निर्वाचनमा मतदातासमक्ष कम्तीमा पन्ध्र वर्ष यताउता नहुने भनी प्रतिवद्धता जनाइएको पाँचदलीय गठवन्धन निर्वाचनको परिणाम आएर सरकार बनाउने क्रममा टुटयो। पन्ध्र वर्ष यताउता नहुने भनिएको गठवन्धन नेतृत्वको धोकाधडीका कारण परिणाम आएको (मंसिर ३०) दश दिन पनि टिेकेन।
गठवन्धको दोस्रो ठूलो दलका नेता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावमा आफैले प्रतिस्पर्धा गरिएको अर्को गठवन्धनको नेतृत्व गरेका एमाले अध्यक्ष केपीशर्मा ओलीको शिविरमा पुगे र उतै बाट प्रधानमन्त्री बने।
नेपाली कांग्रेसले यसलाई ठूलो राजनीतिक धोका भएको भन्यो। पुस १० देखि पुस २५ सम्म प्रचण्डबाट आफुलाई ठूलो धोका भएको भन्ने उसको भनाइ दोहोर्याइनै रह्यो। तर प्रधानमनत्रीमा नियुक्त भएका सत्रौं दिन पुस २६ मा तिनै प्रचण्डलाई कांग्रेसले विश्वासको मत दियो। कदाचित प्रचण्डले विश्वास नपाएको भए सबै भन्दा ठूलो दलको हैसियतबाट सरकार बनाउने पालो कांग्रेसमा आउथ्यो। त्यो अवसर पनि हेरिएन।
किन यस्तो भयो ? कसैले बुझ्न सकेन। नेपाली राजनीतिमा धेरै चतुर मानिएका एमाले अध्यक्ष ओली समेत कांग्रेसको यो कदमबाट झस्किए। ओलीले संसदको रोस्ट्रमबाटै भने, ‘यदि यो समर्थन कुनै जाल होइन, यो समर्थन ढोक्सा होइन भने ठिकै छ। ढोक्सा हो भने, जाल हो भने भन्न चाहन्छु, माछा नभएको नदीमा जाल फ्याँकिएको छ। यसभित्र भोलिका निम्ति अरु खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रित्तै हुने छ।’
आफनो समर्थनमा बनेका प्रधानमन्त्रीलाई अरुले समेत समर्थन जनाउँदा त्यो दल र त्यसका नेता खुशी हुनुपर्ने हो। तर धोकाधडी हुन लागको देखियो। यो भनेको दलदल र नेता नेता बीच धोकाधडीको राजनीति कुन हदसम्म संस्थागत भैसकेछ भन्ने बुझन सजिलो हुने कुरा हो।
प्रधानमन्त्री आफनो दलको मात्रै पकडमा हुँदा आफनो स्वार्थ अनुसार जुनसुकै बेला जेसुकै गर्न सकिने अवस्था थियो। काग्रेसको समर्थनले त्यसलाई तोडिदियो।
ओली यहीठाउँमा रन्थनिएका हुन भन्ने बुझन सकिन्छ। यो समर्थनले कुनै न कुनै बेला कतै न कतैबाट आफनो एकलौटी वर्चश्व खोसिने भय ओलीमा प्रवेश गरेको हुनुपर्छ। ओलीबाट प्रचण्डलाई यस्तो समर्थन जनाउँदाको अवस्था पनि उनले अरुलाई धोका दिएपछि नै उब्जिएको थियो।
यता कांग्रेसले प्रचण्डबाट धोका भयो भन्न छाडनु पर्ने भयो। यो चाहि कांग्रेस नेतृत्वले आफ्ना कार्यकर्तालाई दिएको धोका हो। कांग्रेस नेतृत्वको गठवन्धनबाट प्रचण्ड अर्को शिविरतर्फ लाग्दा सबै भन्दा बढी गुमाउनेमा कांग्रेसी कार्यकर्ता नै परेका छन् ।
