२०६३ साल मङ्सिरमा विस्तृत शान्ति प्रक्रिया सुरू भएयता नेपालमा चार चार पटक जनप्रतिनिधिहरू चुनिएर आइसकेका भए पनि अहिलेसम्म सत्य र न्यायको कुनै पनि सङ्केत बिना स्वर्गीय मुक्तिनाथ अधिकारीका परिवारका सदस्य र आफन्त तथा अधिकारकर्मीहरूले उहाँको निर्मम हत्याको २१औँ स्मृति दिवस मनाउँदैछन्।
तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरूले चन्दा दिन इन्कार गरेको भन्ने आरोपमा २०५८ साल माघ ३ गते लमजुङमा अधिकारीको निर्ममतापूर्वक हत्या गरेका थिए। उनलाई माओवादीका कार्यकर्ताहरूको एक समूहले कक्षा कोठाबाट आँखामा पट्टी बाँधेर अपहरण गरी नजिकैको थुम्कोमा लगेर रूखमा बाँधी छुरा रोप्दै टाउकोमा गोली प्रहार गरेर हत्या गरेका थिए। मुक्तिनाथ दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक एवं लमजुङस्थित एम्नेस्टी इन्टरनेसनल नेपालको स्थानीय समूहका संयोजक पनि हुनुहुन्थ्यो।
त्यसयता अधिकारी परिवारले न्यायका लागि नेपालमा उपलब्ध सबै ढोकाहरू ढक्ढक्याएका छन्। तर परिणाम शुन्य छ। नियमित न्यायिक संयन्त्रका रूपमा रहेको प्रहरी प्रशासन, राष्ट्रिय मानवअधिकार आयोग र संक्रमणकालीन न्याय निरुपणका लागि गठित संयन्त्र सत्य निरुपण तथा मेलमिलाप आयोग मा दर्ता गरिएको उजुरीहरूमाथि कुनै कारबाही नहुँदा परिवारमाथि थप पीडा भएको छ।
“सत्य निरुपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग सम्बन्धी कानुन संशोधन गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई सात वर्षसम्म बेवास्ता गरिनु र यी आयोगमा दुई दुई पटक आयुक्तहरू नियुक्त भई ६ वर्षभन्दा बढी समय कार्य गर्दा समेत कुनै एउटा पनि घटनामा सत्य र न्याय निरूपण नहुनु साह्रै खेदजनक छ” मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले भन्नुभयो, “पीडितहरू वर्षौंसम्म पनि सत्य, न्याय र परिपूरण बिना तड्पिरहनु लाजमर्दो कुरा हो।”
फरक विचार व्यक्त गर्ने तर कुरै नगरौँ स्वतन्त्र रूपमा बोल्न समेत कठिन त्यस समयमा मुक्तिनाथ अधिकारी अन्याय र हिंसाका विरुद्ध खडा मात्र हुनुभएको थिएन उहाँले आफ्ना विद्यार्थीको मस्तिष्कमा मानवअधिकारका मूल्यहरूलाई जगाउने काम समेत गर्नुभएको थियो।
“स्वर्गीय अधिकारी नेपालको एम्नेस्टी अभियानका एक सक्रिय र महत्त्वपूर्ण सदस्य हुनुहुन्थ्यो र हामी उहाँको हत्याको भत्सर्ना मात्र नगरी उहाँको हत्यालाई मानवअधिकार रक्षकहरूले गर्ने मानवअधिकार रक्षाको कर्ममाथि भएको एउटा निर्मम र घृणित आक्रमणको रूप लिइरहनेछौँ,” एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले भन्नुभयो, “आजभन्दा २१ वर्षअघि स्वर्गीय अधिकारीको निर्मम हत्यामा शोक व्यक्त गरिरहँदा कुनै पनि खाले हिंसा र अन्यायविरुद्ध खडा भएर आवाज उठाउने हाम्रो सङ्कल्प झन् बढी दृढ भएको छ।”
मुक्तिनाथ अधिकारीको निर्मम हत्या द्वन्द्वका क्रममा राज्य र विद्रोही समूह दुवै पक्षहरूले गरेका हजारौं मानवअधिकार उल्लङ्घनका घटनाहरूमध्येको एक प्रतिनिधिमूलक घटना हो। द्वन्द्व अन्त्य भएको १७ वर्ष बितिसक्दा पनि अलपत्र परेको सत्य, न्याय र परिपूरणको मुद्दाको शीघ्र समाधानका लागि पीडित र अधिकारकर्मीहरूले लामो समयदेखि निरन्तर आह्वान गर्दै आएका छन्।
मुक्तिनाथ अधिकारीलाई निर्ममतापूर्वक हत्या गरिएको २१ औँ वार्षिक स्मृति दिवसका सन्दर्भमा स्वर्गीय मुक्तिनाथ अधिकारीको सम्मानमा मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपाल दुई संस्थाले आज माघ ३ गते काठमाडौँमा एक स्मृति कार्यक्रम आयोजना गर्दैछन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार