“होइन, होइन, हामी कुनै देशविरुद्ध पनि जाइलाग्दैनौँ । हामीले सामरिक सामर्थ्य-वृद्धिको अभियान आन्तरिक सुरक्षालाई ध्यानमा राखेर चलाएका हौँ । हाम्रो यो तयारी आफ्नैलागि मात्र हो । युक्रेन मात्र होइन कुनै देशमाथि पनि चढाइ गर्ने हाम्रो मनसाय छैन” गत बिहिबार युक्रेनमाथि धावा बोल्नुभन्दा केही घण्टा अघिसम्म पनि रूसी कुटनीतिक अधिकारीहरू यसै भनिरहेका थिए । रूसी नेता पुटिनको हैकमवादी सोचको भनक पाएकाहरूका लागि उनका कर्मचारीहरूको त्यो स्पष्टीकरण हात्तीको देखाउँने दाँत जस्तो मात्रै थियो । हुन पनि त्यस्तै नै भयो । गत बिहिबार बिहान सबेरै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन टेलिभिजनको पर्दामा देखिए र युक्रेनमाथि अत्यन्तै मनोगत र प्रमाणहीन आरोप लगाउँदै त्यस देशका विरुद्ध सैन्य अभियान शुरू गरेको घोषणा गरे ।
युक्रेन र रूसको सम्बन्धमा अमिलोपना सन् २०१४ देखिनै आएको हो । त्यस साल अनेक बहाना गरेर युक्रेनको अविभाज्य अंगका रूपमा रहेको क्रिमियालाई रूसले उबाट अलग्याएर आफूमा गाभेको थियो । त्यसपछि पनि युक्रेनलाई कज्याउँन रूसले समय समयमा अनेक षडयन्त्र गर्दै आएको छ । पछिल्लो समयमा ती दुई देशका बीचको सम्बन्धमा तनावका क्षेत्रहरू घट्नुको सट्टा बढ्दै गएका थिए । हालका वर्षहरूमा रूसले युक्रेनलाई दपेट्ने एउटा मौका पनि खेर जान दिएको छैन । उसले पहिलो झमटमा त क्रेमलिनको इशारालाई आँखा चिम्लिएर समर्थन गर्ने व्यक्तिलाई युक्रेनको सत्तामा स्थापित गर्ने चेष्टा गर्यो । विक्तोर यानुकोभिचका रूपमा पुटिनले युक्रेनी प्यादा भेट्टाएका पनि हुन् । तर पुटिनका प्यादा धेरै दिनसम्म सत्तामा रहिरहन सकेनन् । उनको पतन भएपछि युक्रेनको सत्तामा रूसको हैकमवादी प्रवृत्तिका प्रखर विरोधी र लोकतन्त्रवादी नेताहरू पुगे जुन कुरो पुटिनका लागि असह्य र अस्वीकार्य हुन पुग्यो ।
त्यसैले गर्दा हो भ्लादिमिर पुटिन वर्तमान युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीको मानमर्दन गर्ने कुनै पनि मौका छोड्न चाहदैनन् जस्तो देखिन्छ । उनले पछिल्लो पटक सन् २०१४ मा क्रिमियालाई दाबे जस्तै गरि युक्रेनका दुई प्रान्त दोनेत्स र लुहान्सलाई युक्रेनबाट अलग्याइदिएका छन् । ती दुई प्रान्तका रूसी मूलका बहुसंख्यक जनताको भावनाको दोहन गरेर पुटिनले दुवैलाई युक्रेनबाट अलग्गिने र स्वतन्त्र गणतन्त्रको घोषणा गर्ने वातावरण बनाइदिए । पुटिनले ती दुई नयाँ गणतन्त्रलाई तुरुन्ता तुरुन्तै मान्यता त दिए नै, युक्रेनले कुनै प्रकारको प्रतिकार गरेमा सैन्य हस्तक्षेप गर्नका लागि दोनबास क्षेत्रका ती दुई नवगणतन्त्रको जमिनका आफ्नो ठूलो सैन्य दस्ता पनि तैनाथ गरिदिए । अहिले युक्रेनमाथि आक्रमण गर्दा रूसी फौजले दोनेत्स र लुहान्सको भूमिबाट समेत गरेको थियो । पुटिनको यो कदम विश्वशान्ति र विश्वभ्रातृत्वका दृष्टिले अत्यन्तै दुर्भाग्यपूर्ण र खेदजनक छ । आजको विश्वको दोस्रो महाशक्तिराष्ट्रले विश्वका अर्बौँ शान्तिप्रिय