शीर्षनेतृत्वबाट कसले कसलाई कसरी धोका दिइयो भन्ने पुस दशको एक दिनका घटनाहरूले केही दृश्य देखाउछन। पुस १० भनेको आमनिर्वाचन २०७९ पछि सरकार बनाउन राष्ट्रपतिले समय दिएको अन्तिम दिन हो। धोकाधडीमा यो दिनका सार्वजनिक नोटमा आएको केही विवरण यस्ता छन –
एक: देउवाले प्रचण्डलाई धोका दिए भने प्रचण्डले माधवलाई। देउवाले चाहिँ ओलीबाट धोका पाए। यो एक ठाउँमा मात्रै चारजना शीर्षनेता धोका दिने धोका पाउनेमा परेका देखियो।
दुई: पहिलेको गठवन्धनका एक नेता माधव नेपालका अनुसार केपी ओलीले देउवालाई झुक्याए। ओलीले देउवालाई मैले प्रचण्डलाई समर्थन गर्दिन तपाईँ नै पाँच वर्ष प्रधानमन्त्री बन्नुस् भनेर भनेछन्। देउवा मख्ख परे। तर एकछिन पछि प्रचण्डलाई समर्थन गरे।
तीन: यो बेलाको अर्थात सवभन्द पछिल्लो गठवन्तधनका दुई नेता ओली र प्रचण्डले यस अघि दुई दुई पटक, उनीहरूकै भाषामा भयंकर धोकाधडीमा परियो भनेका थिए। व्यक्ति तिनै, राजनीति त्यहि, परिस्थिति पनि त्यस्तै रहिरहेको अववस्था छ। केवल समय र केही मात्र फेरिए। पहिले यस्तो धोका ओली–प्रचण्ड–माधवबीचमा हुने गथ्यो वा थियो। पछिल्लो समय देउवा त्यसमा थपिए।
धोकाधडीले हैसियतमा परिवर्तन
आम निर्वाचन २०७९ ले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पहिलो, दोसो र तेस्रो हैसियत दियो। यो सिट संख्या ८९, ७८ र ३२ को हो। पहिलो र दोस्रो भन्दा तेस्रो दलको सिट धेरैकम छ। यी दलका प्रमुख नेता शेरबहादुर देउवा केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड भने धोकाधडीको उच्च प्रतिस्पर्धामा लागे। उनका धोकाधडीले आम निर्वाचनबाट प्राप्त हैसियत पनि वदलिदियो। यद्यपि कसैलाई अति लाभ र कसैलाई अति हानी भने भयो नै।
यतिबेला संसदको तेस्रो दल सरकारको नेतृत्व गरिरहेको छ भने सत्ताको हकदार मानिने पहिलो दल सडकमा झरेको छ। यता सत्तामा भने दोस्रो दलले सवभन्दा ठूलो भाग पााइरहेको छ।
यी सबै एकले अर्कालाई धोका दिएर निर्माण भएको परिस्थिति हो यो। धोका सबैलाई सबैबाट भयो। केवल धोकाको मात्रा कति थियो भन्ने मात्रै हो।
पछिल्लो समय प्रचण्डले पाँचदलीय गठवन्धनलाई धोका दिए। यो धोका उनलाई फाप्यो। त्यस्तो धोका दिएको एकडेढ घण्टामै उनी प्रधानमन्त्रीमा नियुक्त भए। उनी प्रधानमन्त्रीमा नियुक्ती भैरहँदा यता यो गठवनधनका बाँकी चारदल सडकमा झरे।
पुस १० को विवरण
प्रचण्डको भनाइमा यो गठवन्धनको नेतृत्व गरिरहेका देउवाबाट धोका पाइयो। गठवन्धनको संयोजक रहेका नेपाली कांग्रेसका वरिष्ठ नेताले नै यस्तो जानकारी गराएका हुन।
पुस १० राष्ट्रपतिले आह्वान गरे अनुसारको सरकार बनाउने अन्तिम दिन हो। त्यस दिन गठवन्धनको गम्भीर बैठक चलिरहेको बेला प्रचण्ड त्यहाँबाट निस्किएर ओली निवास पुगे र त्यता अर्को गठवन्धन बनाएर केही समयमा प्रधानमन्त्रीको नियुक्तिलिन शितल निवास गए । यो दृश्य प्रचण्डबाट देउवालाई धोका दिएका रुपमा लिइयो। यो वेलासम्म गठवन्धनबाट देउवा प्रधानमन्त्रीका दावेदार थिए।
तर त्यो दिनको बैठक छाडेर वालुवाटारबाट वोहराटार तर्फ लाग्दै गर्दा पौडेलले भने धोका देउवाबाट प्रचण्डमाथि भएको जनाएका थिए। बालकोटमा जुटेको सहमतिबारे कांग्रेसको धारणा सम्बन्धमा सोधिएको प्रश्नमा पौडेलले भने ‘प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई धोका भयो।’
प्रचण्ड धोकाधडीमा अरुभन्दा बढी चर्चामा आइरहने नेतामा पर्छन। तर यो पटक भने उनीआफै धोकामा परेछन। पौडेलको भनाइले बुझाउने कुरा त्यही हो। यद्यपि प्रचण्डले देउवाबाट कसरी धोका पाए भन्ने चाहिँ खुलिसेको छैन। कांग्रेसको भनाइ छ ठूलो दलको हैसियतले कांग्रेसले सरकारको नेतृत्व दावीगर्नु स्वाभाविक हो।
ओलीबाट देउवालाई धोका
देउवाले प्रचण्डलाई धोका दिएको आरोप लागिरहेकै बेला यता देउवाले भने ओली बाट धोका पाएछन। पुस १० का समाचार विवरणहरूनै यस प्रकारले आए।
सत्ताको खेलभन्दा बाहिर रहेको जस्तो देखिएको र अर्को गठवन्धनको प्रमुख एमाले यो पटक देउवालाई धोका दिनेमा प्रमुख भएछ। विवरण हरूले त्यसै भन्छन। एमाले अध्यक्ष केपी शर्मा ओलीबाट नेकाका सभापति तथा प्रधानमन्त्री देउवाले धोका पाएका कुरा कांग्रेसी बृत्तबाहिरबाट आएको हो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसको पोल खोलका हुन। उनका अनुसार देउवाले ओलीको कुरा नबुझ्दा अवस्था भताभुंग भएको हो। उनले भने –
‘केपी ओलीले देउवालाई फोन गरेको थाहा पाएपछि प्रचण्ड रिसाएर हिँडेछन्। ओलीले देउवालाई मैले प्रचण्डलाई समर्थन गर्दिनँ, तपाईँ नै पाँच वर्ष प्रधानमन्त्री बन्नुस् भनेर भनेछन्। देउवा मख्ख परे। प्रचण्ड बालुवाटारबाट गठबन्धन तोडियो भनेर हिँडेपछि पनि देउवालाई विश्वास थिएन। केपी ओलीको निवासमा हस्ताक्षर हुन थालेपछि देउवा झस्किए। उनले मलाई फोन गरेर रोक्न भने। तर ढिलो भैसकेको थियो।’नेता नेपालले १२ पुसमा आफ्ना सांसदहरूलाई बधाई तथा शुभकामना दिने क्रममा यस्तो जानकारी गराएका हुन।
प्रचण्डबाट माधवलाइ धोका
यो विवरण पनि १० पुस कै हो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन देउवाले अस्वीकार गरेपछि प्रचण्डले नै बालकोट पुगेर एमालेसहित सात दलको समर्थनमा सरकार गठन गर्ने सहमति गरेका थिए। तर यता उनका अति निकट भनी चिनिएका माधवले भने यसको सुइको समेत पाएनन।
