स्वतन्त्र मध्ये २ जना नेकपा माओवादीको समर्थनमा १ जना नागरिक उन्मुक्तिको समर्थनमा र १/१ जना नेपाली कांग्रेस र नेकपा एमालेबाट उम्मेदवादी नपाएर विद्रोह गरेर स्वतन्त्र उठ्नु भएकाहरू हुनुहुन्छ। निर्वाचन परिणामको घोषणा भई प्राप्त सिट संख्या र समानुपातिक मत भारको आधारमा प्रदेशतर्फ पनि दलहरूको हैसियत प्रक्षेपण गर्न सकिने भएको छ।

जस अनुसार प्रदेश एकमा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा र जसपाको उपस्थिति प्रदेशसभामा हुनेछ। प्रदेशसभाको कुल ९३ पदमध्ये नेकपा एमाले ४० पद पाएर ठूलो दल बन्ने स्थिति देखिन्छ भने कांग्रेसले प्रदेशसभामा २९ पद पाउने छ। यसैगरी माओवादी १३, समाजवादी ४, राप्रपा ६ र जसपा १ सिटमा प्रदेश सभामा पुग्नेछन्। प्रदेशमा एक दशमलव ५ प्रतिशत मत ल्याए पनि समानुपातिक प्रतिनिधित्व गर्न पाउने कानुन भएकाले समाजवादी र जसपा प्रदेश १ मा मान्यता प्राप्त दल हुन पुगेका हुन्।
उता मधेश प्रदेशतर्फ मधेशवादी भनिएका दलको बदलामा यस पटक नेकपा एमाले र नेपाली कांग्रेस नै प्रमुख दलका रुपमा पुन:स्थापित हुन पुगेका छन्। मधेश प्रदेशको कुल १०७ पदमध्ये २३ मा एमाले र २२ मा नेपाली कांग्रेस पुग्दा जसपा १६ र लोसपा ९ मा सीमित भएका छन् भद्धने नयाँ दल जनमत पार्टी १३ पदमा उदाएको छ। यो प्रदेशमा स्वतन्त्र उम्मेदवारहरू ६ जनाले जितेका छन्। माओवादी ८ र समाजवादी ७ पदमा तथा संघीय समाजवादी नामक एक अर्को दल समानुपातिक मतबाट १ सिटमा प्रदेश सभामा पुग्ने देखिन्छ।
देशको राजधानी काठमाडौं उपत्यकासमेत रहेको बागमती प्रदेशसभामा नेपाली कांग्रेस ठूलो दल बनेको छ। प्रदेशसभाको कुल १ सय १० पद मध्ये कांग्रेसले ३७ पद पाउने स्थिति देखिएको छ भने नेकपा एमाले २७ पदमा र नेकपा माओवादी २१ पदमा पुग्नेछन्। बागमती प्रदेशमा राप्रपा १३ एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाल पार्टी भन्ने एक अर्को सानो दलले २ पद पाउने भएको छ।

उता पोखरा राजधानी रहेको गण्डकी प्रदेशमा पनि नेपाली कांग्रेस बहुमतको नजिक नजिक पुगेको छ। कुल ६० पदमा कांग्रेसले २७ पद हासिल गर्ने भएको छ भने एमालेले २२ पद र नेकपा माओवादीले ८ पद पाउने मतको अवस्था देखिन्छ। गण्डकीमा १ स्वतन्त्रसहित २ पदमा नेकपा समाजवादी र २ पदमा समानुपातिक तर्फबाट राप्रपा पनि पुग्ने छ।
सबैभन्दा धेरै दलको उपस्थिति हुने सभा बन्ने भएको छ, लुम्बिनी प्रदेश। यहाँ कुल ८७ पदमा ३ स्वतन्त्रसहित १० दलले निर्वाचन जितेका छन्। एमाले २९, र कांग्रेस २७ पद सहित प्रतिस्पर्धामा छन् भने माओवादी ९ पदमा खुम्चिएको छ। माओवादीको प्रभावक्षेत्र मानिने मध्यपश्चिमका पहाडी क्षेत्रसमेत पर्ने यस प्रदेशमा राप्रपा ४, जसपा ३, लोसपा ३, जनमोर्चा १ र एकीकृत समाजवादी १ पदमा पुग्नेछन् भने नयाँ दल नागरिक उन्मुक्तिले ४ र जनमतले ३ पदमा विजय प्राप्त गरेका छन्।
भूगोलको हिसाबले ठूलो तर जनसंख्याको हिसाबले सबैभन्दा सानो कर्णाली प्रदेशसभाका कुल ४० पदमा कांग्रेसले १४ र माओवादीले १३ पद पाउने भएका छन् भने एमालेले १०, राप्रपा र एकीकृत समाजवादीले समानुपातिकबाट १/१ सिट पद पाउनेछन्। कांग्रेसबाट विद्रोह गरेका १ जना स्वतन्त्रले पनि कर्णाली प्रदेशमा उपस्थिति जनाउनेछन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूर पश्चिममा पनि कुनै पनि दलले प्रदेश सभामा बहुमत ल्याउन सकेन। कुल ५३ पदमध्ये कांग्रेसलाई १८, माओवादीलाई ११, एमालेलाई १०, नागरिक उन्मुक्ति८, एकीकृत समाजवादी ४, राप्रपा १ पदमा सो सभामा पुग्ने छन् भने १ पदमा स्वतन्त्रले जितेका छन्।
आम निर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा खसेको मतमा सबैभन्दा धेरै अर्थात् २८ लाख ४५ हजार ६ सय ४१ मत नेकपा एमालले पाएको छ भने कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत पाएको छ। समानुपातिक मतमा ३ प्रतिशत थ्रेसहोल्ड क्रस गरेर राष्ट्रिय दल बन्न ७ दलमात्रै सफल भएका छन्।
निर्वाचन परिणामको औपचारिक घोषणाका लागि केही दिन लाग्ने भए पनि प्राप्त मतको आधारमा भएको सिट प्रक्षेपणको आधारमा सरकार निर्माणको गृहकार्यमा दलहरू सक्रिय भइसकेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link