जनताका सामू व्यक्त गरेको, शान्तिप्रियता र अनाक्रमणप्रतिको वचनबद्धतालाई पूरै लत्याउँदै र आफ्नो हैकमवादी नीति उदाङ्ग पार्दै छिमेकको सानो र तुलनात्मक रूपमा कमजोर देश युक्रेनमाथि पूरा तागतका साथ चढाइ गरेको यो घटनाको जति निन्दा गरे पनि कम्ती हुन्छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष आदेशमा गत बिहिबार नै रूसी थलसेनाका टुकडीहरू बेलारुस, क्रिमिया र दोनबास क्षेत्र गरी तीन तिरबाट युक्रेनभित्र पसेका छन् । रूसी थलसेनाले रगतको होली खेल्दै युक्रेनी भूमिमा परेड गर्नुका अतिरिक्त लडाइँको मोर्चा खुलेको सोही दिन बिहान सबेरैदेखि आक्रमणकारी सेनाका बमवर्षक विमानहरूले राजधानी कीभ लगायत युक्रेनका प्रमुख शहरहरूमा भीषण बमबारी गरिरहेका छन् । रूसी आक्रमणको आयतन र भीषणताको प्रकाशमा हेर्दा युक्रेनको राजधानी कीभ मात्र होइन पूरै युक्रेनमाथि रूसको आधिपत्य छिट्टै कायम हुने देखिन्छ । अहिलेसम्म हताहत हुनेको संख्या धेरै ठूलो नभए पनि युक्रेन छोडेर हिड्नेहरूको संख्या डेढलाख करीब भइसकेको छ । सरकारी र व्यक्तिगत सम्पत्तिको जुन भयानक नोक्सान भएको छ त्यसको सही हिसाब हुन वर्षौँ लाग्न सक्छ ।
रूसको शक्तिशाली सेनाका हातबाट हुने अवश्यम्भावी पराजय र त्यस क्रममा हुनसक्ने धनजनको व्यापक क्षतिबाट जनतालाई बचाउँन एकतर्फी युद्धविराम गरी सुरक्षित रूपमा देशबाट बाहिर गई रूसी आक्रमणका विरुद्ध बाहिरबाटै संघर्ष जारी राख्न उचित हुन्छ भन्ने संयुक्त राज्य अमेरिका लगायत उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का नेताहरूको सल्लाहलाई युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले दृढताका साथ अस्वीकार गरिदिएका छन् । उनले रूसी हैकमवादका विरुद्ध अन्तिम साससम्म लड्ने, मर्नैपरे पनि युक्रेनी भूमिमै मर्ने प्रण पनि गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले व्यक्त गरेको देशप्रेमको त्यो भावनाले सर्वसाधारण युक्रेनी जनतामाथि गहिरो र सकारात्मक प्रभाव परेको छ भनिन्छ । अहिले फौजी पोशाक, तानाबाना र बन्दोवस्तीका सामान सहित खिचिएको राष्ट्रपति जेलेन्स्कीको फोटो युक्रेनका शहर-बजारमा भाइरल भएको छ । उनबाट प्रेरित भएका हज्जारौं युक्रेनी युवाहरू आक्रमणकारी रूसी सेनाविरुद्ध लड्न तयार भएका छन् र प्रतिरोधी युक्रेनी फौजमा सूचीकृत भइरहेका छन् ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको युक्रेनमाथिको यो आक्रमणको सर्वत्र निन्दा गरिएको छ । आफूले चालेको त्यस साम्राज्यवादी कदमको औचित्य प्रमाणित गर्ने प्रयासमा पुटिनले युक्रेनको आन्तरिक राजनीतिको जुन चित्र प्रस्तुत गरेका छन् त्यसलाई सही मान्न अन्तर्राष्ट्रिय समुदाय बिलकुलै तयार छैन । पुटिनले भनेका छन्: “भोलोदोमिर जेलेन्स्कीको नेतृत्वमा रहेको युक्रेनको वर्तमान सत्तामा जातीय नरसंहारवादी र नवनाजीवादी शक्तिको प्रभूत्व बढ्दै गएको छ । त्यो शक्तिले युक्रेनमा रहेका रसियन मूलका जनतामाथि