विगतलामो समयदेखि कायम रहेको र चुनावमा सिटसमेत बाँडफाँड गरिएकाहरूसँग सम्वन्ध तोडेर प्रचण्ढ नयाँ गठवन्धन तर्फ लाग्नु यो गठवन्धनलाई प्रचण्डले दिएको धोका नै थियो। गठवन्धनका एक सदस्य नेपालले दुइदिन पछि प्रचण्डको यो धोकाधडीको रहस्य खोले। उनका अनुसार सँगै छलफल गर्ने सल्लाह थियो, मलाई सुइको समेत नदिइ ओली भेट्न प्रचण्ड एक्लै जानुभयो।
प्रचण्ड र नेपालको गठवन्धन दुई वर्षअघि १० पुस ०७७ मा ‘हामी यहाँ छौँ’ भन्ने प्लेकार्ड बोकेर माइतीघरको सडकमा पलेटी कसेर बसेबाट सुरुभएको थियो। तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दाको कुरा हो यो। त्यसको दुई वर्ष पूरा भएकै दिन १० पुस २०७९ मा प्रचण्ड नेपालको यो गठवन्धन प्रचण्डको धोकाधडीबाट तोडियो। यो घटनाको तेस्रो दिन नेपालले भने –
‘हामीलाई कांग्रेसले नि हेप्यो, माओवादीले नि हेप्यो। त्यस दिन ठ्याक्क चार बजे शेरबहादुरजीको फोन आयो। ‘माधवजी, तपाईंले प्रचण्डजीलाई तुरुन्त फोन गरेर पहिलो प्रधानमन्त्री तपाईं हो भनिदिनुपर्यो’ भन्नुभयो। समय बितिसकेपछि, घर्की सकेपछि, हस्ताक्षर गरिसकेपछि राष्ट्रपतिकहाँ हिँड्ने बेलामा तपाईंले भनेर के हुन्छ ? समयमा बुद्धि पुर्याउनु छैन’ भनेर मैले भने।
धोका दिँदै गल्ती मान्दै
यसको चौथोदिन सरकारलाई समर्थन प्रस्ताव गर्दै प्रचण्डले माधवलाई भने– ओलीसँगको छलफलमा खबर नगर्नु गल्ती भयो। सरकार नियुक्त भएको चौथो दिन प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष ओलीको बालकोटस्थित निवासको छलफलमा जाऔं नभन्नु आफ्नो गल्ती थियो। यो दिन प्रचण्ड नेपालको समर्थन माग्न गएका थिए। नेपालका अनुसार ‘प्रचण्डजीलाई मैले ओलीसँग छलफलमा जाऔँ भनेँ तर निस्कने बेला खबर नगर्ने ? यो रबैयाबाट म असन्तुष्ट छु भनेँ, हतारमा भन्न पाइएन। यसमा मेरो गल्ती भयो भनेर प्रचण्डले भन्नुभयो।
ओली र प्रचण्डका मिलाप र धोकाका शृङ्खला
अनौपचतारिक रुपले सार्वजनिक भएका पछिल्ला जानकारी अनुसार ओली र प्रचण्डका बीचमा आउँदो पाँचवर्षको समय आधाआधा सरकार चलाउने भनी भद्र सम्झौता भएको छ तर यी दुई नेताले यसअघि दुइदुइपटक एकअर्कालाइ धोका दिइसकिएको अवस्था छ। त्यसको एउटा विवरण –
२०७२ असोजमा ओलीले एमाओवादीको साथमा सरकार गठन गरे। यसमा निर्वाचन नहुन्जेल आधाआधा सरकार चलाउने भनिएको थियो तर ओलीले त्यो आधा समयमा सत्ता छाडन चाहेनन। त्यसपछि एमाओवादीकै नेतृत्वमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइयो। त्यसमाथि मतदान हुनै लाग्दा आफु अल्पमतमा पर्ने देखिएपछि ओलीले राजीनामा दिए र कांग्रेसको साथ लिएर प्रचण्ड प्रधानमन्त्री भए।
