निर्माण सम्पन्न नहुँदै चर्कियो स्वास्थ्य चौकी भवनको छतः टालटुल गर्दै ठेकेदार

रामविकास चौधरी/रूपन्देही

रुपन्देही,  मर्चवारी गाउँपालिका –५ स्थित ओडवलिया स्वास्थ्य चौकी भवनको छत चर्केको छ। राजन निर्माण सेवाले निर्माण गरेको उक्त स्वास्थ्य चौकी भवनको छत ढलान भएको महिना दिन नबित्दै चर्केर पानी चुहिएको छ।

केहीदिन अगाडी ढलान भएको उक्त छत चर्किएको गुनासोपछि निर्माण कम्पनीले चर्केको ठाउँमा सिमेन्ट राखेर टालटुल गरेको स्थानीय सुनिल गुप्ताले बताउनुभयो। उहाँले भन्नुभयो, “जताततै चर्किएको छत पहिलो पटक पानी पर्दा नै छत चुहिएको छ।”

गाउँपालकाका इन्जिनियर गंगालाल यादवले छत ढलानमै त्रुटी भएको बताउनुभयो। “निर्माण कम्पनीलाई सो भवनको छत पुनः ढलान गर्न भनेका छौ” उहाँले भन्नुभयो, “छत ढलान हुँदाको बेला छडके अनुगमन गरेका थियौ तर कताबाट त्रुटी भयो त्यसबारे पनि अध्ययन गरिरहेको छौ।”

मर्चवारी गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले निर्माणकार्य सम्पन्न नहुदै चर्किएको र चुहिएको स्वास्थ्य चौकी भवनको छतबारे जानकारी पाएपछि अध्ययन थालेको भन्दै गाउँपालिकाबाट त्यसको कुनैपनि मुल्यांकन तथा बिल भुक्तानी नभएको बताउनुभयो।

उहाँले “सर्बप्रथम सामाजिक संजाल ‘फेसबुक’ मार्फत जानकारी पाएपछि तत्काल अनुगमन गरि निर्माण कम्पनी राजन निर्माण सेवालाई त्रुटी भएको हदसम्म सच्याउन निर्देशन गरिसकेको बताउनुभयो। निर्माण कम्पनीले निर्माण काम सकेको जानकारी गराएपछि कम्तीमा तीन–चार दिनसम्मा पानी राखेर छत चुहिएको अथवा नचुहिएको बारे परिक्षण गरेर मात्र त्यसको मुल्यांकन गरिने उहाँले बताउनुभयो।

ठेकेदार कम्पनीका संचालक राजेन्द्र प्रसाद बरईले छत ढलान गर्ने बुद्ध आरएमसी भैरहवाले त्रुटी गरेको बताउनुभयो। उनले हरेक ठाउँमा आरएमसीबाटै ढलान कार्य गर्दै आएको बताउदै त्यहाँ आरएमसीकै त्रुटीले निर्माणाधीन भवनको छत चर्किएको दाबी गर्नुभयो। आरएमसीको १०वर्षे ग्यारेन्टी हुनेभएकोले बुद्ध आरएमसी कम्पनीबाट त्यसलाई पुनः मर्मत गराउने राजन निर्माण सेवाका सञ्चालक बरईको भनाइ छ।

जिल्ला समन्वय समिति रुपन्देही र मर्चवारी गाउँपालिकाको संयुक्त लगानीमा बहुवर्षिय योजना अन्तर्गत निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी भवनको गाउँपालिका ठेक्का नम्बर एमआरएम ०७६/०७७/२४ हो। कुल दुई करोड ८९ लाख ३२ हजार ९सय २५ रुपैया लागत इस्टिमेटबाट निर्माण कम्पनीले दुइ करोड ६ लाख ३६ हजार १ सय ६५ रुपैयमा घटाएर निर्माण सम्पन्न गर्ने शर्तमा २०७७ माघ ६ गते ठेक्का सम्झौता भएको थियो।

आर्थिक वर्ष २०७७/०७८मा निर्माणधीन सो भवनको रनिङ्ग बिलमा ४२ लाख ८० हजार ६ सय ३५ रुपैया भुक्तानी भएको देखिएको छ। भवन निर्माणकार्यका लागि आ.व.२०७९/०८० मा संघीय सरकारबाट ३४ लाख ५२ हजार ४ सय ५८ र मर्चवारी गाउँपालिकाबाट १० लख४७ हजार ५ सय ४२ रुपैया बजेट बिनियोजन भएपनि त्रुटी नसच्याएसम्मका लागि भुक्तानी रोक्का गरिएको गाउँपालिका अध्यक्ष गया प्रसाद बरइले बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रामविकास चाैधरी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link