विभेदपूर्ण व्यवहार गर्दै आएको छ र रूसीहरूको सफाया गर्ने षडयन्त्र रचिरहेको छ ।” तर पुटिनले दुनियाँका सामु प्रस्तुत गरेको यो विमर्श वा न्यारेटिभको सम्पुष्टिका लागि कुनै पनि ठोस प्रमाण दिन सकेका छैनन् । स्वतन्त्र पर्यवेक्षक र अनुसन्धानकर्ताहरूको विचारमा युक्रेनको वर्तमान सत्तालाई गम्भीर आरोप लगाउँदै रूसी राष्ट्रपति पुटिनले पेश गरेको यो न्यारेटिभ् एकदमै आधारहीन छ । रूस र उसको छिमेकि देशहरूको राजनीति र तिनीहरूका बीचको आपसी सम्बन्धका विषयमा गहिरो रुचि राख्दै आएका प्राज्ञिक संस्थाहरूको विचारमा रूसी राष्ट्रपति पुटिन जेलेन्स्कीमाथि नचाहिँदो फत्तूर लगाएर आफूले युक्रेनमाथि आक्रमम गरेर मानवताविरुद्ध गरेको अपराधमाथि पर्दा हाल्न चाहन्छन् ।
जानिफकारहरूका विचारमा पुटिनको यो युद्धपिपासु हर्कत उनको पूर्वसोभियतकालीन गणराज्यहरूको चक्रवर्ती नेता हुने अवाञ्छित महत्वाकांक्षाको प्रकटीकरण मात्र हो । त्यसमाथि युक्रेनी राष्ट्रपति जेलेन्स्की क्रेमलिनको इशारामा चल्न तयार छैनन् । उनी आफ्नो देशलाई पूर्ण लोकतान्त्रिक बनाउँन चाहन्छन् जहाँ खुल्ला र स्वस्थ प्रतिस्पर्धात्मक राजनीतिले समाजलाई मार्ग दर्शन गरोस् । उनी देश र जनताको उन्नति प्रगतिको मार्ग प्रशस्त हुन्छ र राष्ट्रिय स्वाभिमानलाई लिएर सम्झौता गर्नु पर्दैन भने नेटो लगायत कुनै पनि क्षेत्रीय संगठनको सदस्यता लिन पनि तयार छन् । जेलेन्स्कीको यही स्वतन्त्र र युक्रेनको हितप्रति सम्वेदनशील नीति रूसी अधिनायक भ्लादिमिर पुटिनका लागि असह्य भइरहेको छ । पुटिनको क्रूर दिमागमा जमठ भएर बसेको त्यही एउटा कुराको इखले उनले लाखौँ युक्रेनी र त्यस देशमा विभिन्न कारणले बसोवास गरिरहेका विश्वको अरू भू-भागका जनताहरूमाथि हिंसाचार गरेका छन् ।
भ्लादिमिर पुटिनको साम्राज्यवादी कदमका विरुद्ध विश्व जनमत एकोहोरिएको छ । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको लोकतान्त्रिक देशहरूको समूहले यस प्रकरणमा आवश्यक संयम देखाएर पुटिनले निम्त्याएको यही दुर्घटनाले विश्वब्यापी भयानक युद्ध हुने सम्भावनालाई अहिलेसम्म टारेको छ । नेटो राष्ट्रहरूले पनि रूसका विरुद्ध युद्धको मोर्चा खोलेको भए तेस्रो विश्वयुद्ध हुनबाट कसैले पनि रोक्न सक्दैन थियो । आशा गरौँ एउटा व्यक्तिको दुष्ट अभिप्रायले विश्व मानवताको भविष्यमाथि नै खग्रास ग्रहण नलागोस् ।(श्रोत: INS NEWS-स्वतन्त्र समाचार)
– हरि अधिकारी
हरि अधिकारी का अन्य पोस्टहरु:
- बर्मेली जुन्ताको क्रूरताः चार लोकतन्त्रवादी नेतालाई फाँसी
- नेपाल श्रीलंका बन्दैछ/ नेपाल श्रीलंका बन्ने छैन
- ‘नष्ट’ सीसीटीभी फुटेजसँगै उजागर ‘क्रान्तिकारी पाखण्ड’
- लुटतन्त्रमा परिणत भएको निरीह गणतन्त्र
- प्रणाली नै असफल बनाएको स्थिति
- घूसखोरीप्रति कति सहिष्णु हामी?
- खराब समाचारहरू र वर्तमान राज्यप्रणाली
- युवालाई राजनीतिमा आउन पालिका चुनावले दिएको सन्देश
- एमालेको हार र बालेनको उदय
- केपी ओलीको गालीपुराण