यो २०७३ साउनको कुरा हो। उनले नौ महिना चलाएर २०७४ जेठमा कांग्रेसलाई छाडिदिए। कांग्रेससँग संयुक्त सरकार चलिरहेकै बेला त्यही वर्षको असोजमा प्रचण्डले एमालेसँग गठवन्धन गरे। अर्थात प्राण्डबाट काग्रेसलाई धोका भयो। यो गठवन्धन सरकामा वस्दावस्दै उता एमालेसँग चुनावी गठवन्धन बनाइयो।
२०७४ मंसिरको निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचन लडे र २०७५ जेठ ३ गते यी दुइ पार्टी बीच एकता नै भयो। अव एमाले र माओवादी रहेनन नेकपा मात्रै भयो। त्यसबेलाको ओली प्रचण्ड गोप्य सहमतिमा उनीहरूले ’समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने’ भनिएको थियो।
तर यो सम्झौताको पनि ओलीले पालना गरेनन भन्ने माओवादीको बुझाइ रह्यो। त्यसपछि प्रचण्डले तत्कालीन नेकपाको अर्को धार माधवकुमार नेपालको साथ लिएर ओलीमाथि दबाब दिन थाले। यसले प्रतिनिधिसभा विघटन, नेकपा विभाजन देखिका काण्डहरू गरायो। यही क्रममा फेरी देउवाको नेतृत्वमा प्रचण्ड सहितको गठवन्धनको सरकार बन्ने अवस्था आयो। करिव दुइतिहाइको ओली सरकार ढल्यो र एमाले सवै प्रदेश सरकारबाट पनि बाहिरिनु पर्यो।
यसको प्रमुख कारण थियो ओलीले सम्झौता अनुसार प्रचण्डलाई आधाआधा भनिएको समयमा सत्ता नदिनु। पछिल्लो कालखण्डमा ओली प्रचण्डको आलोपालो गर्ने यो तेस्रो सम्झौता हो। दुई पटक त धोका भै नै सक्यो। तेस्रोपटक केहोला भन्ने परिणाम आउन बाँकी छ। यति चाहिँ सत्य हो जिवीत रहेका शीर्ष नेताहरू धोकाधडीमा उच्चस्तरको प्रतिस्पर्धा गरिरहेका छन। पछिल्लो चुनावमा यी दुई दल अघल्लिो निर्वाचनको तुलनामा हारे। एमाले १२१ बाट झरेर ७८ मा आएको छ भने माओवादी ५३ बाट ३२ मा। नेपाली काँग्रेसले प्रत्यक्षतर्फ २३ बाट ५७ बनायो तर समानुपातिकमा ४० बाट ३२ मा झरेको छ।
यसको अर्थ मतदाता भने नेतृत्वको धोकाधडी रुचाउँदैनन।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
केदार सुवेदी का अन्य पोस्टहरु:
- नेपालको सुशासनः गल्ती गर्ने अमेरिकी राष्ट्रपतिको घरमा छापा, नेपालका गृहमन्त्रीलाई माफैमाफ !
- कहिले फिर्ता हुन्छ राष्ट्रपतिबाट अपहरित संसदको सार्वभौमसत्ता?
- नायवी शासनको नयाँ युगमा प्रचण्ड प्रधानमन्त्री, तजबिज ओलीेको !
- अर्बौको कमिशनका लागि खेलौना बनाइयो बुढिगण्डकीलाई
- महाभियोगमा भ्रष्टाचारको पोको: भारी बोकिदिने भरिया खोज्दै चोलेन्द्र
- भ्रष्टाचारको स्तरोन्नति ६ अर्बको काममा २ अर्बको चलखेल
- महाभियोगमा नपरेका अर्बौँका भ्रष्टाचारः फुस्स हुने त होइन?
- स्वार्थका लागि सत्ताधारी विपक्षी सबै मिले, अधुरो छानबिन गरेर चोख्याए जनार्दन शर्मालाई
- चोलेन्द्र श्रीमान्को अर्को ‘चमत्कार’: आफूखुशी ठेक्कापट्टाः २ अर्बको चलखेल
- विशेष अदालतका न्यायाधीशविरुद्ध पनि उजुरी