एक हजारभन्दा बढी सहकारीको श्रेस्ताको अनुसन्धानमा

समस्याग्रस्त सहकारी समाधान समितिले  अहिलेसम्म बचतकर्ताको ४५ करोड रुपैयाँ फिर्ता गराइसकेको छ। एक हजारभन्दा बढी सहकारीको श्रेस्ताको अनुसन्धान गरिरहेको छ । सहकारी विभागले सहकारीको मूल्य मान्यताविपरीत कार्य गर्ने सञ्चालकको राहदानी र बैंक खाता रोक्का गरी बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको छ।

यो जानकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले दिनुभएको हो । सहकारीका सन्दर्भमा यहाँ आयोजित छलफलमा यस्तो जानकारी दिनुभएको हो। उक्त छलफलमा मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको तथा स्थापनाको मूल्य मान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शङ्काको दृष्टिले नर्हेन सुझाव दिएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल सुरु गरिसकेकाले पनि सबै सहकारीलाई एउटै दृष्टिकोणले नर्हेन आग्रह गरिएको हो। छलफलमा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले समस्याग्रस्त सहकारी समाधान समितिलाई समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाबाट बचतकर्ताको रकम शीघ्र फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन भइसकेको बताउनुभयो ।

मन्त्रालयले असल सहकारीलाई प्रोत्साहन गर्ने र गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने कार्यमा सहयोग गर्न सविच रेग्मीले सहकारी महासङ्घका पदाधिकारीसँग आग्रह गर्नुभएको छ । मन्त्रालयले सबै जिल्ला सङ्घलाई यस्तो भूमिका निभाउन आग्रह गर्दै  सहकारी महासङ्घमार्फत निर्देशन पठाइसकेको छ ।

महासङ्घका अध्यक्ष मीनराज कँडेलले गलत गर्ने सहकारीलाई कुनै पनि जिल्लाका पदाधिकारीले प्रोत्साहन नगर्न र यसमा सचेत हुन सबै सञ्चालकलाई सुझाव दिनुभयो । सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समस्यामा परेका बचतकर्ताको समस्या सुन्न र समस्या समाधान गरिदिने निकाय देशमा रहेकाले आशाको सञ्चारको सन्देश प्रवाह गर्न ध्यानाकर्षण गराउनुभयो ।

विभागका रजिष्ट्रार नमराज घिमिरेले गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन विभाग सक्रिय रहेको जानकारी दिनुभयो । कार्यक्रमका अन्य सहभागी वक्ताले सहकारी अभियान गलत नभएकाले केही सञ्चालकको गलत क्रियाकलापबाट उत्पन्न समस्यालाई समाधान गर्न सबै सरोकारवालाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको सुझाव दिए ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link